• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर १४ शनिबार ११:४३:००
फिल्म

नेपथ्यका सेलेब्रिटी

फिल्म

२०७६ मङ्सिर १४ शनिबार ११:४३:००

लामो कपाल, मुठे जुँगा, अग्लो कद र बाक्लो दाह्री राम ठाकुर (३७)को नछुट्ने हुलिया हो । उनको यो हुलिया सिने जगत्मा चर्चित छ । उनी सिने कलाकार होइनन्, तर उनले कैयन् फिल्ममा अभिनय गरेका छन् । ‘मायाको बारीमा’, ‘दम द पावर’, ‘दबाब’ जस्ता नेपाली फिल्म र ‘रफ्तार’, ‘प्रितके बाजी’जस्ता भोजपुरी फिल्ममा उनले सहायक खलपात्र भूमिकामा अभिनय गरेका छन् । 

सिनेमामा ‘भिलेनगिरी’ गर्ने राम वास्तविक जीवनमा भने कपाल काट्ने काम गर्छन् । उनी मेकअप आर्टिस्ट पनि हुन् । हजाम उनको पुख्र्यौली पेसा हो । आफूलाई कलाकारभन्दा टेक्निसियन भन्न रुचाउने राम भन्छन्, ‘कपाल काट्नु पुख्र्यौली पेसा हो र अभिनय गर्नु रहर हो ।’

०००
कोटेश्वर सहयोगीनगरमा छ उनको सैलुन । नाम राखेका छन्, ‘राम ठाकुरको सेलेब्रिटी पार्लर ।’ जहाँ पुगिरहन्छन् चल्तीका नायक–नायिकाहरू । कलाकारहरू आउँदा उनी खुसी हुन्छन् र चित्तबुझ्दो हेयर कटिङ गरिदिन्छन् । १६ वर्षअघि एक साँझ रामको पार्लरमा पुगेका थिए एक्सन नायक निखिल उप्रेती । दुवै सर्लाही जिल्लानिवासी । कवलासी नगरपालिका वीरनगरमा जन्मिएका राम ठाकुरलाई निखिलले अभिनयको नशा लगाइदिए । भन्छन्, ‘निखिल दाइको कपाल काटेपछि सेलेब्रिटीको कपाल काट्ने अवसर पाएँ ।’

रामले कपाल काटेरै निखिलको मन जिते । तर, रामलाई महानायक राजेश हमालको कपाल काट्नु थियो । हमालको अभिनयले राम मोहित थिए । पहिलोपटक ठाकुरले हमाललाई भक्तपुरमा देखेका थिए । ‘कालो–कालो कपालैमा मेहेन्दी लगाइदेउ...’ बोलको गीत सुटिङ भइरहेको थियो । उनले दिनभरि हमालको सुटिङ हेरिरहे । तर, बोल्ने भेट्ने अवसर पाएनन् । त्यही दिन रामले सोचे, ‘राजेश हमालको कपाल काट्ने दिन कहिले आउला ?’ 

त्यही समय दयाराम दाहाल निर्देशित ‘दशगजा’को सुटिङ हुने खबर निखिलले रामलाई सुनाए । जसमा राजेश हमाल, निखिल उप्रेती, नवल खड्का अनुबन्धित थिए । त्यही फिल्ममा मधेसी मूलको भूमिकामा राम छानिए । राम सुटिङ युनिटसँगै सुस्ता पुगे । रामले त्यहाँ पुगेपछि थाहा पाए, उनी राजेश हमालको साथीको भूमिकामा छानिएका रहेछन् । भन्छन्, ‘सुरुमै राजेश हमालको साथीको भूमिका पाएँ, सुरुमा एकदमै डराएँ ।’ सुटिङ एक महिना चल्यो । रामले निखिलको कपाल फेरि काटे, नवल खड्काको कपाल काटे । हमालको कपाल भने त्यो समय काट्न पाएनन् रामले ।

०००
सुटिङ सकेर सबैजना काठमाडौं फर्किए । सेलेब्रिटीले बिर्सिहाल्छन् भन्ने उनलाई लागेको थियो । तर, एक दिन हमालको फोन आउँदा उनी अवाक् भए । उनलाई कपाल काट्न राजेशले घरमै बोलाए । उनी उत्साहित हुँदै हमालको घर पुगे । भन्छन्, ‘उहाँको घरमा कपाल काट्न पुग्दा सधँै गरेको काम पनि सिकारुझैँ डराई डराई काटेँ ।’

 त्यसपछि पटक–पटक राजेशको घरमा कपाल काट्न गइरहे, राम । पछि, बिस्तारै राजेशको घरमै मिनी–सैलुन तयार भयो । विगत १६ वर्षदेखि राम निरन्तर राजेशको घरमा गइरहेका छन् । हमालले पहिलोपटक रामलाई कपाल काटेबापत १ हजार पारिश्रमिक दिएका थिए । अहिले हमालले उनलाई एकपटक कपाल काटेको १५ सयदेखि २ हजारसम्म दिँदै आएका छन् । राम भन्छन्, ‘अब त दाइको परिवारको सदस्यजस्तै भएँ ।’

रामको हातबाट कपाल कटाउन बानी परेको बताउँछन् हमाल । भन्छन्, ‘पहिलो दिनको कटिङमै रामले मलाई प्रभाव पारेको थियो । उसको सीप गजबको छ । उसले मेरो कपाल काट्न लागेको १६ वर्ष भयो । उसैबाट कपाल काट्ने बानी नै प¥यो । अन्त कपाल काट्नु रामलाई अन्याय गर्नुझैँ लाग्छ ।’

०००
विगत तीन वर्षदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कपाल पनि काट्दै आएका छन्् रामले । सामान्य मानिसको कपाल काट्न सहज लाग्छ रामलाई । जब देउवाको घर बुढानीलकण्ठमा कपाल काट्न पुगे उनको हातगोडा नै कामेको थियो । कतै बिग्रिन्छ कि भन्दै डराएका थिए उनी । भन्छन्, ‘सुरुसुरुमा कलाकारको कपाल काट्नभन्दा नेताको कपाल काट्न डर लाग्यो ।’

फिल्मवृत्तमा रामको परिचय कलाकारमा मात्रै सीमित छैन, सेलेब्रिटी र नेताको कपाल काट्ने ‘नाई’का रूपमा समेत उनी परिचित छन् । उनको अभिनयको तारिफसँगै हेयर कटिङको पनि चर्चा हुने गर्छ ।

रामले निरन्तर देउवाको कपाल काट्दै आएका छन् । एकपटक काटेबापत उनी देउवाबाट तीन हजार पारिश्रमिक लिन्छन् । देउवाका कपाल काट्दा भने निकै कम बोल्छन्, राम । देउवाले ‘बाबु’ भनेर सम्बोधन गरेकोप्रति उनी गर्व महसुस गर्छन् । अहिले त उनलाई बानी परेको छ । भन्छन्, ‘उहाँको कपाल काट्दा ठिक्क बोल्छु । अझै पनि डर हराएको छैन ।’

०००
फिल्मवृत्तमा रामको परिचय कलाकारमा मात्रै सीमित छैन, सेलेब्रिटी र नेताको कपाल काट्ने ‘नाई’का रूपमा समेत उनी परिचित छन् । उनको अभिनयको तारिफसँगै हेयर कटिङको पनि चर्चा हुने गर्छ । दर्जनौँ फिल्ममा स–साना भूमिका गर्दै आएका रामले आर्यन सिग्देल, हरिवंश आचार्य, भुवन केसी, अनुपविक्रम शाही, सुमन सिंह, नीता ढुंगाना, निशा अधिकारी, सुमिना घिमिरे, सविन श्रेष्ठलगायतको कपाल काटिरहेका छन् । 

नेपालका कलाकारको मात्रै होइन, रामले भोजपुरी फिल्मका दिनेशलाल निरुहुव, सहवेज खान, रविकिशनजस्ता स्टारहरूको कपाल काटेका छन् । लामो बिदा तथा सुटिङको मौकामा आएका बलिउड कलाकारको पनि उनले कपाल काटिसकेका छन् । कलाकारितालाई प्रेम गर्ने राम अभिनय र टेक्निकलमा करियर बनाउन दौडिएका छन् । धेरै नयाँ फिल्महरूमा उनले मेकअप आर्टको काम गरेका छन् । साथै, पछिल्ला नयाँ पुस्ताका नायिकाहरूको हियर स्टायल उनैले बनाउँदै आएका छन् । 

अचेल सैलुनमा कम, सुटिङ र रियालिटी सोहरूमा बढी भेटिन्छन् राम । रामले आफ््नो पार्लरमा सातजनालाई रोजगारी दिएका छन् । आफ्नो पुख्र्यौली पेसासँगै अभिनय यात्रालाई पनि निरन्तरता दिन उनी तल्लीन छन् । भन्छन्, ‘पेसा र कलाकारिता दुवैलाई सँगै लैजान कोसिस गरिरहेको छु ।’