• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १४ शनिबार ११:४८:००
संगीत

ड्युटीमै गीत

२०७६ मङ्सिर १४ शनिबार ११:४८:००

‘जिन्दगीले हिसाब माग्छ हटाउँ भने तिमीलाई, 
बन्दकीमा छ यो मुटु अटाउँ भने तिमीलाई ।’

दीपक जंगमको संगीत र अजर जंगमको स्वरमा रहेको यो गीतले भूपेन्द्र महतलाई अब्बल गीतकारका रूपमा चिनायो । उनले चार अवार्ड यसै गीतबाट हात पारे । यता युवा गायक अजर जंगमको समेत टर्निङ प्वाइन्ट बन्न पुग्यो यो गीत ।

पेसाले नेपाली सेनाका क्याप्टेन थिए भूपेन्द्र । यतिवेला उनका साथी सबै कर्नेल भइरहँदा उनी भने अमेरिकामा १६ घन्टे मेसिन जिन्दगी बाँचिरहेका छन् । उनको अमेरिका यात्राको पनि छुट्टै कहानी छ । सन् २००१ सालको कुरा हो, उनी एयरपोर्टमा कार्यरत थिए । आर्मी हेलिकोप्टरको मेन्टेनेन्ससम्बन्धी काम गर्थे । हुलाकीले पार्सल च्यापेर आए र उनलाई भने, ‘तपाईंको पार्सल छ ।’ अमेरिकाबाट पार्सल पठाउने कोही नभएकाले छक्क परे उनी । त्यो क्षण सम्झिन्छन्, ‘सँगैको साथीले पार्सल बुझेर ‘बधाई छ, तपाईंलाई डिभी प-यो भनेपछि पार्सल खोलेर हेरेँ, सत्य रहेछ ।’

डिभी खोलेर हेरेपछि भूपेन्द्रको मनमा द्वन्द्व चल्यो । नेपालको जागिरमा गर्ने जति सबै दुःख गरिसकेका थिए । अब सुखका दिन आउँदै थियो उनको जीवनमा । शान्ति सेना जाने सपना पूरा हुँदै थियो उनको । ११ वर्षे सैनिक जागिर छोड्ने कि नछोड्ने अन्तरद्वन्द्वमा पुगे उनी । आखिरमा उनी अमेरिका जान तयार भए । छोराछोरी र श्रीमतीसहित उनी अमेरिका उडे । 

क्याप्टेनको जागिर छाडेर अमेरिका पुगे पनि उनले गीत लेख्न छाडेनन् । अमेरिका बसेर पनि निरन्तर साहित्यसाधनामा लागिरहे । उनी बसेको सहर कोलोराडो काठमाडाैंसँग लगभग मिल्दोजुल्दो लाग्छ उनलाई । दुई सहरबीच तुलना पनि गर्छन् उनी कहिलेकाहीँ । 

नेपालमा जति नै ठूलो पोस्टमा काम गरे पनि त्यहाँ गएपछि जिरो लेबलबाट काम सुरु हुने कुरा उनले भोगे । उनी सुरुमा सर्जिकल इक्युप्मेन्ट बनाउने कम्पनीमा काम गर्न थाले । त्यसमा साधारण कारिन्दाबाट उनले काम सुरु गरेको अनुभव साट्छन् उनी । यहाँ क्याप्टेनको पदमा बसेर सलुट खाइरहेका मान्छे कहिलेकाहीँ त्यो जिरो लेबल सम्झिँदा पछुतो नलाग्ने कुरा भएन ।

भूपेन्द्र एक–दुई वर्षको अन्तरालमा नेपाल आइरहन्छन् र साहित्यिक र सांगीतिक माहोलमा जम्छन् । मिडियाको साथ पनि राम्रै पाउन थालेका छन् । 

नेपालको स्वतन्त्रता, खाना र साथी सम्झेर वेला–वेला यतै तानिन्छ उनको मन । यहाँको सामाजिक सद्भाव, आपसी सहयोग, अर्गानिक टेस्ट, यहाँको परम्परा, चाड, रीति त्यहाँ नपाएपछि वेलाकुवेला त्यसको भोको बन्छन् उनी । भन्छन्, ‘चाड त त्यहाँ पनि मनाइन्छ, तर बर्थडे होस् या कुनै चाड होस्, मनाउनका निम्ति शनिबार वा आइतबार नै कुर्नुपर्ने बाध्यता छ ।’ 

उनी साहित्य लेख्न, सुन्न र सुनाउन मन पराउँछन् । सात कक्षामा हुँदै दाजुको दराजबाट साहित्यिक कृति चोरेर पढ्थे उनी । नौ कक्षामा पुग्दा ‘लक्ष्मी निबन्धसंग्रह’ पढे । विश्व निकेतनमा पढ्नेक्रममा कक्षामा कविता वाचन गर्न अग्र पंक्तिमा उनैको नाम आउँथ्यो । त्यहाँबाट नै पहिलो प्रेरणा मिल्यो उनलाई । साहित्यिक लेखनको त्यो जगलाई उनले आफ्नै स्वलेखनमा परिणत गर्न थाले ।

०४१ सालमा एसएलसी दिएर बसेका भूपेन्द्रले युवा लहडमै दुईवटा उपन्यास लेखिसकेका थिए । तर, ती पाण्डुलिपि हराए । प्रकाश कोबिद र युधिर थापाका पुस्तक पढ्थे त्योवेला । ‘शिरीषको फूल’ र ‘सेतो बाघ’ त्यसै वेला उनले पढेका उपन्यास हुन् । गाउँको सांस्कृतिक कार्यक्रममा उनले लेखेका ‘निर्मित खाडल’ र ‘पाप क्यासेटबाट कराउँछ’ भन्ने दुईवटा नाटक प्रदर्शन भए । ती नाटक हेरेर दर्शक रोएको सम्झना उनलाई अझै ताजा छ ।

१६ घन्टा काममा खटिएर पनि उनी गीत गजल लेखिरहेका छन् । उनी प्रायः ड्युटीमै गीत लेख्छन् ।  

गद्य कविता लेख्न मन पराउने भूपेन्द्र कविता र गजल एक–एक संग्रह निकाल्ने तयारीमा छन् अब । उनले यसभन्दा पहिल्यै ‘अलिकति जुन देऊ’ भन्ने गजलसंग्रह प्रकाशित गरेका छन् । सेनामा प्रवेश गरेपछि साहित्यको संगत पाएनन् उनले । आर्मीको वार्षिक पत्रिका ‘सिपाइ’मा ‘रुन दिन्नँ म मेरो माटो’ भन्ने कविता नै उनको पहिलो प्रकाशित कविता थियो ।

पल्टनको अनुशासित जीवन बाँचिरहेका उनलाई २००१ मा डिभी प-यो । त्यहाँ पुगेपछि यहाँको समाज, परिवेश र साथी सबै चिज छुट्यो । उनी एक्लिएको महसुस गर्न थालेपछि फेरि गीत लेख्न सुरु गरे । २० वटा गीत लेखेका थिए । त्यहीवेला संगीतकार टीका भण्डारी भ्रमणको सिलसिलामा अमेरिका पुगे । उनीसँग भेट भयो । टीकासँग गीतार थियो, त्यही सिलसिलामा डायरीको गीत उनलाई देखाए भूपेन्द्रले । गीत मन परेपछि टीकाले त्यसलाई संगीत भरे । ‘जीवन सायद यही हो कि आँसु हाँसो सँगै’ भन्ने बोलको गीत थियो । त्योसहित र उनका अन्य दुई गीत कम्पोज गरेपछि टीका भण्डारीसँगको सहकार्यमा २००५ मा ‘अभिप्सा’ भन्ने एल्बम निकाले । 

राजेशपायल राई रामकृष्ण ढकाल, शिशिर योगी, सत्यराज आचार्य, अनामिका मल्ल, सपना श्रीलगायतका थुप्रै गायकगायिकाले भूपेन्द्रको गीतमा स्वर दिइसकेका छन् । ‘एक चिम्टी सिन्दूर के छ-यौ तिमीले दासी भन्छौ’ भन्ने उनको पहिलो रेकर्डेड गजल अनामिका मल्लले गाइन् । दिया मास्केको अभिनयले गजल झन् दमदार बन्न पुग्यो । गीत हिट हुँदै गएपछि उनी थप प्रेरित भए । त्यसपछि दीपेश किशोर भट्टराईको ‘देन’ एल्बममा तीनवटा गीत दिएर सहकार्य गरे उनले । त्यसमा समावेश गीत ‘सबै बाटो बन्द थियो म रोएँ छट्पटाएँ, त्यसै दिन भगवान् म-यो के हुन्थ्यो र रोइकराइ’ भन्ने गीतले थुप्रै स्रोताको आँखाबाट आँसु झारिदियो । 

फेरि दीपेशकिशोर भट्टराई र उनको सहकार्यमा ‘मनोभाव’ भन्ने एल्बम आयो । त्यसपछि दीपक जंगम, अजर जंगम र उनको सहकार्यमा ‘आकाश मिचेको सहर’ नामक गजलको अन्तिम एल्बम निकाले उनले । यसरी पाँचवटा एल्बम निकाले । भन्छन्, ‘भाइरल हुने गीतमा विश्वास छैन, सधैँ टिक्ने गीतमा विश्वास लाग्छ ।’ 
भूपेन्द्र एक–दुई वर्षको अन्तरालमा नेपाल आइरहन्छन् र साहित्यिक र सांगीतिक माहोलमा जम्छन् । मिडियाको साथ पनि राम्रै पाउन थालेका छन् । उनको प्रिय विधा गजल हो, तर अमेरिकामा त्यो माहोल नै हुँदैन उनलाई । १६ घन्टा काममा खटिएर पनि उनी गीत–गजल लेखिरहेका छन् । उनी प्रायः ड्युटीमै गीत लेख्छन् ।