• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अमर आकाश
२०७६ मङ्सिर १४ शनिबार ११:५४:००
यात्रा

सिचुआनका हरिया मैदानमा

२०७६ मङ्सिर १४ शनिबार ११:५४:००
अमर आकाश

उनको छालाको तामा रङबाट मैले पहिलोचोटि मेरो भूमिको रङ चिनेको थिएँ
मैले पहिलोचोटि चिनेको थिएँ सूर्यका सुनौला आँसुहरू
मैले पहिलोचोटि चिनेको थिएँ बदलिँदो बतासले टोकेको चिह्न
मैले पहिलोचोटि भेटेको थिएँ खोंचको अनन्त शान्ति

विश्व कविताको समकालीन परिदृश्यका एक हस्ती मानिने कवि जिदी माजियाको सुन्दर कविताका हरफ हुन् यी, जसलाई अनुवाद गरेका छन् हिमाली कवि युयुत्सु आर. डी. शर्माले । यी घुमन्ते शर्माले यस वर्षको आफ्नो यायावरीबाट एउटा अद्भूत कोसेली नेपालीलाई चढाएका छन् ।त्यो कोसेली अरू केही नभएर चिनियाँ कवि जिदी माजियाका उत्कृष्ट कविताको संगालो हो । किताबको नाम छ ‘आमाको हात’ । किताबमा माजियाका छानिएका कविता समावेश छन् ।

संग्रहमा अंग्रेजी र नेपाली दुवै भाषामा कविता छापिएका छन् । पाठकले आफ्नो रुचिअनुरूप जुनसुकै भाषामा कविता पढ्न सक्नेछन् । उनका कविता मूल चिनियाँ भाषाबाट अमेरिकी अनुवादक डेनिस मायरले अंग्रजीमा अनुवाद गरेका हुन् । मायर चाइनिज भाषाका ज्ञाता हुन् । आर.डी. शर्मा एक महिनाअघि चीन पुगेका वेला माजियालाई भेटेका रहेछन् । संग्रहलाई निराला प्रकाशन, दिल्लीले प्रकाशनमा ल्याएको हो । 

उच्चस्तरीय सरकारी कर्मचारीका रूपमा समेत काम गरेका माजिया सिचुआन प्रान्तको ‘यी’ प्रजातिका र अझ त्यसमा पनि ‘नुसु’समूहका आदिवासी हुन् । उनका ‘सङ अफ लभ’ कविता संग्रह र लामो कविता ‘भ्लादिमिर मायाकोभ्सकी’ निकै रुचाइयो । उनका कविता युरोप र अमेरिकामा पनि निकै पढिन्छ । उनका कविताहरू विश्वका विभिन्न भाषामा अनुवाद गरिएको छ । 

‘आमाको हातमा’ कविता संग्रहमा समाविष्ट कविता पढ्दा माजियाको जन्मभूमिप्रतिको मोह स्पष्ट हुन्छ । जन्म दिने आमा र जन्मभूमिको चरम बिम्बले सुगन्धित छन्, माजियाका कविताहरू । राजनीतिक र आर्थिक दृष्टिले नेपाल र चीनबीच केही भिन्नता भए पनि भौगोलिक रूपमा भने केही समानता छ । त्यही भूगोल र त्यहाँको मानव अस्तित्व माजियाको कवितामा आएको छ ।

उनको कवितामा सिचुआनको हरियो र रसिलो पहाडको गन्ध भेटिन्छ । उनका कवितामा दैवी शक्ति, जातीय अस्तित्व चेत, सामूहिक विश्वास र अवधारणा समेटिएका हुन्छन् । कविता पढ्दै जाँदा हामी सिचुआनको खोलानाला र हरिया मैदानमा पुग्छौँ । शान्त, ध्यानमग्न र स्थिरताको सफा आकाश भएर टोलाउन पुगेझैँ हुन्छौँ । उनको एउटा कविता छ : 

यस भूमिमा नुओसु बोलीले कोरिएको इतिहास हुँ म
मुस्किलले सालनाल काट्न सक्ने नारीको कोखबाट जन्मेको हुँ म 
पीडाले पिरोलिएको मेरो नाम 
मेरो सुन्दर नाम 
आशाले भरिएको मेरो नाम 
चर्खामा ऊन कात्ने यौटी नारीबाट 
हजारौँ वर्षसम्म गर्भमा राखिएको
पुरुषत्वको यौटा कविता हो ।

माजियाका कवितामा कतै पनि काल्पनिक उडान र सस्ता भावना छैनन् । सबै कविता उत्तिकै गम्भीर र अर्थयुक्त छन् । उनका कविता भूमि र जातीय समुदायको परिचय र जीवनसँग सम्बन्धित छन् । माजियाका कवितामा एक खालको जादु छ । ती ताजा फलफूलजस्ता छन् । निजत्व छ । बनावटीपनबाट मुक्त छन् । उनका कवितामा स्वतःस्फूर्तता झल्कन्छ । जंगली रूख या घाँसजस्तो । कुनै चराको स्वच्छन्द आवाजजस्तो । माजिया प्रकृति र जीवनका कवि हुन् । उनी लेख्छन् ः 

म दिन्छु शुभकामनाहरू माहुरीहरूका लागि
सुनौलो बाँस र महान् पर्वतहरूका लागि
मसित छन् शुभकामनाहरू हामी जीवित प्राणीका लागि
भयावह त्रासदीहरूबाट मुक्त हुन 
र अनन्त निद्रामा गएका हाम्रा पूर्वजहरू 
अर्को संसारको शान्तिमा पुग्लान् 
म दिन्छु शुभकामना यस भूमिको विस्तारका लागि 
जुन हाम्रो आमाको जिउ नै हो 
म जाँडमा डुबेको भए पनि 
मैले कुनै हालतमा पनि यो तथ्य बिर्सनेछैन ।

मान्छे उसको देशको माटो, पानी र हावाको एउटा मूर्ति हो । माजियाका कवितामा यही कुरा आएको छ । अध्यात्म पूर्वीय सभ्यताको पहिचान हो । पश्चिमले पनि यो कुरा मनन् गरेको छ । वेलावेला ऊ यता आइरहने गर्छ, हिमाली हावा मिसिएको गंगा या कैलाशको अमृतमय पानीमा डुबुल्की मार्न । प्रकृति पूजा, आभार, हार्दिकता, अनौपचारिकता, पूर्वज र मृतात्माहरूप्रतिको श्रद्धा हामी पूर्वीयहरूको जीवन पद्धति हो । माथि उल्लिखित कविताको अंशले यही पूर्वी सभ्यताको राम्रो परिचय दिन्छ ।

जिदी माजिया ‘नुसु’समूहका आदिवासी हुन् । उनका ‘सङ अफ लभ’ कवितासंग्रह र लामो कविता ‘भ्लादिमिर मायाकोभ्सकी’ निकै रुचाइयो ।

माजियाका कवितामा सरल तरिकाले दर्शन पनि आएको हुन्छ । सरलता र विशालता उनका कविताहरूको विशेषता हो । उनी मानव मुक्तिका समर्थनमा लेख्ने कवि हुन् । संग्रहमा समावेश ‘स्वतन्त्रता’ शीर्षकको कविता हेरौँ :

एक दिन साँझपख 
नताली चरन क्षेत्रमा 
मैले एउटा घोडा देखेँ, डुलिरहेको उन्मुक्त
एकदम स्वतन्त्र, निर्देशविहीन, दिशाविहीन
रक्सीले द्युत एक कज्जाक घोडसवार 
उसको ढाडमाथि सुतिरहेको थियो 
मस्त मुद्रामा ।

हो, मेरा लागि ती विद्वान्ले स्वतन्त्रतालाई परिभाषित गरेका थिए
तर कसले बताउन सक्छ मलाई
नताली चरन क्षेत्रमा 
कुनचाहिँ बढी स्वतन्त्र थियो 
घोडा कि उसमा सवार कज्जाक ?

संग्रहका सबै कविता माजियाका उत्कृष्ट लेखनको नमुना हुन् । आफ्नो आदिवासी पहिचानदेखि प्राचीन रोमका दाँते, इजरायली यहुदी, अमेरिकी चित्रकार सबै ठाउँका मानिसबारे माजियाले लेखेका छन् ।चिनियाँ कविताको एउटा खास पहिचान र सम्मान छ विश्वमा । प्राचीन चिनियाँ कविताहरू युरोप र अमेरिकामा खुब पढ्ने गरिन्छ ।

आध्यात्मिकता र दर्शनले ओतप्रोत ती प्राचीन कविता विश्वभरिकै मानवका निम्ति महत्वपूर्ण छन् पनि । ताओ (दाओ), कन्फ्युसियस आदिको पवित्र भूमि चीनले आधुनिक युगमा पनि माजियाजस्ता अग्रज कवि जन्माउन छाडेको छैन । विश्वका समकालीन कविताको क्षेत्रमा एक विशिष्ट नाम जिदी माजियाका कविताको संगालो ‘आमाको हात’ कविताका खास पाठक र अध्येताका लागि एउटा उपलब्धि हुन सक्छ ।