साँझलाई सजाएर आँखाका नानीमा
तिमी जुन बाटो आयौ
बटुल्दै, सम्हाल्दै तिम्रो माटोको बासना
आइपुग्यो छाल किनार खोज्दै
तिम्रो स्वर
रातका काखमा थपक्क बसेका
काला धुपीका रूखहरू
कोमल पालुवा तिम्रा निःश्वास
चिर्छन् जूनकिरी निशाका अङ्ग–प्रत्यङ्ग
जून बालेर आँखामा
सुस्त अझैँ सुस्त !
हामी निर्धक्क लड्खडाउन चाहन्छौँ
पिएर एकअर्काको आत्मा
यताउति खोज्छन् हातहरू
माटो खुकुल्याएझैँ गड्यौँलाले
पृथ्वीको अतल गहिराइमा
अफसोच
भेटिन्न ‘वाइन ओपनर’
र पनि काम्छन् हाम्रा ओठहरू
टाढा
रातका छातीमा निभ्दै गएका बत्तीहरू
नरम–नरम मेहन्दी बास्नाले भरिएका
तिम्रा केशराशी
सुत्ने तरखरमा लागेका झ्याउँकिरी
नछोइएको सग्लो ‘वाइन’को सिसी
र सिसीसमान पारदर्शी मन !
साँझलाई सजाएर आँखाका नानीमा
हामी जुन बाटो फर्कियौँ
बटुल्दै, सँगाल्दै हाम्रो माटोको बास्ना
को आउँदै छ हाम्रो छाया कुल्चँदै ?
वा मेट्दै हाम्रा पदचापहरू ?