विज्ञान–प्रविधि
केही समयअघि वाम राजनीतिमा संलग्न एकजनाले नेपालमा विज्ञान प्रविधिको विकासबारे मेरो धारणा सोधे । हामीकहाँ विज्ञानलाई केवल प्रविधिसँग मात्र जोडेर हेर्ने चलन छ । ती व्यक्तिले त्यही कोणबाट मेरो धारणा सोधेका थिए । मैले विज्ञानलाई प्रविधिसँग जोड्नुअघि चिन्तनसँग जोड्नु जरुरी भएको धारणा राखँे । किनकि, विज्ञानले जन्माएको प्रविधिलाई पूर्ण रूपमा बुझ्न विज्ञान–चिन्तन आवश्यक छ ।
लोकतन्त्रमा आ–आफ्नो आस्थाअनुसार धर्म मान्ने सबैलाई हक छ । तर, मेसिनलाई ढोगेर, पूजा गरेर त्यसको नियम थाहा पाउन सकिन्न । गाडी बिग्रियो भने कुनै ईश्वरसँग प्रार्थना गरेर हुन्न । त्यसलाई मर्मत गर्न गाडीभित्र कुन पार्ट बिग्रिएको हो हेरेर, जाँच गरेर पत्ता लगाउनु जरुरी हुन्छ । गाडी एउटा प्रविधिको उपज हो । त्यो आफ्नै नियममा चल्छ । त्यसको नियम थाहा नपाई न त्यसलाई चलाउन सकिन्छ, न बिग्रिँदा त्यसको मर्मत नै गर्न सकिन्छ । तर, हामीकहाँ गाडीलगायत मेसिनलाई ढोग्ने र पूजा गर्ने चलन छ । खास चाडबाडमा गाडीलाई खसीबोका नै भोग दिने चलनसमेत छ । नयाँ हवाईजहाज ल्याउँदा हवाईजहाज इन्जिनियरहरूसमेतले हवाईजहाजमा कालो बोका बलि दिएको घटना नेपालमा छ । कतिपय कम्प्युटर इन्जिनियरहरूले समेत कम्प्युटरलाई अक्षता तथा अबिर छर्की पैसा चढाई पूजा गर्ने गरेको देख्न पाइन्छ ।
साधारणखालका मेसिन होस् वा कम्प्युटरजस्ता जटिल उपकरण ती सबै मानवमा विकसित विज्ञान चिन्तनको उपजबाट निर्मित वस्तुहरू हुन् । ती वस्तुहरूको सञ्चालनमा विज्ञान सिद्धान्तमा आधारित विशिष्ट भौतिक नियमहरूले काम गरेका हुन्छन् । ती नियमहरू न ईश्वरले सिर्जना गरेका हुन्, न तिनीहरूलाई ईश्वरले नियन्त्रण गर्न सक्छन् । त्यसैले तिनीहरूको सन्दर्भमा ईश्वरलाई प्रार्थना गर्नु, पूजा गर्नु वा बलि चढाउनुको कुनै तुक हुन्न । विज्ञान र प्रविधिलाई बुझ्न मानव विकास क्रममा चिन्तनको सुरुवात कसरी भयो भन्ने कुरालाई हेक्का राख्नु जरुरी छ ।
दर्शन र विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् । दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ ।
इतिहासमा मानव सभ्यताको सुरुवात ज्ञानको विकासबाट नै भयो । जब चेतना सुरु भयो त्यहीवेलादेखि मानिसले चिन्तन गर्न थाल्यो । प्रकृतिबारे जिज्ञासा उठ्दा त्यसको हल गर्ने प्रक्रियाका रूपमा चिन्तनको विकास भयो । चिन्तनले नै ज्ञान प्राप्ति भयो । ज्ञानलाई प्रयोग गरी मानिसले वस्तु सिर्जना वा उत्पादन गर्ने सीप र प्रविधि विकास गर्यो । त्यही सीप र प्रविधिबाट औजारको आविष्कार र उत्पादन भयो । औजारले मानिसको आवश्यकताका वस्तु उत्पादन गर्न मद्दत गर्यो । निष्कर्षमा ज्ञानले नै सभ्यतालाई अगाडि बढायो ।
जनावरहरू चिन्तन गर्न सक्दैनन् । त्यसैले तिनीहरूमा ज्ञान हुँदैन । ज्ञान नभएकाले नै तिनीहरूले वस्तु सिर्जना गर्न सक्दैनन् । जनावरहरू प्रकृतिमा जे छ, त्यही वस्तु मात्र उपभोग गर्छन् । सिर्जना र उत्पादन गर्दैनन् । जनावरले प्रकृतिमा बनिबनाउ वस्तु मात्र उपभोग गर्न सक्छ, आवश्यकताअनुसारको वस्तु सिर्जना र उत्पादन गर्न सक्दैन । मानिसले प्रकृतिमा भएको वस्तुलाई सीप र प्रविधि प्रयोग गरी आफूअनुकूलको वस्तुमा रूपान्तरण गरी नयाँ वस्तुको सिर्जना र उत्पादन गर्न सक्छ । जनावर र मानवमा आधारभूत फरक यसैमा छ । ज्ञानको विशेष रूप विज्ञान हो । तसर्थ ज्ञान साधारण हुन्छ, विज्ञान विशेष र विशिष्ट हुन्छ । ज्ञान जेठो हो, विज्ञान कान्छो । यो ज्ञानको पछिल्लो विशिष्ट रूप हो ।
ज्ञानको पहिलो सिर्जना
लाखौँ वर्षपहिलेको आदिमानवले आहारको खोजीमा जंगलमा सिकार गर्न हिँड्दा सुरुमा आफ्ना हातखुट्टा प्रयोग गरी नै जनावरको सिकार गर्दो हो । आदिकालदेखि नै मानवको शरीर प्राकृतिक रूपले त्यति बलवान् थिएन, जसबाट ठूला जनावरको सिकार गरी पर्याप्त आहार पुर्याउन सकोस् । आधुनिक जमानाका अपुच्छ बाँदरसँग मिल्दोजुल्दो शारीरिक संरचना भएका आदिमानवहरू खाना प्राप्तिका लागि सिकार गर्न र सुरक्षाका लागि समूहमा बस्दथे । त्यसैले उनीहरूलाई आफू एक्लोका लागि मात्र होइन, समूहका लागि नै सिकार गरी खाद्यवस्तु उपलब्ध गराउनुपथ्र्यो । यो एक समस्या पनि थियो अवसर पनि । धेरै खाद्यवस्तु जोहो गर्नुपर्ने समस्या थियो भने सिकारका लागि समूहमा बस्दा शक्ति बढी प्राप्त हुने अवसर थियो ।
समूहमा बस्नाले मात्र ठूला जनावरको सिकार हुनु सम्भव थिएन । मस्तिष्कको विकासका कारणबाट केही चिन्तन गर्न सक्ने हुँदा मानिसले ठूला जनावरको सिकार कसरी सम्भव होला भन्ने सोच्न थाल्यो । मानिसले आफ्नो चिन्तनबाट रूखको हाँगाले हिर्काएर जनावरको सिकार गर्ने सोचको निर्माण गर्यो । उनीहरूले त्यस सोचलाई व्यवहारमा प्रयोग गरी हेरे । परिणाम के निस्कियो भने हातको मुड्कीले मात्र हान्नेभन्दा रूखका हाँगाले समेत हिर्काउँदा सिकारमा केही सहजपना आयो । रूखको हाँगा प्रयोग गर्नु भनेको औजार लगाउनु हो । यसरी मानिसले औजार प्रयोग गर्दा सिकार सहज हुने ज्ञान प्राप्त गर्यो । ज्ञानको पहिलो सिर्जना सायद यही नै थियो ।
विज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ । अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो ।
अवलोकन, चिन्तन, सोच, प्रयोग, परिणाम, ज्ञान, तर्कवितर्क, नयाँ सोच आदिको शृंखलाबद्ध प्रक्रियाले मानव चेतनाको विकास अगाडि बढ्यो । पछि आदिमानवले अवलोकनबाट ढुङ्गालाई औजारको रूपमा प्रयोग गर्दा जनावरको सिकारमा थप सहज हुने सोचको निर्माण गरी प्रयोग गर्यो । त्यही प्रयोगले कालान्तरमा आफैँले ढुङ्गाका धारिला औजार निर्माण गरी सिकारलाई झन्झन् सहजतामा लाने सीप र प्रविधि आदिमानवले विकास गर्यो । यसबाट के निष्कर्ष निक्लिन्छ भने वास्तवमा आदिमानवको दैनिकीमा नै ज्ञानको विशेष रूप आइसकेको थियो, अर्थात् विज्ञानको जन्म भइसकेको थियो ।
विज्ञान संस्कृत शब्द हो । पूर्वीय मानव सभ्यतामा विज्ञान शब्दको उत्पत्ति र प्रयोग इसापूर्वमा नै भएको देखिन्छ । अङ्ग्रेजीमा विज्ञानको पर्याय शब्द ‘साइन्स’ हो । यो ल्याटिन भाषाबाट आएको हो । यो इसाको १९औँ शताब्दीमा मात्र उत्पत्ति भएको हो ।
मानवले आफूमा चिन्तनको क्षमता आएदेखि नै दुइटा काममा आफूलाई लगाए । एउटा, सत्यको खोज, अर्को मानव दैनिकीलाई सरल, सहज, सुरक्षित र सुविधायुक्त बनाउने उपायको खोज । पहिलोले दर्शनलाई जन्म दियो भने दोस्रोले विज्ञानलाई । वास्तवमा दर्शन र विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् । दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ ।
प्रकृति वस्तु (पदार्थ) र घटनाको सँगालो हो । संस्कृतमा प्रकृतिको अर्थ आफैँ सिर्जित हो । वास्तवमा प्रकृति नै सम्पूर्ण सत्य हो । प्रकृतिका सबै वस्तु तथा घटनाहरूको कारण हुन्छ । प्रकृति स्वयंको भने कारण छैन । वस्तु तथा घटनाहरूको कारण प्रकृति वा प्रकृतिको नियम हो । प्रकृति स्वसिर्जित भएकाले त्यसका नियमहरू पनि स्वसिर्जित नै हुन् । प्राकृतिक वस्तु र नियमहरू थाहा नपाउँदासम्म रहस्यको विषय बनिरहन्छ । विज्ञानले अवलोकन, प्रयोग, परीक्षण, तर्कवितर्क र तथ्यका आधारमा प्राकृतिक नियमहरू पत्ता लगाउने गर्दछ । प्रकृतिका नियमहरू उजागर भएपछि कुनै पनि कुरा रहस्यको विषय बनिरहँदैन ।
विज्ञानले प्राकृतिक नियमहरूका आधारमा मानवोपयोगी वस्तु तथा औजारहरूको आविष्कार गर्दछ । जंगलमा नाङ्गो शरीर लिई सिकार गर्दै हिँड्ने आदिमानवदेखि अहिलेको कम्प्युटर युगका विकसित मानवसम्मको सभ्यताको यात्रा वस्तु तथा औजारहरूको आविष्कार र उत्पादनबाट नै तय भयो । विज्ञानले नै मानव जातिलाई अहिलेको युगसम्म ल्याइपुर्यायो ।
प्रकृतिको नियम थाहा नपाउँदा मानव समाजमा विभिन्न अन्धविश्वासहरूको अस्तित्व कायम रहिरहन्छ । त्यसैले विज्ञानको व्यावहारिक प्रयोगले मानव सभ्यतालाई अगाडि जानबाट रोक्ने अन्धविश्वासलाई हटाउन मद्दत गर्दछ । विज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ । अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो । तसर्थ वास्तविक विज्ञानले जनताको जीवनलाई सत्यको मार्गमा लाने र सुखमय बनाउने काम गर्दछ ।
मानव जीवनलाई भौतिक रूपमा सुविधामय र समृद्ध बनाउन विज्ञान–प्रविधिले आधारभूत एवं निर्णायक भूमिका खेलेको छ । तर, विज्ञान–प्रविधिमा मनगढन्ते र अन्धविश्वासको कुनै भूमिका रहन्न । त्यसैले विज्ञान–प्रविधि अन्य देशबाट आयात गर्न सकिए पनि आफ्नै ठाउँ वा देशमा विकास गर्न विज्ञान चिन्तनविना सम्भव छैन । हामी अहिलेसम्म आयातीत प्रविधिमा नै निर्भर छौँ । हामी आफैँले प्रविधिको विकासमा छलाङ मार्ने हो भने हामीमा भएको अन्धविश्वासी चिन्तन र व्यवहारलाई त्याग्नु जरुरी छ ।
समाजका निर्माता जनता हुन् । नेपाली जनतालाई अन्धविश्वासको दलदलबाट बाहिर ल्याई नेपाली समाजलाई आधुनिक र विज्ञानसम्मत बनाउन राजनीतिको उच्च तहदेखि भुइँ तहको जनतासम्म विज्ञान चिन्तनलाई स्थापित गर्नु जरुरी छ । जति बढी विज्ञान चिन्तनको विकास हुन्छ, त्यही नै स्तरमा समाजमा अन्धविश्वासको पर्खाल भत्किन्छ । अन्धविश्वासबाट मुक्त मानिसले मात्र प्रविधिको वास्तविक विकास र सञ्चालन सम्भव हुन्छ । तसर्थ, विज्ञानलाई प्रविधिसँग मात्र जोडेर हेर्ने प्रवृत्ति छाडेर यसलाई सही चिन्तन निर्माणसँग पनि जोडेर हेर्ने बानी बसाल्नु जरुरी छ ।