• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
छुदेन काविमो काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १०:५८:००
साहित्य

बाजे

२०७६ मङ्सिर २१ शनिबार १०:५८:००
छुदेन काविमो काठमाडाैं

कथा

‘मनपर्नेहरूको बोलीले त ज्यान लिइहाल्छ नि । मन नपर्नेहरूले हिर्काएको गोलीले पो नयाँ जीवन दिँदोरहेछ । सोँच्दै छु, जिप्टिनु नि कोइ–कोइ बन्दुकको गोली नै बरु मलालाको निधारबाट जस्तो ।’

छुदेन काविमो

स्कुल होस्टेल अघि एक्लै उभिँदा यस्तै विचार आउँदोरहेछ । पछि फर्केँ । हातमा पोका लिएर बाजे आउँदै रहेछन् । उनी आउँदा मेरा निम्ति सधैँ केही न केही लिएर आउँछन् । कोही वेला मिठाईको पोका हुन्छन् । कोही वेला खुसीको । उनी कहिले रित्ता हुँदैनन् । 
होस्टेलको फिस पनि बुझाइसकेछन् । मलाई नरमाइलो लाग्यो । पहिलोचोटि म बाजेदेखि अलग हुँदै थिएँ । बाजे नहुँदा कति रित्तो हुन्छु, त्यो अनुभव गर्दै थिएँ ।
‘अब तिम्रो सोच गतिलो बन्नुपर्छ । काँध बलियो बनाउनुपर्छ । मलाई पाल्ने जिम्मेवारी पनि आउन लागेको छ । राम्रो पढ्नू । मेरो शिर झुकाउने काम नगर्नू,’ पोका थमाएपछि बाजेले अझै थप्नु भो, ‘नट ह्याभन नोर हेल । डु समथिङ फर इन दिज वर्ल्ड ।’
बाजेको कुरा सुन्नासाथ म उदास भएँ ।
‘तपाईँकै काँध त हो बाजे । जहाँ उक्लेर मैले पहिलोचोटि संसारलाई तल हेरेको थिएँ,’ मैले सुस्तरी भनँे, ‘तपाईँको काँध नै मेरा निम्ति आइफल टावर हो । मलाई संसार देखाउने, संसार चिनाउने ।’ 
म बोलिरहेँ । बाजेले सुनिदिइरहनुभो । 
‘तपाईंले जूनलाई भगवान् भनेर देखाइदिनुभो, मैले हात जोडि़हालेँ । घामलाई परमेश्वर भनिदिनुभो, मैले पानी चढाइहालेँ । हिमाललाई सृष्टिकर्ता भनिदिनुभो, मैले हाँसेर ढोग गरिहालेँ । आकाश देखाउनुभो र भन्नुभो, ‘म यहाँ छुइनँ भने त्यही कहीँ हुनेछु,’ म निकै भावुक बनिसकेको थिएँ । त्यसपछि मलाई आकाश पनि आफ्नै घरजस्तो प्रिय लाग्न थालेको हो । त्यही ठेलासरीको हात त हो, जसलाई पक्रेर म हिँड्ने भएँ । अब भन्नुहोस्, तपाईंको शिर झुकाउने कार्य कसरी गर्नसक्छु होला म ?’
बाजेका आँखा राता भए । मलाई सूर्यग्रहणले छोपेजस्तो भयो । 
म बाजे रोएको हेर्न सक्दिनँ । मेरा एकजना बडाबाबु थिए । गाउँमा सडक बनिएको सपना देख्थे । गाडी गुडेको कल्पना गर्थे । न सडक बन्यो । न गाडी गुड्यो । सपनाजसरी बितेर जान्छ, उनी त्यसरी नै बितेर गए । उनी खस्दा मैले पहिलोचोटि आपालाई रोएको देखेँ । जीवनमा पहिलोपल्ट बाउ रोएको देखेको दिन त्यही हो मेरो । त्यो दिन म सबभन्दा धेरै दुःखेको थिएँ । 
सधैँ हाँसिरहने बाजे रोएको एकचोटि देखेको छु । उनको एकजना भाइ रहेछन् । हामीले देख्नै पाएनौँ । दाजुभाइमा राम्रो मेल थिएन रे । खसेपछि खबर मात्र बाजेकहाँ आइपुग्यो । उनी त्यसदिन निकै रोएका थिए । म पनि उनीसँगै रोएको थिएँ । त्यस दिन खुलेको आँखामा आज फेरि आँसु छचल्किँदै थियो । उनको आँखासँगै म पनि रसिँदै थिएँ । 
मलाई होस्टेल मन पर्दैन । होस्टेलमा अनेक समस्या हुन्छन् । उसो त जीवन नै समस्याले भरिएको हुन्छ । तैपनि होस्टेलको समस्या भनेको रोबोटजस्तै बन्नु हो । यहाँ मैले सोँचेको केही हुँदैन । जे हुन्छ, इन्चार्जले सोचेको हुन्छ । उनी होस्टेलभित्रका निम्ति डनजस्तै हुन्छन् । बस भन्दा बस्नुपर्ने । उठ भन्दा उठ्नुपर्ने । पढ भन्दा पढ्नुपर्ने । भगवान्लाई सम्झिनका निम्ति पनि उसको इसारा पर्खिनुपर्ने । यी सब कुरादेखि मलाई अरुचि थियो । सबभन्दा ठूलो कुरा त म आजदेखि बाजेलाई देख्न पाउँदिनथेँ । उनको चिम्से आँखा हेर्न पाउँदिनथेँ । कालो कोट र ठेला परेका हात छुन पाउँदिनथेँ ।
‘म हिँडेरै स्कुल जान्थेँ बरु । गाउँमा नै पढ्न पाएको भए खुसी हुन्थेँ,’ काँपिरहेको बाजेको हातलाई समातेर भनेँ, ‘बरु भोकै स्कुल धाउँथेँ । यत्रो वर्ष पनि त धाएकै हो ।’
‘गाउँबाट स्कुल पुग्नु सजायजस्तै भएको छ । तिमी प्रतिदिन ६ घन्टा हिँड्छौ । तिमीलाई थाहा छैन, त्यो समयभरि म कति चिन्तामा हुन्छु,’ बाजेले आँखा पुछ्दै भन्नुभो, ‘स्कुल जानु भनेको सजाय भोग्नु होइन । म तिमीलाई राम्रो मान्छे बनेको देख्न चाहन्छु । ठूला मान्छे जम्मै राम्रा हुँदैनन् । तर, राम्रा मान्छे मनका ठूला हुन्छन् ।’
मैले केही भनिनँ । सोचेँ, ‘एकथरीका मान्छे हुन्छन् । जसलाई भूल संशोधन गर्न रातो स्याहीको जरुरत पर्दैन । अर्काथरी हुन्छन्, भूल संशोधन गर्न रातो कलम खोज्दै हिँड़्छन् । जब कलम भेट्छन्, आफूबाहेक जम्मैलाई गलत देख्न थाल्छन् । भूल संशोधन गर्दागर्दै यस्ता डिक्टेटर बनिसकेका हुन्छन् ।
मेरा निम्ति बाजे पहिलो पंक्तिका मानिस हुन् । उनले मेरा हजार गल्ती संशोधन गरिदिएका छन् । त्यसो गर्न तिनलाई कहिले रातो स्याही चाहिएन । बाजेहरू कहिले गलत हुँदैनन् ।
‘मलाई भेट्न आइरहनुस् ल ?,’ मैले बाजेलाई भनेँ,’ ‘पर्खिरहन्छु नि म, है ल ।’
बाजेले मलाई हेरेनन् । 
‘सात सय रुपैयाँ छोड्दै छु । काम चलाउँदै गर्नू,’ बाजेले अर्कैतर हेरेर भन्नुभो, ‘समस्या परे चिठी लेख्नू ।’ यति भनिराखेर उहाँ गेटबाट बाहिर निस्किनुभो । मेरो आँखा बाजेको पछिपछि गए, म जान नसके पनि ।
 

बाजेविनाको पहिलो हप्ता उराठलाग्दो थियो । त्यो हप्ता म कसैसँग बोलिनँ । धेरैले मलाई लाटा भनेर गिज्याउन थालेका थिए । त्यो समय मेरो डायरीसँगै बित्यो । त्यो कालो डायरीमा यादबाहेक अरू केही लेख्नै आएन मलाई । 
महिना दिनपछि केही बिसेक भएँ । जतिवेला फर्स्ट टर्मको टेस्ट सकिसकेको थियो ।
४ फेबु्रअरी ।    
टेस्टको रिजल्ट निस्केछ । मेरो नम्बर सूचीको टुप्पोमा परेछ । म हुरुक्क भएँ । खुसी भएर रुमतिर दगुर्दै थिएँ । पछिल्तिरबाट कसैले एक लात हिर्कायो । फर्केर हेरेँ, सिनियर दाजु रहेछन् । अघिल्लो वर्षदेखि फेल भएर बसेको रे !
‘साला एक्जाममा त केही जान्दिनँ भन्थिस् त,’ म पछि फर्किनासाथ ऊ करायो, ‘कसरी फस्र्ट भइस् हँ ? अब डेली लात खान्छस्, बुझिस् ?’
म हुत्तिएर रुममा घुसेँ । 
अघिको खुसी सब हरायो । 
खिड्कीमा घोप्टेर रुन थालेँ । मन थामिनसक्नुभो । त्यहीँ डायरी च्यातेँ अनि बाजेलाई चिट्ठी लेख्न थालेँ । 
त्यो मेरो जीवनकै पहिलो चिठी थियो ।
.......बाजे । होस्टेलको नियम अच्चम्मको छ । यहाँ केही ठीक छैन । जता फर्कियो समस्या । बिहान उठेर पाइखानाका लागि एक घन्टा उभिनुपर्छ । त्यसपछि पानी लिन धारातिर दगुर्नपर्छ । ढिलो भए, खाना आधा पेट मात्र पाइन्छ । राम्रो पढेर मात्र हुँदैन । एक्जाममा अरूलाई चोर्न पनि दिनुपर्छ । नत्र लात खाइन्छ । बजारका मान्छे सबै यस्तै हुन्छन् कि के हो, मैले बुझ्नै सकिनँ । बाजे, तपाईँ बुझ्नुहुन्न । यो होस्टेलभन्दा सय गुणा राम्रो गाउँको घर हुन्छ । सहरभन्दा हजार गुणा राम्रो गाउँ हुन्छ । यो बिल्डिङ मलाई जेलजस्तै लाग्छ । यहाँ बलियाले लुतेलाई जहिले हेपिरहेको देख्छु । यहाँ तपाईंका जस्ता माया लाग्दा आँखा कहीँ छैनन् । होस्टेल इन्चार्जको आँखामा रिस मात्र देख्छु । शिक्षकको आँखामा पनि क्रोध देख्छु । सिनियरका डरलाग्दा आँखाबाट जहिले तर्किँदै भाग्नुपर्छ । अचेल मलाई आँखादेखि पनि डर लाग्छ । म एकचोटि तपाईंको आँखा हेर्न चाहन्छु, बाजे । 
अँ अर्को कुरा । तपाईँले बुढ्यौलीभत्ता पाउनुभो होला । पैसा हातमा परेपछि तपाईं जहिले धेर सोड्क्याउनुहुन्छ । त्यसो नगर्नुस् है ल । तपाईंलाई थाहा छ नि, त्यो भत्ता पनि पर्सेन्टेज खाएर आधा मात्र दिइन्छ । अर्को भत्ताका निम्ति फेरि एक वर्ष पर्खिनुपर्छ । 
हो बाजे । यो होस्टेलबाट छुट्टिनकै निम्ति म अचेल दिनरात पढ्दै छु । कहिले बर्खाको छुट्टी हुने ? अचेल यही पर्खेर बस्दै छु । मलाई भेट्न चाँडै आउनुहोला । केही ल्याउनुपर्दैन । 
                              उहीँ तपाईंको नाति ।

लेखिसकेर बाजेलाई एकक्षण सम्झेँ । ‘सपना सानो देख्नु हुँदैन । ठूलो सपना देख्नुपर्छ,’ उहाँ जहिल्यै भन्नुहुन्थ्यो, ‘गर्नेका निम्ति यो संसारमा कहीँ न कहीँ ठाउँ हुन्छ ।’ 
सोचेँ, संसार भनेको टुक्रा–टुक्रा हुँदारहेछन् । गाउँको संसार । सहरको संसार । स्कुलको संसार । युवाको संसार । बेरोजगारको संसार । गुण्डाको संसार । मत्थुको संसार । मजदूरको संसार । राजनीतिक दलनेताको संसार । भोट लगाउने खालीखुट्टे जनताको संसार । जागिर खानेहरूको संसार । अवकाशपछिको संसार । बुढ्यौलीभत्ता थाप्नेहरूको संसार । गरिबको संसार । धनीको संसार । यी जम्मै साना–साना संसार मिलेर एउटा ठूलो संसार बनिँदोरहेछ । यसैलाई पो जियोग्राफीले पृथ्वी भनेको रहेछ । यति थुप्रो संसारमा मेरो संसार कहाँ होला ? सोचे अनि चिठीलाई खाममा लगाएँ ।
०००

२९ फेब्रुअरी ।
फुटबल खेलेर होस्टेल फर्किएँ । आज छुट्टिको दिन थियो । 
आएर क्यालेन्डर पल्टाएँ । म जहिले क्यालेन्डर यस कारण हेर्छु कि, त्यहाँ भएका राता रङका तारिख आफ्ना लाग्छन् । म मात्र होइन, मसँग मिल्ने साथी धेरै छन् । उनीहरू सबैलाई यस्तै लाग्दा रहेछन् । मेरा क्रिस्चियन साथीहरू छन्, उनीहरूलाई बुद्धजयन्तीको तारिखमा लागेको रातो रङ मनपर्छ रे । हिन्दू साथीहरूलाई इदको तारिखमा लागेको रङ आफ्ना लाग्छन् रे । दसैँ–तिहार, गुडफ्राइडे जता सुकै किन नहोस्, रातो लागेको तारिख सबैलाई प्रिय लाग्दो रहेछ । किनकि, रातो भनेको छुट्टीको तारिख हो नि त ।
आजको तारिखको महत्व अलग थियो मेरा निम्ति । क्यालेन्डरमा रातो छैन, तर २९ फेब्रुअरी मेरो जीवनकै महत्वपूर्ण दिन । अर्थात् मेरो जन्मदिन । मैले अघिल्लो जन्मदिन सम्झेँ, बाजेले घरमा लामा नै पढाइदिनु भएको थियो । त्यो दिन म खुब हाँसेको थिएँ । 
२९ तारिखले मलाई फेरि बिसन्चो बनाइदियो । अघिल्लो पत्र बाजेले पाए वा पाएनन् ? त्यो मलाई थाहा छैन । मैले फेरि लेख्न थालेँ– 
दिशाविनाको मान्छेजस्तो । चमकविनाको फूलजस्तो । खुसीविनाको अनुहारजस्तो । पानीविनाको वर्षाजस्तो । न्यानोविनाको हिउँदोजस्तो । म अलपत्र भएको छु बाजे । आज रातभरि सपनामा तपाईँलाई देखेँ । बिहान उठ्दा बुझेँ, मेरो जन्मदिन रहेछ । 
अरूका निम्ति वर्षैपछि जन्म दिन आइदिन्छ । मैले यसैका निम्ति लिपइयर पर्खिनुपर्छ । चार वर्षपछि आएको २९ फेब्रुअरी म एक्लो छु । मलाई थाहा छ, तपार्इंले मलाई प्रार्थनामा सम्झिनुभो । 
बाजे । मलाई प्रार्थनामा विश्वास लाग्दैन । प्रार्थना भनेको मनलाई शान्त पार्ने साधनाजस्तो मात्र लाग्छ । जहाँ घुँडा टेकेपछि हामी शान्त बन्छौँ, किनकि नदेखिने कसैलाई हामी आफ्नो समस्या सुनाइरहेका हुन्छौँ ।
मनलाई शान्त पार्न भगवान् नै सम्झिनुपर्छ भन्ने लाग्दैन । जस्तो कि तपार्इंलाई सम्झेर पनि म शान्त बन्न सक्छु । आफ्नो समस्या भुल्न सक्छु । 
अँ । मेरो टेस्ट राम्रो भएछ । तैपनि मसँग खुसी भन्ने कुरा छैन । 
ठूला–ठूला बिल्डिङमा बसेपछि यस्तै हुँदा रहेछन्, सानातिना कुराले मनमा नछुँदा रहेछन् । जब ससाना कुराले खुसी दिन छोड्छ, तब जीवनको अर्थ नै कहाँ हुँदोरहेछ र, है बाजे ? अहिलेलाई मेरो लक्ष्य यति हो, कि काँध बलियो बनाउन सकूँ ।
पढेर सहर पस्ने होइन, सहरलाई गाउँमा ल्याउन सक्ने हुन सकूँ ।
फुर्सद मिले होस्टेल आउनुहोला ।
तपाईँलाई सधैँ माया गरिरहने नाति ।
०००

दर्जनौँ चिठी लेखियो । जम्मै पोस्ट गरियो । तर, कहिले बाजे आएनन् । न त उनको रिप्लाई नै आइपुग्यो । 
बाजेको यादमा ५० रुपैयाँ चेपेको थिएँ । लाइफ साइन्स किताबभित्र । त्यो पनि आज चल्यो । कोठामा आएर क्यालेन्डर हेरेँ । रातो रङ लागेका तारिखनजिक आइरहेका थिए । अब पाँच दिन मात्र बाँकी रहेछ । शुक्रबारदेखि समर भ्याकेसन रहेछ ।
रातो रङले मेरो अनुहारलाई नै एकक्षण रंगिन बनाइदियो । 
यतिवेला मसँग एउटै चिन्ता थियो, बाजेले किन मलाई सोधेनन् ? उनी किन मलाई भेट्न आएनन् ? 
सोचेँ, उनी रक्सी पिउने मान्छे हुन् । झमेलामा पो फसे कि ? रिसमा घुस्सा हान्दै हिँड़्छन् । त्यही हात पो भाँचियो कि ? खुट्टामा काँडा बिझेको थियो । बल्झियो कि ? वर्षाअघि नै पानी पर्दै छ । पहिरोले पो सोहो¥यो कि ? होइन । यसपटक बुढ्यौलीभत्ता दिएकै छैन होला । भत्ता नपाएपछि उनीसँग गाडीभाडा कहाँ हुन्छ र ? 
सुर्ताले बितेको पाँच दिन मलाई पूरै पाँच वर्षजस्तो लागिरहेथ्यो । बल्ल शुक्रबार आइपुग्यो । एकमुठी सुपारी किनेर म घर हिँडेँ ।
गाडीबाट झर्दा झन्डै ३ बजेको रहेछ । त्यसपछि ओरालो दगुर्न थालेँ ।
मनमा अघिकै प्रश्न दोहोरिन थाल्यो । मलाई छिटोभन्दा छिटो बाजेको अनुहार हेर्नु थियो । यतिखेर मलाई सबथोक प्यारो लाग्न थालेको थियो । डाँडामा अस्ताउन लागेको घाम पनि आफ्नै लागिरहेथ्यो । खुट्टामा ठोकिने ढुंगालाई चुम्न मन लागिरहेको थियो । वरिपरिका वनमारा घारीलाई अँगाल्न मन लागिरहेथ्यो । बाजेलाई केही भएको त छैन ? फेरि मनमा चिन्ता पलायो । खुट्टाको रफ्तार अझै बढ्यो ।
१५ मिनट दगुरेपछि बल्ल घरको धुरी देखेँ । धुवाँ आउँदै रहेछ । खुसीले आँगनमा बाख्राको पाठोझैँ उफ्रिएँ । त्यसपछि चिच्चाएँ, ‘बाजे....।’
बाजे काँप्दै दैलोबाट निस्किनुभो । खुसीले उफ्रेर म उनको खुट्टामा नै पुगेछु । तान्दै गरेको चुरोट झन्डै भुइँमा खस्यो । ‘तपाईंले मलाई एकचोटि नि सम्झिनुभएन है । कहिले भेट्न पनि आउनुभएन है ।,’ मायाले सोधेर चुरोट पक्रेको हात हेरेँ । झनक्क रिस उठ्यो । उनले मेरो चिठीमा त, सुर्ती बेरेर पो तान्दै रहेछन् । ‘के गर्नु भाको यो ? तपार्इंको हरथोकलाई मैले छातीमा टाँसेर राखेँ । तर, तपाईँले चाहिँ मेरो यादलाई पनि कटुवा बनाइदिनुभो ?’ भनिनसक्दै सुकसुकाउन थालेछु म ।
बाजे केही क्षण खोक्नुभो । त्यसपछि मेरो निधारलाई छोएर बोल्न थाल्नुभो, ‘म पढ्न कहाँ सक्छु र ? जीवनभर मैले आफ्नै नाम त लेख्न सकिनँ ।’ एकचोटिलाई कोठा सुनसान भयो । मेरो ठूलो भ्रम सुनसानमा नै च्यातियो ।
‘म बुझ्न सक्छु, तर यो कागजमा तिमीले के लेख्यौ,’ बाजे फेरि बोल्न लाग्नुभो, ‘मलाई थाहा छ, तिमीले यो चिठीमा समस्याबाहेक अरू केही लेखेनौ । म तिम्रो समस्यालाई छातीमा टाँसेर राख्न चाहन्नँ । तिमी जान्दैनौ, समस्या भनेको हर ठाउँमा हुन्छ । त्यसलाई चुरोटजस्तो सल्काएर तान्न सक्नुपर्छ । पीडा भनेको धुवाँजस्तो मात्रै त हो नि । जो अहिले हुन्छ, अहिले हुँदैन ।’
 मेरो चित्त परेन । अझै चर्किएँ । ‘जन्म दिनमा पनि त सम्झिनुभएन नि मलाई ?’
‘दुनियाँमा हजार मान्छे हुन्छन् । आफ्नो जन्मदिन आफैँ मनाउँछन् । आफै खुसी हुन्छन् । खुसीको केक पनि पहिले आफैं खान्छन्,’ ठेला परेको हातले चुरोट तान्दै बाजेले थप्नुभो, ‘आफ्नै निम्ति मात्र हो भने त जन्मिएको अर्थ नै के रह्यो र ? यसो त जो कोहीले गरिहाल्छन् नि । तिमीले त नयाँ केही गर्नुपर्‍यो । जुन कामले गर्दा मरेपछि पनि दुनियाँले सम्झिन सकोस् । ताकि अरूले तिम्रो जन्मदिन मनाइदिइयोस् । नट ह्याभन नोर हेल । डु समथिङ फर इन दिज वल्र्ड ।’
घरीघरी दोहोरिने अंगेजीको दुई हरफले टाउको दुखायो । झोँकमा आँट गरेरै सोधेँ, ‘बाजे, तपाईँ नाम लेख्न जान्दिन भन्नुहुन्छ । यी अंग्रेजीका दुई हरफचाहिँ फेरि गोजीमा नै बोकेर हिँड्नुहुन्छ । यस्तो कसरी भयो ?’ उनी केही क्षण शान्त देखिए । त्यसपछि फेरि केही गम्भीर बन्नुभयो र भन्न लाग्नुभयो, ‘यो सिक्ने होइन, बुझ्ने कुरा हो । जसलाई जे आवश्यक पर्छ, त्यो उसले त्यसै सिक्छ । हामी जे गर्न सक्दैनौँ त्यसका निम्ति उपरवालालाई छोडिदिन्छौँ । वास्तवमा उपरवाला कोही छैनन् । माथि भनेको विश्वास मात्र हो । त्यो विश्वास आकाशजस्तै हुन्छ । भ्रम मात्रै । वास्तवमा माथि कुनै कुरा हुँदै हुँदैनन् । भए पनि माथिका काम लाग्दैनन् । माथिको भर पर्दा नै हामी अरूजस्तै देखिने भएका छौँ । रामसिंह ठकुरीले भारतकै राष्ट्रिय गीतमा धुन भरे । माथिकाले उनलाई ठाकुर बनाइदिए । जितु राईले तीनवटा गोल्डमेडल के जिते । माथिकाले आधाउधी रोय नै बनाइदिए । लेप्चाहरूले सुरक्षास्थल बनाउन घ्याम्पा मात्र जोडे । माथिकाले स्वर्ग जाने सिँढी नै बनाइदिए । लेख्नेले नबुझी इतिहास नै लेखिदिए । जसको अवधारणामा स्वर्ग र नर्क नै हुँदैन, उनीहरूलाई स्वर्ग जाने सिँढी बनाउनेहरूको सन्तान कहलाइए । जतिवेला यति बुझ्ने भएँ, त्यतिवेला मैले केही गोराहरूसँग हिमचिम गर्न पाएँ र त्यहीँबाट सिकेँ, नट ह्याभन नोर हेल । डु समथिङ फर इन दिज वल्र्ड । अब यसलाई बुझ्ने पालो तिम्रो हो ।’
मसँग अहिले कुनै प्रश्न थिएन । बाजे अनुहारभरि उत्तर बोकेर हाँसिरहेका थिए । बाजे किन कहिले गलत हुँदैनन् ? सोचेर उनको फेल्टर मिलाइदिए ।
अनि ?
 चिम्सा आँखा झिम्काउँदै बाजे धारातिर लाग्नुभो । उनको आँखामा मैले मायाबाहेक अरू केही देखिनँ । 
ती आँखाअघि म फेरि नानी बन्दै गएँ ।