• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सौगात मल्ल
सौगात मल्ल काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १०:५८:००
फिल्म

सोचेजस्तो फिल्म पाइनँ

२०७६ मङ्सिर २१ शनिबार १०:५८:००
सौगात मल्ल काठमाडाैं

नेपाली सिनेजगत्का जल्दाबल्दा अभिनेता हुन्, सौगात मल्ल (३५) । रंगमञ्चबाट फिल्मी दुनियाँमा प्रवेश गरेका उनले ‘लुट,’ ‘छड्के’, कबड्डी– कबड्डी, ‘फन्को’जस्ता फिल्मबाट निकै तारिफ बटुले । सौगातले नवलपरासीदेखि काठमाडौंसम्मको संघर्ष–यात्रा नवीन प्यासीसँग बाँडेका छन् :

म सातआठ वर्षको हुँदा विवाहमा रातभर फिल्म हेराउने चलन थियो । नवलपरासीको मेरो घरमा काम गर्न सघाउने एकजना दाइ हुनुहुन्थ्यो । दाइलाई फिल्म हेर्न छुट थियो, मलाई बन्देज । दाइले फिल्म हेरेर आउँथे, कहानी सुनाउँथे । मैले फिल्मको कुरा त्यही दाइकै मुखबाट पहिलोपटक सुनेको थिएँ । दाइको कथावाचन बलियो थियो । फिल्मको कथा सुनेपछि दाइलाई भन्थेँ, ‘फिल्म त राम्रो चिज रहेछ है दाइ !’ दाइले ‘अँ’ भनेर कहानी सुरु गरिहाल्थे । 

मलाई फिल्म हेर्न एकदमै मन लाग्ने । अलि पछि ब्ल्याक एन्ड ह्वाइट टिभीमा हेर्न पाएँ पनि । दाइले बखान गरेजस्तो ‘खत्रा’ लागेन फिल्म । फिल्मका कथा उही त थिए, भावुक बनाइरहेको, रुवाइरहेको, हँसाइरहेको । फिल्म हेर्दै गएपछि एउटा निर्णयमा पुगेँ– पछि फिल्म नै खेल्छु । 

म पढाइमा कमजोर । रुचि नै थिएन भनौँ न । बाआमाका लागि स्कुल गएर पढेजस्तो गर्थें । स्कुलमा एक–दुई मिनेटको प्रस्तुति पनि दिन्थेँ । सबैले मन पराउँथे । बाआमाको जिद्दी भने छुट्टै थियो– तैँले पढ्नुपर्छ । तर, सरले पढाएको बुझ्नै सक्दिनँ थिएँ । बरु सरले पढाउँदै गर्दाको लय, पढाउँदाको अवस्था, अल्छी भएर पढाउँदाको अवस्था, जाँगर हुँदाको अवस्था नक्कल गर्थें । साथीहरू भन्थे– तँ त कलाकार होस् यार ! 

साथीहरूले मेरो मनको कुरा भनिदिएका थिए । साथीहरूले हौसला पनि थपिदिन्थे । म मनमनै फिल्मको हिरो भइसकेको थिएँ । फिल्म हेरिरहँदा फिल्मबाट हिरोलाई निकालेर हिरोको ठाउँमा आफूलाई राखेर पनि हेरेँ, खासै फरक पाइनँ । 

आठ कक्षामा पढ्दा राजेश हमाल दाइको ‘अधिकार’ फिल्मको सुटिङ नवरपरासीमा भएको थियो । गाउँमा सबै हेर्न गए । साथीहरू पनि गए । तर, म गइनँ । सुटिङ हेरेर फर्किएका साथीहरूले भने, ‘राजेश हमाल त तँजस्तै काले छ यार । तेरो पनि चान्स छ ।’

सुरुमा हिरो बन्छु भन्ने सोच थियो । पछि धारणा फेरियो । कलाकार बन्ने निर्णयमा पुगेँ । दिदीहरू सलमान खान, शाहरूख खान मन पराउँथे । मलाइ भने नसिरुद्दिन शाह, ओम पुरी, नाना पाटेकरका अभिनयमा विश्वास हुन थाल्यो । उनीहरू हिरोजस्ता पनि छैनन् । यी कलाकारमा म आफूलाई रिलेट गर्न पनि सक्थेँ । म आफैँ पनि दागैदाग भएको, काले न थिएँ । मलाई लाग्यो, यो किसिमको अभिनयमा कुनै रेखा छैन । मसँग पनि सम्भावना छ । 

काठमाडौं पसेपछि
काठमाडौंमा फिल्म खेल्न थुप्रै ठाउँ धाएँ । आश्वासन पाएँ, अवसर पाइनँ । पछि निर्देशक आकाश अधिकारीलाई भेटेँ, उहाँले ‘रणभूमि’ फिल्म बनाउनुभयो । उहाँले भन्नुभयो, ‘साइडमा बस न, अनुहार पनि देखिन्छ ।’ उहाँले भनेजस्तो गरेँ । उहाँको दोस्रो र तेस्रो फिल्ममा अलि ठूलो भूमिका पाएँ । तर, कामचाहिँ केटीलाई जिस्काउने र हिरोको पिटाइ खाने थियो । 

त्योवेला हिन्दी फिल्म खुब हेर्थें, नेपाली हेर्दा पनि हेर्थिनँ । म हिरो बन्छु भनेर आएको मान्छे, नेपाली फिल्म नै हेरेको थिइनँ । पछि नेपाली फिल्म हेर्न थालेँ । ‘सिन्दुर’, ‘कुसुमे रुमाल’लगायत फिल्म राम्रो लाग्यो । मजस्तालाई रुचाउने मान्छे पनि छन् भन्ने लाग्थ्यो । म त काले, फुस्रे छु । फिल्मले खोजेको अनुहार छैन । तैपनि नेगेटिभ रोलचाहिँ पाउँछु भन्ने लाग्यो । 

त्यो समयमा वीरेन्द्र हमाल सरको ‘एमआर थिएटर’ थियो । त्यो बाटो हिँड्दा थिएटर हो कि होइन भनेर कम्फर्म गर्नै तीन महिना लाग्यो । बाहिर मास्क लगाएको कलात्मक पोस्टर थियो । रंगकर्मी कमलमणि नेपाललगायत काम गरिरहेका, यताउता गरिरहेका देखिन्थे । ‘वीरेन्द्र सर हुनुहुन्छ ?’ भनेर सोध्दा ‘छैनन्’ भन्थे । एकदिन वीरेन्द्र सरसँग भेट भयो । उहाँले ‘ल आऊ न त’ भन्नुभयो । 

बाहिरतिर प्रोगाम भइरहन्थ्यो । सोल्टी होटेलमा पनि प्रोग्राम भइरहन्थ्यो । थिएटर जोइन भएपछि थिएटरमा के राम्रो हुन्छ भन्ने पनि थाहा पाएँ । वीरेन्द्र सर ‘एउटा भूमिका जसरी पनि एकदिन गर्छु’ भन्नुहुन्थ्यो । गुरुको सपना स्वाभाविक रूपमा आफ्नो पनि हुँदोरहेछ । 

काम गर्दै जाँदा सुनील पोखरेल सरले वीरेन्द्र सरलाई नाटक खेल्न विद्यार्थी पनि लिएर आउनु भन्नुभएछ । वीरेन्द्र सरले भन्नुभयो, ‘मेरो लिड रोल छ । सरले विद्यार्थी पनि माग्नुभएको छ । तिमीहरू विद्यार्थीको भूमिकामा हुन्छौ ।’ 

ठूलो नाटक, ठूलो हल । प्रज्ञा भवनमा थियो मञ्चन । सुनील सर पनि खेल्नुभएको थियो । ‘नाटक थियो, ‘जात सोध्नु जोगीको’ । म विद्यार्थीका रोलमा रिहर्सल गरिरहेको थिएँ । अचानक वीरेन्द्र सरको के पर्‍यो उहाँले गर्न नसक्ने हुनुभयो । जम्मा सात–आठ दिन बाँकी थियो । तुरुन्त खोजी भयो पात्रको । डाइलग लामो । मलाई डाइलग कण्ठ गर्नै गाह्रो । सरहरूले हामीबीचमै कलाकार खोज्न थाल्नुभयो । मलाई भन्नुभयो, ‘यो केटा सुहाउने किसिमको छ ।’ र म वीरेन्द्र सरले छाडेको पात्रका लागि छानिएँ । 
नाटक सकियो । मलाई लाग्यो, ममा केही रहेछ । पत्रिकामा नाम पनि आयो, खुसी भइने नै भयो । मलाई थिएटर नै राम्रो लाग्न थाल्यो । मैले खोजेको र देखाउन खोजेको त्यही हो भन्ने लाग्थ्यो । 

त्यहीबीच सुनील सरले गुरुकुल खोल्ने योजना सुनाउनुभयो । कलाकारहरूसँगै बस्ने, त्यहीँ इनर्जी खर्च गर्ने, इनर्जी कतै खेर नजाओस् भनेर सरले भन्नुभयो । मैले पनि त्यहीँ बस्ने निर्णय गरेँ । त्यहाँ मैले अझै धेरै सिक्ने मौका पाएँ । बाहिरका टिचर आउने, सिकाउने अनि अभिनयलाई छाँट्ने टिचरहरूबाट धेरै कुरा सिकेँ । आत्मविश्वास बढ्दै गयो । 

आठ–नौ वर्ष त गुरुकुलमै बिताइयो । एकदिन सुनील सरले सोध्नुभयो, ‘अब तिमीहरू के गर्छौ ?’ मैले फिल्मप्रतिको रुचि सरलाई सुनाएँ । उहाँले भन्नुभयो, ‘ठीकै छ, रुचिमा काम गर । तर, दुवैलाई सन्तुलनमा राख्नुपर्छ । यता चाहिएको वेलाचाहिँ समय दिन सक्नुपर्छ ।’ 

मलाई झुर फिल्म खेलेको आरोप त लाग्यो, म स्विकार्छु पनि । तर, कुन फिल्म त्यस्तो आयो त मैले चुकचुकाउनुपर्ने ? जुन फिल्ममा म भइदिएको भए हुन्थ्यो भन्ने । त्यस्तो फिल्म पनि त छैन । जस्तो स्क्रिप्ट आयो, मैले त्यहीबाट छान्ने हो ।

कथा कागबेनीको (२००८)
कागबेनीको प्रसंग आउँदा भने तत्कालका लागि आफूलाई फिल्ममा खासै फिट देख्दिनँ थिएँ । थिएटरमै फिट छु भन्ने लाग्थ्यो । एकजना साथीले भन्यो, ‘यस्तो फिल्मका लागि फर्म खुलेछ, भर्ने हो ?’ उसले क्यारिङको काम गथ्र्यो । रिल लिएर हलहलमा जान्थ्यो । म वेला–वेला हँसाइराख्थेँ । उसले भनिरहन्थ्यो, ‘तपाईं त फिल्ममा खेल्नुपर्ने यार ।’ मैले भनेँ, ‘अहिले नै फिल्म खेल्ने मनस्थिति छैन यार ।’ 
‘तर, बाहिरको फिल्म भयो भने ?’ उसले भन्यो । 
‘बाहिरको फिल्म भयो भने त यत्तिकै जान्छु नि ।’ 
‘त्यसो भए कोसिस गर्नुस् । हलिउडको टिम ल्याएर क्वेस्टले फिल्म बनाउन लागेको छ ।’ 
उसको कुराले मन सिरिंग भयो । उसले अफिसबाटै फर्म ल्याइदियो । फर्ममा फोटो हाल्न भनिएको थियो । मैले एउटा फोटो तिहारमा खिचेको, अर्को गाउँमा रामलीला गर्दाको पर्शुरामको । पर्शुरामको चाहिँ धनुषवाण लिएको, जुँगा लगाएको थियो । अर्को एउटा फोटो थियो । फोटोसेसन गर्दा बढी पैसा लाग्ने भएकाले त्यही फोटो फर्ममा हालेर पठाएको थिएँ, ‘लिए लिन्छ, नलिए लिँदैन’ भनेर । 

मलाई अडिसनका लागि छनोट गरियो । डर अर्कै छ । हलिउडबाट आएको छ टिम । भित्र भूषण दाहाललाई देखेँ, चिन्न भने सकिनँ । उहाँ ठूलो मान्छे हो भन्ने त लाग्यो, तर ठम्याउन सकिनँ । अनुप बराल सर पनि हुनुहुन्थ्यो । अनुप सरलाई देखेर भने छक्क परेँ । अभिनयको गुरु भएकाले हेल्प गर्न आउनुभएको होला भन्ठानेँ । 

एकजना लामो–लामो कपाल भएको, तिब्बतियनजस्तो देखिने व्यक्ति पनि थिए । उहाँ निर्देशकजस्तो लाग्यो । एकछिनपछि बुझ्दै जाँदा पो भूषण दाइले निर्देशन गर्ने, अनुप सर कास्टिङ निर्देशक, अनि जसलाई निर्देशक भनेँ उहाँले स्क्रिप्ट लेख्नुभएको रहेछ । 

अडिसनमा सबैले केही गरेर देखाउने भन्ने कुरा भयो । अडिसनमा आएका प्रायः चिनेका अनुहार थिए । मेरो पहिलो सिन राम्रो भयो, दोस्रोमा भने चिप्लिएँ । तर, म फिल्मका लागि छानिएँ । 

र लुटपछि... (२०१२)
थिएटरमा हुँदा लागिरहन्थ्यो, फिल्म भनेको राम्रो नै खेल्ने हो । फिल्म राम्रै हुनुपर्छ, नत्र काम छैन । मलाई कसले जबरजस्ती गर्न सक्छ र ! तर त्यस्तो त नहुँदो रहेछ । ‘लुट’पछिका फिल्ममा मलाई झुर फिल्म खेल्यो भनेर आरोप लाग्यो । मेरो फिल्मी यात्रामा मसम्म आइपुगेका स्क्रिप्ट तिनै थिए । मैले छानेर खेल्नैपथ्र्यो । परिस्थितिअनुसार चल्नै पथ्र्यो । राम्रो फिल्म मात्र गर्छु भन्ने सोच्थेँ, तर नहुँदो रहेछ । कुनै राम्रो त कुनै ठिकैको हुँदोरहेछ । तर, अहिले पनि म कामचाहिँ इमानदारीपूर्वक गर्छु ।

मलाई झुर फिल्म खेलेको आरोप त लाग्यो, म स्विकार्छु पनि । तर, कुन फिल्म त्यस्तो आयो त मैले चुकचुकाउनुपर्ने ? जुन फिल्ममा म भइदिएको भए हुन्थ्यो भन्ने । त्यस्तो फिल्म पनि त छैन । जस्तो स्क्रिप्ट आयो, मैले त्यहीबाट छान्ने हो । मेरा फिल्महरू हेरिसकेपछि दर्शकले मलाई जस्तो प्रतिक्रिया दिए त्यसको पछाडि लायकको स्क्रिप्ट नहुनु पनि एउटा कारण हो कि ! ‘लुट’ आएपछि हाकुजस्ता पात्र भएका फिल्मका अफर पनि आए, मैले स्वीकार गरिनँ । अरूले खेले । ‘लुट’जस्तै स्क्रिप्टहरू आउँथे, त्यसमा एक–दुई फरक हुन्थे । त्यही एक–दुईबाट छान्नुपर्ने अवस्था थियो । 

तीन–चार वर्ष लगाएर एउटा राम्रो फिल्म पनि खेल्छु होला । त्योबीचमा मैले बाँच्न पनि त पर्‍यो ! कुनै क्षेत्रलाई पेसा बनाएर अगाडि बढेपछि कसरी बाँच्ने भन्ने कुरा पनि आउँछ होला । केही समयअघि एउटा फिल्ममा काम गरेपछि लगभग दश महिना काम गरिनँ । तर, फिल्म नै रिलिज भएन । एउटा सीमा हुँदोरहेछ आफूले थेग्न सक्ने पनि । 

वर्षदिन कुर्दा पनि पहिलेको फिल्म आएन । आफ्नो पनि कुर्न सक्ने समय हुन्छ । मैले पहिला सोचेजस्तो ‘मलाई कसले रोक्ला र’ भन्ने नहुँदोरहेछ । अहिलेसम्म जसरी गरिरहेको छु, राम्रै गरिरहेको छु, ठिकै गरिरहको छु । ‘भोलिका दिनमा राम्रो मान्छे आउनेछ अनि राम्रोसँग काम गर्नुपर्ला’ भनेर सोचियो भने त्योवेलासम्म आफू त थेगिनुपर्छ ! नवलपरासी गएर त हुँदैन । 

मेरा साथीहरू राम्रा कलाकार छन्, तर काठमाडौंबाहिरका । काठमाडौं आउनसाथ काम के छ भनेर सोध्छन् । काम हुँदैन । एक किसिमको खर्च हुन्छ । उनीहरू फर्कन्छन् । पछि यस्तो काम हुँदै छ भन्दा ‘छाडिदे यार’ भन्छन् । दुुःखको कुरा, आफूले सोचेजस्तो राम्रो फिल्म मेरो भएन । सोचेजस्तो फिल्ममा काम गर्न पाइनँ । आफूले सोचेजस्तो नै त कहिले पो हुन्छ र !

निश्चलसँगै ‘लुट’मा काम गर्दा पनि उसले प्रस्ताव लिएर आएपछि मैले भनेँ, ‘पहिले के काम गरेका छौ ?’ उसले ‘छैन’ भन्यो । ‘मोबाइलमा त पक्कै केही खिचेको होला, एक क्लिप्स त देखाऊ,’ भनेँ । तर, उसले त्यस्तो केही छैन, तर सर्ट मुभी बनाएको छु भनेर देखायो । त्यो हेर्दा फिल्म नै गर्न सकिने अवस्था केही थिएन । तर, बिस्तारै सल्लाह हुँदै गयो । उसले राम्रो कलाकार छान्यो । राम्रो हुँदै गयो, फिल्म पनि राम्रो भयो । अहिलेसम्म आइपुग्दा म त्यही कुरामा खुसी हुन्छु कि अभिनय गर्न पाइरहेको छु, जुन सानैदेखिको सपना थियो ।