• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन विभास काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १२:५६:००
समाज

कमरेड ‘मष्ट’राम

२०७६ मङ्सिर २१ शनिबार १२:५६:००
नवीन विभास काठमाडाैं

वैशाख प्रथम सप्ताह । बिहानी प्रहर । प्लाटुनका प्लाटुन पर्यटक पक्षी । सिङारु तालमा स्यार्पु दहको कुन अंगमा नृत्यमस्त छन् ! कुन्नि । मेलोमेसो छैन । तर, वारिपारि ठिंगिएका पहाडी हृदयबाट गुन्जने न्याउलीको ‘न्याहु न्याहु’ले पत्थरिलो जलतरंग फैलँदै स्यार्पुचरण स्पर्श गर्न पुग्छन् । 

‘उः कोप्रो । अल्माथि बड्डागैरा । त्यो खार्पा । अल्पर रातापहर । अझ उताको कालापहिरा । हामीले घाँस काट्ने भीर त्यै हो,’ यति भनेर खर लिन हिँडेका एक वृद्धले पहराका विभिन्न अंगमा हाम्रो आँखा पु¥याइदिन्छन् । कालारङे नाङ्लाजत्रा कोप्रोका भीरमहका चाका देखाउँछन् । भन्छन्, ‘अहिले मह काढ्न पनि छाडे ।’ 

उनका आँखाले पहराबाट सीधै दहमा ‘बन्जीजम्प’ गर्छन् । बर्खा लागेपछि दहको गह भरिएर तेह्र मिटरे ‘सिस्ने’ आरोहण गर्छ । हिउँद लागे जम्मा पाँच मिटर । 

स्यार्पु दहको तल्लो छेउमा दह नाउँकै बस्ती छ । बस्तीमुनिबाट निक्लने भूमिगत जलबाट निक्लन्छ, बिजुली । त्यही बिजुली रुकुम सदरमुकाम मुसिकोटले रातमा नजरभेट गर्छ । 

१४४२ मिटर अग्लो भूभागमा अढाई वर्गकिलोमिटरमा आफ्नो बिस्कुने छाती फिँजाएको स्यार्पु दह मुसिकोटबाट २१ किलोमिटर पश्चिममा छ । 


स्यार्पुदहको गह कसरी भरियो ? सोसम्बन्धी तीन किंवदन्ती रहेछन् :

क. रातबिरात कोही हातेतार बजाउँदै पैँयाबाराको प्वाङे मगर बस्ती पुग्छन् । वास पाउँदैनन् । अनि अलि माथि भोटनिगारे गाउँको बाटो तताउँछन् । गाउँको अन्तिम घरमा कुटनपिसन गर्ने बूढीकहाँ वास भेट्छन् । बूढीले भुसको आधा रोटी दिन्छिन् । उरुममा सुताउँछिन् । 

बिहान चल्लीखोरमा सुनको सिक्का भेट्छिन् । लगत्तै पहिरोले पूरै गाउँ पुर्छ । 

संजोग ! बूढी मात्र बँच्छिन् । पहिरोले खाएको गाउँमा खारखोला भित्रिन्छ र स्यार्पुदह बन्छ । 

ख. पाण्डव भीम घुम्दै प्वाङे मगर गाउँ आइपुग्छन् । खारखोला सिरान गरी सुत्छन् । जमिन भासिन्छ । भासिएको जग्गामा पानी ताल बन्छ । नाम रहन्छ, स्यार्पुदह ।

ग. एउटा अनाम नदी बग्छ । एक दिन बेपत्ता हुन्छ । नदी बेपत्ता स्थानमा प्वाङे मगर बस्ती बस्छ । 

एक दिन नेपानेबाट ठूलो पहिरो खस्छ । बस्ती पुरिन्छ । एउटी कुटन बूढी मात्र बच्छिन् । लामो समयसम्म बस्तीमा कुकुर भुकेको, मान्छे रोएको सुनिन्छ । वर्षौंपछि खारखोला रोकिन्छ र स्यार्पुदह बन्छ ।


स्यार्पुदह दलित र दरिद्रको दौँतरी हो । तालको पानी माछीले खानी, माछी भने खारखोलेको ‘खानकी’ जिन्दगानी । 

दहछेवैमा भ्युटावर उभिन्छ । दहमा डुंगा पौडिन थाल्छ । दहलाई बाटोले फन्को मार्छ । सरकारी ‘समृद्धि’ले स्यार्पु सम्झना बिर्सना भेरी सलल । ‘तर, हामी दरिद्रलाई दहमा पस्न बाँझो भो । पान्सौ तिरेपछि बल्ल एकदिन बल्छी खेल्न पाइन्छ । कहाँबाट पाउनु पान्सौ र पस्नु दहमा,’ आफ्नै घरआँगनमा बिरानिएको दहकोे ‘लोचनभोजन’ गर्दै ‘उमेर पच्पन तर दिल बच्पन’का चन्द्रबहादुर विक भन्छन् । 

धामीपुत्र छापामार थिए । युद्धमा उनी मारिए । अन्य सहिद र बेपत्ता परिवारले राहत रकमबाट रोजीरोटी, लालनपालन र शिक्षादीक्षामै खर्च गर्छन् । धामीले भने राहत रकमबाट सहिद छोराको नाममा मन्दिर बनाए । हिजोआज उनी त्यही मन्दिरमा हरेक दिन पूजा गर्छन् ।


बाफिकोट स्यार्पु पश्चिमपट्टि पर्छ । भुरेटाकुरे राजागाउँ । सत्तरी हिउँद पच गरेका मनवीर देवकोटाले राजाराज सुनाउँछन्, ‘राजलौरोलाई समेत ढोग्नपथ्र्यो । कस्ता हुनान् ती जुग, 
ती जमाना !’ 

राणाराजले जाजरकोटी राजखलके ठगेन्द्रविक्रम शाहलाई बाफिकोट बिर्ता दिन्छ । उनै ठगेन्द्रपुत्र हुन्, पञ्चायतकालीन माननीय ध्रुवविक्रम शाह । ‘मैले देखेको दरबार’ लेख्ने राजा वीरेन्द्रका सैनिकसचिव विवेककुमार शाह चाहिँ ध्रुवपुत्र हुन् । 

आश्चर्य ! विक्रमाब्द पैँतीस–छत्तीसपछि राजथलो बाफिकोट वामथलोमा बाफिन थाल्छ । 

बाबुराम भट्टराई नेतृत्वको केन्द्रीय जनपरिषद् गठन हुन्छ । अनि जिल्ला र गाउँ जनसरकार । पहिलो जिल्ला जनसरकार घोषणा गर्न माओवादीले रुकुम रोज्छ, घोषणाथलो बाफिकोट । बाफिकोट मुसिकोटबाट ‘एट्टिवन रेन्ज’मै छ । 

तपार्इंलाई नि खसखस लाग्न सक्छ, शाहीगढ मुसिकोटछेवैको बाफिकोट किन रोज्छ माओवादीले ? 

पूर्वमन्त्री गणेशमान पुन र तत्कालीन जनसरकार प्रमुख शरुण बाँठामगरले कारण कहन्छन् :

एक, बाफिकोटमा समेत समानान्तर जनसरकार घोषणा गर्न सक्छ भनेर माओवादीले आफ्नो शक्ति प्रदर्शन गर्न । 

दुई, भुरेटाकुरे राज बाफिकोट माओवादीका लागि ‘ऐतिहासिक प्रतिष्ठाको विषय’ बन्छ । 

तीन, भौगोलिक र सामरिक हिसाबले बाफिकोट सुरक्षित छ । मुसिकोट र बाफिकोटको बीचमा बगिरहेको सानीभेरीको खासखास भागमा जनमुक्ति सेना तैनाथ गरे सुरक्षा समस्या टर्छ । लडाइँ नै भए पनि माओवादीले थेग्छ । चार, जिल्लाको लगभग मध्येमा पर्ने बाफिकोटमा जनता जम्मा हुन सजिलो हुन्छ । 

२०५७ मंसिर ५ गते बाफिकोट पाठशाला प्रांगणमा सयौँ जनतामाझ ‘नेपालमा पहिलो जिल्ला जनसरकार’ माओवादीले घोषणा गर्छ । चुनवाङका ‘आयाम’ पूर्णबहादुर घर्तीमगर प्रमुख बन्छन् भने घोषणाथलो बाफिकोटका ‘अथक’ महेश्वर गहतराज उपप्रमुख । अहिले कमरेड आयाम पाँच नम्बर प्रदेश सभामुख छन् भने अथक बाँके–१ बाट संघीय सांसद । 

आठ महिनापछि बाफिकोट छिमेकी गाउँका शरुण बाँठामगर प्रमुख हुन्छन् भने सदरमुकाम मुसिकोटसँग जोडिएको साँकका नरेन्द्र बुढामगर उपप्रमुख । ‘जनयुद्ध’कालमा देशको ८० प्रतिशत भूभाग आफ्नो कब्जामा रहेको माओवादी दाबी छ । माओवादी जनसत्ताले न्यायिक–प्रशासनिक काम गरेको छ । सम्झौतामा ‘जनयुद्ध’ टुंगिएपछि नेपानेबाट झरेको पहिरोले प्वाङे मगर बस्तीजसरी ‘जनसत्ता’ पत्तासाफ हुन्छ । नतिजास्वरूप, कुकुर रोएको र मानिस रोएको सुनिने क्रम एकसाथ जारी छ । 


दहनजिक छ, ‘जनयुद्ध’ सुरु भएपछि सरकारी पहिलो सामूहिक हत्याथलो मेलगैरी । गोर्खाका दिलबहादुर रम्तेल मारिएलगत्तै २०५२ फागुन १५ गते मेलगैरीका ६ खत्री बन्धुलाई पुलिसले मारेको थियो । दहबाट कहाँ टाढा छ र, माओवादीले ‘रेडियो जनगणतन्त्र’ चलाएको झिझिकाँडा लेक पनि । 


दह वारिपारिका पहरा चिनाउने देवकोटासँगको बिदाइका हात हल्लाइपछि स्यार्पु सिरानीतिर लाग्छु । बन्चरो बोकेर लखरलखर दहतिर झरिरहेका एक अधबैँसेसँग जम्काभेट हुन्छ । 
झुस्स दारी । गहुँगोरो आर्यन अनुहार । दुब्लो जिउमा फाटेको कमिज । ‘ध्यारी’ मजदुरी गर्न हिँडेका उनै चन्द्रबहादुर विक हुन्, ‘ताल र गरिब–दलितबीच दूरी बढ्यो’ भन्ने । 

बेपत्ता नदीजस्तै स्यार्पुदहमा बेपत्ता छ, खारखोला । र, दहमै बेपत्ता छ उनको गाउँ खारखोला पनि । किंवदन्तीमा प्वाङे मगरथलले अनाम नदीको जल भूमिगत गराएको छ भने वास्तविकतामा खारथललाई स्यार्पुले जलमग्न । अर्थात्, खारखोलामा २०६० मा आएको बाढीले बगाएको छ, स्यार्पु सिरानीको ८० घरधुरी रहेको खारखोला गाउँ । खारखोलामा सबभन्दा बढी चन्द्रबहादुरजस्ता विकहरू छन् भने बाँकी क्षेत्री । 

‘गारले फाल्देपछि गारपाखा लाग्यौँ । घरेली लगेर आखापाखा बसेका छौँ,’  दहमा आफ्नो गाउँ देखिहाल्छ भनेर दहमा हेर्दै विक भन्छन् । निरक्षर विकका दुई छोरा एक छोरी छन् । तिनले नि शिक्षादीक्षाको अवसर पाएनन् । रोजीरोटीका लागि लाखापाखा लागेका छोराछोरी र तिनका भविष्य सम्झेर विक भावुक छन् । 

‘समाजवाद उन्मुख’ संविधान र सरकारी समृद्धि देखाउँदै विक भन्छन्, ‘माओवादी आया उइल ता हामी गरिब र दलितलाई ठीकठीकै थियो । अहिले त छुवाछुत पनि बढ्यो ।’ 

पाखामा घडेरी किनेर वास बनाउँदा लागेको तीन लाख चुक्ता गर्न बाँकी छ । कसरी तिर्ने ? विक तनावमा छन्, उनको जिउ सिन्का भएको छ । 

‘गलामा जन्तर लाउनुभएको रहेछ ।’ 

‘ग्रह छन् भनी भर्न पठाएको जन्तर हो ।’

‘कति भयो लगाएको ?’

‘६ महिना ।’

‘ग्रह शान्त भए त ?’ 

‘ठीकठीकै भया’छ भनम् ।’

‘कसले लाइदिएको ?’ 

‘धामीले । हित्ति न मन्दिरमा छन् ।’

विक दहपथधारण गर्छन्, म स्यार्पु सिरानीतिर सोझिन्छु । जति सिरानी उक्लन्छु, बगर साँघुरिन्छ । जुन बगर खारखोलाले खारखोला गाउँ बगाएपछि बनेको हो । वारिपारि ठिंगिएका पहरामास्तिर हेर्दा लाग्छ, पहरेटुप्पीले आकाश नै छेड्छ । तिनै पहरिला चरणका शरण परेर एउटा झुलुंगे पुल तुर्लुंग झुन्डिएको छ । 

टिनछाने मन्दिरको ढोकाअगिल्तिर चारवटा घण्ट लहरै बज्छन् । ढोका सिरानीमा नक्कली फूलमाला तुर्लुंगिएका छन् । कति हरिया । कति राता । छेउमा सालको पातका टपरी माला उसैगरी गाँसिएका छन् ।

मन्दिरअगाडि उभिएका छन्, करिब साढे पाँच फिट अग्ला अधबैँसे पुरुष । दाह्रीजुँगा खौरेर सफाचट अनुहार । टाउकोमा ढाका टोपी । जिउमा कालो अस्कोट । थाहा हुन्छ, बन्चरो बोकेर ध्यारी गर्न हिँडेका विकको गलामा जन्तर झुन्ड्याउने धामी यिनै एकसट्ठीका सरुनबहादुर केसी हुन्, बुराल मस्ट धामी । 

चिनजान गर्छौँ । त्यसपछि धामी मन्दिरभित्र पस्छन् । 

भुइँमा सात–आठवटा ससाना कदका घण्ट छन् । घण्टसँगै छ, रुद्राक्ष माला । घण्टवरपर चामल दाना छितरिएका छन् । छेउतिर सालपाते पाँच–सातवटा टपरी छन् । एउटा टपरीभरि चामल छ । घण्टमाथि पहेँला र राता खादा छन् ।

सेतो चमर छ । सयपत्री फूलका माला चमरको छिमेकी छ । 

काँधमा राइफल र आँखामा चस्मा । जिउमा कम्ब्याट ड्रेस । सपनैसपनाले भरपूर भरिलो तन्नेरी । बोलाए अहिले नै आफ्नो बोली सुनाउलान् जस्तो । ‘मन्दिरमा छापामार तस्बिर !’ धामीअधरबाट अर्धमुस्कान फुस्क्यो । ‘तस्बिर किन राख्नुभएको, मन्दिरमा ?’ ‘मेरो जेठो छोरोको तस्बिर हो । जनसेना थियो । सहिद भयो ।’

भित्तामा अडिसिएको बेन्च छ । जसमा साना काँटीका काठका तीनवटा मूर्ति छन् । एउटा मूर्तिले दुई हात जोडेर मनकामना गरिरहेछ । त्यही मूर्तिसँग अडेसिएको छ, एउटा तस्बिर । लेमिनेसन गरिएको ठूलो तस्बिर । तस्बिरसँग टाँसिएको छ, सानो कदको एउटा घन्ट । घन्टछेवैमा छन्, एउटा प्लास्टिक बोतल, एउटा तामा र अर्को स्टिलको अम्खोरा ।
काँधमा राइफल र आँखामा चस्मा । जिउमा कम्ब्याट ड्रेस । सपनैसपनाले भरपूर भरिलो तन्नेरी । बोलाए अहिले नै आफ्नो बोली सुनाउलान् जस्तो । 

‘मन्दिरमा छापामार तस्बिर !’ 

धामीअधरबाट अर्धमुस्कान फुस्क्यो । 

‘तस्बिर किन राख्नुभएको, मन्दिरमा ?’ 

‘मेरो जेठो छोरोको तस्बिर हो । जनसेना थियो । सहिद भयो ।’

‘सहिदको तस्बिर मन्दिरमा !’ 

धामीनजर यताउति गर्छन् । पुत्रतस्बिर हातमा लिन्छन् । पिताआँखा पुत्रमुहारमा अल्झिन्छन् । कहिल्यै नदेखेजसरी नियाल्छन् । के सम्झेर कुन्नि ? तस्बिरको धुलो पुस्छन् । तस्बिरलाई पूर्ववत् स्थानमा सजाउँछन् । उनका आँखा मन्दिरबाट बाहिरिन्छन् । लाग्छ, असहज पिताआँखा पुत्रफोटोमा बस्न अन्कनाउँछन् ।

धामी बासँग विद्रोह गरी अलग बाटो हिँडे पनि, आखिर आफ्नै छोरा हो । जेठो छोरो । विचारमा विवाद भए पनि बाउ अनुहारमा एउटा गुनासो भने छ– आफूअघि छोरालाई बिदा गर्नुको । छोरा सम्झाउने केवल एउटा तस्बिर छ, उनीसँग । त्यही तस्बिर हेरेर छोराको झझल्को मेट्छन् । 

बाउछोराका बाटो ‘उत्तर–दक्षिण’ थिए । 

धामीलाई भन्नु छ, ‘मन्दिर सारेको शुभेन । जिउधनको खती भयो । गारले बगाएकै ठाउँमा पोहोर यो मन्दिर बनाएँ ।’

खारखोलाको बाढीलाई खारखोला गाउँ चाहिँदा मन्दिर पनि खाँचो परेछ क्यार ! 

मस्टो हाम्रो कुलदेवता शीर्षकको लेखमा डा.माधवप्रसाद पोखरेलको आशय छ– आफूले चिताएको सबै कुरो पु‍¥याइदिने हुँदा बडा आस्थाले खसानीहरू मस्टपूजा गर्छन् । 
धामी सरुणका अनुसार, उनको मष्टमन्दिरमा अचेल सरदर दिनमा पाँचजना आइपुग्छन् । बुराल मष्टधामी केसी हुन् । भन्छन्, ‘जुम्ला सिंजाको बुरुगाउँमा बुराल मष्ट उत्पत्ति भएको हो ।’ 

खस, खसान, मष्टो र मष्टाका धामी शीर्षक कार्यपत्रमा मनोहर लामिछानेले बाह्र भाइ मष्टालाई दुई भागमा बाँड्छन्, मांसाहारी र दुग्धहारी । दुग्धहारी (दुध्या) शान्त, सौम्य, शिष्ट तथा संयमित देखिन्छन् भने मांसाहारी (दाह्रा) मष्टो उग्र, कठोर र त्रूmर हुन्छन् भन्ने जनविश्वास छ ।

खसान क्षेत्रमा मष्ट ‘मन मगन’ पनि गाउँछन्ः

बाह्र भाइ महामष्टा तमी दाइना भया

बाह्र भाइ मष्टाका तमी साक्षी भया 

मष्ट मूलथलो बझाङको ढँडार हो भन्छन् । अहिले ढँडारथलो मष्टा गाउँपालिका भएको छ । 

आफ्नो ‘मस्टा परम्परा र त्यसका गीत’ नामक ग्रन्थमा डा.जयराज पन्तले स्थानभिन्नताअनुसार मष्टका विभिन्न नाम उल्लेख गर्छन्ः मष्टो, मष्ट, मष्टा, मैठो, मोष्टा, मैठा, मष्ठा, मुस्टो, मुण्ठा, मुण्ठो, मुइठो ।

खसदेव मष्टलाई रक्षक नै मान्छन् । अन्याय परे, रोगव्याधिले मरणासन्न भए, मार्ग निर्देशन गर्न परे, खेतीपाती, धर्मकर्म, भोट–मधेस गर्न परे, बिहे, व्रतबन्धमा धामीकहाँ पुग्छन् । 
धामी थर पनि छ । 

किरात राई समाजमा नक्छुङ (धामी)को ठूलो स्थान छ । लिम्बुमा फेदाङमा, साम्बा र येबाको । तिनैले मुन्धुम बाच्छन् । मुन्धुमले किराँत राई र लिम्बू समाजको नेतृत्व गर्छ । 

मष्टमन्दिर दुई लाख पचास हजार लागतमा बनेको छ । यसलाई कतै माणौ कतै माडौं त कतै थान भन्छन् । खासमा मष्टमन्दिरको छाना हुँदैन । माडौं पूर्व लागेपछि अनुहार र नाम नै फेरिन्छ । लेखक हेमन्त विवश भन्दै छन्, ‘हिन्दुकरण भएपछि मष्टमन्दिरमा गजुर पनि हाल्न थालेछन् ।’ 

धामी भन्छन्, ‘सहिदको राहत रकमले यो मन्दिर बनाएको हुँँ, छोरोको नाउँमा ।’ धामीपुत्र छापामार थिए, कमरेड विवेक उर्फ दिलबहादुर केसी । सहिद र बेपत्ता परिवारले राहत रकम रोजीरोटी, सहिदका लालाबाला लालनपालन र शिक्षादीक्षामै खर्चेका छन् । कतिले सस्तोमस्तो घडेरी किनेका छन् ।

विवेक जनमुक्ति सेना प्लाटुन सहकमान्डर थिए । जनमुक्ति सेनाको सबभन्दा सानो युनिटलाई सेक्सन भनिन्छ, जसमा नौदेखि एघारजना हुन्छन् । तीन सेक्सनको एउटा प्लाटुन हुन्छ । 
कमरेड विवेक दार्चुला गोकुलेश्वर प्रहरीचौकी आक्रमण (२०५८ मंसिर ११) मा मारिएका छन् । विवेकसँग आक्रमणमा सहभागी पूर्वसभासद् रेणु चन्दका अनुसार उक्त आक्रमणपछि बैतडी–दार्चुलाका समग्र प्रहरीचौकी सदरमुकाम सरेको हो । २८ वर्षीय विवेक मारिनुभन्दा ६ महिनाअघि मात्र आफ्नी सल्यानी ‘सहयोद्धा’ इन्द्रा पुनसँग बिहे गरेका हुन् । पुनले जाजरकोटमा दोस्रो बिहे गरेकी छन् ।

विवेक मारिँदा दार्चुला र बैतडीलाई माओवादीले एउटै जिल्ला मानेको थियो । माओवादीले तीन जिल्लालाई पनि एउटै जिल्ला मानेर काम गरेको थियो । नेताद्वय खगराज भट्ट र रेणु चन्दका अनुसार ‘विवेक दुई जिल्लाका पहिलो जनमुक्ति सेना सहिद’ हुन् ।  पहिलोपालि (२०५५) माओवादीले रोल्पा र रुकुमबाट दुई सेक्सन कर्णाली हुँदै सेती महाकाली पठाएको छ । रोल्पाली सेक्सनको कमान्डर हितमान (गंगाराम बुढामगर) हुन् भने रुकुमको कमरेड हिमाल (होमप्रकाश श्रेष्ठ) । कार्यकर्ता उत्पादन नहुँदासम्म आधारभूमि मानिने रोल्पा र रुकुमबाट सुदूरपश्चिम गइरहेका धेरै ‘विवेक’हरू उतै छुट्छन् । जसमध्ये एक दम्पती पनि छ, सूर्यप्रकाश पुन (रुकुम चुनवाङका कमरेड सुन्दर) र परम्परा गौतम (रुकुम मुसिकोटकी वृक्षा) । जो एकसाताको अन्तरालमा बझाङमा मारिन्छन् । 


धामीपिता र धामीपुत्र विवेकको पार्टी माओवादीबीच ¥याङठ्याङ मिल्दैन । माओवादीले धामीलाई भन्छ, ‘तपाईं सहिदको पिता हो, धामी छोड्नुस् । सहिद, सहिद परिवार र सहिदका पिताको अपमान हुन्छ ।’ 

धामी मान्दैनन् । 

धामी भन्छन्, ‘राजा र देउता दुई भाइ हुन् । राजा गए । अब देउता मात्र छन् ।’ 

बचेका उनै देउताका ‘प्रतिनिधि’ आफूलाई दाबी गर्छन् । जन‘ग्वाला’ भन्छन् । भन्छन्, ‘म त ग्वाला हुँ । जो जुन जाति र पार्टीका आए पनि सेवा गर्छु ।’ 

हुन पनि उखान नै छ, ‘मुखलाको राजा, निमुखाको मष्ट ।’

‘सन्सारैभरिमा सबभन्दा पहिले मलाई अपहरण गरे,’ पुत्रदल माओवादीले अपहरण गरेको दुःख बिसाउँछन् । संजोग ! अपहरणमा पर्नेबित्तिकै उनका ‘देउता’ टुप्लुक्क आइपुग्छन् । धामी भन्छन्, ‘अपहरण गर्नेबित्तिकै मष्ट चल्यो । त्यसवेला माओवादी जुम्ला कारबाही गर्न जाँदै थिए । मैले सक्तैनौ भनेँ । नभन्दै माओवादीले हा¥यो ।’ 

धामीका छिमेकी कस्तुपप्रकाश दाहाल (जनमुक्ति सेना प्लाटुन कमान्डर जो बेनी आक्रमणमा घाइते भए) भन्छन्, ‘तीर्थबाट फर्कंदा धामीलाई जाजरकोटमा जनसेनाले समाए । केही दिनमै छाडे ।’ 

धामी र माओवादीबीच घम्साघम्सी चल्छ । देउताका प्रतिनिधि धामीको टुप्पीसमेत माओवादीले काट्छ । बैतडीका मुसे धामीको टुप्पी काटेपछि ‘जनशैली अपनाउन कमजोरी भयो’ भन्दै माओवादीले टुप्पी फिर्ता गर्छ । स्मरणीय छ, कमरेड विवेककै माओवादीमा पूर्वधामी पनि नेता छन् । कमान्डर छन् । 

कुरो २०५५ को हो । दैलेखको रानीवन उत्तेसिनीमा माओवादी बैठक बसिरहेको छ । पश्चिम कमान्ड इन्चार्ज कमरेड दिवाकर (पोष्टबहादुर बोगटी) बैठकमा प्रमुख अतिथि छन् । सिकिस्त बिरामी भएकी स्थानीय महिला धामी खोज्दै बैठक थलोमा आइपुग्छिन् । जाजरकोटी पूर्वसभासद् मायाप्रसाद शर्मा (पारसमणि)हुँदै बोगटीकहाँ सन्देश सञ्चार हुन्छ । बैठकमा पूर्वधामी पनि छन् । बोगटी आदेश दिन्छन्, ‘उपचार गर्नुस्, कमरेड ।’ 

धामी नाडी छाम्छन् । फुकफाक पार्छन् । केही समयपछि सुतेकी महिला हिँड्छिन् । जुन कुरा चैतेहुरीमा डढेलोसरि फैलिन्छ । ‘माओवादी धामीले निको पारे भन्दै दैलेखमा हाम्रो पार्टीमा लाग्नेहरूका लहर नै चल्यो,’ जाजरकोटका कमरेड बिजुली भन्छन् । वीरबहादुर खड्का धामी र शिक्षक छाडी कमरेड बिजुली भएका हुन् । ‘विद्रोही नेकपा’का उनै कमरेड बिजुली केही समयअघि मात्र हिरासतमुक्त भएका छन् । 

त्यसैगरी, तेस्रो डिभिजन सहकमान्डर कालिकोटका कमरेड कुवेर (जनक विष्ट) पनि धामी हुन् । सरुण अर्थात् धामीका काका पनि मष्टधामी थिए । उनका अनुसार काका मरे, उनीकहाँ ‘देउता’ सरे । 

मैले आजसम्म भेटेका धामीमध्ये डोटीका एकजना धामीका हातमा सबैभन्दा बढी बाला छन् । टाउकोमा पगरी र हातमा सिउरिएका बाला संख्याले उनी ‘बयान्नेका धामी हुन्’ भन्छ । हातमा जति धेरै बाला उति खुंखार धामी ! धामीले पाएका उपहार हुन्, बाला । सुदूरपश्चिम र कर्णालीतिर मष्ट भाकल गीत नै छ :

जडा काटी भाङ तुमाखु टुप्पाको सुरती रे 

बाह्र भाइ मैठाकन (मष्टालाई) चढाउँला मूरति रे ।

खस, खसान, मष्टो र मष्टाका धामी शीर्षकको कार्यपत्रमा मनोहर लामिछाने उल्लेख गर्छन्, ‘मष्टाको प्रमुख व्यक्ति धामी हुन्छ । धेरै धामी भएको थानमा एकजना मुख्य धामी र अरू सहायक हुन्छन् । मष्टा उत्पत्तिका मुख्य स्थानबाट अन्य स्थानका धामीलाई छाप (लालमोहर) दिने प्रचलन पनि छ ।’

डा. माधवप्रसाद पोखरेलका अनुसार पहाडे खसमूल कुल देवता मस्टो हो । र, तिनले दूधको दूध पानीको पानी छुट्याएर न्याय दिने भएकाले मस्टा नै गरिबगुरुवामा सबभन्दा प्यारा छन् । सायद यसैले होला, बाह्रभाइ मष्टा र नौ दुर्गा भवानीलाई न्यायाधीश, प्रशासक, डाक्टर मानेको । बिरामी परे, शत्रुले दुःख दिए, शत्रु नाश गर्न परे, चोर पत्ता लगाउन, निःसन्तानले सन्तान पाउन, घर परिवारमा खुसियाली छाउन, जग्गाजमिन, साँधसिमाना, मुद्दा फैसला आदि काममा धामीकहाँ पुग्छन् । यसै उखान किन बनेको हो र, ‘अड्डा कुर्ने हामी, मुद्दा छिन्ने धामी ।’ उनै देउताका प्रत्यक्ष प्रतिनिधि अर्थात् धामीले सहिदपुत्रको मूर्ति बनाएर मन्दिरमा राख्ने ‘सोच’ सुनाउँछन् । 

मष्टामूर्ति परिकल्पना नै गरिएको छैन । मष्टमाडौंमा केही शिला, केही घण्ट, चमर कुलपूजा सामग्री मात्र हुन्छन् । 

‘सहिदपुत्रलाई देउता बनाउने हो त ?’

यो प्रश्न सुनेर सहिदपिता मुस्कुराउँछन् मात्र । 

सहिद गोडाले स्यार्पु सिरानीमा मन्दिर उभिँदा न सहिदपुत्रदलले कुनै प्रतिक्रिया जनाउँछ न सहयोग नै गर्छ । भन्छन्, ‘न पार्टी रह्यो न सहिद सपना । सहिद आफ्नो परिवारको न भए ।’

बचेको राहत रकमले सहिदपुत्रको मूर्ति बनाउने योजना छ ।  

‘तत्काल बनाउन न समय भयो न लगेको मान्छेले पैसा दियो,’ धामीले राहत रकम कसैले सापटी लगेको सुनाउँछन् । 

पिताआँखा घरीघरी छोराको फोटोमा पुगेर अडिन्छन् । 

एउटा ‘मष्ट’राम समाज धामीको छँदै छ, अर्को समाज ‘मस्तराम’ बन्दै छ, धामीपुत्र विवेकको । विवेक ‘धामी समाज’को बदला सामन्ती समाजविहीन ‘दामी समाज’ बनाउन हिँडेका हुन् ।

‘राहत रकमले मन्दिर बनाउँदा छोराको चित्त दुखाएजस्तो लाग्दैन ?’ 

सहजै भन्छन्, ‘छैन ।’ त्यति भनेपछि सहिदपुत्रका सुप्रिमो प्रचण्ड ‘पुष्पकमल दाहाल’ भएर ‘भैँसी पूजा गरेको’ प्रसंग कोट्याउँछन् । ‘भैँसी पूजा’ले हिजो ‘सहिद पिताको ठाउँमा बस्नुस्’ भन्ने कमरेडहरूका मुखमा ‘बुजो’ लागेको छ । 

पुत्र सम्झेर धामीपिता भन्छन्, ‘बिहे र गौंरो पनि छ, नजा भनेँ । मानेन । त्यसपछि छोरो घर फर्केन ।’


खारखोला मष्टमन्दिरबाट बाटो लाग्दा घाम स्यार्पु दहमा झरिसकेको छ । पाहुना हाँस कहाँनेर बनगारी तालमा नृत्यमग्न होलान् ? चाल पाएको छैन ।

अहिले पनि मनमन्थन मौलाइरहेछ, मष्टमन्दिरमा कमरेड दिलबहादुरको विवेक छ अथवा कमरेड विवेकको दिल ? मष्टमन्दिरमा ‘विवेकशील’ माओवादी मूर्ति कस्तो देखिएला ? कस्तो देखिएला हँ, मष्टमन्दिरमा ‘दिलदार’ सहिदमूर्ति ? छापामार सहिद ‘मष्ट’राम देउता बने के होला ? धामीले मष्ट प्रतिनिधि मान्लान् अथवा सहिदपुत्रको ? जनयुद्धमा सँगै हिँडेकी सहिदपत्नीको मनमा के जाग्ला, कस्तो लाग्ला, मन्दिरमा मूर्तिवत् सहिदपतिलाई मष्टदेव देख्दा ? सहिदपुत्रको सपनाको अपमान भयो अथवा ‘मस्तराम’ पुष्पकमल दाहालको ‘फ्युजन’ ?