• वि.सं २०८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रकाश आङ्देम्बे काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १३:४२:००
साहित्य

प्रकाश आङ्देम्बेका दुई कबिता

२०७६ मङ्सिर २१ शनिबार १३:४२:००
प्रकाश आङ्देम्बे काठमाडाैं

नदी र किनारहरू

दुई किनारहरूले सोचे
नदीले हामीलाई कहिल्यै मिल्न दिएन ।

अन्ततः
षड्यन्त्र गरेर उनीहरूले नदीको हत्या गरे

जति वेला नदीको हत्या भयो
ठीक त्यही वेला किनाराहरूको अस्तित्व पनि सदाका लागि समाप्त भयो ।

 

पिँजडा

पिँजडा त पिँजडा हो 
आस्था, विचार होस् या सिसाको 
जहाँबाट संसार देख्न त सकिन्छ, तर मुक्त हुन सकिँदैन ।

उता
पुतली, माहुरी, चराहरू छर्लङ्गको भ्रममा 
सिसाको झ्यालबाट बाहिरिन खोज्दा 
जसरी पटक–पटक ठोक्किएर घाइते हुन्छन् 
र मर्छन्, विडम्बनाको अकाल मृत्यु

यता
आस्था, विचारको झ्यालबाट उसै गरी देखिन्छ भ्रामक स्पष्टता
ठोकिन्छन् मानिसहरू पटक–पटक र ढल्छन्, व्यर्थ मृत्यु

पिँजडा त पिँजडा हो 
आस्था, विचार होस् या सिसाको 
जहाँबाट संसार देख्न त सकिन्छ, तर मुक्त हुन सकिँदैन ।