• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
उर्मिला थारू
२०७६ मङ्सिर २८ शनिबार ०९:०६:००
समाज

संस्कृतिको अंग घुँगी

२०७६ मङ्सिर २८ शनिबार ०९:०६:००
उर्मिला थारू

घुँगी पानीमा पाइने एक प्रकारको जीव हो । यो झट्ट हेर्दा शंखेकिरा जस्तै देखिन्छ । घुँगी मधेसको ताल, खोला, नदीमा पाइन्छ । थारू जातिले घुँगीलाई आफ्नो खाद्य परिकारमा समावेश गरेको छ । थारू जातिले कहिलेदेखि घुँगी खान थाले, ठ्याक्कै भन्न सकिने अवस्था छैन । 

थारू समुदाय प्रकृतिसँग नजिकै बस्ने जाति हो । थारूहरू नदीको छेउछाउ, पोखरी, तालतलैया भएको ठाउँमा बस्छन् । जहाँ पानीको अस्तित्व छ, त्यहाँ थारू समुदायले आफ्नो वासस्थान बताउँदै आएको पाइन्छ । थारू जाति प्रकृति पूजक समुदाय पनि हो । किनकि, थारू जाति हरेक समय प्रकृतिमा निर्भर हुन्छन् ।

प्रकृतिसँग नजिक हुने क्रममै थारू जातिले घुँगीलाई आफ्नो खाद्य सामग्रीका रूपमा प्रयोग गरेको थारू संस्कृति र इतिहासका विज्ञहरू बताउँछन् । पानी पोखरी र तालतलैयाको नजिकै बस्ने भएकाले तरकारीका रूपमा थारू जातिले घोँघी खान थाले । सुरुमा घुँगीलाई तरकारीका रूपमा मात्र प्रयोग गरियो । यसका फाइदा–बेफाइदाबारे खासै खोजबिन भएन । घुँगीमा प्रोटिनको मात्रा धेरै पाइन्छ भन्ने पछि पत्ता लाग्यो । 

उपलब्धताका दृष्टिले पनि घुँगी सजिलै पाइन्छ । माछा–मासुजस्तो किन्न पर्दैन । फुर्सद हुनेबित्तिकै नजिकैको नदी वा तालमा गएर तुरुन्त ल्याउन सकिन्छ । 
घुँगी थारू संस्कृतिको अंग बन्यो । घुँगी र थारू समुदायका सम्बन्धबारे लोक संस्कृतविद् अशोक थारू भन्छन्, ‘घुँगी थारू जातिको मौलिक परिकार हो । थारू जातिले प्राचीन कालदेखि नै नै घुँगी खान थालेको हो । स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको वृद्धि पनि गराउँछ ।’ 
०००
घुँगी बनाउने केही विधि छन् । सबैभन्दा पहिला घुँगीलाई सफा पानीले धोएर चामल वा गहुँको पिठो हालेर पानीमा एक दिन भिजाउनुपर्छ । त्यसो गर्दा घुँगीमा भएको विकार चिजहरू बाहिर निस्किन्छ । त्यसपछि फेरि सफा पानीले धोएर घुँगीको पछाडिको भाग काटेर फाल्नुपर्छ । अनि पानीमा हालेर उमाल्ने र घुँगीभित्र भएको बिर्चिन (ढक्कन) बाहिर निकाल्नुपर्छ । 

भाँडामा ठिक्क पानी राखेर घुँगीलाई फेरि पकाउने र त्यसमा स्वादअनुसारको नुन, बेसार, खुर्सानी, लसुन, अदुवा, अलैँची आवश्यकताअनुसार राख्नुपर्छ । मसला घुँगी भित्र पसुन्जेलसम्म पकाउनुपर्छ र चामलको पिठो घोलेर पाकिरहेको घुँगीमा हाल्नुपर्छ । चामलको पिठोले घुँगीको स्वाद झनै थपिदिन्छ र खाँदा घुँगीको चट्टौर (मासु) निकाल्न बनाउँछ । घुँगी पाकिसकेपछि धनियाँ वा लसुनको पत्तालाई मसिनो टुक्रा बनाएर हाल्नुपर्छ ।

अन्तिममा घुँगी झान्ने भाँडालाई मज्जाले तताउने र त्यसमा आफूलाई चाहिनेजति तेल हाली सुकेको मिर्चा (खुर्सानी) र सुकेको तोरीको बियाँ वा मेथी हाली झान्न सकिन्छ । यसरी स्वादिलो घोँघीको परिकार तयार हुन्छ । घुँगी पकाउन माथि भनिएका सबै मसला चाहिन्छ भन्ने छैन । त्योभन्दा कम मसलाबाट पनि बनाउन सकिन्छ । 
०००
घुँगीमा प्रोटिनको मात्रा अत्यधिक पाइने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ । भारु भाषाविज्ञ रामबहादुर चौधरी भन्छन्, ‘तालतलैयाको फोहोर पानीमा नुहाएर पेट सुन्नियो र वा दुख्यो भने त्यसलाई थारू समुदायले ‘ढिँर फुल्नी’ रोग लाग्यो भन्छन् । यस्तो वेला घुँगी खायो भने ठीक हुन्छ भन्ने विश्वास छ ।’ पेटमा भएको विकारलाई सफाइ गर्ने भएकाले पनि घुँगी स्वास्थ्यका लागि फाइदानजक रहेको उनी बताउँछन् । घुँगीका अरू धेरै फाइदा हुन सक्ने उनको भनाइ छ । भन्छन्, ‘घुँगी खाँदा हाम्रो शरीरलाई पु¥याउने फाइदाबारे थप अध्ययन–अनुसन्धान आवश्यक छ ।’