• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बाबु त्रिपाठी
२०७६ मङ्सिर २८ शनिबार १०:४१:००
यात्रा

रुन दे कर्णाली

फर्केर निकैबेर आएको बाटोतिर हेरिरहेँ । अनि हेरिरहेँ, तल कर्णाली तीर । लाग्यो, त्यहाँ कर्णाली होइन, पिर बगिरहेको छ ।

२०७६ मङ्सिर २८ शनिबार १०:४१:००
बाबु त्रिपाठी

यात्रा

तुइन समाइ गइजाम्ला
तरे संसार घुमी आम्ला
झरे माछा भइजाम्ला

सरकारलाई भेट्नुपर्ने
जडीबुटी बेच्नुपर्ने
कस्तो होला सहर भन्या
मनको खुल्दुल मेट्नुपर्ने
मुखियालाई अघि लाम्ला
बिदाइको गीत गाम्ला
तरे संसार घुमी आम्ला
झरे माछा भइजाम्ला
तुइन समाई...

हंसराज फुल्यो भने
खोलो तर्‍यो सम्झिनु है
काँसको फूल सुक्यो भने
लडी मर्‍यो भन्दिनु है
कुनै जुनी चरा हम्ला
कहाँ–कहाँ कावा खाम्ला
तरे संसार घुमी आम्ला
झरे माछा भइजाम्ला
तुइन समाई...
(श्रवण मुकारुङ )

‘ए, आम्मा......हो......., ए, दाइ के गर्नु 
भाको ? झन्डै गाको त गाडी भिरबाट । सकिन्थ्यौँ त 
हामी आठैजना ।’ 
‘नडराउनु न । गाडी साइड लगाको । फोटो खिच्नपर्छ भन्या हैन ?’ 
‘यसरी पनि साइड हुन्छ त ? चक्का र भिरको दूरी त आधा हात पनि छैन त । गएपछि त गैगो नि ।’
‘तपाइँले भित्रबाट देख्दा त्यस्तो देख्नुभयो । चलाउने मान्छेलाई थाहा हुन्छ ।’ 
हत्तनपत्त म ओर्लिएँ । त्यसपछि डा. वसुधा नेपाल । त्यसपछि डा. बिगिसा बस्नेत र डा. अस्मिता मुडभरी । त्यसपछि मच्छिन्द्र बडुवाल, मञ्जुल भट्टराई र विकास भैल ।
मुटु मुखमा आएर अड्क्यो । 
‘यो कुन ठाउँ रैछ,’ डा. वसुधा बोल्नुभयो ।
‘खै, अघि सुर्खेतमा भन्दा त अब दैलेखको उकालै–उकालो लागिन्छ त भनेका थिए ।’ 
बाटोमा मान्छेको अनुहारै देखिन्न । आकाशमा हेर्‍यो नीलो आकाशको बाटो भएर उडेको चरा देखिन्छन् । टिलिक्क टल्केको घाम छ । जमिनमा हे¥यो हरिया रूख मात्र छन् र बाँकी बचेका यी चट्टान छन् । चट्टान मिसिएको रातो माटो छ । सोधे पनि, यिनले के भन्लान् यो कुन ठाउँ भनेर ।
‘यस्तो चट्टान मिसिएको माटोमा उब्जनीचाहिँ के हुने 
रैछ ? अनि यी रूख केका रूख हुन् ?’ मञ्जुल बोले ।
खै के को रूख हो यो । खै, के उमार्छन् यहाँका किसानले । रूख पनि कति सुरिलो के ? यस्तो भिरमा पनि सुरिलो भएर बस्न जानेका । मान्छेचाहिँ जहाँ उभिए पनि बांगाका बांगै ।
‘भिरमा नजानू है डाक्साब, समाउने हाँगो पनि छैन नि । गयो भने त यहाँबाट अर्को जिल्ला पुगिन्छ नि ।’ सँगैका साथीमध्ये कसैले भने ।
घाम आँखा चट्टानमा ठोकियो । 
०००
गाडीको झ्यालबाट हेर्दा बाटोमा काफल बेच्न बसेको थुपै्र नानी देखिए । मनमा प्रश्न उब्जियो, ‘यी नानीहरू पढ्न कतिखेर जान्छन् हँ !’ 
‘धारा पछाडि छ । चिसो पानी छ । हातमुख धुनुहोला,’ साउनी बोल्नुभयो । 
धारानिर भर्खरै कसैले खुँडा छाडेर गएको रहेछ । खुँडामा लागेको आलो रगत ज्यूँदै थियो । रगत नछोईकन मैले खुँडा उठाएँ र भने, ‘यो खुँडाले के छिनाएछन् ? कुखुरा छिनाउन त खुँडा चाहिन्न । राँगा छिनाको देखिन्न । खसी नि हैन । हैन छिनाएछन् चैँ के ?’
भित्रबाट साउनी बोल्नुभयो, ‘अरू हतियार नभएर त्यै खुँडाले कुखुरा काटेको ।’
कुखुरा काट्न खुँडा !
आरुबखडाको लटरम्म दाना सबैको कुहिनोमा आएर ठोक्कियो । के विधि फलेको । ‘साउनी खाम है टिपेर,’ डा. वसुधा बोल्नुभयो ।
आधा पाथीजति काफल बोकेर होटेल साहुजी आए । काफलसँगै थियो रातो खुर्सानी । मैले भनेँ, ‘म त काफल नै खान्छु । भात भनेको खाँदै गरौँला,’ गाइड गर्ने दाइ बोल्नुभयो, ‘भातै खानुस् हजुर । अब बाटोमा भात पाइँदैन ।’ 
खाना खाएर हामी गुराँसेबाट ओरालो लाग्यौँ । तातो हावाले हाम्रो पिछा गरिरह्यो ।
०००
‘दाइ, फेरि किन रोक्नुभाको गाडी ?’ 
‘चक्कामा पानी राख्न । अघि ओरालो लाग्दा बे्रक फेलभयो । मैले तपाईंहरूलाई नभनेको,’ गाडी चलाउने 
दाइ बोल्नुभयो । 
ब्रेक फेलभयो रे ! हामी तर्सियौँ । ‘कतिखेर फेलभयो ब्रेक, हामीले त चालै पाएनौँ त ?’ गाडी चलाउने दाइलाई भन्यौँ । ‘स्पिड कम भएको हुनाले चाल नपाएको । कन्ट्रोल गरेँ मैले,’ दाइ बोल्नुभयो । ०७१ साल जेठ २१ गते हामी आठैजना एकै चिहान पो हुने रहेछौँ । 
०००
‘फेरि गाडी किन रोक्या ?’ हामीभन्दा अगाडिको गाडी रोकिएको छ । सायद चिया होला ।
‘खुलालु कहिले पुगिन्छ साहुजी ?’
‘कहाँबाट आउनुभयो ?’
‘काठमाडौंबाट ?’
‘के काम हो र खुलालुमा ?’
‘हेल्थ क्याम्प हो । दुईदिने ।’ 
‘लाग्छ होला तपाईंहरूलाई अझ नौ घन्टा ।’ 
चिया आयो ।
‘बाटो खुलालुसम्म यस्तै हो ?’
‘हैन, यो त सजिलो बाटो हो । बाटोले कर्णालीको तीर छुन थालेपछि घुम्ती र साँघुरा बाटा धेरै छन् । चट्टान 
टेकेर हिँड्नुपर्छ ।’
‘साहुजी, यो ठाउँमा त चट्टान मात्र छ । यो ठाउँमा चट्टान नै रोप्ने, चट्टान नै फल्ने हो कि के हो ?’ मेरो प्रश्न साहुजीको कानसम्म पुगेन । जवाफ आएन ।
०००
बाटोले कर्णालीको तीर छुँदा ६ बज्यो । ‘गाडी रोक्यौँ,’ मैले भनेँ । 
‘किन ?’ डा. अस्मिता र डा. बिगिसाले 
एकैैचोटि भन्नुभयो ।
घाम अस्ताउन लागेछ । अस्ताउन लागेको घाम कर्णालीमा हाम्फाल्न खोज्दै छ । बह बोकेर बगिरहेको कर्णालीको फोटो खिचौँ ।
घाम अस्तायो ।
०००
कर्णालीको तीरैतीर हामीलाई बोकेर ल्यान्डक्रुजर गुड्यो । गाडी हिँड्ने मार्ग होइन, मृत्युमार्गजस्तो लाग्यो । ‘गाडी धेरै स्पिडमा नचलाउनु है दाइ । कर्णाली छ छेउमा । बढीमा १० को स्पिडमा चलाउनुस् । आज नपुगे भोलि पुगिन्छ,’ मैले भनेँ ।
‘यहाँका मान्छे गाडीको छतमा बसेर यात्रा गर्छन् । दिन नआई केही हुन्न,’ डा. वसुधा बोल्नुभयो । 
घुम्तीमा एस मोड लेखिएको बोर्ड देखियो । के रहेछ यो एस मोड भनेको ? ‘खै’ चालक दाइ बोल्नुभयो । एस मोडको छेउमा ट्रक अड्केर बसेको रहेछ । गाडी रोक्यौँ र 
सबैजना झ¥यौँ ।
एस मोड भनेको त्यहाँको सबैभन्दा डरलाग्दो र साँधुरो घुम्ती रहेछ । घुम्तीमा ट्रक घुमाउन नसकेर ट्रक अड्केर बसेको रहेछ । 
हैट्ट यो ट्रकको मुख त हाम्फाल्न खोज्दै छ त कर्णालीमा । कसरी अड्केको हो यो ट्रक । कसरी घुम्छ अब । बडेमानका दुईवटा ढुंगा अगाडिका दुईवटा चक्कामा लम्पसार थिए । ‘यो ट्रक कता जाने हो दाइ ?’ ट्रकचालक नै होला भन्ठानेर सोधेँ ।
उत्तर आयो, ‘कालिकोट ।’ 
‘निस्कन्छ यो ट्रक ? कसरी घुमाउनुहुन्छ ?’
‘यो त केही हैन । यस्तो ठाउँ त अझै कति पार गर्नुपर्छ ।’ जवाफ आयो ।
बिस्तारै–बिस्तारै बाटो देखिन छाड्यो । कर्णाली बगेको देखिन छाड्यो । गाडी हल्लिनचाहिँ छाडेको थिएन । एकाएक ढ्वाङ्ङ गरेर ठूलो आवाज आयो । 
‘राम राम राम’ म चिच्याएँ ।
‘तपाईंले गर्दा मेरोसमेत सातो जानेभो । सधैँ हिँडेको बाटो भए पो थाहा हुनु, चालक बोल्नुभयो ।
‘आज पुगिएलाजस्तो छैन । म यो गाडीमा जान्नँ । बरु म हिँडेर जान्छु,’ बुद्धिसागरले लेखेको घोडाझैँ उफ्रिने जिप सम्झिँदै भनेँ ।
०००
खुलालु पुग्दा रातको ११ बज्यो । राति त जसोतसो टर्च बालेर भिर छिचोल्दै तुइन चढेर खुलालु पुग्यौँ । तुइन चढ्ने वेलामा घरबाट फोन आएको थियो । फोन उठाउन नपाउँदै घरबाट सोधियो, ‘कस्तो रैछ कर्णाली ?’
जवाफमा मैले भनेँ, ‘खै बत्ती छैन । एउटा टर्चको उज्यालोमा चारजना हिँडेका छौँ । चारजना अर्को टर्चको उज्यालोमा । भिरमात्र छ भन्नुभएको छ । एकले अर्काको हात समाउनचाहिँ छाडेका छैनौँ । अब केहीछिनमा तुइनमा झुन्डिएर तर्नुपर्छ पनि भन्नुभएको छ । अहिले त कर्णाली सुसाएको बाहेक केही सुनिदैन । केही पनि देखिँदैन । जताततै अँध्यारो छ । जताततै कालो छ कर्णाली ।’
टर्चकै उज्यालोमा तुइनमा बस्यौँ । अलिपर पुगेपछि उज्यालो खुलालु देखियो । ठाउँ–ठाउँमा भट्टीपसल देखियो । मोबाइलपसल देखियो । असइको कमान्डमा पाँचजनाको टोली देखियो । एकजनाको हातमा चाहिँ बन्दुक थियोे । तर, औषधि पसलचाहिँ कतै देखिएन ।
‘असइसाब डर पो लाग्यो त हामीलाई । यहाँको अवस्था त डरलाग्दो रहेछ,’ मैले भनेँ । ‘डराउनुपर्दैन हजुर । सुरक्षा पूरै दिन्छौँ,’ छतमाथि बन्दुक बोकेर बसेको एकजना सिपाहीको मधुरो छायाँ तल भुइँमा देखियो । 
‘यो ठाउँमा पनि औषधि पसल देखिएन ? के यहाँका मान्छे बिरामी हुँदैनन् ?’ मैले भनेँ ।
‘भोलि बिहान देख्नुहुन्छ तपाईंहरूले । कस्तो अवस्था छ यहाँको । कसरी मान्छे बाँचेका छन् यहाँ ?’ 
असइसाबले भन्नुभयो । 
०००
शुभ प्रभात भनेको आवाज सुनेपछि आँखा मिच्दै 
उठ्यौँ । 
आँखा खोल्दा हँसियाजस्तो पहाड आँखामा ठोक्कियो । हिजो पो अँध्यारोले पहाड नदेखिएको रहेछ । मैले भनेँ, ‘असइसाब, पहाड त हँसियाजस्तै छ त ।,’ 
‘यहाँका मान्छेहरूको जिन्दगी पनि यस्तै छ,’ असइसाबले गहिरो कुरा गर्नुभयो । 
राजनीति पनि बढी हुँदोरहेछ यहाँ । एउटै शौचालयमा आठवटा एनजिओको आँखा रहेछ । दर्दको पहाड छ यहाँ । 
‘खोला सुसाएको आवाज छ त असइसाब ।’ 
यहाँका मान्छेहरूको जिन्दगी पनि यसरी नै धिमा गतिमा सुसाइरहेछ । फरक यत्ति हो– यो सानो खोलाले बगाउँदैन ।
‘कर्णालीले त बगाउँछ नि होइन र ?’ 
त्यसले पनि दुःखचाहिँ बगाउँदैन ।
०००
बिहानको ७ बजे काम सुरु ग¥यौँ । 
‘तपाईंको उमेर ?’
‘२१ वर्ष ।’
सुरुमा त पत्याइनँ ।
‘बिहे भयो तपाईंको ?’
‘भयो । दुईवटा नानी छन् ।’
‘श्रीमान् के गर्नुहुन्छ ?’
निकैबेर जवाफ आएन । 
०००
‘तपाईंको उमेर ?’
‘५६ वर्ष ।’
‘केही भयो भने उपचार गर्न कता जानुहुन्छ ?’
‘कता जानु भन्नु । नेपालगन्जा जाने हो । नभए 
मर्ने हो ।’ 
२ दिनमा १३१४ जनासँग यस्तै–यस्तै संवाद 
गर्‍यौँ हामीले ।
०००
जाँदा बात गर्न नपाए पनि फर्कँदा तुइनको लट्ठा तान्दै गरेका दाजुसँग बात गर्न पाएँ । उहाँको दुई हातले तुइनको लट्ठा तानिरहेको हुन्थ्यो । मुखको हाउभाउचाहिँ मेरो अनुहारमा आएर ठोकिन्थ्यो । 
‘दाइ धेरै भयो है, तपाईंले यो लट्ठा तान्न 
थाल्नुभएको ?’
‘धेरै भयो । जहान–बच्चा पाल्या छु । यही 
लट्ठा तानेर ।’ 
‘एकजनाको कति लिनुहुन्छ ?’
‘दस रुपैयाँ ।’
तुइनमा आउने–जानेको क्रम चलिरहेको थियो । मैले सोधेँ, ‘तुइनको लट्ठा साह्रै बलियो हुन्छ है दाइ ?’ 
‘बलियो हुन्छ नि । बलियो भएन भने त कसरी तार्नु सारा भारी । भारी के गाउँलाई नै तार्नुपर्छ । तर, यसपालाचाहिँ यो लट्ठा अलि कमसल प¥यो । हेर्नुस् त खिइँदै गइरहेको छ,’ चुच्चो ओठ बनाएर उहाँले खिइँदै गएको लट्ठा देखाउनुभयो । 
अब तुइनमा चढ्ने पालो मेरो । मेरो खुट्टा र मन एकैचोटि काप्यो । 
‘यो तुइनबाट कोही खसेका त छैनन् नि कर्णालीमा ?’ यो प्रश्नको जवाफ आएन । ‘अब तपाईंको पालो । छिटो चढ्नु । लट्ठाचाहिँ नसमाउनु है । केही भयो कि सोझै कर्णालीमा हो नि । तल नहेर्नु । हल्लिन्छ । नडराउनु,’ लट्ठा तान्दै दाइले भन्नुभयो । 
पारीपट्टि भारीमा एउटा सिङ्गै पसल बोकेर एकजना दिदी तुइनको पर्खाइमा हुनुहुन्थ्यो । ‘त्यता नजानुस् है, चिप्ल्यो कि गयो । अस्ति नै एकजना यहीँबाट कर्णालीमा खस्यो,’ हत्त न पत्त गोडालाई पछाडि चलाइहालेँ । 
‘दिदीले त पसलै पो ल्याउनुभयो त ?’ 
‘के गर्नु नल्याएर । सधैँ सकिन्न । बच्चाहरू छन् । बूढाले सक्दैनन् । थला परेका छन्, भिरबाट खसेर । पाता भाँचिएको भन्छन् । जँचाउन लैजान पाएको छैन । यति नगरे त बच्चाहरू भोकले मर्छन्,’ दिदीले एक्कै सासमा भन्नुभयो ।
‘कतिजना बच्चा छन्, हजुरका ?’
‘तीन्टा छन् ।’
‘थाप्लो दुख्दैन है दिदी ।’ 
तुइन दिदीको अगाडि आएर रोकियो । तीनजना फेरि झरेपछि उहाँको पालो आयो । दिदीले पहिला आफ्नो भारी तुइनमा राख्नुभयो, अनि आफू बस्नुभयो । तुइन कर्णालीको बीचमा एकाएक पुग्यो । थाप्लो दुख्दैन है दिदी ? यो प्रश्नको उत्तर आएन । 
बाटो देखाउँदै अगाडि जाने दाइले भन्नुभयो, ‘पछाडि फर्केर नहेर्नुस् हैँ । रिँगाटा लाग्ने मान्छे त जान्छ त सोझै कर्णालीमा ।’ अस्ति राति टर्चको उज्यालोमा यस्तो बाटो पो हिँडिएछ । अघिको दिदीलाई हेरेँ । पारी पुगिसक्नु भएछ । फर्केर निकैबेर आएको बाटोतिर हेरिरहेँ । अनि हेरिरहेँ, तल कर्णाली तीर । लाग्यो, त्यहाँ कर्णाली होइन, पिर 
बगिरहेको छ । 
रुन दे कर्णाली तेरो के जान्छ मेरो के जान्छ
नहोस् अन्नबाली तेरो के जान्छ मेरो के जान्छ
भोकले बालुवा खाइरहेछन् नानीहरू
भो नगरौँ गाली तेरो के जान्छ मेरो के जान्छ