
म विज्ञानको विद्यार्थी भएकाले पहिले कविहरूसँग खासै संगत भएन । कविहरूको कविता र नामचाहिँ सुनेको थिएँ । ०३० सालतिर भूपि शेरचनका बारेमा सुनेँ । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह प्रकाशित भइसकेको थियो । उनीसँग प्रत्यक्ष भेटचाहिँ भएको थिएन । उनका बारेमा सुन्दा उनी कस्ता होलान् भन्ने लाग्थ्यो । उनी अलि उमेर खाएकै मान्छे होलान् भन्ने अनुमान गर्थेँ । पछि भेटेपछि थाहा पाएँ, उनको र मेरो उमेर धेरै फरक रहेनछ ।
भूपि कविहरूको एउटा झुन्डसँगै हिँड्थे । उनी साहित्यकारहरूलाई चिया पसल र होटेलहरूमा जम्मा गरेर चिया पिउँदै, जलपान गर्दै र कविता सुनाउँदै हिँड्दा रहेछन् । साथीहरूलाई खुवाउँन पाउँदा रमाउने स्वभावका रहेछन्, भूपि । कुरा गर्दैगर्दै उखान टुक्का र व्यंग्यहरू फुत्तफुत्त निकाल्न माहिर । मैले पछि थाहा पाएँ, उनी साथीहरूलाई जम्मा गरेर खाँदाखाँदै, ठट्टा गर्दागर्दै मनभित्र चाहिँ कविता बुनिरहेका हुँदा रहेछन् ।
०३६ सालमा भूपि र म एकैपटक प्राज्ञ सदस्यमा नियुक्त भयौँ । म विज्ञानतर्फ नियुक्त भएँ, भूपि साहित्यतर्फबाट नियुक्त भए । कुलपति लैनसिंह वाङ्देल थिए, उपकुलपति माधवप्रसाद घिमिरे । सदस्य सचिव थिए, विजय मल्ल । सबै साहित्यकार नै साहित्यकारको बीचमा विज्ञानको विद्यार्थी म मात्रै थिएँ । त्यसवेला प्रज्ञाको मिटिङ हुँदा प्रज्ञा प्रतिष्ठानको मिटिङ हो कि साहित्य सम्मेलन हो, छुट्याउन मुस्किल पथ्र्यो ।
वैशाख २ गते हामी सबैजना एकेडेमी गयौँ । भूपिसँग पहिलो भेट त्यहीँ भयो । हामी मर्यादाक्रममा सबैजना लाइनमा उभिएका थियौँ । भूपि र म सँगै थियौँ । एकेडेमीका कर्मचारी हामीलाई स्वागत गर्न पुष्पगुच्छा लिएर उभिएका थिए । कुलपति, उपकुलपतिको ठूलो मर्यादा थियो । कर्मचारीहरू कुलपति, उपकुलपतिलगायत नियुक्त भएका सबैलाई निकै सम्मान गर्थे ।
उनीहरू एकदमै झुकेर नमस्कार गरिरहेका थिए । त्यही वेला भूपिले भने, ‘तीर्थजी, यो नमस्कारलाई धनुष्टंकार नमस्कार भनिन्छ ।’ उनले भनेजस्तै कर्मचारीहरू धनुष्टंकारजस्तै झुकेर पुष्पगुच्छा दिइरहेका थिए । त्यो शब्द मैले पहिलोपटक उनैबाट सुनेँ । उनले कर्मचारीलाई व्यंग्य गर्दै फेरि भने, ‘कर्मचारीको धर्मै यस्तै हो । यिनीहरूले आउनेलाई ताली र जानेलाई गाली गर्छन् ।’ हामीबीचको पहिलो कुराकानी नै त्यही थियो ।
भूपि एकेडेमीमा नियुक्ति भइसकेपछि साहित्यवृत्तमा उनी त्यति लोकप्रिय भएनन् । उनी एकेडेमीमा गएको उनका साथीहरूले स्विकारेका थिएनन् । वामपन्थी विचारधाराको मान्छे राजाले गठन गरेको एकेडेमीमा गयो भनेर उनको निकै आलोचना भयो । प्राज्ञ भएपछि चियापसलहरूमा उनको उपस्थिति पनि पातलियो । एकेडेमीमा रहँदा भूपिले कविता त्यति लेखेनन्, सायद । तर, उनी भन्थे, ‘साहित्य क्षेत्रमा केही गर्न सकिन्छ भनेर यहाँ आएको हुँ । साथीहरूका लागि केही न केही गर्नेछु । तर, साथीहरूले म यहाँ आएको मन पराएका छैनन् ।’
०००
एकेडेमीमा अरू सबै सदस्य हामीभन्दा पाका थिए । हामी दुईजना मात्रै अलि तन्नेरी थियौँ । म त्यस्तै ४०, ४२ वर्षको थिएँ । भूपि पनि त्यस्तै उमेरका थिए । हामी दुईजना बिस्तारै घनिष्ट हुँदै गयौँ । पछि ढुण्डिराज भण्डारी पनि हामीसँग जोडिन आइपुगे । ढुण्डिराज ज्ञान विधा हेर्थे । ‘गाउँ फर्क अभियान’मा उनी निकै सक्रिय थिए । अफिसमा हाम्रो कोठा पनि सँगसँगै थियो । हामी तीनजनाबीच गम्भीर छलफल हुन्थ्यो । गफ हुँदा भूपि भन्थे, ‘राजा वीरेन्द्र पनि कलाकार हो । साहित्यलाई राजाले पनि स्विकारेको छ । त्यसैले यही वेलामा हामीले साहित्यमा केही योगदान दिनुपर्छ ।’ उनको कुरा सुन्दा लाग्थ्यो, उनी त्यहाँ राजनीतिक धार त्यागेर साहित्यकै सेवा गर्न गएका थिए ।
एक दिन मैले गफैगफमा भूपिलाई सोधेँ, ‘म त विज्ञान पढ्ने मान्छे । यताउता राजनीति पनि गर्न जानिएन । कसरी गर्ने होला राजनीति ?’ उनले एउटा सटिक उत्तर दिए, ‘हेर्नुस् तीर्थजी, राजनीति गर्न एकदमै सजिलो छ । मरेको मान्छेलाई जिन्दावाद भन्नु, बाँचेको मान्छेलाई मुर्दावाद भन्नु । बस् भइहाल्यो । राजनीति भनेको यही हो ।’ त्यसवेलादेखि अहिलेसम्म पनि त्यो भनाइ कति सत्य रहेछ भन्ने अनुभूत हुन्छ मलाई ।
एकेडेमी धाइरहने हरिभक्त
हरिभक्त कटुवाल भूपिलाई भेट्न एकेडेमीमा आइरहन्थे । हरिभक्त आर्थिक संकटमा थिए । उनको स्वास्थ्य पनि राम्रो थिएन । आर्थिक सहयोग लिएर बिदा हुन्थे, हरिभक्त । हरिभक्तलाई पैसा दिएर बिदा गरेपछि भूपि भन्थे, ‘पैसा त दिइयो, अब त्यो पैसाले भरे टन्न रक्सी नखाओस्, र फेरि अस्वस्थ्य भएर यहाँ नआओस् ।’ हरिभक्तलाई पैसा दिइरहनुपरेकोमा भूपिलाई कुनै पछुतो थिएन । उनी हरिभक्तलाई पैसा दिनु साहित्यमा लगानी गरेको सम्झन्थे । भूपि भन्थे, ‘रक्सी खाए पनि उसले ठटाएर कविता लेख्छ । त्यसैले त्यो पैसा साहित्यका लागि गरेको योगदान नै हो ।’ हुन पनि हरिभक्तका गीतका गेडाहरू नारायण गोपाल, अरुणा लामाहरूका कण्ठबाट ओर्लँदा सबै मुग्ध हुन्छौँ, सधैँ मुग्ध हुन्छौँ ।
भूपि गोजीमा पैसा भएसम्म साहित्यकारलाई निकै सहयोग गर्थे । हरिभक्त धेरैपटक आएको देखेँ । भूपिलाई भेट्न ईश्वर बल्लभ पनि आइरहन्थे । उनलाई भेट्न आसाम, दार्जिलिङतिरका कवि–साहित्यकारहरू धेरै आइरहन्थे । अम्बर गुरुङ र भूपिको कुरा धेरै मिल्थ्यो । नारायण गोपाल चाहिँ भूपि एकेडेमीमा गएको मन पराउँदैनथे । पारिजात पनि एकेडेमीमा आएको कहिल्यै देखिनँ ।
०००
भूपि एकेडेमी गएपछि साहित्यवृत्तमा उनको निकै आलोचना भयो । तर, उनी आफूचाहिँ साहित्यकै योगदान गर्न त्यहाँ गएको ठान्थे । ‘यहाँ साहित्यकै योगदान गर्न आएको हुँ, मैले साहित्यकारहरूलाई सघाउनुपर्छ,’ भूपि भन्थे । उनकै नेतृत्वमा ‘कविता त्रैमासिक पत्रिका’ प्रकाशित हुन्थ्यो । त्यहाँ उनले आफ्नो कविता होइन, अरूको कवितालाई स्थान दिए । कविता महोत्सव पनि उनले गरे ।
कुनै कवितामा पञ्चायतविरोधी व्यंग्य छ भने पनि उनी धेरै कडा गर्दैनथे, त्यसलाई पचाउँथे । हामी बाहिर पसलहरूमा कहिल्यै सँगै गएनौँ । बरु म उनको घर जान्थेँ, उनी मेरो घर आउँथे । ‘आज घरमा एप्पलको रक्सी छ, मेरो घर जाऊँ है,’ भन्थे । हामी दुई–तीनजना साथीहरू उनको घर गएर पिउँथ्यौँ । भूपि निकै चुरोट पिउँथे । विजय मल्ल र भूपि एकेडेमीको कुनामा बसेर खुब चुरोट पिउँथे । वेलावेलामा चुरोट छाडेको कुरा पनि गर्थे, भूपि । तर, चुरोट नपिउँदा एउटा औँला कहाँ गयो कहाँ गयो जस्तो हुन्छ भन्थे, भूपि । उनी ठट्टा गर्दै भन्थे, ‘हराएको औँलाले कविता लेखिँदैन तीर्थजी ।’
भूपि कविता यात्रा गर्न निकै रुचाउँथे । हेमन्त श्रेष्ठलगायत कविहरूसँग मिलेर उनले कविता यात्रा गरे पनि । उनी बाहिर जाँदा ड्रिंस नगर्ने सर्त हुन्थ्यो । तर, उनी गरिहाल्थे । इलामतिर साहित्यिक यात्रा गरेर फर्केपछि त्यसबारे रिपोर्ट लेख्नुपर्ने थियो । तर, उनले रिपोर्ट बुझाएनन् । ‘खै तीर्थजी के लेख्ने के लेख्ने, बुझाउँला नि भोलिपर्सि,’ भन्थे । लेखाले रिपोर्ट चाहियो भनेर ताकेता गरेपछि हेमन्तहरूले बनाइदिन्थे ।
साहित्यिक यात्रामा इलाम घुमेर आएपछि एक दिन मैले भूपिलाई सोधेँ, ‘मूल उपलब्धि के भयो त यात्राको ?’ उनले भने, ‘मलाई त बाँकी ७४ जिल्लामा पनि अलि–अलि इलाम छरिदिऊँ जस्तो लाग्यो ।’ त्यसपछि मैले त्यहीबारे कविता लेख्न सुझाएँ । उनले इलामबारे एउटा सुन्दर कविता नै लेखे । छापियो पनि । त्यो कविता आज पनि मसँग छ ।
इलाम
आफ्नो वरिपरि
भिरपाखा र कान्लाभरि
थुम्का–थुम्का चिया र
झुम्का–झुम्का अलैँची उमारेर
सन्तोषले एक्कासि सुस्मित उठेको झैँ
हरियो भरियो इलामलाई देख्दा मलाई
नेपालभरि अलि–अलि इलाम छर्न मन लाग्यो
एक चोइटा बादलको बाँदरे टोपीले
टाउको र कानलाई छोपी
कुइरोको पातलो पछ्यौरी ओडेर
चिया, अलैँचीका बोटहरू गोडेर
कर्ममा लाग्न
दिवास्वप्नमा मग्न
इलामलाई देख्दा मलाई
चियाबारीमा उभिएर आफूलाई
दिउँसै लिलाम गर्न मन लाग्यो
सिमानाको रक्षार्थ तैनाथ
सिमानान्तरमा सजग र शान्त उभिएको
राष्ट्रको धीर वीर सैनिकजस्तो
इलामलाई देख्दा मलाई
निउरेर उसलाई ढोग्न
र उभिएर श्रदाले सलाम गर्न मन लाग्यो ।
– भूपि शेरचन
इलामको त्यो दुरुस्त चित्रण र नेपालका जिल्लाको विकास सम्भाव्यता एउटै कवितामा सूत्रपात भएको देख्दा भन्नैप-यो, धन्य भूपि ।
०००
भूपि खान, लगाउनमा निकै सौखिन थिए । बँदेलको मासुदेखि थाकखोलाको सुकुटीसम्म उनको घरमा हुन्थ्यो । सधेँ टिपटप भएर हिँड्थे । आइरन गरेको दौरासुरुवाल चिटिक्क पारेर लगाउँथे । अफिसमा उनका लागि घरबाटै कफी आउँथ्यो । दिउँसो एकजनाले उनलाई थर्मसमा कफी लिएर आउँथे । तर, एक्लैचाहिँ खाँदैनथे । कफी आइसकेपछि मकहाँ आएर भन्थे, ‘आउनू न कफी पिऊँ ।’ एक सर्को कफी पिउँदै भन्थे, ‘राणा नै नभए पनि म पनि राणाजीको ज्वाइँ त हुँ नि ।’
दोस्तीले सिकायो
म सोच्थेँ, विज्ञान पढेपछि इंग्लिसमा लेखेर इन्टरनेसनल जर्नलमा छाप्नुपर्छ । भूपिसँग संगत गरेपछि थाहा पाएँ, मैले जानेबुझेको ज्ञान आममान्छेमा पु-याउने माध्यम साहित्य हो । त्यो नेपाली भाषामै लेख्नुपर्छ । आफूले जानेको ज्ञान नेपालीमै लेख्नुस् भनेर मलाई उनले सल्लाह दिए । उनको संगतबाट थाहा पाएँ, सिकेको ज्ञान मान्छेको मनसम्म पु-याउने माध्यम साहित्य नै हो । डुण्डिराजले पनि उत्साह थपे । उनको सल्लाह र संगतमा मैले नेपालीमा लेख्न थालेँ । प्रज्ञा प्रतिष्ठानको संगतले मेरो जीवनमा परिवर्तन नै ल्याइदियो ।
भूपिको संगतले मेरो एउटा अर्को पनि बानी फेरियो । उनी दिनभरि मान्छेहरूसँग गफ गर्ने, घुम्ने, अनि त्यहीवेला दिमागमा चाहिँ कविता घुमिरहेको हुँदो रहेछ । अनि उनको लेख्ने तरिका पनि फरक रहेछ । मैले कसरी लेखपढ गर्नुहुन्छ भनेर सोधेँ । उनले एउटा उपाय सुझाए । उनका अनुसार बेलुकी कोठामा पुगेपछि सरर सर्ने कलम, सादा कापी र बत्तीनजिकै राख्ने । आफूलाई चाहिने पुस्तक पनि त्यहीँ राख्ने । राति ड्रिंस गरेपछि मज्जाले खाना खाने अनि सुत्ने ।
त्यसपछि भूपि आफ्नै कार्यकक्षको कुर्सीमा बसी करिब एक घन्टा क्वाँ–क्वाँ रोए । उनले आफ्नो बाल्यकाल सम्झे, बालखैमा आमाको मृत्यु भएको घटना सम्झे । भूपि साह्रै नै भावुक भएर रोए । त्यति भावुक भएर रोएको मैले कहिल्यै देखेको थिइनँ ।
बिहान सबेरै उठेर एकपटक नुहाउने, अनि कलम समाउने । उनी भन्थे, ‘तीर्थजी त्यसपछि लेख्नैपर्दैन, कलम आफैँ सरर सर्छ ।’ त्यो विधि मैले पनि प्रयोग गरेँ । म अहिले पनि त्यही विधि प्रयोग गरिरहेको हुन्छु । मेरो अनुभवमा आफ्नो कल्पनाशक्तिलाई सबैभन्दा राम्रो तरिकाले लेख्न सकिने समय त्यही रहेछ । भूपिको संगतमा मैले कविताचाहिँ लेखिनँ, तर यो विधिचाहिँ सिकेँ । मेरो पनि प्रभाव प-यो होला उनलाई । त्यसैले उनले छोरालाई विज्ञानतिर प्रोस्ताहित गरे, छोरी साहित्यतिरै लागिन् ।
छन्द र स्वछन्दको विवाद
त्यसवेला छन्द र स्वछन्दवालाबीच विवाद हुन्थ्यो । एक किसिमको टकराव नै थियो । माधव घिमिरे छन्दमा लेख्ने, भूपि गद्यमा लेख्ने । छन्द लेख्नेजति माधव घिमिरेको कार्यकक्षतिर जान्थे । गद्य लेख्नेजति भूपिको कार्यकक्षतिर जान्थे । माधव घिमिरे ओठ लेब्य्राउँदै भन्थे, ‘गद्य कविता पनि कहीँ कविता हो ?’ भूपि पनि छन्द कविता लेख्नेहरूलाई कडा व्यंग्य वाण हान्थे, ‘छन्दमा लेख्नेहरू कवि होइनन्, कालिगढ हुन् । यिनीहरू शब्दलाई कुँदीकुँदी पत्थरलाई हिरा बनाएजस्तै बनाउँछन् ।’
भूपि रोएको त्यो पल
म थाकखोलामा वन र वनस्पतिको अध्ययन गरेर फर्किएको थिएँ । उनको कार्यकक्षमै पुगेर थाकखोलाको प्राकृतिक वर्णन गरेँ । उनलाई थाकखोलाको सम्झना आएछ, आफ्नो बचपनको सम्झना आएछ । त्यसपछि भूपि आफ्नै कार्यकक्षको कुर्सीमा बसी करिब एकघन्टा क्वाँ–क्वाँ रोए । उनले आफ्नो बाल्यकाल सम्झे, बालखैमा आमाको मृत्यु भएको घटना सम्झे । कोठामा हामी दुईजना मात्रै थियौँ । भूपि साह्रै नै भावुक भएर रोए । त्यति भावुक भएर रोएको मैले कहिल्यै देखेको थिइनँ । धनसम्पत्तिले सम्पन्न भए पनि बाल्यकालमा आमाको माया नपाएका कारण उनले धेरै दुःख पाए । बालखैमा आमा बितेपछि उनलाई गाउँलेहरूले ‘आमा टोकुवा’ पनि भनेछन् । त्यो सबै कहानी उनले सुनाए । एकघन्टापछि बल्लबल्ल सम्हालिए उनी । त्यसपछि चिया मगाएर पियौँ ।
राजालाई चेन्ज गर्न सकिन्छ पनि भन्थे, उनी । यही व्यवस्थालाई ‘मोर डेमोक्र्याट’ बनाउन सकिन्छ भन्थे । इन्डियासँग सँगै नबसी पनि हुन्न, तर हाम्रो पहिचानचाहिँ अलग्गै हुनुपर्छ भन्थे उनी । एकेडेमीको विरोध होइन, त्यहीँ गएर परिवर्तन गर्नुपर्छ भन्थे, भूपि । उनले पञ्चायतको विरोध गरेको सुनिएन । पिउने वेला उनी भन्थे, ‘जे भए पनि हामी मतवाली हौँ, आउनुस् न रक्सी पिऔँ ।’
अनुत्तरित एउटा प्रश्न
मैले बालविज्ञानका लागि केही सामग्री तयार पार्ने योजना बनाएँ । बालविज्ञानको क्षेत्रमा काम गर्न साथीहरूलाई आफ्ना बालबच्चाले आमाबुबालाई सोध्ने विज्ञानका प्रश्न के–के हुन् भनेर संकलन गर्न थालेँ । उनीहरूले प्रश्नहरू ल्याएपछि मैले त्यहीअनुसार उत्तर लेख्थेँ । भूपिको छोरी कविताले विज्ञानसम्बन्धी एउटा यस्तो प्रश्न सोधिन्, जसको उत्तर मैले आजसम्म पनि दिन सकेको छैन । कविताले कतै सुनेको प्रश्न भूपिलाई सोधिछन्, ‘माकुराको बच्चाले आफ्नै आमालाई किन खान्छ ?’ माकुराको जीवन प्रक्रिया नै त्यही हो । बच्चाले आमा खाएपछि मात्रै माकुराको नयाँ जीवन सुरु हुन्छ । त्यो प्रश्नको उत्तर मैले त्यसवेला दिन सकिनँ । आज पनि सकेको छैन । आमालाई खाने भनेपछि त्यो शब्दले भूपिलाई पनि छोयो । किनकि भूपिलाई सानोमा ‘आमा टोकुवा’ भनेर गाउँलेहरूले भन्थे । त्यो शब्दले उनलाई सधैँ चोट दिइरह्यो । भूपि मलाई भनिरहन्थे, ‘खै त मेरो छोरीको प्रश्नको उत्तर ?’
०००
भूपि एकदम सामान्य मान्छे थिए । उनी घमन्डी मान्छे हुँदै होइनन् । जोसँग पनि घुलमिल भइहाल्थे । असाध्यै मिलनसार मान्छे । भूपि सटिक जवाफ र टुक्का बनाउन माहिर थिए । उनले भनेका छोटा–छोटा टुक्का अहिले पनि सम्झिरहेको हुन्छु । उनी भन्थे, ‘सफल हुनलाई दुई ठाउँ जान छोड्नुहुन्न– एउटा मलामी, अर्को सलामी ।’ पुस १ गते सलामीमा जाने कार्यक्रम हुन्थ्यो, त्यहाँ जानैपथ्र्यो । ठुल्ठूला मान्छेहरू मरे भने मलामी जानैपथ्र्यो । मलामी को–को आए, को–को आएनन् भनेर पछि हेर्ने भएकाले जानुपर्छ भन्थे, उनी । भूपि विभिन्न जोक पनि भन्थे । उनले वेलावेलामा भन्ने गरेको वनारसी जोक निकै रमाइलो हुन्थ्यो । लेख्नै नमिल्ने, भन्नै नमिल्ने खालका रमाइला जोक पनि भन्थे, उनी ।
पोखराका लाहुरेहरूले भूपिलाई मन पराउँदैनन् भन्ने पनि सुनेको थिएँ । किनकि भूपिले पोखरामा गएर गोर्खालीहरूलाई ‘गोरुखाली’ भनेका रहेछन् । गोरा हाकिमले गोली हान भन्दा हान्ने, जे गर भन्यो त्यही गर्ने भन्दै उनले व्यंग्य गरेका थिए । भूपि निर्भीक मान्छे थिए । भन्न कसैलाई पनि बाँकी राख्दैनथे । भूपिले अस्पतालको शय्याबाट पनि कविता वाचन गरे । हामीले टेलिभिजनमा हे-यौँ । अहिले युट्युबमा देख्छौँ ।
०००
साहित्यबाट वैचारिक परिवर्तन नै ल्याउन सक्ने मान्छेमध्येका एक हुन् भूपि । आधारभूत तहमा नै परिवर्तन ल्याउन सक्ने मान्छे हुन् उनी । भन्दा दुई शब्दमा ‘सलामी र मलामी’, ‘ताली र गाली’ भन्ने तर त्यसभित्र ठूलो अर्थ लुकेको हुने । त्यो अर्थ खोज्न अनुसन्धान गर्न नपर्ने, मानिसले बुझिहाल्ने । भूपिले आफ्नो समयकालमा साहित्यमा जुन योगदान गरे, त्यो साहित्यमा नयाँ गोरेटो बन्यो । कविता भनेको संस्कृतमै लेख्नुपर्ने, छन्दमै लेख्नुपर्ने जमाना थियो । त्यस्तो वेलामा गद्य कविताको जग बसाल्ने काम भूपिले गरे । युगान्तकारी परिवर्तन गर्ने स्रष्टामध्ये एक हुन् उनी । भूपिले आफ्नो समयमा जे गरे गरे, अब समाजमा हामीले अर्को भूपि पनि जन्माउँनै पर्छ । गोर्खालीलाई नेपाली बनाउनैपर्छ । ताली र गालीको संस्कार हटाउनैपर्छ, र नमस्कार ठाडो शिरले गर्नुपर्छ ।