खासमा भूपि शेरचन एउटा आन्दोलन हुन्, प्रश्न हुन् र नेपाली समाजको प्रतिबिम्ब हुन् । भूपिको अपरिमित कवितामा वर्णित नेपाली समाजको खग्रास अस्ताइसकेकोे छैन ।
हामी दशकौँ पछि पनि अग्रगामी हुन सकेका छैनौँ । अझै पनि त्यस्ता साँघुरा चोक छन् जहाँ दिउँसो रुपियाँले टोक्छ राति उपियाँले टोक्छ ।
हराएका छोरा माग्ने आमा, जीर्ण तन वृद्धहरू, क्षयका किटाणु बोकेका असंख्य टुहुरा केटाकेटी, दुनियाँको कामुक आँखाले पोलेका युवतीको ताँती घटेको छैन, झन् बढिरहेको छ । हामी त झन्–झन् पानीका फोका भएका छौँ, क्यारमबोर्डका गोटी भएका छौँ ।
हामी एक–आपसमा मिल्न सकेका छैनौँ, कसैले हामीलाई फुटाइरहेको छ । हाम्रो जीवन काखीको पसिनाझैँ गनाइरहेछ, खै कहाँ छ र अत्तर ? अहो, हामी त भूपिजस्तै छौँ, हामी त भूपि छौँ ।
भूपिपछि दशकौँ समय बगेर गइसक्यो, गंगासागरमा । भूपिले पछ्याउन छोडेका छैनन् हामीलाई । कोही आफूलाई भूपि प्रमाणित गर्न कम्मर कसेका छन्, कोही भूपिलाई अन्डररेटेड गर्न ।
हाम्रो वरिपरि भूपि घुमिरहनु भूपिको ओज हो, उनका कविताको अगणीत गुरुत्व हो । भूपिले नयाँ बिम्बको आविष्कारद्वारा नेपाली समाजको रूप र रङ झलमल्ल नंग्याइदिएका छन् ।
जब म
यी भोकमा डुबेका चोकहरूमा
यी ओइलाएका कलिजस्ता गल्लीहरूमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास
चाहे हल्लै–हल्लाको देश होस् या त मैनबत्तीको शिखा, या त होस् तीतरा, बट्टाइ र भक्कुको राँगाका सन्तानप्रति । भूपिले नेपाली समाजको गहिराइमा पुगेर उत्खनन गरेका छन् । यथार्थको प्रकटीकरण यसरी गर्छन् ती अरूभन्दा सम्यक् लाग्छन्, छलकपटविहीन, स्पष्ट ऐनाजस्तै । भूपिका कविता पढ्दा आफैँलाई पढिरहेझैँ लाग्छ, आफ्नै प्रतिरूप प्रक्षेपण गरिरहेझैँ लाग्छ । दुरुहपूर्ण नेपाली कविताको तारेभिरमा भूपि सुनगाभाजस्तो महकिलोे फुल्छन् । भूपिलाई भक्ति र धूपबत्तीको आवश्यकता छैन । खास कुरा त भूपिको शक्ति हो, उनले देखाएको बाटो हो ।
भूपिको चर्चा हुँदै गर्दा उनको जिन्दावाद गीत विवादले दाँतमा ढुंगा लाग्छ । उनको अन्तर्वार्ता र तीन ‘क’का कुरा आँखा पिरो पार्दै धुवाँसरि उड्छन् । भूपिले किन त्यसो गरे, कुन मोहजालमा फसे यसै भन्न सकिन्न । कुनै कुत्सित परिवर्तनकामीको चर्तिकला देखेपछि उनको मन कुँडिएछ कि ? कसले उनलाई त्यो गर्तमा धकेल्यो ? खोजी भएकै छैन । मन कुँडिए पनि भूपि एक्लै लड्न सक्ने थिए, त्यस्तो बलिष्ठ धरोहर थिए । उनले एउटा विकृति तर्न अर्को झनै भयंकर विकृतिमा हामफाले जुन सर्वथा विषादपूर्ण थियो । तर पनि, भूपि भूपि नै हुन् । भूपिको मार्ग अविरल बगिरहेको छ, कयौँ दशक बगिरहन्छ, जनमानसको ढुकढुकी भएर ।
तर, एउटा प्रश्नको सुइरोले घोचिरहन्छ– किन भूपिलाई विषवृक्ष बनाइएको छ ? वा भूपिका अगाडि किन हराउँछ छोरीलाई मानचित्र पढाउने कविता ? किन मधुरो बल्छ आगोनेर उभिएको मानिस ? भूपिको स्मरण गर्दै गर्दा अरूको सम्झना पनि विस्फारित हुनुपर्छ । कतै भूपि राजनीतिको सिकार त भइरहेका छैनन् ? कतै भूपिको सञ्चरण होइन, प्रयोजनहीन पो हुँदै छ कि ?
०००
समाजको नियम छ– यो दिनदिनै बगिरहेको हुन्छ, खोलाजस्तै । नपछाडि फर्किन्छ, न त जमेर बस्छ पोखरीजस्तो । इतिहासको परकम्पन बाँकी हुन्छ, तर वर्तमान झाँगिँदै गइसकेको हुन्छ लहराजस्तै । भूपिको चोकमा अहिले ठुल्ठूला सपिङ महल ठडिएका छन् । मानिस आलु किन्न पनि सपिङ मल गइरहेका छन् । भूपि डुल्ने गल्ली रातभर घुइँचो हुन्छ गाडी र मानिसको ताँतीले । गाउँ र सहरको भेद मेटिँदै गएको छ । दलालको जगजगीले जीवनको मोलमोलाइ बढ्दो छ । शोषणका नयाँ–नयाँ यन्त्र बनेका छन् र मानिस स्वयं बिक्रीमा छन् ।
लाहुर जानेको ताँती पोखराबाट फैलिएर नेपालभर ढाकिएको छ । नेपाली दिलदिमागमा लाहुरको भूतसवार छ । लाहुर नजाने घर पाउनु शिला खोजे बराबर छ । गाउँमा बाँकी बचेका बूढापाका र केटाकेटीको आँखामा बाँझो खेतबारी धरधरी रुन्छ । रेमिट्यान्सको सुको नझरे भोकै बस्न पर्ने दिन आएको छ । यसैबीच देशले असम्भार युद्ध झेल्यो । परिवर्तनका बन्दुक पड्किए । घाम ताप्नका लागि डाँडाकाँडा र खोँच एकाएक सल्बलाए । बोल्न नसक्नेले ठुल्ठूला आवाज निकाले । महिलाको परेडले सत्ताको शरीर थरथरी काँप्यो । राजाको तन्त्र गल्र्याम्म ढल्यो । भूपि भएका भए यतिखेर वीरेन्द्र जिन्दावादलाई जनता जिन्दावाद लेख्ने थिए कि ?
शीतयुद्धको बाँदरनाच पनि फेरिइसकेको छ । सोभियत विरासतले धुलो चाटिसक्योे, अमेरिकी अहम् स्खलनको सँघारमा छ । चीन फर्काउँदै छ आफ्नो सुनौलो इतिहास । साथै, भूमण्डलीकरणको तुवाँलो उडिरहेछ बेसम्हार । पुँजीवादको नांगो नाच देखेर सर्माउन छाडिसके मानिसहरू । अहिले त ड्रोनका आँखा घुम्छन् आकाशमा र निगरानी गरी राख्छन् मानिसको हाँसो र खुसीलाई । थाहा हुँदैन कुन वेलाको, कसको निशानामा पर्ने हो । वेला फेरिएपछि भूपिका कविता फेरिने नै भए । तर, पनि नयाँ–नयाँ हनोईमाथि बम बर्सिन छाडेको छैन, मानवतामाथि डढेलो लाग्न छाडेको छैन ।
सामाजिक मुद्दामा कविता चलाउनु घाम र जुन, फूल र पुतली, झरना र हिमालमा कविता चलाउनुजस्तो सहज हुँदैन । सामाजिक मुद्दा अब्स्ट्र्याक चिन्तन प्याज पनि होइन, क्यान्भासको हिमालमा घामको पहेँलो रङ पोतेर कला भर्नुजस्तो सुगम छैन । तर, भूपिले त्यसलाई सहज बनाइदिए, अक्करे भिरमा बाटो देखाइदिए । हामी अहिले बदलिएको समय लेख्दै भूपिलाई पछ्याइरहेछौँ । भूपिको मार्गलाई झन्–झन् फराकिलो बनाइरहेछौँ ।
०००
भूपिमार्ग आज राजमार्ग बनिसक्यो । राजमार्गबाट राजा झिक्दा जनमार्ग बनिसक्यो । यही फराकिलो जनमार्गमा विमल निभा, श्यामल, मीनबहादुर विष्ट, कुन्ता शर्मा र गोविन्द वर्तमानसँगै आजका नवीन पुस्ताका स्वप्निल स्मृति, विनोदविक्रम केसी, सरिता तिवारी, अभय श्रेष्ठ, निमेष निखिल, भूपिन, चन्द्रवीर, सीमा आभासदेखि केवल विनावी, प्रकाश गुरागाइँ र मुक्तान थेवालगायत हुँइकिरहेका छन् । कृष्ण सेन ‘इच्छुक’, पूर्णविराम र निभा शाहले भूपिमार्गलाई झन् नयाँ र तिक्खर स्वर दिएका छन् । भूपाल राई, राजन मुकारुङलगायतले भूपिको प्लेकार्डमा पहिचानको रङ पोतिरहेका छन्, मधेसको स्वर पनि त्यत्तिकै गुञ्जिएको छ । नेपाली कवितामा दलितले आफरमा ठोकेको घनको आवाज मिसिएको छ, चेपाङ र चमारको रगत–पसिना मिसिएको छ, तिमीले मलाई आविष्कार गरेका होइनौ भन्दै महिलाको हुँकार पोखिएको छ । भूपि झन् ठूला भूपि भएका छन् । उनी अगाडि छन् र हरिया पात हल्लाउँदै उनका पछाडि कयौँ कविको लस्कर छ । नयाँ, झन् नयाँ ।
एकथरी जो छन् जनताको कविताले साहित्य बिगा-यो भन्दै अखबारको पानाभरि कुर्लन्छन् । अर्काथरी संघर्षको इतिहासमा कालो पोत्न तल्लीन छन् । र विडम्बना, उनीहरू नै ठूला छन्, उनीहरू नै बिकाऊ छन् । रसरङको तुवाँलोले ढाकिएको छ नेपाली साहित्य आकाश । विचारको मृत्यु हुँदै छ, तर मरिसकेको छैन । विचार बोक्नेहरू मरिसकेका छैनन्, मानवताको स्वर घन्कन छोडेको छैन । अझै पनि भूपिको खाँचो छ, तर अलि तिक्खर र अडिग भूपिको । जसले पछि गएर जिन्दावाद गाउन नपरोस् ।
एउटा आन्दोलनको जरुरत छ, भूपि आन्दोलन । जस्तो कृष्ण सेनले चलाए । तर, गोलचक्करमा फसेको छ आन्दोलन । आन्दोलन तँ–तँ र म–ममा विभाजित छ । कसले मिलाइदिन्छ आन्दोलनलाई ? नायक खोज्दै भौँतारिनु आन्दोलनकै अपमान हुन्छ । अहम् टकराइरहेछन् जोड जोडले । आन्दोलन आफैँ दुःखी छ ।
आन्दोलन निश्चय नै गफको पुलिन्दा होइन । संघर्ष हिजो अर्कै थियो, आज अर्कै छ । सकिएको छैन । आन्दोलन बाहिर छ, आन्दोलन भित्र छ, आन्दोलन भुसको आगो छ । कविता बोकेर आन्दोलनमा नहोमिने हो भने भूपिको निष्ठालाई सही बाटोमा हिँडाउने अवसर गुम्छ । कृष्ण सेनको मान होइन अपमान हुन्छ, उनको नामको बिक्री हुन्छ, पाखण्डको प्रदर्शनी हुन्छ । कुरुति र कुव्यवस्था नढलेसम्म मानिसको स्वतन्त्रतामा पुलिसको डन्डा बर्सिरहन्छ । हात्तीको छालामा स्यालको रजाइँ चलिरहन्छ ।