• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हरि रोका
२०७६ पौष ५ शनिबार ०८:२९:००
समाज

काठमाडौंमा मार्क्स !

कामरेडहरूलाई सकस त भएन ?

२०७६ पौष ५ शनिबार ०८:२९:००
हरि रोका

यही वर्षको २९ जुन, रातको १२.५२ बजे इमेल आएको संकेत ग-यो मेरो मोबाइलले । खोलेँ, कोमलजीले एउटा फाइल पठाउनुभएको रहेछ । चिठीमा चाहिँ दुई लाइन लेखिएको थियो, ‘सरर पढ्नुहोस् न, पहेँलोले लिपेकोमा थप गर्नुहोस् ।’ मध्यरातमा चिठी हातलाग्दा म अनवर शेखको ‘क्यापिटालिजम–कम्पिटिसन, कनल्फिक्ट एन्ड क्राइसिस’ पढ्दै थिएँ । जो भर्खरै हातलागी भएको थियो । किताब बन्द गरेर कोमलजीको फाइल खोलेँ । शब्द गनेँ ८८०० शब्द । सगरमाथाको उचाइभन्दा ४८ अंक कम रहेछ । एक्लै हाँसेँ । भोलिपल्ट अह्राएजसरी नै सरर पढेँ अनि ‘मागिएको’ सल्लाह लेखिपठाएँ । 

सन् २००३ मा मेरा साथी कम गुरु थोमस म्याथ्युले हर्वट स्टेनको ‘दी फिस्कल रेभ्युल्युसन इन अमेरिका’ पढ्न दिँदै भनेका थिए, ‘अर्थशास्त्रका विद्यार्थीले यो पढ्नैपर्ने किताब हो । तर, यसपछि हावर्ड जिनको ‘अ पिपुल्स हिस्ट्री अफ दी युनाइटेड स्टेट्स’ पढ्न नभुल्नुहोला ।’ जेएनयु एग्जिम लाइब्रेरीमा किताब भेटियो । सन् १४६० देखि २००१ अर्थात् क्लिन्टनकालसम्म समेटिएको त्यो आमअमेरिकी जनताको साँचो इतिहास थियो । त्यो किताबको पहिलो संस्करण सन् १९८० मै छापिएको रहेछ । तर, मैले नयाँ संस्करण नै पढ्न पाएँ ।

थोमसको सल्लाहमा म हवार्ड जिनसँग परिचित हुन पुगेँ । उनी जनताका इतिहासकार, राजनीतिशास्त्री, सामाजिक चिन्तक र नाटककार थिए । उनका २० भन्दा बढी किताब प्रकाशित छन् । तर, त्यसपछि मैले उनका अरू पुस्तक पढ्ने मौका र फुर्सद दुवै पाइनँ । कोमलजीको यो चिठी र त्यससँग आबद्ध ‘माक्र्स सोहो फर्किए’ पढेपछि मेरो मन प्रफुल्ल भयो । 

कोमलजी सार्वजिनक स्वास्थ्य क्षेत्रको विद्वान् व्यक्तित्व हो । राजनीतिक एक्टिभिस्ट र नेता हो, तर यो ‘नाटक’? बहुप्रतिभाका धनी कोमलजीलाई मैले केही सोध्ने हिम्मत गरिनँ । म हवार्ड जिनतिर फर्कन चाहन्थेँ । ओरिजिनल किताब माग्न पनि गाह्रो लाग्यो । धेरैवटा किताब पसल चहारेपछि एउटा पुरानो पुस्तक पसलमा कसैले पढेपछि बेचेको हवार्ड जिनको एक होइन, तीनवटा नाटकको संग्रह, बेकन प्रेस बोस्टनले सन् २०१० मा छापेको ‘थ्री प्लेज, दी पोलिटिक थ्यौरी अफ हवार्ड जिन’ फेला प-यो । 

कोमलजीले भन्नुभो ‘नाटकको टुंगो लाग्यो’ । मभित्र कुतूहलता थियो, यो एकल नाटक कसरी मञ्चन गरिन्छ होला भन्ने ? सुनील पोखरेल, निशा पोखरेल र प्रवीण खतिवडालगायत साथीको क्षमता, अनुभव र प्रस्तुतिमा कुनै शंका थिएन । तर, पुरानो गुरुकुलजस्तो व्यवस्थापन र रिहर्सल सुविधा अभाव हुँदा प्रस्तुति अलि फितलो हुने हो कि ? शंका थियो । तर, जब नाटक मञ्चन सुरु भयो मनमा उठेका हरेक प्रश्नहरू हल हुँदै गए ।

नाटकको जन्म
हवार्ड जिन राजनीतिशास्त्री, इतिहासकार, चिन्तक नभएका भए सायद यो नाटक लेख्दैनथ्यो होला । ‘थ्री प्लेज, दी पोलिटिक थ्यौरी अफ हवार्ड जिन’मा तीनवटा उम्दा नाटक छन् । पहिलो, ‘एम्मा’, दोस्रो ‘मार्क्स इन सोहो’ र तेस्रो ‘डटर अफ भेनिस’ । यो ‘माक्र्स इन सोहो’ नाटक उनले सोभियत संघमा सञ्चालित ‘अफिसियल माक्र्सिजम’को मृत्यूपछि लेखेका हुन् ।

जुनवेला पुँजीवादी साम्राज्यवादीहरू सोभियत संघको मृत्यु भयो, ठूलो शत्रुको नाश भो भनेर भोज–भतेरमा रमाइरहेका थिए । त्यति मात्र होइन, माक्र्सवादी विचारधारा वा चिन्तनकै अन्त्य भो भनेर नाचगान गरिरहेका थिए । पुँजीवादले, स्वतन्त्र बजारले जित्यो र वित्तीय पुँजीवादी भूमण्डलीकरण स्वच्छन्द विचरणले विश्व अर्थराजनीतिको विकासका चारचाँद लगाउँछ भनेर बाजा (म्युजिक)बजाइरहेका थिए र यता कथित मौकापरस्त कमरेडहरू रातो पगरी फालेर रातारात धर्म परिवर्तन गरिरहेका थिए । माक्र्स र माक्र्सवादबारे गहिरो ज्ञान र चिन्तन राख्ने हवार्डलाई पुँजीवादी साम्राज्यवादीहरूको नांगो नाच र मौकापरस्त कमरेडहरूको पलायनले असाध्य पीडा महसुस हुनु नौलो थिएन । 

कसरी प्रतिवाद गर्ने ? लामो माथापच्चीपछि उनले स्वयं माक्र्सलाई नै उभ्याउने विचार गरे । नाटकको भूमिकामा उनी लेख्छन्, ‘ती देशहरू जसले आफूलाई ‘मार्क्सवादी’ भन्थे तर मार्क्स प्रतिपादित विचार, कार्यक्रमको प्रतिनिधित्वको नाममा सुरक्षाकर्मी राज्य (पुलिस स्टेट) चलाइरहेका थिए । स्टालिनको क्रूरताको अभ्यासलाई समाजवादको आवरणमा स्वाङ रच्नेविरुद्ध माक्र्स आफैँ कति रिसाएका थिए भन्ने देखाउन श्रेयस्कर ठाने । आज पनि छद्यभेषी–समाजवादीहरू (स्युडो–सोसलिस्ट)ले संसारका विभिन्न भागमा समाजवादका नाममा दमनपूर्वक शासन–सत्ताको अभ्यास गरिहेका छन् ।

तिनलाई मार्क्सकै मुखबाट ‘तिमीले चलाएको शासन समाजवाद संगत छैन’ भनाउन चाहन्थेँ । पश्चिमा कथित, राजनीतिक पण्डित, लेखक, कलाकार, बुद्धिजीवीहरूलाई माक्र्सकै मुखबाट, ‘समाजवादी क्रान्ति प्राकृतिक रूपमै आवश्यक छ, तिमी जतिसुकै ‘हामीले जित्यौँ’ भनेर उफ्रे पनि पुँजीवादले निम्त्याउने राष्ट्रिय र विश्व संकट नै हो, संकटको चपेटामा परेका र सबैभन्दा बढी मार खेपिरहेका श्रमजीवी जनता संगठित भएर पुँजीवादको चिहान खन्नेछन्’ भनाउन चाहन्थे । उनी सच्चा माक्र्सवादी नभएको भए यो हिम्मत गर्नै सक्दैनथे ।

गरिब परिवारमा जन्मिएका हवार्ड जिनको नसा–नसामा कम्युनिस्ट साहित्य घोलिएको थियो । घोषणापत्रको पहिलो पृष्ठमै लेखिएको ‘अहिलेसम्म अस्तित्वमा रहेको समाजको इतिहास वर्गसंघर्षको इतिहास हो,’ भन्ने वाक्यांशले सधैँ झकझक्याई रहन्थ्यो । उनी महसुस गर्छन्, गरिब र धनी एक–अर्काबीच एक्लाएक्लै भिड्दैनन्, एक्लो गरिबले आँटै गर्दैन । गरे पनि दुस्साहस ठानिन्छ । तर, वर्गहरू भिड्छन् । यो भिडन्त डरलाग्दो हुन्छ । वर्ग विभेदले उत्पन्न गर्ने आमशोषण र उत्पीडन, गरिबी, हेपाइ, लखेटाइले एउटा समुच्च वर्ग वा समुदाय नै लखेटिएको महसुस भएपछि श्रमजीवी वर्ग एकजुट हुनपर्ने बाध्यता आइपर्छ । लडाइँको मिसन बन्छ, न्याय र सम्मान खोज्न उनीहरू संगठित हुन बाध्य हुन्छन् भन्ने कुराको छाप मात्र होइन विश्वास पनि जिनमा भरिएको देखिन्छ ।

यो नाटकका डाइलगहरू पढिरहँदा र हेरिरहँदा उनी निसाना लगाउन कहीँ चुक्दैनन् । राज्यको भूमिकाबारे सनातनी शासकहरू भन्ने गर्छन् ‘सबैका लागि समान न्याय’ तर, उनीहरू सधैँ धनाढ्य वर्गको पक्षमा लागिपर्छन् र घोषणापत्र सम्झन्छन, ‘आधुनिक राज्यको व्यवस्थापन गर्न प्रतिनिधित्व गरिरहेका शासकहरू बुर्जुवाहरूकै सेवामा तल्लीन हुन पुग्छन्, उनीहरूको शासनसत्ता पुरस्कार दिने मामिलामा होस् या दण्डित गर्न पुँजीवादी वर्गकै पक्षमा उभिन्छन् ।’ वास्तवमा यस्तै शासन सत्तालाई जरैदेखि उखेलेर फ्याँक्नैका लागि माक्र्स र एंगेल्सले सर्वहाराको अधिनायकत्वको स्थापना हुनपर्ने मान्यता बनाएका हुन् ।

आलोचनात्मक चेत
नाटकमा ‘कम्युनिस्ट घोषणापत्र’, ‘एन्टी ड्युहरिङ मत खण्डन’, ‘अ कन्ट्रिब्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनोमी’, ‘क्यापिटल’ र पेरिस कम्यूनवारे चर्चा गरिएको छ । इतिहासकार हवार्ड अर्थशास्त्री भएर नाटकमा देखा पर्छन् । उनी माक्र्सले लेखेको बुझ्न गाह्रो पर्ने वाक्यहरू कृतिहरूको सार जेनीको मुखबाट सरल तरिकाबाट भन्न लगाउँछन्, ‘सबै मूल्य आर्जनको स्रोत श्रमिक हो । श्रमिकको श्रमबाटै मूल्य उत्पादन हुन्छ, तर ज्यालाका रूपमा उसले नगन्य ज्याला हात पार्छ ।

उत्पादित तर मजदुरको हातमा नपर्ने मूल्य नै बचत मूल्य (सरप्लस भ्यालु) हो । त्यो अत्यधिक बचतमूल्य नै पुँजीपतिहरूको हातमा जान्छ ।’ माक्र्सका मुखबाट उनी भन्न लगाउँछन्, ‘कमभन्दा कम ज्यालामा काम लगाउन पुँजीपतिहरूलाई ‘बेरोजगारहरूको फौज’ आवश्यक पर्छ । सनातनी सरकारहरू पुँजीपतिहरूको सेवामा सर्वसाधारण जनताको मतभन्दा पैसालाई महत्व दिन्छन् ।’ यसैलाई भनिन्छ, ‘कमोडिटी फेटिसिजम’ अर्थात् सबैलाई बजारु वस्तु बनाउने अभियान । त्यसैले पुँजीवादी जीवनपद्धतिमा हरेक वस्तुको मापन विनिमय मूल्यका आधारमा तय गरिन्छ ।

हिजो–आज केही दर्शनशास्त्री, राजनीतिक–अर्थशास्त्री र केही समाजवादी अभियन्ता नै बताउने, तर पुँजीवाद र बजारकै सेवामा समर्पित राजनीतिज्ञहरू मार्क्सवाद पुरानो भो भन्न हिच्किचाउँदैनन् । यी सबै प्रवृत्तिलाई हेरेर मार्क्सकै मुखबाट प्रविधि र विज्ञानको विकासमार्फत भइरहेको होचोअर्घेलो, आधुनिक पुँजीवादी शोषण, वित्तीय पुँजीवादको विश्वरूप र शोषण दमनबारे चर्चा गर्न लगाउँछन् । जस्तो, ‘आधुनिक समाज’ डेढ सय वर्षभन्दा अतिरिक्त मूल्यको आर्जन कुन मानेमा भिन्न छ र ? स्वरूप र कला फेरिए तर शोषण, अपहेलना, उत्तेजना, बर्बरता र समग्र उत्पादनका साधनबाट आममानिसलाई वञ्चित गराउने अन्यायपूर्ण प्रवृत्तिमा के फरक आएको छ ?’

मार्क्सका तर्कहरू अकाट्य छन् । उनको समाज विश्लेषणका आधारहरू सत्य तथ्य तथा जीवन भोगाइका अनगिनत शताब्दीहरू र समाजविकासका प्रवृत्तिहरू तथ्यगत भोगाइमा आधारित छन् । यसो भनिरहँदा उनका सबै भनाइ, उनका सबै सोच वा निष्कर्ष, भविष्यवाणीमध्ये केही मिलेनन् । यो सत्य हो । तर, आफूलाई माक्र्सवादी भन्नेहरूले ढाकछोप गर्न चाहे । मार्क्स कम्जोरीरहित थिएनन् । उनी समस्या नभएका, दुःख र सुखको अनुभूती नगर्ने, प्रेम, सद्भाव र सेक्सप्रति रुचि नभएका, जाँडरक्सी नखाने, मनोरञ्जनबारे जानकारी नभएको अर्को शब्दमा पाप गर्न लाज मान्ने देवता थिएनन् । जसरी कथित माक्र्सवादीहरू उनलाई देखाउन चाहन्थे । हवार्डलाई लाग्यो यी कथित मार्क्सवादीहरूले यस्तो अतिशयोक्तिपूर्ण भक्तिभाव किन देखाउँछन् भने माक्र्सको आडमा गुप्तरूपमा आफ्नो अज्ञानता, कमजोरी र अपराध लुकाउन सकियोस् ।

हवार्डले यो नाटकमा आममानिसका रूपमा मार्क्सलाई प्रस्तुत गरेका छन् । लन्डनको सोहोको त्यो डेरामा बस्दाबस्दै उनका तीन छोरा–छोरी कुपोषण, उपचारविहीनता र आमरूपमा गरिबीका कारण मरे । लुगाफाटा, गरगहना अझ भनौँ किताबै धरौटी राखेर उनीहरूले गुजारा चलाए, कति दिन भोकै बसे । हवार्ड माक्र्सलाई दार्शनिक चिन्तक, सिद्धान्तकार, क्रान्तिकारी र असाधारण एक्टिभिस्टका रूपमा चिन्थे । माक्र्सको जीवन जर्मनीमा पत्रकारिताबाट सुरु भएको थियो, पेरिस बसाइमा उनी वक्र्समेन एसोसिएसनमा आबद्ध भए । ब्रसेल्समा कम्युनिस्ट लिगमा एक्टिभ रहे । र, युरोपेली जागरणका वर्षहरूमा उनी राइनलैन्डमै एक्टिभ थिए, जहाँ उनी एकपटक पक्राउ पनि परे र आफैँ बहस गरेर जेलमुक्त भएका थिए ।

लन्डन बसाइमा उनी वर्किङ मेन एसोसिएसनमा आबद्ध थिए, आएरिस मुक्ति संग्राम तथा पेरिस कम्युनका लागि सहयोग जुटाउन जिउज्यान लगाएर खटिरहेका थिए । मार्क्सका यी क्रान्तिकारी काम, उनका संसार प्रसिद्ध बौद्धिक सैद्धान्तिक वैचारिक कामका अतिरिक्त पनि उनी मान्छे थिए । कमजोरीसहितका माक्र्स । कार्लमाक्र्स त्यो समयको डाक्टर माक्र्स थिए, तर उनी आफ्नो ध्येयप्रति जिद्दी थिए । परिवारप्रति हेलचेक्र्याँइ गर्ने पति र बाबुका रूपमा उनी कमजोर थिए ।

उनका बाँचेका तीन छोरीमध्ये कान्छी छोरी एलेनोर मार्क्स सबैभन्दा प्रस्ट वक्ता, बाबुको आलोचना गर्न सक्ने क्षमताशील थिइन् । इभान क्याप्स लिखित इलेनोर माक्र्सको मोनुमेन्टल बायोग्राफी पढेका जिनले यस्तो नबुझ्ने प्रश्नै थिएन । सैद्धान्तिक वैचारिक विषयमा जमेर आलोचना गर्न–गराउनकै लागि उनले बाकुनिन, एलेनोर र जेनीलाई अघि सारे । बाकुनिन मार्क्सका आलोचक थिए, अराजकतावादी थिए । तैपनि क्रान्तिकारी थिए । बाकुनिन मार्क्सको सोहो स्थित डेरा गएको रेकर्ड कुनै पनि साहित्यमा देखिन्न । हवार्ड जिनले यी सबै सैद्धान्तिक, वैचारिक, व्यावहारिक मानिसका रूपमा बीसौँ शताब्दीको अन्तिम उत्तराद्र्धमा पुँजीवादलाई ललकार्न माक्र्सलाई सोहोमा फर्काए तर, लन्डनमा होइन, न्युयोर्कको सोहोमा ।

०००

प्रवीण खतिवडा र सुनील पोखरेलले न्युयोर्कको सोहोबाट हवार्ड जिनसँगै माक्र्सलाई हामीसँग साक्षात्कार गराउन काठमाडौं ल्याए । माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने ध्येयले होला मार्क्सलाई काठमाडौं फर्काउने रणनीतिमा मित्रद्वय कोमल भट्टराई र दामोदर उपाध्याय ढुंगेल हात धोएर लागिपरेका थिए भन्ने थाहा भो । दुवैलाई साधुवाद ।

उनीहरू आबद्ध रहेको नेकपा (नेकपा) दुईतिहाइ गुँडुल्की मारेर दुई वर्षदेखि सत्तामा आसिन छ । कमरेडहरू जो सत्तामा छन् उनीहरू नवउदारवादी पुँजीवादलाई समाजवादी साबुन लगाएर चम्काउन व्यस्त छन् । र, यही हो समाजवाद भनेर आफ्ना मतदातालाई भुल्याउँदै छन् । अतिरिक्त मूल्य कमाउन स्वदेशी पुँजीपतिहरूलाई मात्र आग्रह गरिरहेका छैनन्, ‘ए साँँढे हाम्लाई मार’ शैलीमा बहुराष्ट्रिय कम्पनीहरूलाई मुलुकमा लगानी भित्र्रयाउन, कमाउन र कुम्ल्याएर बाहिरिन सहज कानुन निर्माण गर्दै छन् । एकतिहाइ जनसंख्या जीविकोपार्जन खोज्न बिदेसिन बाध्य छन् ।

रेमिट्यान्सको आयबाट उठ्ने करबाटै ढुकुटीमा जम्मा भएको धन सत्तारुढ कामरेडहरू आफन्तमाझ समाजवादको कोसेली बाँडिरहेका छन् । तिनै कामरेडहरूमध्ये केही ‘मार्क्स’ हेर्न एकेडेमी निम्त्याइएका थिए । तिनका अनुहार हेर्दा नाटकले घरी–घरी तिनलाई प्रश्न सोधेझैँ लागिरहेको थियो । ‘हवार्ड जिनले लेखेका हरेक पंक्तिका डाइलगले घोच्यो घोचेन ? एलेनोर र जेनीको मार्क्समाथिका टिप्पणी रुचिकर लागे, लागेनन् ? वा आफ्नै नतृत्वले मार्क्सवादको छाला काढ्ने गरी सिद्धान्त र विचार बंग्याइरहँदा आलोचनात्मक टिप्पणी गर्न बाकुनिनका डायलगले हौसला प्रदान गरे गरेनन् ?’ सर्वसाधारण कामरेडहरू जो मार्क्सवादको सिर्जनात्मक विकास र तिनलाई व्यवहारमा उतार्न चाहन्छन् तिनलाई यो नाटकले उत्साही र ऊर्जा प्रदान ग-यो होला । यो मेरो अनुमान हो । यद्यपि शासकहरूलाई यही ऊर्जा र उत्साहका कुराले सकस हुने गर्छ ।

मेरो विचारमा सुनीलको उत्कृष्ट भावभंगीमा र प्रस्तुतिबारे वर्णन गर्न मसँग शब्द छैनन् । उनी नेपालका सर्वोत्कृष्ट कलाकार हुन् । प्रवीण र निशा बौद्धिक र सामथ्र्यवान् देखिएका छन् । सबै कलाकारहरूले हवार्ड जिनको आकांक्षालाई सही मानेमा न्याय दिलाएका छन् । सबैको भलो होस् ।