• वि.सं २०७६ माघ ४ शनिबार
  • Saturday, 18 January, 2020

बमको छर्रा बोकी बहराइनतिर

बहराइनबाट

२०७६ पौष ५ शनिबार ०८:४३:००

एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल घुमेझैँ फनफनी घुमिरहन्छन् । गणतन्त्र प्राप्तिका निम्ति लडेका योद्धाहरू शरीरभरि गोलीका डोब र छर्रा बोकेर जीविकोपार्जनका लागि बिदेसिन बाध्य छन् । म पनि तिनै युवामध्ये एक हुँ । गौरीशंकरको फेदीबाट आज म यो बिरानो ठाउँमा पसिना बगाइरहेको छु । 

दार्शनिक अरस्तुले भनेका छन्, ‘आशा भनेको हिँडिरहने सपना हो । हामी जो–कोही पनि जिन्दगीमा आशावादी भएर काम गर्नुपर्छ । आशाको दियो कदापि निभ्न दिनुहुँदैन ।’ म कुनैवेला त्यही आशा पूरा गर्न कठिन बाटोमा हिँडेको थिएँ । शान्ति–सम्झौतापछि पाँच वर्ष अस्थायी शिविरमा बसेँ । त्यसपछि स्वेच्छिक अवकाश लिएर गाउँ फर्किएँ ।

कालिन्चोकनजिकै दोलखाको लापिलाङ गाउँमा फर्किँदा समय र परिवेश फरक थियो । घरमा ताला लगाएर सिंगै परिवार युद्धमा हिँडेका थियौँ । त्यही पुरानो घरमा फर्कियौँ । गाउँटोल छिमेकीले फरक दृष्टिकोणले हेर्न थाले । देशमा तन्त्र बदलियो, संविधान बदलियो, तर हाम्रो जिन्दगी बदलिएन । हामी त्यहीँ पुग्यौँ, जहाँबाट हाम्रो परिवारले यात्रा सुरु गरेको थियो । 

घरमै बसिरहेँ । खेतीपातीमा लागियो । अर्काको अधियाँ खेतसमेत कमाएर जीवन धान्ने कोसिस गरियो । तरकारी खेती पनि गरियो । तर, जिन्दगी फरक भएन । जस्तो १० वर्षअघि थियो, त्यस्तै बित्न थाले दिनहरू । म युद्ध लड्ने सिपाही होइन, केवल हली भएँ, गोठालो भएँ । युद्धमा छाडिएको पराजित सिपाहीझैँ भएँ । एउटा झुपडी थियो, उहिल्यै बुबाले बनाएको । त्यो पनि भूकम्पले लिएर गयो । त्यसपछि ओत लाग्ने ठाउँसमेत भएन । 

त्यसपछि काठमाडौं पसेँ । कहिले जापनिज भाषा, कहिले कोरियन भाषा पढ्न थालेँ । तर, केही उपाय लागेन । जता गयो, उतै ठक्कर खाएँ । जुन समाजका लागि मैले ज्यान हत्केलामा राखेर लडेँ, त्यही व्यवस्थामा रमाउनेहरूले मलाई हेपे । युद्धको एकजना कमान्डर थिएँ म, तर नेताको दैलोमा हेपिएँ । अति सीमान्तकृत जातिको म, नयाँ व्यवस्थाबाट पनि त्यही किनारामा छाडिएँ । त्यसपछि भौतारिँदै पुगेँ, राहदानी विभाग । बनाएँ, एक थान हरियो राहदानी ।

अनि शरीरभरि गोलीको दाग बोकेर लागेँ, बिरानो देशतिर । हिँड्ने वेला आमाले आँसु झार्दै भनेकी थिइन्, ‘युद्धमा पटक–पटक गम्भीर घाइते भइस् । अब अर्काको देशमा, अर्काको खटनमा कसरी काम गर्छस् जेठा !’ मसँग कुनै उत्तर थिएन । आँसुलाई आँखाभित्रै लुकाएर तल कताकता सुसाइरहेको दुधकोसीतिर हेर्दै गाउँ छाडेको थिएँ । मलाई सम्झना छ, त्यसवेला भाले बास्दै थिए । परेवा घुर्दै थिए । गौरीशंकर हिमालमा बिहानीको लाली पोतिँदै थियो । तर, मेरो मन भने रोइरहेको थियो । 
००० 
नेपाली युवाले खचाखच भरिएको जहाज चढेँ । केही समयपछि जहाज चुक घोप्टिएकोजस्तो अँध्यारोलाई चिर्दै आकाशमा उड्यो । जहाजबाट ओर्लिएँ । करिब चार घन्टा एयरपोर्टमा पर्खिएपछि कम्पनीको बोस लिन आइपुगे । हामी सबैको पासपोर्ट उनले लिए । कम्पनीको अफिसमा पुगियो । पासपोर्ट उनीहरूले नै राखे । अबचाहिँ पक्का दास भइएछ भन्ने अनुभूति भयो ।

एक दिन आराम गरेपछि फेरि मेडिकल चेक भयो । मेडिकल सकिएपछि केही अत्यावश्यक निर्देशन जारी भयो । सम्बन्धित देशको एकसरो नीतिनियम बुझाइयो अनि लागियो कार्यस्थलतिर । म युद्धको घाइते, एजेन्टबाट मेनपावरमा बेचिएँ, मेनपावरबाट विदेशी कम्पनीमा बेचिएँ, कम्पनीबाट फेरि अर्काे कम्पनीमा बेचिएँ, यसरी बेचिँदै–बेचिँदै बल्ल पुगेँ, पसिना बनाउनुपर्ने थलोमा । 

भूगोल फरक, परिवेश फरक, रहनसहन फरक, वातावरण फरक, चालचलन फरक, संस्कृति र भाषा फरक । जताततै गगनचुम्बी महलहरू, चौंडा सडकहरू, छिचिमिराझैँ सवारीसाधनहरू । मनमा अनेकौँ तर्कनाहरू खेलाउँदै होस्टेलमा पुगियो । होस्टेल देख्दा पनि अचम्मित परियो । होस्टेल हो या कारागार छुट्याउनै गा‍ह्रो । स्वास फेर्न पनि हम्मेहम्मे पर्ने एउटा सानो कोठामा २० जना मान्छे कोचिएर बस्नुपर्ने । यति धेरै मान्छेलाई बाथरुम मात्रै एउटा । भेडाबाख्रासरि कोचिएको छ । अरू विकल्प केही पनि थिएन । 

अर्को दिनदेखि ड्युटी सुरु भयो । ड्युटी मान्छेले गरेको हो कि मेसिनले गरेको हो पत्तै नपाइने । मेसिनले त बरु वेला–वेलामा आराम पाउँछ, तर मान्छेले आराम पाउने कुनै सम्भावना छैन । परदेशी जीवन यस्तै हुँदोरहेछ भन्दै चित्त बुझाएँ । दिनको १२ देखि १८ घन्टासम्म काममा जोतिनुपर्ने । कुनै पनि दिन बिदा नपाइने । लगातार यति धेरै काम गर्दागर्दै पनि साहुको गाली नखाएको दिन हुँदैनथ्यो । कामदारलाई यहाँका मान्छेहरूले मान्छे नै नगन्दा रहेछन् । 

धेरै समयपछि त्यहाँको वातावरणसँग घुलमिल भइयो । घरको न्यास्रो बिस्तारै कम लाग्न थाल्यो । आँखाअगाडि नाच्न आइपुग्ने त्यो गौरीशंकर हिमाल अब बिस्तारै मधुरो देख्न थालेँ । साथीहरूसँग पनि घुलमिल बढ्यो । अब परदेशको ठाउँमा तिनै साथीहरू थिए, आफन्त भने पनि शत्रु भने पनि । 

युद्धको उपहार गोलीका डोब र छर्राहरू बोकेर अहिले बहराइनको कुनै गुमनाम सहरमा काम गरिरहेको छु । वेलावेलामा आँखामा ठोक्किन आइपुग्छन्, युद्ध लडेका क्षणहरू । ती सपना सम्झिँदा वेलावेलामा जिन्दगीलाई धिक्कार्न मन लाग्छ । देश चलाउनेहरू देखेर घृणा लाग्छ । म कमान्डर भएर लडाइँ लडाएका मेरा सहयोद्धा साथी पनि मैसँग छन् अहिले । लडाइँमा म कमान्डर थिएँ, उनीहरू सदस्य । आज हामी वेलावेलामा साथीहरूसँगै बसेर भलाकुसारी गर्छौं । युद्धमा बिताएका क्षणहरू सम्झिन्छौँ । अनि निष्कर्ष निकाल्छौँ, आफ्नै देश फर्केर केही गर्ने । 

प्रतिकृया दिनुहोस