घरक्क !
घ्वार्र ! !
घोराही घाम तुइदाङबाट डुबेलगत्तै घोराही घरका ढोका चुकुलिन्छन् । शाही सेना ब्यारेक र जिल्ला प्रहरी कार्यालयबाट झन्डै मध्य भागमा उभिएको मस्जिदछेवैको एउटा कच्ची घरको कोठामा कालापारे र नयाँ कालापारे सुतेको स्वाङ पार्छन् ।
‘कफ्र्यु लाइगो । चालै नगर है । सुस्तरी सास फेर्नुपर्छ,’ सासेबोली नबाहिरिँदै घोराहीमा ‘शाहीघोडा’ हिनहिनाउँछन् । तिनका कर्कस स्वरले कानकिरी खान्छ । मान्छे त छन् ? छन् भने, तिनले सास फेर्न भुलिसकेका छैनन् ? जाडो÷गर्मी भएको छैन ? कोल्टे फेर्न तिनलाई अबेर भएको छैन ? कोही किन नहुँदा हुन् र, मनमनै भए पनि सोध्ने । रोल्पाली गाउँले ठिटोको डेराका दलिन, भित्ता, बत्ती, माकुरा, मुसो पनि ‘जनयुद्ध’ र ‘जनयुद्ध’कालीन घामपानीका फड्के किनारा साक्षी बस्छन् । त्यस्तो वेलामा नि यस्तो लाग्छ, ‘छ वेला लाग्ला घाम ।’
एक–दुई रातपछि एकथरी कालापारे दाङछेर्नी पहाड उकालिन्छन् भने अर्काथरी (कोही रूपडिहा त कोही वनबासा बस भेट्न) गुड्छन् । नयाँ कालापारे भने पखेटा पर्खदै महिनौँ बस्छन् । नयाँ कालापारे छन्– साइँला झाँक्रीका माइलापुत्र कर्ण दाइ, बाँस्कोटे कान्छा खत्रीका जेठा छोरा बालाराम, पार्ला जेठा कोल्बोटेका कान्छापुत्र राजेश, पार्ला कान्छा कोल्बोटे अर्थात् बिरालोजुँगे काकुछोरा सुरज, गैरा जाइनेसाहुको कान्छा छोरा नन्द, घरकै काकुको जेठापुत्र प्रकाश, भालुकोट मनराज साला, ट्वाङका भानु जेठान, आँटीघरे नन्दकुमार जेठान, आरखोला अमर भाइ आदि ।
सिमला र कनौरतिर स्याउ सिजन लगाएका कालापारेले घोराहीमा बास दिने डेरावाल गाउँले ठिटोलाई हात पार्छन्, ‘लौ बड्डा, सेम्लाको स्याउ चाख । सिक्खरको स्याउ हो, स्यानो रसिलो छैन, बाल ।’
पश्चिम पहाडी भेगका तल्लो वर्गका मानिस रोजीरोटी रोज्दै सिमला पुग्छन् । नाम दिन्छन्, कालापार । कालान्तरमा सिंगो भारतलाई भन्छन्, कालापार । र, कालापारमा रोजीरोटी खोज्न जानेलाई कालापारे ।
अंग्रेज फिरंगी फलाम र तामा बेच्न राणा सरकारले खानी बन्द गर्छ । राणा शासकले आफ्नो सत्ता साट्छ, खानीसँग । खानीमा काम गर्ने मगर र अन्य समुदाय खयर काट्न खयरझाला जान्छन् । भावर (बाबियो) काट्न काट्छन् । सुरु हुन्छ, कालापार । पहाडी हावापानी र गाउँले परिवेश खोज्दै पश्चिम पहाडका तल्लो तहका मानिस सिमला र गढवालतिर लागे होलान् । कालापार तन्कन्छ । नयाँ कालापार पुग्छ, अरब, मलेसिया ।
०००
कालापारे कपाल कटाउँछन् । नुहाउँछन् । आफू, परिवार सदस्य र नातागोताका लागि नयाँबजारे देसी दुकाने ढक्कल दुकानबाट काँचा र अरू दुकानबाट खासा लुगा हाल्छन् । बाटोमा र गाउँमा ‘कालापारे पाहुर’ बाँड्न गुर किन्छन् । सिद्रा किन्छन् ।
नयाँ लुगा लगाएपछि कोहीले सलमान त कोहीले आमिर खान ‘कट्’ कपाल लरक्क लर्काउँछन् । भूपि शेरचनको ‘तितरा, बट्टाई र भक्कुको राँगोका सन्तानहरूप्रति’को काव्यिक व्यंग्योक्ति ‘आयो गोर्खाली भन्दै, गोरु खाली बन्दै’ जस्तो सिमलाका ‘गद्दे’ले मायाले सम्बोधन गरे ‘गोर्खे बहादुर’ मन नपरे ‘गोर्खे बाँदर’ भन्छ ।
गोर्खे बाँदर भुल्न कोसिस गर्दै वाक्यको जुनसुकै भागमा घुसपैठ हुने ‘अच्छा’, ‘लेकिन’लाई पनि प्रतिबन्ध लाउन जोडबल गर्छन् । ‘आधारभूत’ किनमेलपछि लोकदोहोरी घन्काएर बजार थर्काउने आरके इलेक्टोनिक्समा पुग्छन् । खासा टेप्रिकाट किन्छन् । लगत्तै बास दिने उही रोल्पाली ठिटोलाई भन्छन्, ‘ऐ बड्डा, नाम्रानाम्रा गीत छान्दे तौ ।’ तिनले ‘लमजुङ तुर्लुङकोट’की बिमाकुमारी दुरा, राजु परियारहरूका चल्तीका लोकदोहोरी चक्का किन्छन् । दाङछेर्नी उकालिने सर्जामपछि टेप्रिकाट काँधमा हाल्छन् । लोकदोहोरी गीत नै दिने । तालमा कालापारे पाइला घर पुग्ने हतारले पहाडतिर उकालिन्छन् ।
नयाँ कालापारे ‘हवा’ले रोल्पा–रुकुमका थुर्पाधुरीजस्ता थुप्रा वनपाखासमेत रङ्सेल झाँक्रीजसरी हल्लन थाल्छ । गाउँका युवा सदरमुकाम लिबाङ जान्छन् । नागरिकता बनाउँछन् । नागरिकता बोकी काठमाडौं छिर्छन् । पासपोर्ट बनाउँछन् । दलाललाई थमाउँछन् । रोल्पाबाट माओवादी देशभर फैलन थालेको वेला रोल्पाको सुदूर गाउँ जैपाबाट दुई युवा भुर्र बहराइन उड्छन् । पहिलो नम्बरमा तल्नुघरका नन्द दाइ र दोस्रो नम्बरमा मेरो माल्दाइ । सुरु भएपछि कति माओवादी युवाले उडान भर्छन् त कति गैरमाओवादी ।
मलेसिया, अरब उड्नु थालनीताका युरोप उडेजस्तो हुन्छ । मेरो गाउँबाट दुईजना उडेपछि दलालले पैसा झ्वाम्म पार्छ र उडान ‘ठप्प’ हुन्छ । त्यै जाम अवधिमा नयाँ कालापारेले घोराहीमा डेरा जमाउँछन् ।
घोराहीमा डेरा जमाउनुका कारण छन् :
एक, गाउँमा फोन छैन । भिसा खबर समयमा पुग्दैन । दुई, काठमाडौंबाट रोल्पा टाढा छ । समयमै खबर पुगे पनि उडान समयमा काठमाडौं पुग्नु मुस्किल छ । घोराहीमा बसे भिसा छुट्ने समस्या टर्छ । तीन, ‘पल्पसा क्याफे’वाले नारायण वाग्लेले भनेको ‘एक धुरी एक पाखुरी’ माओवादी नीति दिन दुई गुना रात चौगुना बढ्छ । ऋण रकम दलालकहाँ फस्छ । त्यस्तो वेलामा ‘कमरेड’ कर्ममा लागे के होला ?
०००
रोल्पाको जैपा गाउँमा नयाँ कालापार किस्सा सुरु हुन्छ, २०५५ तिरबाट । र, २०५६ तिर नयाँ कालापार उड्नलाई पखेटा लाउन निक्लेको एउटा टोलीमा संलग्न हुन्छ एउटा साँवलो ठिटो । साँझपख नरेफाँट टुप्लुक्क आइपुग्छ । अरबिने ठूलो थलोबाट उछिट्टिएको बालाराम । भन्छ, ‘कतारमा प्रकाश दाइ बिरामी रहेछन् । अहिले कस्तो छ हँ ?’ प्रकाश आफ्नो पुत्र मिलनसँगै छ, कतारमा । प्रकाशको भाइ पन्चराम साउदीबाट छुट्टीमा घर आएको छ ।
०००
‘मलेसिया उड्नुअघि काकुसान्जीले कतिपालि बिदाबारी गरे हँ ?’ नरेफाँट साँझ बालाराम बिदाबारी भएको हिसाब गर्दागर्दै भुल्छ । टीकामा प्रयोग भएको चामल सम्झन्छ । आशीर्वाद सम्झन्छ । गम खान्छ, ‘ल चार दिनभित्र आइपुग । भिसा झ-यो । दलाल भन्छ, यसपालि त पक्का । बिदाबारी भएर गयो, फेरि फक्र्यो । कतिपालि हो कतिपालि, जेईबाबैले बिदा गरेर पठाएको ।’
दलालले उड्ने भनेपछि हस्याङफस्याङ गर्दै घर पुगेको, काकुसान्जीले बिदाबारी गरेको, दलालकहाँ पुगेको सम्झना बालाराम आँखामा बल्झन्छ । उसको कानमा दलाल आवाज झन् चर्किन्छ, ‘भिसा झर्नै लागेको थियो । रमादान परेर रोकियो । दुईचार दिनमा फुट्ट झरिहाल्छ ।’ दलाल दुईचार दिनमा दुई हप्ता थप्छन् । साँकुरा गेस्टहाउसमा बस्छन् । दलाल कहिले दुबईस्थित बिस्कुट कारखानामा पठाउँछु भन्छ, कहिले बहराइन, कहिले मलेसिया ।
हुक्कीहार भएर फरक्क फर्कन्छन्, घोराही । नयाँ कालापारे कहिले पखेटा लाग्ला र उडम्ला भनी पर्खन थाल्छन् । कहिले काठमाडौं, कहिले बिदाबारी गर्न घर धाउँछन् । थाकेर सानो बिसौना काठमाडौंमै बनाउँछन् । अमर, नन्दु, दिलबहादुर, बालारामहरू धापाखेल बसी धर्ना कस्छन् भने सुरज, भागीलाल, शेरबहादुर ओली र कर्ण दाइ, नन्दकुमार घर्तीमगर भक्तपुर ।
सम्झना डोरीमा सुरेली खेल्दै बालाराम घरी काठमाडौं पुग्छ, घरी घोराही, घरी घर । उसको आँखा बिदा गर्दै काकुसान्जीले लगाइदिएको बिदाटीकामा अल्झन्छ । निधार छाम्छ । मनबाट टीका कहाँ छुटेछ र ? अरब र मलेसिया उड्ने पखेटा पर्खाइ झुर हुन्छ । घोराहीका स्यानीमाइ हल धाउँछन् । समय नबगेपछि गाउँका किस्सा हाल्छन् । भानु जेठान राङ्सीमा पढ्न गएका बेला छोट्टी बस्दाबस्दै जोई ल्याएको कुरा किस्सा बनाएर सुनाउँछन् । समय–समयमा चुट्किला सुनाउँछन् । नौटंकी गर्छन् ।
खाना नपकाएको सजायस्वरूप खाना पस्केर बालाराम दाउरा समाएर सेकुरिटी बस्छ । सलाम गर्छ । समयका जटिलता भुल्ने तिनका गज्जब काइदा छन् ।
तास खेल्छन्, कहिले बोके, कहिले दैला खाने । क्यारिमबोर्ड । बाघचाल । भलिबल खेल्छन् । रक्सीले मात्छन् । परिवार सदस्य र नातेदारले फोन÷चिठीमा भन्छन्, ‘साहुको पैसाले पखेटा लगाइसक्यो । अझै लागेन भिक्सा ? कहिले हो उड्ने ?’ नाजवाफ फोन राख्छन् । खत्निसमाथि थप्निस भइरहन्छ, भिसा पर्खिरहेको कसका कहिले बा बिरामी हुन्छन् त कहिले कसका आमा ।
राज्यसत्तासँग जोडिएको दलाल घाँटी कसले थिच्नु ! पैसा पच गरे पनि कुर्नु छ । दलाल कोही मन्त्रीका परिवार सदस्य वा नातेदार छन् । कोही दलाल भ¥याङ चढी सांसद मन्त्री छन् । तिनै स्थानीय, प्रदेश र संघ सरकारमा ‘जनप्रतिनिधि’ हुने संख्या झन् बढेको छ ।
नुन लिन झरेका होऊन् या सरसामान लिन वा कालापार जान वा फर्केका मंगोल अनुहारलाई रैथाने जिम्दारले गिल्ला गर्छन् । रोल्पाली लवज, गैरखसभाषी मगर लवज, तिनले लगाएका लुगाका के कुरा । थारूलाई विस्थापित गरी स्थापित शासक खलकका जिम्दारले घोराही मात्र के, सिंगो दाङ नै आफ्नो बिर्ता ठान्छन् । त्यसैमाथि तिनै जिम्दारका सरकार, तिनका सेना–पुलिसका चर्तिकला । रोल्पाली हुनु नै अपराध छ । मंगोल अनुहार थपिए त ‘छापावाल’ माओवादी ।
त्यही मंगोल अनुहारको रोल्पाली ठिटोको डेरामा डेरा जमाउने नयाँ कालापारे र वेलाबखत बास बस्ने कालापारे । त्यो याममा कालापारे र नयाँ कालापारेलाई बास दिनु ठिटोको लागि नखाम भने दिनभरिको सिकार खाम भने कान्छाबाको अनुहार हुन्छ । सेना, पुलिस र सुलसुले घरी ठिटोलाई त घरी कालापारेलाई क्वाप्प पारुँला जसरी आँखा तर्छन् । वेला न कुवेला केरकार गर्छन् ।
संयोग ! माओवादीले २०५८ मंसिर ८ गते घोराही ब्यारेक आक्रमण गरी शाही नेपाली सेनाविरुद्ध फायर खोल्छ । बालाराम सम्झन्छ, अघिल्ला बिदाबारी खेर गएकाले बालारामहरू बिदाबारी नगरी काठमाडौं लाग्छन् । त्यसपालि नसोचेको हुन्छ । अर्थात् पखेटा लाग्छ । २०५८ वैशाख २६ गते बालारामसहित सुरज र नन्दु भुर्र उड्छन् । मलेसिया जोरभारु कन्स्ट्रक्सन कम्पनीका ताता डन्डीले थिच्छ । तिनलाई यसरी थिच्छ, मर्नुभन्दा बहुलाउनु निको ठानी टाप कस्छन् ।
डन्डीमुक्त त हुन्छन्, तर त्योभन्दा ठूलो महाभारतमा फस्छन् । जंगलका फलफूल, वन्यजन्तु र स्थानीय सहयोगले तिनका सास मुुस्किलले अल्झन्छ । एक वर्षपछि, सन्जोगले नेपाल फर्कन्छन् । फर्कंदा मले भाषा पनि साथ लिई फर्केका छन् । पखेटा लाउने रिनले पुर्छ । आखिरीमा ‘आगोले पोलेको घाउ आगोले सेक्छ’ भन्ने उखान सम्झदै फेरि मलेसिया उड्छन् ।
फोन फेरिए पनि सोध्ने प्रश्न उही छ, ‘ह्याँ साहुको रिनले पखेटा लाइसक्यो । भिक्सा कहिले लाग्ने हो ? कहिले कमाएर घर फर्कने हो ?’
हजार हन्डर हसुरेको बालाराम नेपाल फर्केर फुट्केको माछाजसरी खोज्छ, एसएलसीलाई । कम्पार्ट गुल्टेर थला परेको ऊ एसएलसी पास हुन्छ । भक्तपुरे सरकारी शिक्षा क्याम्पस पुग्छ । मास्टरी गर्दै मास्टर गर्छ । त्यो नेरोफेरोको एक्लो बालाराम बन्छ । ऊसँगै उडेको सुरज, प्रकाश कतार उड्छन्, भानु, कर्ण, साउदी । ऊसँग उडेका उनीहरू अहिलेसम्म उडेका उड्यै छन् । सुरज सानैमा काकुसित कालापारिन्छ । सिमलामा छोटू बन्छ । जिम्दार घरमा काम गर्ने बच्चालाई कालापारतिर छोटू भन्छन् ।
गैराजाइने साहुको कान्छोपुत्र नन्द कतार उड्छ । पार्ला जेठा कोलबोटे कान्छापुत्र राजेश । घोराहीमै गायक सपना बुनेको छ । अल्बम निकाल्छु भन्छ । गाउँछ, ‘जब चल्छ तिम्रो रूपको हावा, सरर सरर ।’ पखेटा पर्खंदापर्खंदै राजेश अरबिन्छ । अरबबाट नै ‘अल्बम निकाल्ने खर्च’ भन्दै हिसाबकिताब निकाल्छ । बिहेपछि बल्ल अल्बम किस्सा खत्तम हुन्छ । सुरज, बालाराम र राजेशका एउटा समानता छ । त्यो हो, कालापार घर, नयाँ कालापार घर गर्दागर्दै तिनका घरबार भत्कन्छ । सुरज र बालारामको त बालबिहे हुन्छ ।
पर्खेको दुईतीन वर्षपछि ट्वाङका भानु जेठान, कर्ण दाइ र मनराज साला साउदी उड्छन् भने भागीलाल ओली बहराइन । जुमाराङ्सीका दिलबहादुर बुढामगर भने नउडी फर्कन्छन् । भारतीय गोर्खापुत्र दिलका दुई छोरा पनि भारतीय गोर्खामा भर्ती भएका छन् ।
०००
लिउरीबाङ दिलकुमारी फुपू कता छिन् हँ ? केही महिनाअघि अरबबाट बाकसमा फर्केका देवर लिन देउरानीसाथ काठमाडौं झर्छिन् । सानो देउरानीपुत्र र आफ्नो दोस्रो पतितिरका पुत्र साथमा छन् । उनका दुवै पति माओवादी जनयुद्धमा मारिएका छन् ।
चिचिलाले आर्यघाटस्थित विद्युत् शवदाहगृहमा दागबत्ती दिएको दृश्यले मलामी मनले ‘समाजवादउन्मुख संविधान’को ‘समृद्धि’वाल सरकार सम्झन्छन् ।
दिलकुमारी सहिद क्रान्तिपत्नी हुन् । माओेवादी आन्दोलनमा गुमाएका पहिलो पति । मारिएका दुवै पति जनमुक्ति सेना हुन् । बाकसमा फर्कने देवर पहिलो पतितर्फका हुन् ।
शवदाहगृहबाट सहिदपत्नी आँखा पशुपतिनाथ मन्दिरमा पुग्छ । ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भनेर राजाले कुनै वेला पुकार्ने पशुपतिनाथ मौन छन् । वरपर हेर्छिन्, फुपूसित न पशुपति छन्, न पति ।
सरकारी तथ्यांकअनुसार दैनिक चारजना युवा विदेशबाट बाकसमा फर्कन्छन् । सरकारी डाटामा पैंतालीस हजार हाराहारी युवा वैदेशिक रोजगारमा छन् । तर, जान्नेभान्नेले भने ‘अवैध बाटोबाट उडेका पनि गन्ने हो भने साठी लाख’ युवा अरबरत छन् ।
०००
कालापारे र नयाँ कालापारेबारे लेखाजोखा लाउँदा नरेफाँट रात जति बुढिन्छ, उति ‘मिस’ हुन्छ, ‘जनयुद्ध’को संकटकालीन घोराही डेरा । लख काट्छ, दायाँबायाँबाट घोराही घेरेका सेवार र कट्वाखोलाका पानी बग्दैबग्दै समुद्र पुगिसक्यो होला । बालाराम हेर्छ, राजाविनाको बहुदलवाल लोकतन्त्रमा ठिंग उभिएको ओली सरकार । जो समृद्धि रटानरत छ । तर, युवाहरू भुर्रभुर्र विदेश उडान जारी छ ।
बस्ती उजाडिएका छन् । गोर्खा राज्य विस्तारमा क्षेत्री, मगर, गुरुङबस्ती पृथ्वीनारायण शाहले उजाड्छन् । राणा सरकारले पहिलो र दोस्रो विश्वयुद्धताका मगरबस्ती युवाविहीन बनाउँछ । झलक सुवेदी ब्रिटिस साम्राज्यका नेपाली मोहरामा लेख्छन्, ‘वीर शमशेरले ब्रिटिसका कतिपय सर्त अस्वीकार नगरेका भए आजको नेपालमा गुरुङ र मगर जातिको जनसांख्यिक बनावट नै फरक पर्ने थियो ।’ माओवादी आन्दोलन सुरु भएपछि मगरबस्ती फेरि उजाडिन्छ । तराईमा उजाडिन्छ, थारूबस्ती । सरकारी आँखामा मंगोल अनुहार र मगर–थारू त आतंककारी हुन् । पृथ्वीनाराण शाहले गोर्खा विस्तारमा प्रयोग गरेजसरी माओवादी विस्तारमा पुष्पकमल दाहाल प्रचण्डले मगर, थारूका लागि माछालाई जसरी ढडिया थाप्छन् ।
‘जनयुद्ध’मा सबभन्दा बढी मगर मारिएका छन् । सबभन्दा बढी बेपत्ता थारू । आफ्नै नागरिक बेच्ने चलन वर्तमान सरकारसम्म जारी छ । स्वघोषित राष्ट्रवादी सरकार र लोकतन्त्र मोजमग्न छ, अरबको रेमिट्यान्स फूलमा । घोराहीमा जमाएको डेरामा आउने फोन सम्झेर बालाराम झस्कन्छ, ‘अझ अरबको भिक्सासिक्सा लागेन ? कहिले जाउला कालापार र कहिले कमाएर घर फर्कौला ?’ जुन फोन भुइँबाट गोजीमा उक्लेको छ ।
तपाईंलाई लाग्ला, को होला घोराहीको डेरावाल रोल्पाली ठिटो ? त्यो ठिटो मै हुँ । फोन फेरिए पनि सोध्ने प्रश्न उही छ, ‘ह्याँ साहुको रिनले पखेटा लाइसक्यो । भिक्सा कहिले लाग्ने हो ? कहिले कमाएर घर फर्कने हो ?’ बालाराम सोध्छ, ‘कहिले आउँछ, हाम्रा दाजुभाइ र दिदीबहिनीले आफ्नै देशमा आफ्ना परिवारजनसँग सँगै सुखदुःख साट्ने दिन ? कहिले आउन छाड्छ, यस्तो फोन ?’
टिरिङ !
टिरिङ !!