मासिन्या दस्तुर
‘मलाई इतिहासदेखि नै अन्याय गरियो । मेरो समुदायलाई दबाइयो । सीमान्तकृत बनाइयो । अनि म कसरी सुन्दरता प्रस्तुत गरौँ ?’
सन् १९५० देखि ६० को दशक, अमेरिकन सहयोगमा नेपालको तराई क्षेत्रमा औलो उन्मूलन अभियान सुरु भयो । औलो उन्मूलनका लागि अमेरिकामा उत्पादित ‘डिडिटी’ नेपाल ल्याइयो । दोस्रो विश्वयुद्धमा प्रयोग भएको यो विषाक्त झोलले तराईबाट औलो मात्रै उन्मूलन गरेको थियो ?
डिडिटी तराईका आदिवासी थारूको अस्तित्वमाथि छरिएको घातक झोल थियो । डिडिटीले लामखुट्टेसँगै थारूको वासस्थान पनि साँघुरो बनायो । तराईमा औलो उन्मूलन भएसँगै पहाडबाट तराई झर्नेको लर्को लाग्यो । तराईका आदिवासी थारूको जमिन बसाइँसरी आउनेले हत्याए । थारूमाथि राज्यले गरेको शृंखलाबद्ध आक्रमणलाई ‘मासिन्या दस्तुर’ नाम दिएर चित्र कोरेका छन् लवकान्त चौधरीले । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा २६ वटा चित्रका माध्यमबाट चौधरीले थारूमाथि राज्यले गरेको दमन र आक्रमणको दर्दनाक इतिहास देखाएका छन् ।
इतिहासमा थारूमाथिको राज्य दमन ‘दस्तुर’बाट सुरु हुन्छ । चित्र शृंखलाको सुरुवात डिडिटीबाट हुन्छ । डिडिटी शृंखलाको चित्रमा मान्छेलाई लामखुट्टेकै आकारमा प्रस्तुत गरिएको छ । ‘डिडिटीले थारूहरूलाई पनि लामखुट्टे भगाएजसरी भगायो । लामखुट्टे मारेजसरी मा-यो,’ चित्र अथ्र्याउँदै चौधरी भन्छन्, ‘राज्यका लागि लामखुट्टे र थारू उस्तै भए ।’ यसैकारण लामखुट्टे र मान्छेको आकृति र आकार समान बनाए चौधरीले । ‘मान्छे बचाउने नाममा थारूहरूमाथि डिडिटी छरे ।’ चौधरीको चित्रकला हेरिसकेपछि विश्लेषक सिके लाल भन्छन् । त्यसैले त डिडिटीलाई थारूहरू ‘डेन्जर डोज टु थारू’ भन्छन् ।
डिडिटीले समाप्त पार्न नसकेका थारू र आदिवासीको अस्तित्वमाथि धावा बोल्ने अर्को हतियार थियो तमसुक । तमसुक शृंखलामा तमसुकका प्रतिलिपिमाथि थारू अनुहार उतारेर चौधरीले तमसुक आतंकको बयान गरेका छन् । नेपाली बोल्न र लेख्न नजान्ने थारूमाथि नेपालीभाषीले तमसुकको आर्थिक आतंक मच्चाए । ब्याजको स्याज, स्याजको प्याज गर्दै तमसुकरूपी हतियारले थारूलाई गरिब बनाउन थालियो । थारूको मुख्य सम्पत्ति भूमि खोस्न तमसुक प्रयोग भयो ।
त्यसअगाडि राणाहरूले थारूमाथि ‘दस्तुर’को आक्रमण सुरु गरिसकेका थिए । थारूका सीप र कौशलमाथि राणाले दस्तुर लगाए । ‘थारूले जानेका सीप र कौशल राणाका लागि प्रयोग गर्नुपर्ने,’ राणाको अन्यायी चरित्र बयान गर्छन् चौधरी, ‘उनीहरूकै लागि काम गर्नुपर्ने अनि उनीहरूलाई नै दस्तुर तिर्नुपर्ने ।’
दस्तुरको हतियारले थारूहरूलाई आफ्नो सीप र कौशलबाट विमुख हुनुपर्ने अवस्था सिर्जना ग¥यो । धामी, झाँक्री गरेको, हात्ती पालेको, घाँस काटेको, माछा मारेको दस्तुर तिर्नु भन्दै राणाले जारी गरेका दस्तुरी कागजले थारू शिल्प र सभ्यताको विकासमा ब्रेक लगाए । सिके लालले भनेजस्तै ‘अरूले जतिसुकै वर्णन गरे पनि कहाँ दुख्छ भन्ने कुरा दुख्नेलाई मात्र थाहा हुन्छ ।’ चौधरीले थारूमाथि भएको राज्यको शृंखलाबद्ध अन्याय सहेका छन् ।
ललितकलामा मास्टर्स गरिरहेका सर्लाही बयरवासका चौधरीको ‘मासिन्या दस्तुर’ त्यही दुखाइको चीत्कार हो । पीडामिश्रित आक्रोश पनि हो । चौधरी ०७२ को भूकम्पपछि भक्तपुरमा कला संकलनको काममा थिए । ‘कलाकार देखेपछि एनजिओ र आइएनजिओका मान्छे आउँथे, धरहराको चित्र बनाउन लगाउँथे,’ आफ्नो रूपान्तरण बिन्दुका रूपमा अथ्र्याउँदै चौधरी भन्छन्, ‘हाम्रो पीडा पनि उनीहरूलाई कला लाग्यो । हाम्रो संस्कृति र संस्कार पनि उनीहरूलाई कला लाग्यो । खासमा त त्यो हामीमाथि गरिएको मजाक थियो ।’ त्यसपछि चौधरीको मनमा लाग्यो ‘त्यसरी नै हामी आदिवासीको संस्कार र संस्कृतिमाथि मात्रै होइन, आदिवासीमाथि ‘मजाक’ गरिएको छ ।’
त्यसपछि चौधरी आफ्नै समुदायको जरा खोज्न थाले । जराभन्दा पहिले उनले भेटे, ‘थारूलाई जरा गाड्न नदिने शासकीय राजनीति । थारूको जरा काट्ने शासकीय हतियार ।’ ४ वर्षको अनुसन्धानपछि २६ वटा चित्र बनाउन ९ महिना लाग्यो चौधरीलाई । कात्तिक ०७५ मा चौधरी र उनको समूह ‘आर्ट ट्री’ले ‘विपरीत सपना : आम मान्छेमाथिको राजनीति’ शीर्षकको चित्रकला प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा चौधरीले जंगबहादुरको मुलुकी ऐनले मासिन्या जातिमा राखेको थारूमाथि गरिएको अत्याचारको नमुना प्रस्तुत गरेका थिए । ‘मासिन्या’ शीर्षक दिएर थारूले झिझिँया नाचमा प्रयोग गर्ने मटकामा जंगबहादुरदेखि संविधान जारी हुँदासम्मको समय र टीकापुर घटना अनि घटनापछिका सरकारी रिपोर्टले थारूमाथि गरेको दमनको चित्र खिपेका थिए ।
यसपटक पनि अँध्यारो कोठामा प्रस्तुत गरिएको यो कलाले कानुन, सुव्यवस्थाका नाममा भएको कालो कर्तुत देखाउँछ । थारूमाथि भएका अन्याय, थारूले भोग्नुपरेका पीडालाई कलात्मक रूप दिएर चौधरीले इतिहासमा लुकाइएका र दबाइएका घटनालाई सार्वजनिक गरेको बताउँछन् लेखक युग पाठक ।
पिठ्युँमा बच्चा बोकेर, हातमा कालो झन्डा समातेकी महिला चित्रको पृष्ठभूमिमा टीकापुरको नक्सा छ । ‘पिपुल फ्रम ल्यान्ड अफ इनइक्वालिटी’ शीर्षक दिइएको यो चित्र हो, पार्वती चौधरीको । ७ भदौ ०७२ को टीकापुर घटनापछि थारू भएकै कारण पार्वतीका श्रीमान्लाई प्रहरीले वर्षौंसम्म बन्धक बनायो । ‘पुरुषलाई बन्धक बनाएपछि । कफ्र्यु लगाइएपछि थारू महिला थाल ठटाउँदै, सिटी बजाउँदै बालबच्चा बोक्दै सडकमा ओर्लिएका थिए ।’ टीकापुर भ्रमणमा गएका चौधरी टीकापुरको तत्कालीन अवस्था सुनाउँछन् ।
८ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटनापछि थारूका घर जलाइए । थारू समुदायमाथि अघोषित प्रतिबन्ध लगायो, राज्यले । यही बर्बरतालाई चौधरीले ‘वन्स देअर वाज अ भिलेज’ शीर्षक दिएर श्रव्यदृश्य सामग्रीमा राखेका छन् । मुक्तिका लागि गरिएका हरेक संघर्ष र आन्दोलनमा सीमान्तकृतहरू झन–झन किनारामा पर्छन् । थारूमाथि पनि यस्तै भएको छ ।
राज्यसत्ता परिवर्तन गर्ने भन्दै सुरु भएको थियो माओवादी संघर्ष । माओवादी संघर्षका दौरान मारिएका जोखन रत्गैँयाको डायरीलाई काठमा कुँदेका छन् चौधरीले । थारू भाषामा ‘मुत्तिक डगर’ अर्थात् मुक्तिको बाटो नाम दिएर पत्रिका प्रकाशन गर्ने भन्दै रत्गैँयाले तयार पारेको डायरीलाई काठमा कुद्नुको अर्थ सुनाउँछन् चौधरी, ‘राजा महाराजाका इतिहास त ताम्रपत्र, शिलापत्रमा लेखिन्छन् । हामी त प्रकृतिपूजक हाम्रो इतिहास पनि प्रकृतिमा नै लेखिन्छ । त्यसैले काठमा लेखेको हुँ ।’
‘क्रान्तिके कठिन घडिमे प्रिय साथ देखे टुं
दुःख कष्ट व पीडा मे आँश ना गिरैँहो टुं’
रत्गैँयाले अक्षर पनि चिन्न नसक्ने आफ्नी श्रीमतीका नाममा लेखेको कवितांश हो यो । २९ जेठ ०५८ मा मारिएका रत्गैँयाको डायरीमा लेखिएका यस्ता कविता र लेखलाई काठमा कुदेर प्रदर्शनीमा राखेका छन् चौधरीले । रत्गैँयाका बुबा धनबहादुर र भाइ जगतलाई पनि तत्कालीन शाहीसेनाले मारेको थियो ।
रत्गैँयाको असफल क्रान्तिका पीडा कम हुन नपाउँदै छेउमा झुण्डिएका गोली देखिन्छन् । काठका साना बाकसमा किरा लागेका अन्नका दानामाथि टाँसिएका छन् बन्दुकका गोली । मुक्तिको सपनाको हत्या गरेका गोली हुन् यी । समानताको चाहनालाई निमिट्यान्न पारेका यी गोलीले कैयौँ परिवारको अन्नपानी पनि सुकाएका छन् । त्यसैले त सिके लाल भन्छन, ‘तपाईं आफ्नो मुटुबाटै केही बनाउनुहुन्छ भने त्यो कला बन्छ ।’ चौधरीले प्रस्तुत गरेको कलालाई मुटुबाटै बनेको कला भन्छन् उनी ।
सभ्यता र खुसहालीका नाममा राज्यले थारू समुदायलाई भूमि र प्रकृतिबाट विमुख बनाएर सभ्यता खोस्यो । त्यसैले चौधरीका हरेक चित्रमा भूमि (माटो) देखिन्छ । प्रकृति देखिन्छ । थारू समुदायको संस्कार र संस्कृति देखिन्छ । सिके लालको भाषामा भन्दा, चौधरीका चित्रमा, संस्कृति, जीवन, पुस्तान्तर, आर्किटेक्चर, समाजशास्त्र फेला पर्छ । गोर्खाली शासनपछि थारूले बाँचेको जीवनचक्र फेला पर्छ । ‘कला अब आनन्द मात्रै रहेन,’ चौधरी भन्छन्, ‘यो त विद्रोहको अर्को रूप हो । इतिहासको नयाँ व्याख्या पनि त हो ।’ थारू समुदायलाई इतिहासमा गरिएको विभेद र अन्यायलाई देखाउन उनले कलामा काठ, माटो, अन्न, नक्साजस्ता स्थानीय सामग्री नै प्रयोग गरेका छन् ।
तर, पुनव्र्याख्या यतिले मात्रै पुग्दैन त्यसैले चौधरीले स्थानीयतालाई आधुनिकतासँग मिसाएका छन् । जस्तोः तमसुक र दस्तुर शृंखला सिसाको फ्रेममा सजाएका छन् । श्रव्यदृश्य सामग्रीको पनि प्रयोग गरेका छन् । त्यसैले आफ्नो चित्रकारितालाई उनी ‘मिक्स मिडिया’ भन्छन् ।चौधरीको कलामा शास्त्रीय मोहकता र सुन्दरता भेटिँदैनन् भन्नेलाई उनको जवाफ होइन, प्रश्न छ, ‘मलाई इतिहासदेखि नै अन्याय गरियो । मेरो समुदायलाई दबाइयो । सीमान्तकृत बनाइयो । अनि म कसरी सुन्दरता प्रस्तुत गरौँ ?’ उनी भन्छन्, ‘आर्ट पिस वालमा डेकोरेट गर्ने मात्रै होइन । यसले हाम्रो इतिहास देखाउनुप-यो । हाम्रो व्यथा देखाउनुप-यो । समग्रतामा यसले हाम्रो प्रतिनिधित्व गर्नुप-यो ।’
‘इतिहासको गर्भमा केही कुरा लुकेका हुन्छन्,’ चौधरीका गुरु–साथी हितमान गुरुङ भन्ने गर्छन् । तर, लवकान्तका चित्रकला हेरेर भन्न सकिन्छ, ‘अब इतिहासले धेरै कुरा लुकाउन सक्दैन ।’ युग पाठक चौधरीको कलामाथि टिप्पणी गर्छन्, ‘इतिहास व्यक्त गर्न लवकान्तले कलात्मक माध्यम छाने । तर, थारू समुदायले भोगेको पीडादायी इतिहास व्यक्त गर्न इतिहासले लवकान्तलाई चुन्यो ।’