• वि.सं २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
छोइला खर्क : चिसो बढ्दै गएपछि त्यहाँबाट खर्क तलतिर सार्ने चलन छ ।
कुन्साङ
२०७६ पौष ५ शनिबार १०:५९:००
समाज

हिउँको बर्कोमा हुम्लीहरू

हिमालतिर

२०७६ पौष ५ शनिबार १०:५९:००
कुन्साङ

पहिलोपटक हुम्ला पुग्दै हुनुहुन्छ भने तपाईंलाई राज्यभन्दा निकै टाढा पुगेको अनुभूति हुन्छ । हुम्लाको परिचय जस्तै बनेको छ, अनकन्टार भिर, सडकले नछोएका गाउँहरू, कतै–कतै मात्रै बिजुलीको सुविधा ।तल–तल दक्षिणतिर बग्ने छ्युमाप्चा खावा (कर्णाली नदी) कतै सुसाइरहेको सुनिन्छ । त्यो सुसाइ संगीतमय पनि लाग्न सक्छ । कर्णालीको मुहानतिर हेर्दा अग्लो हिमाल र निलो आकाश देखिन्छ ।

हुम्ला छोइलाको खर्कमा बालबालिकाहरू । त्यहाँका बालबालिका वर्षको ६ महिना आमाबुबासँग खर्कमै बिताउँछन् । 

आकाश र अग्ला हिमाल हेर्दा कुनै आर्ट ग्यालरीमा सुन्दर पेन्टिङ हेरिरहेझैँ लाग्छ । हुम्लाको हावापानी, नदी झरना सबै झट्ट हेर्दा सुन्दर लाग्छ । तर, यहाँको जीवनशैली निकै कष्टकर छ । अन्य ठाउँको भन्दा हुम्लाको जीवनशैली नै फरक छ । उत्तरी गाउँहरूमा न फोनको नेटवर्क टिप्छ, न बिजुलीको सुविधा नै छ । 

हिउँदका लागि सञ्चय गरेर राखिएको घाँसको कुन्यु । हिउँले घाँसको कुन्यु छोप्छ र त्यसलाई लौरोले हिर्काएर हिउँ झारिन्छ । त्यसपछि जोपा, जुमा (चौँरीको गोरुको क्रसबाट जन्मिएको जनावर) र घोडालाई दिइन्छ । 

मेरो जन्मथलो खगाल गाउँ पुग्न सिमकोटबाट ६ घन्टा हिँड्नुपर्छ । उकालो र ओरालो छ बाटो । मोटर गुड्ने बाटो छैन । बाटोमा गाईवस्तु हिँड्दा बाटो झन् अस्तव्यस्त हुन्छ । त्यहाँ चैतदेखि असोजसम्म सबैभन्दा धेरै व्यस्त हुनुपर्छ । वैशाखमा हिउँ बिलाएपछि मल बोक्नेदेखि अन्नबाली छर्ने र वस्तुभाउ लिएर ६ महिनाका लागि खर्क (लेक) तिर जाने काम सुरु हुन्छ । त्यो ६ महिना स्कुल त खुल्छ, तर विद्यार्थी नै हुँदैन । हुम्लातिर कमैले मात्र पढ्छन् । सात र आठ कक्षा पढ्दापढ्दै कतिको बिहे हुन्छ । अधिकांश छोरीहरू बिहेपछि पढाइ छाडिदिन्छन् । लामा जातिसँगै अन्य जातिका छोरीहरू पनि कमै पढ्छन् । 

जुमाको दूधबाट बनेको घिउ चीनमा बिक्री हुने गरेको छ ।

लामा बस्तीतिर आठ वर्षसम्मका बालबालिकालाई गाउँमा राख्दैनन् । बर्खामा गर्मी भएर बच्चा बिरामी हुन्छ भन्ने डरले चिसो ठाउँ अर्थात् खर्कतिर लैजान्छन् । अन्त यस्तो चलन देखेको छैन । बरु बच्चाहरूलाई न्यानो ठाउँमा राख्नुपर्छ भनेको सुनेकी छु । सात र आठ वर्षका बच्चाहरू झोलामा किताब, कापीकलम बोकेर स्कुल जाने वेलामा गाई, घोडाको पुच्छर समाएर खर्कतिर जान्छन् । 

छोइला छो (ताल) 

भदौ र असोज महिना बालीनाली भित्र्रयाउन व्यस्त हुन्छन्, हुम्लीहरू । अन्न मात्रै होइन, हिउँदका लागि पुग्ने घाँस दाउरा, चामल, मैदा र तेलको जोहो गरेर बित्छ, यो दुई महिना । हाम्रोतिर भन्ने गरिन्छ, ‘भदौ र असोजमा दुस्मनले पनि मर्न नपरोस् ।’ यो महिनाभित्र कसैको घरमा दुःखद घटना भयो भने मलामीसमेत भेटिन मुस्किल पर्छ ।

हुम्लाको च्याछरा : हिँड्ने बाटो बिग्रिएपछि जोखिमपूर्ण यात्रा गर्दै स्थानीय । 

राति जूनको उज्यालोमा फापर काटेर बिहान भएपछि घाँस काट्न जान्छन्, कतिपय हुम्लीहरू । हिउँ पर्नुपहिले सबै काम सकाउनुपर्ने हुन्छ । हिउँ प-यो कि बाँकी चार र पाँच महिना पूरै सेतो बर्को ओडेर बस्नुपर्छ । 

कोदोबाट छ्याङ, रक्सी, रोटी र ढिँडो बनाइन्छ ।
चिसो बढेपछि खर्क सार्दै गाउँलेहरू । 
खर्क जाँदै एक बालक ।