• वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
कैलाश राई
२०७६ पौष ५ शनिबार ११:३२:००
साहित्य

सुनिताको संघर्ष कथा

किताब

२०७६ पौष ५ शनिबार ११:३२:००
कैलाश राई

महिला तथा बालिका बेचबिखनको दृष्टिले जोखिम सिर्जना गर्ने अनेक पक्ष छन् । बढीजसो महिला तथा बालिका तिनै पक्षहरूको प्रयोग (दुरुपयोग ?) गर्दै करबल, छल–भ्रम या लोभलालसाजस्ता अनेक कारणले बेचबिखनमा पर्ने गरेका छन् । बेचबिखनमा परेर पुनर्जीवन पाएकाहरूले हाम्रोजस्तो समाजमा आफ्नो वास्तविकता बाहिर ल्याएर समाजमा सहज र सम्मानजनक अवस्थामा बाँच्न सक्नु चानचुने कुरा होइन । 

१३ वर्षमा बलात्कृत भई, १४ वर्षको उमेरमा बच्चासहित छलले भारतको मुम्बईमा बेचिएर पुनर्जीवन पाएकी सुनिता दनुवारको आत्मकथा ‘आँसुको शक्ति’ त्यस्तै एक साहसिक जीवनकथा हो । बाल्यकालदेखि अहिलेसम्म उनले देखे–भोगेको नेपाली समाजको विशेषताको हिसाबले स्वाभाविक लाग्ने दुःखपीडादेखि अकल्पनीय (खासगरी महिलाहरूका लागि) बलात्कृत हुनु र बेचिनु र त्यसले जन्माएको अनगिन्ती असाधारण घटना र अवस्थाहरू झेल्दै अघि बढ्दै जाँदाको बेलीविस्तार छ पुस्तकमा । 

सुनिताबाट उषा र उषाबाट सुनिता दनुवारको अस्तित्व र पहिचान स्थापित गरिनुको यात्रा वर्णनमा उनको नामअनुरूपको आ–आफ्नै परिवेश र पृष्ठभूमि छन् । सुनिताका रूपमा उनले जन्मथलो दैलेखमा स्थायी थलोकिलोको अभाव, अशिक्षा र अन्धविश्वासमा आमाबाबुसँग बाल्यकालको सुखदुःख काटिन् । जीवनयापनका लागि राम्रो विकल्पको खोजी र आमाबाबुको बिग्रँदो सम्बन्धका कारण दैलेखदेखि जम्बु कास्मिरसम्म सपरिवार बसाइ सरिन् ।

सुनिताको आमाको छोराप्रतिको अगाढ प्रेम (छोरामाथि ‘बोक्सी’ लाग्ने सोच), आशक्ति, छोराको सुरक्षित जीवन र दीर्घायुको चाहना अन्धविश्वासको जगमा उभिएको थियो । त्यही अन्धविश्वासले उनको परिवार दैलेखबाट सुर्खेत झ-यो । त्यहाँ उनको बाबुको बादी महिलासँग रहेको सम्बन्धबाट अलग्याएर परिवार टुट्न नदिने हेतुले पुनः उनीहरू भारतको जम्मुमा पुगे । जुन छोराको भविष्य र सुरक्षाको खातिर उनको परिवार बसाइँ सरेको थियो, त्यही छोरा बेपत्ता भए । सुनिता आफ्नै घरमा बलात्कृत भइन् । समाजको लाञ्छना त छँदै छ, बलात्कारी पुरुष र त्यही पुरुषकै पक्षमा उभिने समाजबाट छुटकारा पाउन पुनः उनको परिवार त्यहाँबाट अन्तै बसाइँ सर्न बाध्य पारिइए । छोराको खोजीमै उनीहरू कुल्लु, मनाली पुगे । बलात्कारबाट रहन गएको बच्चा सुनिताले त्यहीँ जन्माइन् । 

पुरुषको तुलनामा महिलाहरू बढी बेचिइनुको पृष्ठपोषक थुप्रै हुन्छन् । सुनिताले आफू बेचिइनुमा मुख्यतः समाज र परिवारमा अभ्यासमा रहेको गहिरो लैंगिक विभेद, अन्धविश्वास (छोराछोरीमाथि बोक्सी लाग्ने) विपन्न आर्थिक अवस्था, जीविकोपार्जनको राम्रो विकल्पको खोजी, स्थायी बसोवासको अभावमा हुने बसाइ–सराइँले उत्पन्न कठिन परिस्थिति, अव्यवस्थित र नाजुक पारिवारिक स्थिति र सम्बन्धहरूजस्ता कारणहरू दर्शाएकी छिन् ।

एक्कासि हराएको दाजुको खोजीको क्रममै दलालमार्फत बच्चासहित बेचिइएकी छिन् । जबरजस्ती सुनिताबाट उषा बनाइएकी छिन् । भावना, संवेदना, रिसराग, वेदना, विवेक सबै कुरा लुकाएर ग्राहकको यौनतुष्टिमा तम्तयार रहने यान्त्रिक शरीरमा रूपान्तरित भई बाँचेकी छन् । उषाका रूपमा उनले भोगेको अनुभवकथामा एक महिलाको अस्मिता र यौनिकतामाथि नियतवश हुने वा गरिने हदैसम्मको प्रहार र निश्चित स्वार्थका लागि गरिने बलजफ्ती प्रयोगको चरम अवस्थाको चित्रण भेटिन्छ । 

सुनिताको अनुभवले भन्छ, बेचिनेको मात्रै एकतर्फी जोडबलले फुत्किन असम्भव प्रायः छ । त्यहाँको निर्जीव भौतिक संरचनाको घेराबन्दी देखावटी हुन्छन् । डर, त्रास र अविश्वासको माहोल, व्यवसाय सञ्चालनका लागि खडा भएका दृश्यअदृश्य सञ्जाल र घेराबन्दी, व्यवसाय सञ्चालनार्थ परिचालित हरेक मानिस र तिनको अमानवीय क्रूर यातना, जंगली स्वभाव आदि त्यहाँ अजंगका खतरनाक पर्खाल बनाइएको हुन्छ ।

प्रहरीको छापा पर्दा नाबालिकको रूपमा उनी उद्धारमा परिन् । 
झापा आन्दोलनबाट राजनीतिक जीवन थालेकी गौरा प्रसाईंको आत्मकथामा भने बेचिइसकेपछि निकै चलाखीपूर्ण तरिकाले सुरक्षाका विभिन्न भौतिक संरचनाहरू पार गर्दै, परिचालित मानिसलाई छक्याउँदै फुत्किएको अनुभव छ । बेचिइएका महिलाका केही समान र केही फरक व्यक्तिगत अनुभव छन् । सुनिता, गौरा र चरिमाया तामाङलाई अचेत बनाई बेचिइएको थियो । 

जुनसुकै अवस्था र तरिकाले बेचिइए पनि फुत्किइहालेको खण्डमा परिवार र समाजको अवहेलना, दुव्र्यवहार, संकीर्ण मानसिकता र पूर्वाग्रही दृष्टिकोण खेप्नुको विकल्प भने कोही एकजना महिलासँग पनि छैन । त्यहाँको पुलिसद्वारा उद्धार गरिएको लामो समयपश्चात् मुस्किलले नेपालको भूमिमा टेक्छिन्, उत्सुक र खुसी हुँदै । उनको खुसी क्षणभरमै टुट्छ ।

मुम्बईबाट फर्केपछिको दुई दशक सुनिता तिनै तिरस्कार र दुव्र्यवहारसँग जुधिन् । अन्य १२ जनासहित सुनिता नेपाल फर्किएपछि एकजुट भई बेचबिखनविरुद्ध उठ्ने साहस बटुलेर शक्ति समूह गठन गरे । त्यसपश्चात् मात्रै सुनिताले स्वेच्छा र सन्तोषले बाँचेको पलहरू भेटिन्छ । त्यसअघि उनको जीवनका सबै मोड र घुम्तीहरू अरूकै निर्णयमा, हित–स्वार्थ र इच्छामा मोडिएका थिए । शक्ति समूहमार्फत संगठित कामकाज गर्दै जाँदा समूह र सुनिताको पहिचान र ख्याति चुलिँदै गयो । सोहीअनुरूप समाजको तिरस्कारविरुद्ध लड्दै सकारात्मक मोडमा बिट मारेको सुनिताको आत्मकथा प्रेरणादायी भावमा प्रस्तुत छ ।


सुनिताको ‘आँसुको शक्ति’ले नेपाली राज्य, समाज र नेपालको नियम कानुनसँग प्रत्यक्ष गाँसिने केही पक्षहरूमा प्रश्न गर्ने पर्याप्त ठाउँ दिन्छ । शक्ति समूह दर्ताको क्रममा सरकारी अधिकारीहरूले बडो उदारताका साथ सुझाए, ‘तिमीहरू त बिछट्टै राम्री पनि रहेछौ । कलिला केटीहरू रहेछौ । यसो मसाज पार्लर, डान्स बार या क्याबिन रेस्टुराँतिर लागे पो काम पनि पाइन्थ्यो, टन्न पैसा पनि कमाइन्थ्यो त ! संस्था चलाउन त धेरै गाह्रो हुन्छ मैया हो । पिएचडी गरेकाले मात्र संस्था चलाउने हो ।

भो, दुःख नगर नानी हो’ (पृ. ११४) । यस्तो आदेशात्मक सुझाब जसको मुखबाट निस्केको भए पनि यसले हाम्रो समाजको बहुसंख्यक कथित विवेकशील, सभ्य–श्लील, पढेलेखेका, गन्नेमान्ने, पहुँचवालादेखि सर्वसाधारणको समेत दृष्टिकोण समेट्छ । यो दृष्टिकोण हाम्रो समाजको एउटा यस्तो प्रवृत्ति हो । जुन प्रवृत्तिले रूप, यौवन, शरीर र यौनको सीमित घेराभित्रै राखेर महिलालाई एक वस्तुको हैसियतमा तौलिन्छ ।

त्यो घेराबाहिरको फराकिलो संसारमा उनीहरूलाई प्रवेश गर्न र प्रवेश गरिहाले पनि टिक्न निषेध गर्छ । मुम्बईको कोठीबाट उद्धार गरिएका नेपालका किशोरी/महिलालाई नेपाल ल्याउनमा राज्यले गरेको बेवास्ता, शक्ति समूह दर्ता गर्दा र सुनिताले नागरिकता लिनका लागि लामो समय खेपेको सास्ती राज्यस्तरबाट हुने त्यस्तो निषेधका उदाहरण हुन् । जसले विशेष पहिचान भएका महिलालाई फराकिलो वृत्तमा प्रवेश गर्न सोझै अंकुश लगाउँछ । 

पुस्तकमा पुरुषप्रधान समाजमा महिलाको यौनिकतामाथि परिवार, समाज, सञ्चार र राज्यको मानसिकता र व्यवहारको प्रतिबिम्ब छ

२०६३ पछि उल्लेख्य मात्रामा उत्पादन एवं प्रकाशन हुँदै आएको महिलाको आत्मकथा, जीवनी र संस्मरण घटना प्रधान छन् । थुप्रै संवेदनशील लैंगिक, यौनिक अन्तरसम्बन्ध र मातृत्वका विशिष्ट पाटाहरू घटना विवरणको लस्करमा छ्वास्स छोइएका वा लुकाइएका हुन्छन् । सुनिताको आत्मकथाले पनि त्यही प्रवृत्ति पछ्याएको छ । उनले जीवनमा एकपछि अर्को गर्दै अनेकौँ अकल्पनीय घटनाहरू झेल्नुपरेकैले घटनाप्रधान आत्मकथा सिर्जना भएको हो । सम्झँदैखेरि मुटु हल्लाउने घटनाले उत्पन्न गर्ने वेदना, भावना, भावुकता, आक्रोश, निराशाजस्ता पक्षहरू आत्मकथामा नअटाउँदा जीवन भोग्ने व्यक्ति स्वयंको भोगाइको आंशिक प्रस्तुतिको बोध गराउँछ । 

बलात्कारद्वारा रहन गएको बच्चा सुनिताले विनाहिच्किचाहट जन्माउँछिन् । जबरजस्ती होस् या राजीखुसी जे भए पनि दुई विपरीत लिंगीबीच स्थापित हुने शारीरिक सम्बन्धको प्राकृतिक परिणामलाई समाज र परिवारले सकारात्मक रूपमा लिने वातावरण बनिसकेको छैन । बच्चा वा आमाको भन्दा पनि बच्चाको बाबुको पहिचान प्रमुख कुरा बन्ने गर्छ ।

सामाजिक मान्यताअनुरूप एउटी महिला तब गर्भाधारण वा सन्तानको हकदार मानिन्छे जब ऊ सामाजिक रूपमा कसैको श्रीमती हुन्छे । अविवाहित एक कुमारी महिलाले सन्तान जन्माउनु समाजमा कलंकित हुनु हो । बच्चाको आमाले बच्चाको बाबुको पहिचान खुलाउने र पुरुषले पनि ‘मेरो हो’ भन्ने छाप लगाइदिएमा त्यो कलंक छोपिने एउटा सामाजिक प्रचलन चलिआएको छ । यस्तो प्रचलनले जुनसुकै अवस्थामा गर्भाधारण भए पनि पुरुषको वीर्यको सर्वेसर्वा स्थापित गर्दै महिला र उसले जन्माएको बच्चालाई सोही पुरुषको मातहतमा बस्न बाध्य बनाउँछ । यी सब अवस्थाको सामना गर्न पुस्तकमा भनिएजसरी सुनितालाई सहज थियो ? 

आत्मवृत्तान्त वा जीवनीलाई विभिन्न घटनाक्रम, घटनाक्रमलाई प्रभावित गर्ने व्यक्ति, स्थान र परिवेशहरू, सत्यता पस्किने कला वा शैली र तिनलाई पुष्टि गर्ने विभिन्न सामग्रीको संयोजनमार्फत निश्चित स्वरूप दिने गरिन्छ । सुनिताले स्वेच्छाले बाँचेको कालखण्डयताका घटना पुष्टि गर्ने तस्बिरहरूले सुनिताको संघर्ष कथा थप सदृश्य बनाएको छ । पुस्तकमा रहेका अप्रासंगिक र धमिला तस्बिर भने असान्दर्भिक लाग्छन् । फितलो सम्पादन र घटनाप्रधान कथावस्तुको बाबजुद यो पुस्तक पठनीय छ । पुस्तकमा पुरुषप्रधान समाजमा महिलाको यौनिकतामाथि परिवार, समाज, सञ्चार र राज्यको मानसिकता र व्यवहारको प्रतिबिम्ब छ ।

लेखक  : सुनिता दनुवार
सम्पादक : टंक पन्त, कुसुम भट्टराई, इन्दुअंशु  
प्रकाशक : घोस्ट राइटिङ नेपाल प्रा.लि.
मूल्य : रु. ३००\-