• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भोगीराज चाम्लिङ
२०७६ पौष १२ शनिबार ०८:२६:००
रिपाेर्ट

शब्दकोशमा अशुद्धता

भाषा

२०७६ पौष १२ शनिबार ०८:२६:००
भोगीराज चाम्लिङ

कुनै बेला खत्रा साहित्यकार बन्ने भनेर शब्दकोशका कठिनभन्दा कठिन शब्द धुइँपताल खोजेर कण्ठस्थ गरिन्थ्यो । नबुझ्ने लेखियो भने ठूलो लेखक भइन्छ भन्ने बाल बुझाइ नि ! 
अहिलेजस्तो थिएन त्यो वेला । अहिले काठमाडौंबाट ६ देखि ८ घन्टामा पुगिन्छ हलेसी– मोटरबाइक या गाडीमा । पहिले–पहिले गाउँबाट दुई दिन हिँडेर उदयपुर जिल्लाको कटारी बजार झरिन्थ्यो अनि गाडीमा कोचाकोच भएर काठमाडौं पुगिन्थ्यो । त्यति दुर्गम गाउँमा पुस्तकालय अथवा शब्दकोश हुने कुरै भएन । त्यसैले, हामीले काठमाडौं सहरबाट झिकाएका थियौँ एक थान नेपाली बृहत् शब्दकोश । 

त्यो शब्दकोश हात परेको दिन उखरमाउलै हुने गरी खुसी भएर पटक–पटक किताब सुमसुम्याएका थियौँ । त्यो पुस्तक आफूले एक रात लैजान पाए हुन्थ्यो भन्ने मनमा लोभ थियो । तर, फलानाको जिम्मामा राख्ने भन्ने टुंगो भएकाले त्यसो भन्न पनि सकिने कुरा थिएन । ‘मनको वह कसैलाई नकह’ भनेझैँ भएको थियो । अहिले पनि त्यो पुस्तक सायद हाम्रो गाउँको एकजना दाइको घरमा सुरक्षित नै होला । 

शब्दकोशकै कुरा गर्दा एक बखत खत्रा अंग्रेजीबाज हुने भनेर अंग्रेजी–नेपाली शब्दकोश घोकेर पीठो बनाउने धुनमा पनि लागियो । बेँसीमा बस्दा गाई–बाख्रो गोठालो जाँदा त्यही शब्दकोश बोकेर गइन्थ्यो । दिनको दश शब्दका दरले कण्ठ गर्ने हो भने यति महिना या वर्षमा अंग्रेजी शब्दकोश पनि सिनित्तै पारिन्छ भन्ने ह्याउ पनि पालिएको थियो । केही दिनको अथक मिहिनेतपछि त्यो धन्दाबाट पनि पछाडि हटियो । शब्द त कण्ठ पारिन्थ्यो, तर प्रयोग नहुने भएपछि केही दिनमै अर्थ बिर्सिहालिँदो रहेछ भन्ने भएपछि त्यो अंग्रेजीबाज बन्ने प्रयास पनि निरर्थक सावित हुन पुग्यो । 

यो भयो शब्दकोशसँग जोडिएको पहिलाको कुरा । अहिले चाहिँ शब्दकोशबारे अलि फरक कोणबाट छलफल गर्ने रहर चलेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका आधिकारिक निकायबाट प्रकाशित शब्दकोशलाई सम्भवतः वकिलहरूले अदालतमा प्रमाणका रूपमा पेस गर्छन् । तर, शब्दकोशमै गलत अर्थ दिएर अथ्र्याइएको छ भने चाहिँ के हुन्छ ? त्यसलाई पनि अदालतले प्रमाण नै मान्छ या मान्नुपर्छ ? यस्ता केही कानुनी कुरा पनि छन् । यसबारे अर्कोतिर सामाजिक प्रश्न पनि छ किनभने गलत अर्थले चिज या समाजलाई गलत दिशामै डो¥याइरहेको हुन्छ । त्यसैले पनि शब्दकोशमा गल्ती हुनुले सिंगै समाज र राज्यको संयन्त्रसम्म प्रभावित हुन्छ । त्यसो हो भने प्रज्ञा–प्रतिष्ठानले अहिलेसम्म ‘संशोधित र परिवर्धित दशौँ संस्करण–२०७५’ प्रकाशन गरिसकेको शब्दकोशबारे किन छलफल नगर्ने त ? यो सुझावका रूपमा प्रज्ञा–प्रतिष्ठानमा बुझाउँदा पनि हुने हो, तर लेखकै रूपमा प्रकाशन गर्दा सम्बन्धित अरूहरूलाई पनि गल्ती केलाएर शब्दकोशलाई बढीभन्दा बढी शुद्ध बनाउन मद्दत गर्न घचघच्याउनेछ भन्ने मेरो आशय हो । यससम्बन्धी तीन शृंखलामा छलफल गर्ने मेरो योजना हो । यसपटकचाहिँ किराँतसँग सम्बन्धित अपूर्णता र अशुद्धि औँल्याइएको छ । 

एक, किराँत : नेपाली बृहत् शब्दकोश (२०७५) मा किराँतको परिभाषा यसरी गरिएको छ– १. पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँत नामले प्रसिद्ध एक प्रदेश; २. उक्त प्रदेशमा बसोवास गर्ने प्राचीन एक जाति; राई–लिम्बू; ३. हिमवत्खण्डमा उल्लिखित सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति (पृष्ठ २२४) । यससँगै सम्बन्धित छ सुनुवारको परिभाषा । शब्दकोशमा सुनुवारबारे यसो भनिएको छ– सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेको आफूलाई सूर्यवंशी भन्ने क्षत्रीयसमान एक जाति (पृष्ठ १२८७) । 
शब्दकोशमा किराँत र किराँत प्रदेशबारे गरिएको उल्लेखित चारमध्ये तीनवटा परिभाषा अपुरो छ भने सुनुवारबारेको परिभाषा गलत छ । माझ किराँत र पल्लो किराँतबारे उल्लेख गरिएको छ, तर वल्लो किराँतबारे छुटाइएको छ । इतिहासका कागजपत्रमा यत्रतत्र वल्लो किराँत भनेर उल्लेख पाइँदापाइँदै किन यस्तो भयो ? आश्चर्यजनक छ । सामान्य तर्कका हिसाबले हेर्दा वल्लो र पल्लो भएपछि मात्र माझ हुने हो, त्यसैले वल्लो किराँत नभईकन माझ किराँत हुने कुरै भएन । अथवा पल्लो किराँत, माझ किराँत भएपछि वल्लो किराँत नहुने कुरै भएन । तर, शब्दकोशमा उल्लेख छैन । 

नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशले किराँतीहरूलाई अपूरो र गलत रूपमा पनि चिनाएको छत्यस्तै, शब्दकोशले राई र लिम्बूलाई मात्र किराँत भनेको छ 

 

पनि पूर्ण सत्य होइन । अहिलेसम्म याक्खा, सुनुवारले पनि आफूलाई किराँत भनेर चिनाइरहेका छन् । सुनुवारहरू हिजोआज आफूलाई कोइँच भन्न थालेका छन् । केहीले आफूलाई राई पनि भन्ने गरेका छन् । आफूलाई सम्पूर्ण रूपमा किराँत भन्ने सुनुवार (कोइँच)लाई शब्दकोशमा ‘क्षत्रीयसमान’ भनेर कसरी भनियो ? जबकि मौखिक ज्ञान परम्परा मुन्धुम÷मुक्दुम, वंशावली प्रणाली पाछा, भाषालगायत सबै कुराले सुनुवार (कोइँच)हरू किराँत हुन् । मौखिक ज्ञान परम्परामा आधारित मुक्दुमअनुसार सुनुवार (कोइँच)हरू खुवालुङ क्षेत्रमा आएपछि राई–लिम्बूहरूबाट अलग भएका हुन् । सुनकोसी नदी तरेर अरुण, तमोर र दूधकोसी पछ्याएर बसोवास गर्नेहरू राई, लिम्बू भए । सनुवार (कोइँच)का पुर्खाहरू सुनकोसी पछ्याएर वल्लो किराँत क्षेत्रमा बसोवास गरे । यस्ता अनेकौँ अकाट्य तथ्यहरू छन् जसले सुनुवार (कोइँच)हरू किराँत हुन्, शब्दकोशले भनेजस्तो ‘क्षत्रीयसमान’ होइनन् । 

शब्दकोशमा संस्कृत ग्रन्थ ‘हिमवत्खण्ड’को हवाला दिँदै भनिएजस्तै किराँतहरू आदिम पहाडी जाति त हुन्, तर सिकारबाट मात्र जीविका चलाउने जाति होइनन् । नेपालमा किराँतहरूले नै केही अन्नको खेती सुरु गरेका छन्, जुन हुन्– सायुङ्मा (सामा), कागुनी, कोदो र घैया । पितृलाई नयाँ अन्न चढाउने छौवालगायतका संस्कार गर्दा यी अन्न अनिवार्य चढाउनुपर्छ । यी अन्न आदिम बजुहरूले खेती गर्न सुरु गरेका हुन् भनेर मुन्धुममा उल्लेख पाइन्छ । र, पुराताŒिवक खोजीले पनि कागुनी खेतीको सुरुवात चीन–तिब्बती भाषीहरूले गरेको स्पष्ट गरिसकेको छ । अहिले पनि किराँत–राईहरू साकेला सिली (नृत्य) गर्दा भष्मे फाँडेर खेती गरेको नृत्य गर्छन् । यसले पनि किराँतीहरू सिकारी मात्र थिएनन्, आदिम समयमै पनि भष्मे फाँडेर खेतीपाती गर्थे भन्ने देखिन्छ । 

दुई, मुन्दुम र मुन्धुम : शब्दकोशमा मुन्दुम र मुन्धुम दुवै शब्द प्रविष्ट गरिएको छ । मुन्दुम शब्दको अर्थ लेख्दा मुन्धुम मात्र भनिएको छ । र, मुन्धुमको परिभाषाचाहिँ यसरी दिइएको छ– लिम्बू जातिको धर्मशास्त्र (पृष्ठ १०२६) । यो परिभाषा पनि अपुरो नै छ । मुन्दुम÷मुन्धुम लिम्बूहरूसँग मात्रै सम्बन्धित छैन, सिंगै किराँती समाजमा प्रचलित मौखिक ज्ञान हो जुन धामीहरूले, नधामी मुन्दुमविद्हरूले विभिन्न संस्कारमा गायन गर्ने गर्छन् । यो एकदेखि अर्को पुस्तामा मौखिक रूपमा हस्तान्तरण हुँदै आएको ज्ञान हो । मुन्दुमलाई लिम्बूले मुन्धुम, सुनुवार (कोइँच)हरूले मुक्दुम भन्छन् । किराँत राई समुदायभित्र चाहिँ भाषिक समूहअनुसार मुन्दुम, मुदुम, मुद्दुम, मुत्दुम, मिन्दुम आदि भनिन्छ । शब्दकोशमा भनिएजस्तो मुन्दुम धर्मशास्त्र मात्र होइन, यो किराँतीहरूले हजारौँ वर्षदेखि आजसम्म आर्जन गरेको ज्ञानको भण्डार हो । मुन्दुममा किराँतीहरूको दार्शनिक दृष्टिकोण पाइन्छ । मुन्दुममा किराँतीहरूको आदिमदेखि आजसम्मको बसाइँसराइको वर्णन पाइन्छ । मुन्दुममा उनीहरूको इतिहासका कतिपय पक्षहरू उल्लेख भएको हुन्छ । उनीहरूको गीत–संगीत र कलासम्बन्धी ज्ञानबारे उल्लेख भएको पाइन्छ । वनस्पति, पशुपक्षी, खेतीपाती, सिकारलगायत संस्कारसम्बन्धी अनेकौँ ज्ञानबारे जान्ने माध्यम मुन्दुम हो अर्थात् मुन्दुम÷मुन्धुम किराँतीहरूको मौखिक ज्ञान हो । 

तीन, सनातन र सनातन धर्म : शब्दकोशमा यी दुई शब्दको अर्थ यसरी दिइएको छ– १. धेरै अघिदेखि चलिआएको; परापूर्वदेखिको; प्राचीन । ३. धेरै पहिलेदेखि चल्दै आएको व्यवहार (पृष्ठ १२२६–२७) । त्यस्तै ‘सनातन धर्म’बारे यस्तो अर्थ दिइएको छ– १. आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म । २. वेद, पुराण, तन्त्र, मूर्तिपूर्जा आदिद्वारा समर्थित अचेल चलेको हिन्दू धर्म (पृष्ठ १२२७) । सनातन र सनातन धर्मको यो परिभाषा गलत छैन, तर अधुरो छ । किनभने, यो परिभाषामा एउटा धर्मलाई मात्र समेटिएको छ । यदि सनातनको अर्थ परापूर्वदेखि, प्राचीनकालदेखि चलिआएको मानवीय धर्म हो भने आर्यहरूले मान्ने धर्म मात्र होइन किराँत, तामाङ, गुरुङ इत्यादि समुदायको मौखिक ज्ञानमा आधारित धर्म पनि उत्तिकै आदिम र प्राचीन हो । वेदमा आधारित हिन्दू धर्म भन्नु मौखिक ज्ञानमा आधारित भन्नु हो । किराँतलगायतको समुदाय त अहिले पनि मौखिक ज्ञानमै आधारित छन् । त्यसैले किराँतीहरूको मुन्दुममा आधारित जुन धर्म–संस्कार परम्परा छ त्यो पनि सनातन नै हो । 

किराँतीहरूको मुन्दुममा सनातन र सनातनताबारे प्रशस्तै उल्लेख भएको पाइन्छ । मृत्युसंस्कारमा गायन गरिने मुन्दुमको दुई टुक्रा रिसिया (श्लोक) उदाहरणका रूपमा दिऊँ जुन हलेसी तुवाचुङ नगरपालिका (खोटाङ), वाखिलाका धामी विश्वहाङ चाम्लिङबाट संकलन गरेको हुँ । मुन्दुममा प्रस्टै भनिन्छ– इउ वारिला इहवालाम मोबुमिवा कुपुमिवा आ हे हे हे
(उहिले–उहिले सनातनदेखि चलिआएको मुदुमको बाटो पछ्याउँदै मान्छेको धामी मोबुमी अर्थात् कुक्कु चराले कुपुमीले आ हे हे हे) 
आ हे हे हे लैतिमिच्योउ आ हे हे हे सुर्लुमीच्योउ, दोँलोपाच्योउ (आ हे हे हे सनातनदेखि पुर्खाहरूले मानिल्याएको छुइ (पितृ) लैतिमीज्यूहरू, आ हे हे हे आदिम मानवधामी सुर्लुमीज्यूहरू, सुर्लुमीको साथमा हिँड्ने ढोले अनि संस्कारका साथी–सहयोगी दोँलोपाज्यूहरू) 

त्यसैले मौखिक ज्ञानमा आधारित किराँत धर्म पनि सनातन धर्मभित्र पर्ने प्रस्ट छ जुन शब्दकोशले छुटाएको छ । 
चार, धामी : शब्दकोशमा धामीको अर्थ यसरी दिइएको छ– १. भूत, प्रेत, बोक्सी, डाइनी, लागो आदिको आशंकामा सो रोग निको गराउन शरीरमा देउदेउता वा भुतप्रेत आदिको प्रवेश गराएर तन्त्रमन्त्र प्रयोग गरी झारफुक गर्ने व्यक्ति; झाँक्री । २. धिमाल जातिको ग्रामदेवताको पुजारी (पृष्ठ ६५०) । यो परिभाषाले पनि धामीलाई न्यायपूर्वक चित्रण गर्न सकेको छैन । यहाँ उल्लेख भएको एउटा काम धामीले अवश्य गर्छ, तर यति मात्रै काम गर्दैन । धामीले पितृपूजा गर्छ । धामीले प्रकृतिको पूजा गर्छ । धामीले मुन्दुम गायन गर्छ । धामीसँग जडीबुटीको विशेष ज्ञान पनि हुन्छ । मुख्यतः धामी आदिम समयमा समाज र समूहको अगुवा हो, नेता हो । अहिले संस्कार नायक हो । आदिम समाजको प्रथम बुद्धिजीवी हो । अहिले पनि धामीले बुद्धिजीवीकै काम गर्छ, बुद्धिकै काम गर्छ । शब्दकोशको परिभाषाले धामीलाई अन्धविश्वाससँग मात्र जोडेर हेर्न खोज्छ, तर कुनै पनि हालतमा धामी यति मात्रै होइन । धामी नभएको भए हजारौँ वर्षअघि विकास भएको ज्ञान अहिलेसम्म जीवित रहने नै थिएन । त्यसैले, धामीहरू ज्ञानका संवाहक पनि हुन् र व्याख्याता पनि हुन् । उनीहरूले नै आदिम समयदेखि अहिलेसम्म प्रचलित ज्ञानको व्याख्या गर्ने गरेका छन् । मूलतः किराँती समाजमा विद्यमान धामीहरूलाई यस्तो देखिन्छ । 

पाँच, जिरेल : शब्दकोशमा जिरेलबारे भनिएको छ– नेपालको जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लाको आसपासमा बस्ने एक हिमाली जाति र तिनको भाषा (पृष्ठ ४६२) । 
छ, थामी : शब्दकोशमा थामीबारे भनिएको छ– जनकपुर र सगरमाथा अञ्चलका पहाडी भूखण्डमा रहने एक अल्पसंख्यक जाति र त्यस जातिको भाषा (पृष्ठ ५८४) । 
सात, याक्खा : शब्दकोशमा याक्खाबारे भनिएको छ– अरुणपूर्व बसोवास गर्ने आदिवासी जनजाति (पृष्ठ १०४६) ।
आठ, सुरेल : शब्दकोशमा सुरेलबारे भनिएको छ– पूर्वी नेपालमा बसोवास गर्ने एक जाति (पृष्ठ १२९१) । 
नौ, हायु : शब्दकोशमा हायुबारे भनिएको छ– नेपालको पूर्वी पहाडी भागमा बसोवास गर्ने एक जाति (पृष्ठ १३४२) । 

यी पाँच जातिबारे शब्दकोशमा जे भनिएको छ, त्यो सत्य नै हो । तर, मुख्य कुरा भन्न छुटाइएको छ । उल्लेखित जिरेल, थामी, सुरेल र हायुहरू पनि किराँती समुदायभित्रै पर्छन् । उनीहरूमध्ये कतिपय धेरै पहिलादेखि, केहीले केही समयअघिदेखि आफूलाई किराँतका रूपमा प्रस्तुत गर्ने गरेका छन् । याक्खाले त आफूलाई किराँतका रूपमा चिनाएको धेरै समय भइसक्यो । उनीहरूको किराँत याक्खा छुम्मा नामक सामाजिक संस्था नै रहेको छ । यति हुँदाहुँदै पनि याक्खालाई अरुणपूर्वको आदिवासी जनजाति मात्र भनिएको छ । 

उल्लेखित नौवटा उदाहरण हेर्दा स्पष्ट हुन्छ– नेपाली बृहत् शब्दकोशले किराँतीहरूलाई अपुरो र कतिपय अवस्थामा गलत रूपमा पनि चिनाइरहेको छ । अबका संस्करणमा यसलाई सच्याइनेछ भन्ने आशा छ ।