• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अनुप बराल, रंगकर्मी
२०७६ पौष १२ शनिबार ०८:५८:००
यात्रा

विनाउद्देश्य पोखरा फर्किएको होइन : अनुप बराल, रंगकर्मी

२०७६ पौष १२ शनिबार ०८:५८:००

मुम्बईमा नाटक पढ्नुभयो । काठमाडौंमा संघर्ष गर्नुभयो । अहिले पोखरा फर्किनुभएको छ । आफ्नै गृहनगर फर्किन केले प्रेरित ग-यो तपाईंलाई ? 
मलाई पहिलेदेखि नै पोखरा फर्किऊँ लागिरहन्थ्यो । जस्तो कि मेरा बुबा (दुर्गा बराल) पोखरा बसेरै कार्टुन बनाइरहनुभएको छ । तीर्थ श्रेष्ठ पोखरा बसेरै कविता लेखिरहनुभएको छ । म पोखरा बसेरै किन रंगमञ्चमा काम गर्न सक्दिनँ ? यो प्रश्न आफैँसँग धेरै गर्थेँ । एनएसडी (नेसनल स्कुल अफ ड्रामा) पढ्न जाँदादेखि नै नेपाली रंगमञ्चलाई सिनेमा र टेलिभिजनभन्दा कसरी भिन्न बनाउन सकिन्छ भन्नेबारे सोच्थेँ । अनि घरीघरी पोखराको सांस्कृतिक धरातलमा टेकेर रंगमञ्चमा केही नयाँ गर्न सक्छु भन्ने पनि लाग्थ्यो । नाटकबाट सांस्कृतिक पक्ष झल्काउन सक्छु भन्ने लाग्यो । जस्तैः पोखरा सांस्कृतिक विविधताले भरिएको सहर हो । यहाँको घाटुनाच, बाघभैरवनाच सानैदेखि देखेको छु, महसुस गर्न पाएको छु । यसमा मेरो पहुँच सहज हुने देखेँ । हाम्रो अभिव्यक्तिमा नेपालीपन कसरी ल्याउने ? हाम्रो आफ्नो पहिचान कसरी बनाउने ? यी प्रश्नहरू महत्वपूर्ण लागे । यही प्रश्नहरूको उत्तर खोज्न म आफ्नै माटोमा उभिन आइपुगेँ । 

पोखरा फर्किएपछि तपाईंको रंगकर्मको यात्रा ओझेल त पर्ने होइन ? 
म विनाउद्देश्य पोखरा फर्किएको होइन । फेरि सामाजिक सञ्जालले विश्वलाई निकै नजिक बनाइदिएको छ । पहिलेजस्तो संघर्ष गर्न केन्द्रमै जानुपर्छ भन्ने रहेन अब । अहिले आफ्नै ठाउँमा बसेर पनि विश्वबजारसम्म पुग्न सकिन्छ । म काम गरिरहेको छु । यहाँ काम गर्ने वातावरण पनि छ । आफ्नै जमिनमा भए पनि थिएटर खोलेर काम गर्ने विचारमा छु । 

अहिले नाटकहरूमा विविधता आउन सकिरहेको छैन पनि भनिन्छ । तपाईं त्यही विविधता खोज्न पोखरा आउनुभएको हो ?
नेपाली रंगमञ्चमा विविधता आउन सकेन । काठमाडौंमा मञ्चन हुने नाटक नै मानकजस्तो बन्यो । विविधता भएन । उस्तै उस्तै नाटकहरू मञ्चन भइरहेका छन् । पूर्वदेखि पश्चिमसम्मको मौलिकता टिप्न सक्नुप-यो । जस्तैः पोखरामा काम गरिरहेको वेला जुम्लाको हीरा बिजुलीले बोलाएमा म त्यहाँ जान सकूँ । त्यहाँको मौलिकतामाथि काम गर्न सकूँ । नेपाली रंगमञ्चको सङ्लो अनुहार नै मौलिकता र विविधतामा भेटिने पात्र हुन् । अब सबै साथीले त्यसमा काम गर्नुपर्छ । 

तपाईं पोखरा आउँदा काठमाडौंमा सहकार्य गरिरहेका टिम, प्रविधि र दर्शक छुट्ने हुन् कि जस्तो लाग्दैन ?
काठमाडौंमा दर्शक संख्या बाक्लो हुन्थ्यो । टिमको विश्वास पनि ममाथि थियो । यहाँ सबै थोक नयाँ हुनेछ । अलिकति संघर्ष गर्नैपर्छ । मलाई अझै पनि पोखरा पूरै सहर भइसकेकोजस्तो लाग्दैन । केही समय लाग्ला । जस्तैः दर्शक बनाउन समय लाग्छ । कलाकार बनाउन समय लाग्छ । थिएटरसँगै ड्रामाको स्कुल नै चलाउँछु अब । अलिकति खर्च र समय लाग्छ । दुई वर्षभित्र पोखरामा नाटकको छुट्टै माहोल हुनेछ । 

हाम्रो अभिव्यक्तिमा नेपालीपन कसरी ल्याउने ? हाम्रो आफ्नो पहिचान कसरी बनाउने ? यी प्रश्नहरू महत्वपूर्ण लागे । यही प्रश्नहरूको उत्तर खोज्न म आफ्नै माटोमा उभिन आइपुगेँ ।

 

दुई वर्ष यहाँ लगानी गर्दा पछाडि परिन्छ जस्तो लाग्दैन ?
कलाकर्म मिडियामा देखिएपछि मात्रै काम भइरहेको छ भन्ने लाग्न सक्छ । तर, यो सत्य होइन । दुई वर्ष लगाएर ‘थाङ्ला’ नाटक गर्दा धेरैले ‘अनुप बराल हरायो’ पनि भने । ‘नाटक गर्दैन कि क्या हो ?’ पनि भनेका थिए । तर, काम त गरिरहेको नै थिएँ । जब नाटक मञ्चन भयो, धेरैले जवाफ पाए । 

तपाइका योजनाहरू पूरा भएनन् भने आमाबुबाका लागि पोखरा फर्केजस्तो पनि हुने भयो, होइन त ? 
योजना पूरा हुन्छ । घरपरिवारकै आसपास बसेर काम गर्दा झन् धेरै साथ र सहयोग पाउनेछु । परिवारबाट माया, हौसला र ऊर्जा मिल्नेछ नै । यसमा ढुक्क छु । यहाँसम्म आइपुग्न मैले तीस वर्ष लगानी गरेको छु । तीस वर्षको अनुभव लिएर पोखरा फर्किएको छु । 

आफ्नै थलो फर्किँदाका फाइदाहरू के–के हुँदा रहेछन् ? 
यहाँ स्थानीय स्रोत–साधनलाई प्रयोग गर्न पाइन्छ । स्थानीयस्तरमा बसेर पनि केन्द्रीयस्तरमा आफ्नो कला देखाउन सकिन्छ । भोलि कतैबाट सहयोग पाइनँ भने पनि मसँग विकल्पहरू छन् । आफ्नै जग्गामा थिएटर खोलेर भए पनि काम गर्नेछु । त्यसैले गाउँ फर्किँदा झन् समृद्ध हुन्छु जस्तो लाग्छ ।

गाउँ फर्किन सजिलो छ, तर गाउँमा टिकिरहनचाहिँ गाह्रो छ पनि भनिन्छ नि ?
सबैभन्दा ठूलो सन्तोष हो । अरू ठाउँमा बस्दा धेरै कुरा मिस गरिरहेको छु । त्यो घाटुनाच हेर्न नपाएको धेरै भइसक्यो । अभावमा पनि ती चिजहरू बचाउन सकियो भने म बाँच्न सक्छु । र, यहाँका अनेक कला र संस्कृतिमाथि काम गर्न पाएँ भने आफूलाई टिकाउन सक्छु । केवल मलाई साथ दिने हात र दिमाग उस्तै–उस्तै पाइदिए हुन्थ्यो । 

पोखरामा रंगमञ्च बनाउन राज्यबाट कस्तो भूमिकाको अपेक्षा राख्नुभएको छ ? 
पहिलो त प्रादेशिक सरकारले सहयोग गरिदिनुप¥यो । स्थानीय सरकारले कला, सांस्कृतिक पक्षलाई समेट्न सक्नुप¥यो । काठमाडौंमा थिएटरहरूको उत्थान र पतन देखेको छु । रंगमञ्च आफैँमा उद्योग बन्न सकिरहेको छैन । मैले पोखराबाट सुरु गरिरहेको छु । सबै प्रदेशमा रंगमञ्च बन्नुपर्छ । स्थानीय सरकारले रंगमञ्चलाई प्राथमिकतामा राख्नुपर्छ । जर्मनीमा दुई सय थिएटरहरू जनताले तिरेको ट्याक्सबाट सञ्चालन हुन्छन् । व्यावसायिक पनि बनाउनुपर्छ । 

प्रादेशिक सरकारले सहयोग गरेमा पोखरामा थिएटर खुल्न कति समय लाग्ला ? 
स्थानीय सरकारले सहयोग गर्न हिचकिचाएन भने यहाँ नाटक घर खुल्न कम्तीमा २ वर्ष लाग्छ । नाटकलाई स्कुलस्तरसम्म पु¥याउन अलिकति समय लाग्ला । पोखरामा अब खोलिने थिएटर त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त ड्रामा स्कुल हुनेछ । त्यसका लागि मेरो कोसिस रहनेछ ।