• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नीरज लवजू
२०७६ पौष १२ शनिबार ११:११:००
इतिहास

सन् २०१९ : जो बिदा भए

२०७६ पौष १२ शनिबार ११:११:००
नीरज लवजू

सन् २०१९ लाई फर्केर हेर्दा यो वर्ष संसारले सिर्जनात्मक कला क्षेत्रका केही मूर्धन्य व्यक्तित्व गुमायो । उनीहरूको निधनले संसारको कला–साहित्य र विचारको क्षेत्रमा क्षति पुगेको छ । तथापि जो बिदा भए, उनीहरूले छाडेर गएका पाइलाका डोब भने संसारले सधैँ सम्झिरहनेछ  । 

टाेनी माेरिसन  (१९३१-२०१९)

सन् २०१९ मा संसारबाट बिदा भएका साहित्यकारहरूमध्ये एक हुन्, अमेरिकी साहित्यकार टोनी मोरिसन । नोबेल साहित्य पुरस्कार पाएकी अफ्रिकी–अमेरिकी लेखिका मोरिसनको अगस्ट ५ मा निधन भयो । उनको खास नाम क्लोई एन्थोनी उल्फर्ड थियो । होवार्ड विश्वविद्यालयमा पढ्दाताका उनले आफ्नो नाम टोनी मोरिसन राखिन् र त्यही नाममा धेरै विख्यात उपन्यासहरू लेखिन् । 

सन् १९५४ मा कोर्नेल विश्वविद्यालयबाट उनले अंग्रेजी साहित्यमा एमए गरिन् । उनले विलियम फकनर र भर्जिनिया उल्फका कृतिमा आत्महत्याको प्रसंगमाथि आफ्नो एमए शोधपत्र लेखिन् ।  प्राध्यापनस“गस“गै उनी लेखनमा लागिन् । सन् १९६९ मा मोरिसनको पहिलो उपन्यास प्रकाशित भयो– द ब्लुएस्ट आई । उनका अरू धेरै उपन्यासमा जस्तै ‘द ब्लुएस्ट आई’मा पनि उन्नाइसौँ शताब्दी र त्यसपछि अमेरिकामा अफ्रिकी–अमेरिकी महिला र पुरुषले भोग्नुपरेको मनोवैज्ञानिक र सामाजिक जीवनको चित्रण गरेकी छिन् । दासता र त्यसको आर्थिक तथा मनौवैज्ञानिक पीडा उनले उपन्यासभरि पोखेकी छिन् । त्यतिन्जेल उनको पति हेरोल्ड मोरिसनस“ग सम्बन्धविच्छेद भइसकेको थियो । सम्बन्धविच्छेदको प्रतिच्छाया उनले आफ्ना पात्रमा उतारेकी छिन् ।

सन् १९७३ मा प्रकाशित उनको ‘सुला’ उपन्यास पनि अफ्रिकी–अमेरिकीहरूकै विषयमा आधारित थियो । मोरिसनका ‘बिलभेड’(१९८७) नेपाली पाठकमाझ पनि लोकप्रिय उपन्यास हो । सन् १९७७ मा उनको अर्को चर्चित कृति ‘सङ अफ सोलोमन’ प्रकाशित भयो । सन् १९७४ मा प्रकाशित ‘द ब्ल्याक बुक’मा अमेरिकामा अफ्रिकी–अमेरिकीमाथिको दासता, बर्बरता र अमानवीय दमनका भयानक दुष्प्रभाव उधिनिएको छ । मोरिसनका कृतिहरू वास्तवमा अफ्रिकी महादेशबाट दास बनाई अमेरिका ल्याइएका मानिसहरूमाथि अत्याचारको इतिहास हुन् । 

अमेरिकामा उठ्ने न्यायपूर्ण आन्दोलनका उनी सक्रिय अभियन्ता पनि थिइन् । अफ्रिकी–अमेरिकी जनताको नागरिक अधिकार आन्दोलनका उनी अगुवामध्ये थिइन् ।

मार्टा हार्नेकर (१९३७-२०१९)

सन् २०१९ मा संसारले गुमाएको अर्की एक मूर्धन्य चिन्तक एवं लेखक हुन्– मार्टा हार्नेकर । चिलीमा जन्मेकी पत्रकार, लेखक, समाजशास्त्री एवं समाजवादी अभियन्ता हार्नेकरको निधन १५ जुनमा क्यान्सर रोगबाट क्यानडामा भएको थियो । 

सन् १९७० मा चिलीमा साल्भाडोर एलेन्डे नेतृत्वको समाजवादी सरकार स्थापना भयो । हार्नेकरले एलेन्डे नेतृत्वको क्रान्तिकारी सरकारलाई समर्थन गरिन् । पेरिसको लुइस अलथुसरबाट अध्ययन सकाएर उनी सन् १९६८ मा चिली फर्केर समाजवादी पार्टीकी सदस्य बनिन् । विडम्बना, सन् १९७३ मा अमेरिकी गुप्तचार निकाय सिआईएको सहयोगमा चिलीमा सैनिक विद्रोह भयो । एलेन्डे मारिए र हजारौँको संख्यामा चिलीका प्रगतिशील विचारकहरू सैनिक दमनको कोपभाजनमा परे । हार्नेकर क्युबामा प्रवासी जीवन बिताउन थालिन् । क्युबा पुगेर उनी मौन बसिनन्, क्युबाली क्रान्तिबारे उनले धेरै कृति लेखेकी छिन् । क्युबाबाट उनी भेनेजुयला गइन् । सन् २००२ मा हार्नेकरले ह्युगो चाभेजस“ग पन्ध्र घन्टा लामो अन्तर्वार्ता लिएकी थिइन् । संसारमा चाभेज र चाभेजका विचार एवं कार्यक्रमबारे जानकारी दिन त्यो अन्तर्वार्ता निकै उपयोगी सिद्ध भयो । 

उनका धेरै प्रकाशित कृतिमध्ये ‘अ वल्र्ड टु बिल्ड स् न्यु पाथ्स टुआर्ड ट्वेन्टी फस्र्ट सेन्चुरी सोसिएलिज्म’ संसारभर निकै चर्चित बन्यो । नेपालमा पनि यो कृतिको राम्रै चर्चा चल्यो । हार्नेकर ‘मन्थ्ली रिभ्यु’ लगायत वामपन्थी पत्रिकामा नियमित लेख लेख्थिन् । 

विलियम स्टेन्ले मर्विन (१९२७-२०१९)

२०१९ मा संसारले अमेरिकी कवि विलियम स्टेन्ले मर्विन (डब्ल्युएस मर्विन) लाई पनि गुमायो । उनको निधन मार्च १५ मा ९१ वर्षको उमेरमा भयो । २५ वटा कविता कृतिका सर्जक मर्विनका कवितामा विशेषतः हिंसा र विध्वंसप्रति तीव्र घृणा अभिव्यक्त भएको पाउ“छौँ । १७ वर्षको उमेरमा उनी अमेरिकी जलसेनामा भर्ती भए । सेनामा भर्ती भएलगत्तै उनले शान्तिको महŒवबोध गरे । उनी ६ महिना सेनाको मानसिक अस्पतालमा भर्ना भए र फर्केर आफ्नो अपुरो शिक्षालाई निरन्तरता दिए । समालोचक आरपी ब्ल्याकमुर र कविब जोन बेरीम्यानबाट उनले कविताबारे अध्ययन गरे । उनमा अमेरिकी कवि इज्रा पाउन्डको गहिरो प्रभाव प¥यो । उनी पोर्चुगलका राजपरिवारका छोराछोरीलाई पढाउ“थे । सन् १९७१ मा ‘क्यारिअर अफ ल्याडर’ नामको कवितासंग्रहका लागि पुलिट्जर पुरस्कार पाए । त्यतिवेला अमेरिकामा चर्केको भियतनाम युद्धविरोधी प्रदर्शनमा उनी सहभागी थिए । उनले कवितामार्फत विध्वंसकारी युद्धप्रति खेद पोखे । सन् २०१० मा उनी संरा अमेरिकाको सत्रौँ कविशिरोमणि घोषित भए । सन् २०१३ मा उनका कविताहरू दुई खण्डमा अमेरिकी पुस्तकालयले प्रकाशित ग¥यो । सन् २०१७ मा उनका कृतिहरूको समालोचना कृति ‘द इसेन्सिएल डब्ल्युएस मर्विन’ प्रकाशित भयो । ‘प्लेस’ नामको कवितामा उनले लेखेका छन्ः

संसारको अन्तिम दिनमा म एउटा रूख रोप्न चाहन्छु

कृष्णा साेब्ती (१९२५-२०१९)

भारतले सन् २०१९ को सुरुमै हिन्दी भाषाकी विख्यात लेखिका कृष्णा सोब्तीलाई गुमायो । उनको २५ जनवरीमा निधन भयो । हालको पाकिस्तानमा पर्ने पन्जाब क्षेत्रमा सन् १९२५ को फेब्रुअरीमा उनको जन्म भएको थियो । उनले हिन्दी भाषामा कविता र आख्यानमा अथक कलम चलाइन् । लेखनबारे उनले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘लेखन भनेको भाषामार्फत हुने आत्मसंवाद हो । लेख्दा तपाई आफ्नो आत्माको आवाज सुन्नुहुन्छ । स“गै बाहिरको आवाज पनि ।’

सोब्तीको आत्मसंस्मरणात्मक कृति ‘गुजरात पाकिस्तान से गुजरात हिन्दुस्तान तक’ निकै चर्चित छ । उनका कृतिका अधिकांश पात्र परम्परागत समाजका मूल्य–मान्यतालाई चुनौती दिने खालका ‘बोल्ड’ र महिलावादी हुने गर्छन् । सोब्ती सामाजिक र बौद्धिक बहसमा महिलावादी कोणलाई अपरिहार्य रूपमा लिने गर्छिन् । 

सन् २०१५ मा भारतमा बढ्दो सामाजिक असहिष्णुता र पत्रकार तथा लेखकमाथि भएका लगातारको हमलाप्रति खेद व्यक्त गर्दै भारतकै सबभन्दा ठूलो मानिने साहित्य एकेडेमी पुरस्कार सोब्तीले बहिष्कार गरेकी थिइन् । 

गिरिश कर्णाड (१९३८-२०१९)

भारतका विख्यात नाटककार तथा चलचित्र निर्देशक गिरीश कर्णाडको निधन ८१ वर्षको उमेरमा १० जुनमा भयो । मिथक, लोकोक्ति र ऐतिहासिक घटनालाई आधार बनाएर स्वतन्त्रतापछिको भारतमा देखिएको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तन चित्रण गर्न उनका नाटक सफल मानिन्छ । उनी भाग्य र कर्मबारे हिन्दू धर्मको परम्परागत बुझाइलाई चुनौती दिँदै व्यक्ति स्वंय नै आफ्नो अस्तित्वको निर्माता भएको सोच्थे । सन् १९६१ मा लेखिएको ‘ययाति’ नाटक उनी अक्सफोर्ड विश्वविद्यालयको विद्यार्थी छ“दा लेखेका थिए । सन् १९६४ ताका लेखिएको नाटकमा उनले स्वतन्त्रतापछिको भारतको अवस्थाप्रति भारतीय जनताको असन्तोषको चित्रण गरेका छन् । सन् १९७१ मा मञ्चित नाटकमा उनले महिला सशक्तीकरण र व्यक्तिगत पहिचानबीचको विरोधाभास प्रस्तुत गरेका थिए । भारतमा मध्यमवर्गीय मनस्थितिलाई थिएटरमा देखाउने कौशलका धनी कर्णाडका अधिकांश नाटकमा सामूहिक र व्यक्तिगत चाहनाबीचको विरोधाभास र द्वन्द्वलाई मूल चासोका रूपमा देखाइएको छ ।   

आफ्नो मान्यता थिएटरभन्दा चलचित्रमार्फत बढी दर्शकसम्म पु-याउन सकिने देखेपछि उनी चलचित्र निर्देशनतर्फ केन्द्रित भए । सन् १९७० मा कर्णाडले युआर आनन्तमूर्तिको उपन्यासमा आधारित चलचित्र ‘संस्कार’ को पटकथा लेखे । उनी स्वंय त्यो चलचित्रका कलाकार पनि थिए । कन्नाड भाषाको सो चलचित्र कन्नाडी चलचित्रको राष्ट्रिय पुरस्कार जित्न सफल भयो । उनले जीवनका ३५ वर्ष चलचित्रको निर्देशनमा व्यतीत गरे ।

कर्णाडको जन्म मुम्बईको मध्यमवर्गीय परिवारमा भएको थियो । उनका पिता चिकित्सक र आमा नर्स थिइन् । रंगमञ्च र चलचित्रलाई आफ्नो जीवनको बाटो बनाए पनि उनले स्नातक तहसम्म भने नितान्त भिन्न विषय पढेका थिए । उनले गणित र तथ्यांकशास्त्रमा स्नातक गरेका थिए । अनि उनी दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा एमए गर्न बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गए । सन् १९६२ मा उनी अक्सफोर्डको विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित भएका थिए । उनी धर्मनिरपेक्षताका पक्षधर थिए । राष्ट्रवादका विरोधी थिए । महिला, दलित र धार्मिक अल्पसंख्यकका अधिकार आन्दोलनका अभियन्ता थिए ।