• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण उप्रेती
२०७६ पौष १२ शनिबार ११:५६:००
विज्ञान प्रविधि

सन् २०१९ का उत्कृष्ट १० आविष्कार 

२०७६ पौष १२ शनिबार ११:५६:००
श्रवण उप्रेती

वयोवृद्ध बिरामीलाई हेरचाह गर्ने रोबर्ट

एआई (कृत्रिम बौद्धिक)युक्त रोबर्टहरू होटेल, विमानस्थल र सपिङ मलहरूमा प्रयोग हुन थालेको केही वर्ष भयो । अब यी रोबर्टहरू संवेदनशील मानिने वयोवृद्धहरूको सेवाका लागि पनि प्रयोग हुने भएका छन् । विश्वमा वृद्धवृद्धाको संख्या बढिरहे पनि तिनको ख्याल गर्ने जनशक्ति छैन । यो समस्या कम गर्ने लक्ष्य लिएको छ, डब्लिनमा रहेको अकारा रोबोटिक्सले । अकाराको सबैभन्दा चर्चित स्टिभी नामक रोबोर्टलाई विभिन्न वृद्ध आश्रममा परीक्षण गरिसकिएको छ । परीक्षणको नतिजा उत्साहजनक आएको छ । मैत्रीपूर्ण र प्यारो अनुहार भएको यस रोबोर्टलाई खेल खेल्न, विभिन्न सामान सार्न र भिडियो च्याटका लागि प्रयोग गर्न सकिन्छ । स्टिभी निर्माण टिम यो आविष्कार एक्लै बस्ने वृद्धवृद्धाका लागि उपयोगी हुनेमा आशावादी छ ।
 
गीत बजाउने सनग्लास

सामान्यतया मानिसले सनग्लास स्टाइल र आँखाको सुरक्षाका लागि प्रयोग गर्छन् । तर, बोसको फ्रेम्स नामक सनग्लास लगाउनेले गीत पनि सुन्न सक्ने भएका छन् । बोसले आफ्नो यस नयाँ सनग्लासका टेकोमा सूक्ष्म अडियो प्रणाली जोडेको छ, जुन आवाज चस्माधारीले मात्र सुन्न सक्ने गरी डिजाइन गरिएको छ । यो चस्मा लगाएपछि संगीत सुन्न हेडफोनको आवश्यता पर्दैन । ‘फ्रेम सनग्लास लगाउने व्यक्तिले खुल्ला–कानमै संगीतको मजा लिन सक्छन्,’ कम्पनीले आफ्नो उत्पादनको विशेषताबारे भनेको छ । सनग्लासलाई ब्लुटुथमार्फत मोबाइलसँग जोडिन्छ । 

हावाबाट पानी निकाल्ने उपकरण

प्राकृतिक प्रकोप र अन्य संकटको वेला पानी पहिलो आवश्यकता हुने गर्छ । इजरायली कम्पनी आवटरजेनले यस्तो अप्ठेरो अवस्थामा उपयोगी हुने उपकरण निर्माण गरेको छ, जसलाई कम्पनीले ‘जेनी’ नाम दिएको छ । आमप्रयोगमा रहेको वाटर डिस्पेन्सरजस्तो देखिने यो उपकरणले आफूवरिपरिको हावाबाट आद्र्रतालाई तानेर पिउनयोग्य पानी बनाउँछ । एउटा ‘जेनी’ले दिनमा ७ ग्यालन पानी उत्पादन गर्न सक्छ । बिजुली अथवा सौर्य शक्तिबाट चल्ने ‘जेनी’ले उच्च वायु प्रदूषण भएका क्षेत्रबाट सोसेको पानी पनि पिउनयोग्य हुन्छ ।

१२ मेगावाट विद्युत् निकाल्ने विन्ड टर्बाइन

विश्वव्यापी उष्णताका कारण विश्वभरि सफा ऊर्जाको खोजी तीव्र बनेको छ । यस्तोमा जेनेरल इलेक्ट्रोनिक्सले ह्यालिएड–एक्स निर्माण गरेको छ । जसले १२ मेगावाट विद्युत् निकाल्छ । समुद्री तटबाट केही भित्र (अफसोर) राखिने विन्ड टर्बाइन धेरै पहिलेदेखि नै प्रयोगमा रहेको भए पनि ह्यालिएड–एक्सले भने विशाल परिमाणमा बिजुली निर्माण गर्छ । यो टर्बाइनको प्रत्येक पाता फुटबल मैदानको लम्बाइबराबर छन् । यो आइफल टावरभन्दा केही सानो २६० मिटर अग्लो छ । कमजोर वायुले अन्य टर्बाइन चल्न नसक्दासमेत यो टर्बाइनले काम गरिरहेको हुन्छ । चाँडै, जेनरल इलेक्ट्रोनिकले यिनलाई उत्तर–पूर्वी अमेरिकालगायत युरोप, चीन र जापानमा प्रवेश गराउँदै छ । 

विद्युतीय विमान

हवाई उद्योगले धेरै प्रदूषण उत्सर्जन गरिरहेको हुन्छ । अमेरिकामा यातायात क्षेत्रबाट हुने कुल हरितगृह उत्सर्जनको एक चौथाइ हिस्सा उड्ययन क्षेत्रको छ । हवाई क्षेत्रको प्रदूषण कम गर्न जहाजहरूले प्रयोग गर्ने इन्धनका कारण भएकाले आविष्कारकहरू विद्युतीय ऊर्जाबारे पहिलेदेखि सोचविचार गरिरहेका थिए । इजरायली कम्पनी इभियसनले यसमा सफलता हासिल गरेको छ । उसले एलिस नामक नौसिटे जहाज निर्माण गरेको छ, जुन पूर्ण रूपमा बिजुलीबाट चल्छ । ‘यस विमानका लागि हाम्रो मुख्य नयाँ खोज ब्याट्री, मोटर्स, कन्ट्रोलरजस्ता सामग्रीमा नभएर हल्का सामग्री निर्माणमा रह्यो,’ इभियसनका सिइओ ओमर बार–योमेले बताए । यो विमान सफल भएमा, यसको डिजाइनलाई ठूला विद्युतीय व्यावसायिक विमान निर्माणमा प्रयोग गरिनेछ । ६५० माइलको रेन्ज क्षमता रहेको एलिसले सन् २०२० बाट परीक्षण उडान गर्नेछ । 

सौर्य कार

कार निर्माण क्षेत्रमा अहिले विद्युतीय कार निकै चर्चामा छ । तिनले पर्यावरणीय चिन्ता गर्नेलाई केही राहत प्रदान गरे पनि कारवाहकलाई भने केही अप्ठ्यारासँग सामना गर्नुपर्छ । मुख्य समस्या चार्जिङ स्टेसनबाट टाढा हुँदा कारको चार्ज सकियो भने के गर्ने भन्ने छ ? डच मोटर वाहन स्टार्टअप लाइट–इअरले यसको सम्भावित समाधानका रूपमा निर्माण गरेको छ– लाइटइअर वान । 
यो विद्युतीय कारमा सौर्यपाता पनि जोडिएको छ, जसले कारलाई रिचार्ज गर्नेछ । सौर्य ऊर्जाले प्रतिघन्टा १२ माइलको रेन्ज प्रदान गर्छ । यस कारलाई एकपटकको विद्युतीय चार्जमार्फत ७२४ किमीसम्म दौडाउन सकिन्छ । सौर्यऊर्जा विशेषतः आकस्मिक प्रयोजनका लागि प्रयोग गर्ने हिसाबले निर्माण गरेको देखिन्छ ।

मोबाइलबाट अल्ट्रासाउन्ड

रोग पहिचानका लागि महŒवपूर्ण मानिने चिकित्सकीय तस्बिर लिने प्रविधि र औजार भारी र महँगो हुने गर्छ । यस कमीलाई सम्बोधन गर्न बटरफ्लाई–आइक्यू नामक कम्पनीले अल्ट्रासाउन्ड प्रविधिलाई एउटा चिपको आकारमा खुम्च्याइदिएको छ । अब चिकित्सकले यी हल्का जाँच प्रविधिलाई तिनको मोबाइलमै पनि हाल्न सक्छन् । अमेरिकाको ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन(एफडिए)’ बाट स्वीकृति प्राप्त उपकरणले बिरामीको मुटु, फोक्सो र हुर्कंदै गरेको भ्रूणको जाँच गर्ने मात्र होइन, रोग पनि पत्ता लगाउँछ । १९९९ अमेरिकी डलर पर्ने यसमा मासिक ३५ डलरको सफ्टवेयर अपडेट शुल्क लाग्नेछ । यो उपकरण विश्वका २० देशमा प्रयोग हुन थालिसकेको छन् । 

दृष्टिविहीनलाई ‘बोल्ने चस्मा’

दृश्य दुर्बलताका साथ बाँचिरहेका मानिसका लागि अरक्यामले ल्याएको ‘माइआइ टू’ युगान्तकारी साबित हुनेछ । ‘बोल्ने चस्मा’को रूपमा प्रस्तुत गरिएको उपकरणलाई जुनसुकै चस्माको फ्रेममा जोड्न सकिन्छ । एआई (कृत्रिम बौद्धिकता) रहने उपकरणले कैयन् काम गर्न सक्छ । अनुहार तथा मुद्रा पहिचान गर्ने, लेखेका अक्षर पढ्नुका साथै यसले अतिरिक्त बारकोडको सूचना पनि पढिदिन्छ । यसका आविष्कारक अम्नन ससुयाले यस प्रविधिलाई ‘हात्तीलाई सानो दराजमा अटाउनु’सँग तुलना गरेका छन् । 

किफायती खेती 

विश्वमा करोडौँ मानिसमा खाद्य असुरक्षाको खतरा छ भने जलवायु परिवर्तनले यो संख्यामा थप वृद्धि हुने विज्ञको भनाइ छ । एरोफार्म नामक कम्पनीले घरभित्रै हुने उब्जनीमा खेतबारीको भन्दा ९५ प्रतिशत कम पानी प्रयोग गर्ने प्रविधि आविष्कार गरेको छ । कम्पनीले प्याटेन्ट लिएको यो प्रविधिको मुख्य आविष्कार नयाँ हुर्काउने माध्यम हो । यसमा वनस्पतिलाई माटोमा नभएर पुनः प्रयोग गर्न सकिने कपडामा हुर्काइन्छ, जुन आफैँ पुनः चक्रीय प्रक्रियामार्फत पानी बोटलबाट बनाइन्छ । यसमा खेतीमा पानी हाल्नेभन्दा पनि हल्का बाफमार्फत वनस्पतिलाई चिसो राखिन्छ । 

चक्का फेरेर विद्युतीय साइकल 

विद्युतीय साइकल निकै उपयोगी हुन्छ । तर, पाइडल मार्न नपर्ने यी बाहन निकै महँगा हुन्छन् । जियोओरविटले चाहिँ मूल्य कम गर्नका लागि विद्युतीय चक्का विकास गरेको छ, जुन आवश्यक परेका वेला विद्युतीय माध्यममा रूपान्तरण गर्न सकिन्छ । कम्पनीले यस प्रविधिको मूल्य १४९५ अमेरिकी डलर राखेको छ । तीन घन्टाको ब्याट्री चार्जबाट साइकल २० माइलसम्म कुदाउन सकिन्छ । 

टाइम म्यागेजिनबाट श्रवण उप्रेतीको अनुवाद