• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मन्सुरी पासवान
२०७६ पौष १९ शनिबार ०९:१६:००
सम्झना

‘डाँकाकी बुहारी !’

हामी जुन इतिहास बिर्सिन चाहन्छौँ, काठमाडौं घरीघरी त्यही इतिहास सम्झाउन खोज्छ 

२०७६ पौष १९ शनिबार ०९:१६:००
मन्सुरी पासवान

तपाईंको समुदायलाई कसैले डाँकाहरूको परिवार भन्यो भने कस्तो महसुस हुन्छ ? पक्कै पनि रिस उठ्छ । सहनुहुन्न । तर, म त वर्षौंदेखि यही आरोप खेप्दै आएकी छु । 

मानाैं कि झिँझाका पासवान र डकैती एक–अर्काका पर्यावाची हुन् । मलाई पनि रिस उठ्छ । करिब १८ वर्षअघि १५ वर्ष नपुग्दै मेरो बालविवाह भयो । म सर्लाही नेत्रगन्जमा पासवानहरूकी बुहारी भएर आएँ । आफैँ विवाह गरेको । मन परेपछि विवाहलाई कसले रोक्ने ? 

त्यो समय नेत्रगन्ज भन्नासाथ मान्छेहरू डराउँथे । मेरा बाले पनि छोरी फिर्ता लिन जान सक्ने कुरै भएन । म अलि गोरी भएकाले अरू पासवान महिलाहरूभन्दा बेग्लै देखिन्थँे कि ! त्यसैले म हिँडडुल गर्दा उनीहरू एकोहोरो हेरिरहन्थे । अरू महिलाले भनेको कुराभन्दा मैले भनेको कुरा ध्यान दिएर सुन्थे । मलाई खुसी नै लाग्थ्यो । तर, दुःख त त्यसवेला लाग्थ्यो जब गाउँबाट निस्किसकेपछि मेरो पहिचान डाँकाकी बुहारीभन्दा अरू केही थिएन । 

केही समयअघि काठमाडौंदेखि पत्रकारहरूको एउटा समूह गाउँमा आयो । भिडियो खिच्यो । गाउँलेहरूसँग कुराकानी ग¥यो । ‘हेर्ने कथा’ बनायो ‘एकादेशका डाँकाहरू’ । हो म त्यही सर्लाहीको नेत्रगन्जकी छोरी हुँ । बुहारी हुँ । र, आमा हुँ । तर, हामी जुन इतिहास बिर्सिन चाहन्छौँ, काठमाडौं घरीघरी त्यही इतिहास सम्झाउन खोज्छ । त्यति मात्र होइन, दोहो¥याउन खोज्छ । मिडिया पनि हाम्रो आँसुलाई बेच्न चाहन्छ, न कि हाम्रो समस्यालाई सम्बोधन गराउनका लागि पहल गर्न । 
एउटा गौरवपूर्ण इतिहास बोकेको समुदायलाई पूर्वडाँकाहरूको संज्ञा दिने अधिकार कहाँ लेखिएको छ ? बरु पासवानहरू त यो देशको सबैभन्दा बढी देशभक्त र इमान भएको समुदाय पो हो । जसलाई राज्यकै संरक्षणमा डकैती पेसा अँगाल्न बाध्य पारिएको हो । आफूलाई ‘महराज चौहरमल’का सन्तान मान्ने पासवानहरू कसरी आज दलित भए र डाँकाको अपमान भोग्न बाध्य भए ? खोज्नुपर्ने इतिहास त यो हो । 

एउटा गौरवपूर्ण इतिहास बोकेको समुदायलाई पूर्वडाँकाहरूको संज्ञा दिने अधिकार कहाँ लेखिएको छ ? बरु पासवान त यो देशका सबैभन्दा बढी देशभक्त र इमान भएको समुदाय पो हो ।
 

अहिले पनि मुसहर समुदायमा क्षेत्रीय बाबा ‘बहर सिंह’ र राजा ‘राजा शैलेश’ अर्थात् सहलेसको लोकगाथा जीवितै छ । ‘बाप्पा रावल’का पुत्र ‘कुलेश’को अपभ्रंश भएर सहलेस भएको राजपूत वंशावलीमा समेत उल्लेख छ । छैटौँ–सातौँ शताब्दीतिर राजा सलहेसको आश्रयदाताका रूपमा भीमलाई मानिएको छ र अहिले पनि भीमलाई लोकदेवताका रूपमा पूजा गरिन्छ । पासवानहरूको लोकगीतमा पनि पाँच पाण्डव भीमसेन र सहलेस गाथाको पकडियाको राजा भीमसेनलाई एउटै मानिएको छ । मैथिली लोकगाथामा वर्णन गरिने सहलेसको गाथा विशेषगरी सिरहा र धनुषा जिल्लासँग सम्बन्धित हुनुले पनि पासवानहरू इतिहास बोकेको समुदाय हो भन्नेमा कचकच गर्नै पर्दैन । तर, हामीलाई डाँकाको पगरी भिराई नै रहेको छ, यो राज्य संरचनाले । 

मन्सुरी पासवान

दिन बित्दै गए । मैले नेत्रगन्जलाई अझ बुझ्दै गएँ । पासवानहरूमाथि अन्य गैरदलित समुदायको व्यवहार र दृष्टिकोण कुनै जनावरलाई गर्ने व्यवहारभन्दा फरक थिएन । पासवानहरूको जमिन स्थानीय साहू–महाजनहरूको कब्जामा थियो । महिला र बालबालिकाहरूको अवस्था अत्यन्तै दयनीय थियो । गाउँमा मान्छे मारिनु सामान्यजस्तै थियो । पासवान युवाहरू विनाकारण प्रहरीको यातना खेप्न र जेल जान बाध्य थिए । जुन आज पनि उस्तै छ । विभेद र अपमानको रूप मात्र फेरिएको छ । 
मेरा ससुरा भन्नुहुन्थ्यो, ‘उहाँहरू समूह बनाएर भारतीय क्षेत्रमा लुटपाट गर्न जानुहुन्थ्यो । तर, लुटपाट गरेर ल्याएको गरगहना त्यहाँका सरकारी कर्मचारीहरूलाई बुझाउनुपथ्र्यो ।’ सरकारी कर्मचारीहरू झन् मोटाउँथे । र, निरन्तर डकैतीका लागि बाध्य पार्थे । उनीहरू प्रायः नेपाली भूभागमा चोरी डकैती गर्दैनथे । उनीहरू भारतको असम, मणिपुर पुग्थे । तर, उनीहरूलाई भारतीय प्रहरीले भन्दा पनि नेपाली प्रहरीले दुःख दिन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, ‘राणा शासनकालमा स्थानीय कर्मचारीहरूले पासवानहरूलाई विनाकुनै दोष बालबच्चासमेतलाई नछोडी जेलमा लगेर यातना दिए ।’ 

विसं २०३५ मा नेत्रगन्ज पुनर्वासका पासवानहरू धनुषाको झिँझा भन्ने ठाउँबाट आएका हुन् । समाजमा व्याप्त विभेद र अपमानले उनीहरूलाई हिंस्रक र क्रूर बनायो । उनीहरू पूर्ण रूपमा भूमिहीन थिए । भएकाहरूको जमिन पनि जान्ने सुन्नेहरूले खोसिदिएका थिए । तत्कालीन सरकारले ४०० घरधुरी पासवान समुदायका मानिसहरूलाई ४० कठ्ठा जमिन र १८ महिना रासनपानी दियो । खेतीपातीका लागि कृषि औजार पनि दियो । यद्यपि, उनीहरू फेरि पुरानै चोरी, डकैतीको काम गर्न थाले । अहिले पनि यहाँका एक दर्जन युवाहरू जेलजीवन बिताइरहेका छन् । अरू ठाउँका मानिसले अपराध गरे पनि सर्लाहीकै पासवानहरूलाई प्रहरीले दुःख दिन्छ । 

तत्कालीन समयमा भारतको मध्यप्रदेश सरकारले चोरीडकैती पेसामा संलग्न व्यक्तिहरूको पुनस्र्थापनाका लागि कार्यक्रमहरू ल्यायो । त्यसतर्फ पासवानहरू पनि आकर्षित भए । र, भारततीर आत्मसमर्पण गर्न जान थाले । बिहारमा पनि यस्तै अभियान सुरु भयो । यस्तो अवस्थामा तत्कालीन नेपालको सरकारले उनीहरूलाई भारतमा गएर आत्मसमर्पण गर्न रोक्नबाट जोगाउन पुनर्वास योजना ल्यायो । र, सरकारका पक्षमा सीमामा बसेर सीमा रक्षा गर्ने पासवानहरूलाई सत्ताका संरक्षकहरूले डाँकाको पगरी लगाइदिए । सोझा पासवानहरू यसलाई स्वीकार गर्न बाध्य भए । 

गाउँमा मान्छे मारिनु सामान्यजस्तै थियो । पासवान युवाहरू विनाकारण प्रहरीको यातना खेप्न र जेल जान बाध्य थिए । जुन आज पनि उस्तै छ । विभेद र अपमानको रूप मात्र फेरिएको छ ।

०००

विवाह भएको दुई वर्षपछि मेरी जेठी छोरी जन्मिई । पासवान समुदायमा महिलालाई प्रसूति व्यथा लागेपछि उनको पेटमा च्यापेर बच्चा जन्माउने चलन छ । मेरा सासू र अरू महिलाहरू मलाई व्यथा लागेपछि मेरो पेटमा चढेर खुट्टाले बेस्सरी थिचे । मेरो पेट माडिदिए । मेरो छोरी घरमै जन्मिई । स्वास्थ्यचौकी लैजाने चलन त अझै पनि धेरै कम छ । तर, दोस्रो छोरी जन्मिँदा म अलि बुझ्ने र विद्रोह गर्न सक्ने भइसकेकी थिएँ । पुरुषहरूलाई महिलाहरूबारे सोच्ने कुनै फुर्सद नै थिएन । सानो–सानो कुरामा पनि आफ्ना श्रीमती र सन्तानलाई कुटपिट गरेर रिस शान्त पार्दथे, पुरुषहरू । त्यो यस्तो थियो कि मलाई अहिले सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ । 

पासवानहरू जन्मिँदै चोर र डाँका भएका होइनन् । तर, यस्तो भाष्य सिर्जना गरियो कि उनीहरू जन्मजात चोर हुन् । जन्मजात आपराधिक मानसिकता भएका समुदाय हुन् । यस्ता किसिमका घटनाले धेरै परिवारको अवस्था नाजुक हुँदै गयो । साथै, पुरानो परम्पराले गर्दा, विवाहमा दाइजो प्रथाले घरका सम्पत्ति बेचेर कतिपयको स्थिति साह्रै नै कमजोर भयो । महिला, दिदीबहिनीहरू घरमा मात्र बस्ने, कामकाज केही थिएन । घरमा घुम्टो ओढेर बस्ने बुहारीहरू हेलाका पात्र भए । छोरा केही स्कुल पठाउने, अरू डुलेर बस्ने भएर झन् गरिबीको रेखामा पर्दै गए ।

विसं. २०६१ सालतिर सामरीको सहयोगमा पुनर्वासमा बचत समूहहरू गठन भए । पासवान समुदायका व्यक्तिहरूले सहकारी र सामुदायिक संस्था गठन गरे । पहिले महिलाहरू पुरुषको भरमा बस्ने गर्थे, तर अहिले महिलाहरूले सहकारीबाट ऋण लिएर श्रीमान्हरूलाई रोजगार तथा विदेश जान सहयोग गरिरहेका छन् । हाल बुुहारीहरू पनि छोराछोरीलाई स्कुल पठाउने भएका छन् । पुरानो पेसा छाडी आधुनिक किसिमका पेसाहरूमा कोही डाक्टर, इन्जिनियर, प्रहरी, शिक्षक र सरकारी जागिरतिर लागिसकेका छन् । किसानहरू प्रशस्त तरकारी खेती गरी बजारमा बेचेर राम्रो कमाइ गर्दै छन् । राष्ट्रियस्तरका नेताहरू पनि यस गाउँबाट भएका छन् । खेतीपाती हुन्छ, जमिन बाँझो रहँदैन । सबैजना मिहिनेती भएर काम गर्दै छन् । कोही व्यवसाय गरिरहेका छन् । यो सबै बाटो देखाउने काम त्यसै सम्भव भएको होइन । अब बाँकी छ त, यो राज्य संरक्षित पासवान समुदायमाथिको भाष्य परिवर्तन गर्न । 

पासवान सामाजिक अभियन्ता हुन्