• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विनिताकुमारी सदा
२०७६ पौष १९ शनिबार ०९:३६:००
सम्झना

दहेजमा १५ लाख मागेपछि...

२०७६ पौष १९ शनिबार ०९:३६:००
विनिताकुमारी सदा

म धनुषाको रघुनाथपुरस्थित टोकीमा जन्मिएँ । दशजनाको परिवारमा हुर्किएँ । मेरो ५ जना दिदीहरू र एकजना दाइ हुनुहुन्छ । म परिवारको कान्छी सदस्य हुँ । 

मेरो बाल्यकाल खुसियालीका साथ बित्यो । कारण मेरा बुबा गाउँभरिका धनी व्यक्ति हुनुहुन्थ्यो । उहाँ धनी भएर पनि सोझो, इमानदार र अरूले भनेको गरिदिनुहुन्थ्यो । बुबामा घमन्ड थिएन । जसको परिणाम उहाँको सम्पत्ति धेरै दिन टिक्न सकेन । जब म विद्यालय जाने उमेरमा पुगेँ, त्यसवेलासम्म धेरैजसो हाम्रो जमिन हाम्रो थिएन । बिक्री भइसकेको थियो । भएको बाँकी जमिन पनि बिक्री हुने अवस्थामा थियो । 

चार छोरीको विवाह, ठूलो परिवारको पारिवारिक खर्च र बाहिरका अन्य जातिले हाम्रो बुबाको सम्पत्तिमाथि लगाएको आँखाका कारण भएको जमिन पनि हेर्दाहेर्दै बेचियो । म बोर्डिङ स्कुलमा पढ्न जान्थे, बिस्तारै त्यहाँ तिर्ने पैसाको अभाव हुन थाल्यो । आर्थिक अभाव थपिँदै गएपछि बुबाले मलाई सरकारी विद्यालयमा भर्ना गरिदिनुभयो । दुई दिदीहरू ससुराली छाडेर माइतीमा आएर बस्न थाले । बाहिर कुनै आम्दानीको स्रोत थिएन । भएको जग्गा बिक्री भइसकेको थियो । हामीसँग जग्गाजमिन हुँदा धेरै ठूलाबडा मानिस घरमा आउँथे । बुबाको जग्गाजमिन सकिएपछि मानिसहरू हाम्रोमा आउन बन्द भयो । 

रघुनाथपुरकै बरकुर्वामा रहेको फकिरचन्द उच्च माध्यमिक विद्यालयबाट मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ । त्यति नै वेला घरको आर्थिक अवस्था झन् कमजोर भयो । घरमा अब मलाई पढाउनेभन्दा विवाह गरिदिने कुरा चल्न थाल्यो । मेरो मनमा के चलिरहेको छ भन्ने कसैले सोधेन । घरको अवस्था देखेर मैले पनि केही भनिनँ । म नर्स बन्न चाहन्थेँ । त्यसका लागि परीक्षा पनि दिएँ, तर धेरै पैसा लाग्ने भएपछि पढ्न सकिनँ । 
विवाहका लागि घरबाट नेपालका विभिन्न जिल्लामा केटा हेर्न गए, कति जिल्लाबाट हेर्न घरमै पनि केटाहरू आए । तर, दहेज (दाइजो)का कारण कुरा मिलेन । त्यसपछि बुबा भारतको विहारमा पनि केटा हेर्नका लागि जानुभयो । त्यहाँ पनि पैसाकै कुरा आयो । अझ विहारमा केटा हेर्न जाँदा त ‘अरूको देशमा किन केटा हेर्न आएको, केटीमा केही कमी होला’ जस्तो आशंका पनि गरियो । जसले दहेजको आयतनलाई अझ ठूलो बनाउँथ्यो । 
केटा खोज्दा पाएको दुःखका कारण बुबाले अब मलाई पढाउने निर्णय गर्नुभयो । उच्च शिक्षा पढ्नका लागि मलाई गाउँकै उच्च माविमा नाम लेखाइदिनुभयो । उच्च शिक्षा हासिल गर्ने मौका पाएकोमा म निकै खुसी भएँ । उता घरको बिग्रिएको अवस्थाले तनाव पनि भइरहयो । जतिखेर पनि दिमागमा विवाहको कुरो आउँथ्यो । बुबाले पैसा कसरी जोहो गर्नुहुन्छ होला भन्ने तनावमा हुन्थेँ । 

एक दिन म क्याम्पसबाट घर फर्किनेबित्तिकै आमाले ‘तिमीलाई हेर्न केटा आएको छ, डाक्टर हो, धेरै राम्रो छ’ भनेर जानकारी गराउनुभयो । म हतार–हतार तयार भएर परिवारसहित केटा बसेको ठाउँमा गएँ । उनले केही प्रश्न सोधे । मनमनै निकै डर पनि लाग्यो । केही बेर कुरा गरेर उनी गए । उनी राम्रो र असल लाग्यो । मनमा थोरै खुसीको अनुभूति भयो । आफू नर्स बन्न नसके पनि एचए पढेको ‘डाक्टर’सँग विवाह हुने भो भनेर । 
दुई दिनपछि ती केटाको फोन आयो । केहीबेर कुराकानी भयो । तर, अचानक उसले कुरा गर्दागर्दै विवाह गर्नका लागि १५ लाखको प्रस्ताव राखे । उनको प्रस्ताव सुन्नेबित्तिकै मैले बुबाको अवस्था सम्झिएँ । १५ लाखको प्रस्तावले दिमाग रनन घुमेर आयो । म एकाएक अग्लो ठाउँबाट खसे झैँ भएँ । 

दहेजको नाममा महिलालाई वस्तुका रूपमा हेर्ने आँखा परिवर्तन हुन आवश्यक छ । पाएको दहेजले भन्दा पढेलेखेको बुहारीले आम्दानी गर्न सक्छिन् र सिंगो परिवारलाई नै सबल बनाउन सक्छिन् भन्ने बुझाउन आवश्यक छ । 

म रोएँ पनि । मैले बुबासँग भएको घर र घडेरी बेचे पनि बुबासँग त्यत्रो पैसा नपुग्ने अवस्था अनुनय गरेँ । यो सुन्नेबित्तिकै उसले ‘पैसा छैन भने बिहे हुँदैन’ भन्यो । मैले फोन काटिदिएँ । 

त्यस दिन म धेरै रोएँ । आफूलाई धिक्कारेँ, पुरुषप्रति घृणा लाग्न थाल्यो । दलित शब्दप्रति त झन् मलाई रिस उठ्न थाल्यो । हामी दलितलाई हेपिएको, चेपिएको, दमन, शोषण र भेदभावमा परेको भन्छौँ तर यो बिर्सिदिन्छौँ कि दलित भएर पनि पुरुष दलितले दलित महिलालाई कति दमन, भेदभाव र वस्तुको रूपमा लिएका छन्, त्यो पनि शिक्षित, बुद्धिजीवी दलितबाटै ! 

अब विवाहको कुरा सुन्नेबित्तिकै मलाई तनाव हुन्थ्यो । जसोतसो उच्च शिक्षा पास गरेँ । गाउँकै बोर्डिङ स्कुलमा महिनाको तलब तीन हजार पाउने गरी पढाउन थालेँ । विवाहका लागि फेरि सर्लाहीबाट स्नातक पढेका पचु नाम गरेका युवासँग कुराकानी चल्यो । एकअर्कालाई भेट्यौँ तर मेरो मनमा कुनै खुसी पलाएन । किनकि यसले पनि आखिरमा पैसा नै माग्ने हो भन्ने मलाई लागिरह्यो । तर, त्यसो भएन । उनले विनादहेज विवाह गर्ने कुरा बुबाले भन्दा मलाई विश्वास लागेन । ‘यस्तो पनि होला र ?’ भन्ने भइरह्यो । 

वास्तवमा उनीसँग मेरो विनादहेज विवाह भयो । म सबैभन्दा कान्छी छोरी भएकाले बुबाले खुसीसाथ जन्तीको सक्दो सत्कार गर्नुभयो । राम्रै व्यवस्थाका साथ विवाह सम्पन्न भयो । ससुरालीको घरपरिवार चौडा सोचको हुनुहुँदो रहेछ । विवाहको केही दिनमै मलाई तालिमका लागि बाहिर जान दिनुभयो । मलाई स्नातक पढ्नका लागि कलेजमा भर्ना गराइदिनुभयो । फलस्वरूप आज म ‘स्ट्रिट चाइल्ड अफ नेपाल’को सहयोग र गैरसरकारी संस्था सहास नेपालद्वारा सञ्चालित कार्यक्रममा सामुदायिक सल्लाहकारको रूपमा काम गरिरहेकी छु । 

म भन्न चाहन्छु, दलित समुदायमा परिवर्तन ल्याउन चाहने हो भने दलित समुदायभित्रकै सोच परिवर्तन हुन जरुरी छ । दलित युवाले दहेजका लागि विवाह गर्ने धारणामा परिवर्तन ल्याउन जरुरी छ । परिवर्तनका लागि त दलित महिलालाई अवसर दिन जरुरी छ । शिक्षा आवश्यक छ । दहेजको नाममा महिलालाई वस्तुको रूपमा हेर्ने आँखा परिवर्तन हुन जरुरी छ । पाएको दहेजले भन्दा पढेलेखेको बुहारीले आम्दानी गर्न सक्छिन् र सिंगो परिवारलाई नै सबल बनाउन सक्छिन् भन्ने बुझाउन आवश्यक छ । .