• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सीता सदा
२०७६ पौष १९ शनिबार ०९:४२:००
समाज

दलित भएकै कारण जागिर पाइनँ 

२०७६ पौष १९ शनिबार ०९:४२:००
सीता सदा

मेरो घर सप्तरी हो । म अहिले २६ वर्षकी भएँ । मेरो विवाह भएर अहिले म सिराहाको गोलबजारमा आइपुगेकी छु । बीस वर्षको उमेरमा कारिचन सदासँग मेरो विवाह भयो । अहिले काखमा ६ वर्षकी छोरी जेनिशा सदा छिन् । 

बाल्यकालमा म महुली जङ्गलबाट दाउराको भारी बोकेर राजविराज पु¥याएर बेच्थेँ । त्यो पैसाले कापी र डटपेन किनेर फर्कँन्थेँ । प्लस टुसम्म घरमै दाउरा बेचेर पढेँ । बुबा माटो काट्न वा अन्य मजदुरी गर्न साहुमहाजनकहाँ धाउनुहुन्थ्यो । साँझमा झोलामा अन्न लिएर घर फर्कनुहुन्थ्यो । म अर्काको खेतमा धान सिला खोज्थेँ । त्यो धानमा बुवाले थपथाप गरिदिनुहुन्थ्यो । हामीले त्यही सिला खोजेको धानबाट पनि छाक टाथ्र्यौँ । यस्तै गरिबीमा बित्यो मेरो बाल्यकाल । मैले ठाकुरजी मावि, बकधुवा सप्तरीमा कक्षा १२ सम्म पढेँ । अहिले सलहेस क्याम्पस, लहानबाट बिएड गर्दै छु । 

समाजले हामीलाई साह्रै हेप्छ । हामीलाई समाजको सदस्य नै नभएजस्तो गर्छ । समाज कानुनसँग डराएजस्तो गर्छ, र हाम्रासामु मीठो भाषामा बोल्छ, तर पछाडि नराम्रो व्यवहार गरेको गर्‍ यै गर्छ । 
म हुर्केको समाजले मलाई भन्थ्यो, ‘मुसहरले पढ्न खोज्नु रहर मात्रै हो । यो सीतेले पढेर के गर्छे र ! बिहे गरेपछि श्वास फेर्न पाउँदिन, केको जागिर खान्थी ! घरभरि लालाबाला होलान् । तिनलाई खुवाउन र हुर्काउन परेपछि सिकेको दुई÷चार अक्षर पनि त्यसै बिर्सन्छे !’ समाजको यो गलत सोच भंग गर्न बुबाआमाले धेरै दुःख गरेर मलाई पढाउनुभयो । मेरो ठूलो दाजु लाटो छ । मेरो अर्को सानो दाजु पनि पढ्ने, बहिनी पनि पढ्ने भएपछि खर्च धेरै लाग्ने भयो । तर, पनि मैले पढ्ने मौका पाएँ ।

सन्तानले उचित शिक्षादीक्षा नपाएकै कारण हामी गरिबी र अपमान भोग्न बाध्य भएको हो भन्ने कुरा बुबाआमाले बुझ्नुभयो । खेतमा गोरुले जस्तै काम गरेर भए पनि बुबाआमाले पढाउनुभयो । आमाबुबाले दुःख गर्नुभयो हाम्रा लागि, अहिले म यत्ति बुझ्ने भएकी छु । 

अहिले बुबा बिरामी हुनुहुन्छ । मसँग उपचार गर्ने पैसा छैन । भेटेर दुई शब्द मीठो बोल्न र दुई गाँस मीठो खुवाउन पनि सकिरहेकी छैन । रित्तो हात के जानू भनेर बुबालाई हेर्न गएकी छैन । बुबाआमालाई आफू बिरामी भएका वेलामा सन्तानले भरथेग गर्लान् भन्ने आश हुँदो हो । तर, मैले बुबाआमाका लागि केही गर्न सकिनँ । यो सम्झिँदा दुःख लाग्छ ।

मेरो विवाह गर्ने वेला दाइजोको मामलामा बुबाले केही पनि बोल्न सक्नुभएन । कारिचनलाई मैले स्पष्ट भनेकी थिएँ, ‘मेरा बुबाआमाले दाइजो दिन सक्नुहुन्न ।’ मेरा कुरा सुनेर बुबाले टाउको झुकाउनुभयो । मेरा ससुराले अर्कातिर मुन्टो बटार्नुभयो । सायद विनादाइजो नमान्ने सोचमा हुनुहुन्थ्यो क्यारे । कारिचनलाई त्यहाँबाट उठ्न संकेत गर्दै ससुरा बाहिरिनुभयो । तर, कारिचनचाहिँ बसिरहे । कारिचन दाइजोविनै बिहे गर्न तयार भए । मलाई धन चाहिँदैन, ठूलो मन भएकी श्रीमती चाहिन्छ भनेका थिए कारिचनले । ‘दाइजोविनाकी बुहारी भनेर सासू ससुराले हेँला गरे त्यसको प्रतिकार कसले गर्ने ?’ मैले प्रश्न राखेकी थिएँ । कारिचनले साथ दिने वचन दिए । 
यसरी माग्न आएको केटासँगै सवालजवाफ गरेको देखेर मातापिता डराउनुभयो । उहाँहरू डराउँदै मतिर हेर्नुभयो । मेरो सानो दाजु पनि हेरेको हे-यै भए । म पनि गलत कुरो पो बोलेँ कि भनी केहीबेर आत्तिएँ पनि ।
‘बिहे हामी दुईजनाले गर्ने हो, मेरा आमाबुबाले हेँला गरे म सम्झाउँछु,’ कारिचनले भने । उनको भाषा अलि साहित्यिक पाराको थियो । 

म पनि नेपाली साहित्य पढेकी मान्छे, उनी पनि साहित्य भनेपछि मरिहत्ते गर्ने मान्छे रहेछन् । मन मिल्यो । वैवाहिक सम्बन्धमा बाधियौँ । सामान्य तरिकाले विवाह गरियो । तडकभडक केही पनि गरिएन । हेर्दा सबै खुसी देखिन्थे । कोही कोही बेखुसी पनि रहेछन् । कसैको मनमा पसेर नियाल्ने कुरो आएन ।

त्यही विवाह नै मेरो दुर्भाग्यको दिन सावित भयो । घर भित्रिएकै भोलिपल्ट हामी दुईजनालाई भिन्न गरिदिए । हामी अल्लारे ठिटाठिटी न प¥यौँ, के खानु, के लाउनु । आपत् पर्‍ यो । 
पहिले भावनाका ठूलाठूला कुरा गरेका थियौँ । जीवन भावनाले चल्दो रहेनछ । जीवन चलाउन यथार्थमा बाँच्नुपर्ने रहेछ । हामी आफ्नो खुट्टामा उभिएका थिएनौँ । हामीसँग केही जागिर पनि थिएन । 

हामीले जमदहमै सानो झुप्रो ठड्यायौँ । त्यो जमिन बैँकमा धितो राखेको जमिन हो । धितो राख्ने जमिनवाला मरिसके । ती जमिनवालाका छोरानातिले त्यो जग्गा उकास्ने रे । यदि उनीहरूले मुद्दा जिते भने हामीले त्यो ठाउँ छाड्नुपर्छ । त्यसपछि कहाँ जाने थाहा छैन । बैंकले जिते पनि हाम्रो वास उठ्ने नै छ । उनीहरूको विवाद भइन्जेल मात्रै हो हामी त्यहाँ बस्न पाउने ।

..

समाज कानुनसँग डराएजस्तो गर्छ र हाम्रासामु मीठो भाषामा बोल्छ, तर पछाडि नराम्रो व्यवहार गरेकोग-यै गर्छ ।

हामी दुईमध्ये एकजनाले मात्रै भए पनि जागिर भेटे हामीलाई बाँच्न सजिलो हुन्थ्यो । नोकरीकै लागि धेरैपटक गोलबजार नगरपालिकाको वडा नं. ३ को कार्यालय धाएँ । जनप्रतिनिधिको ढोका चहारेँ । नेताहरूलाई भेटेँ । तर, आश्वासन मात्रै हात लाग्यो । आजसम्म कसैले जागिर दिएका छैनन् । 

एक ठाउँमा बल्लबल्ल लिखित पास गरेँ । मौखिक परीक्षाका वेलामा मलाई भने, ‘सीताजी ! तपाईं पढेलेखेको जागरुक दलित महिला हुनुहुन्छ । आत्मविश्वास र भरोसाले बाधा पन्छाउन सक्षम हुनुहुन्छ । त्यसैले यो जागिरमा अहिले तपाईंले दाबी नगर्नुस् । अर्को वर्ष तपाईंको पालो आउँछ ।’
बाह्र, चौध दिन धाएर, अनेक प्रयत्न गरेर लिखित परीक्षा उत्तीर्ण गरिसकेपछि जिम्मेवार मान्छेले मलाई त्यस्तो मौखिक जवाफ दिए । कुरा सुनेर म रन्थनिएँ । के गरौँ र कसो गरौँ भएँ । म गरिब र दलित भएकै कारण पाइसकेको जागिर पनि पाइनँ ।

मैले भनेँ, ‘यसपालि अर्कैलाई हुने यो जागिर अर्कोपालि मैले नै पाउँछु भन्ने के ग्यारेन्टी ? सक्नुहुन्छ भने मलाई लेखेर दिनुस् ! अनि मात्रै म ढुक्क भएर फर्कन्छु ।’ जागिर त्याग्नैपर्ने भएपछि मैले बाध्य भएर मुख खोलेँ । 

मेरो कुरालाई उनीहरूले हाँसेर टारिदिए । मसँग जोड्न जम्ला हात मात्रै थियो । मसँग न सोर्स थियो, न फोर्स नै थियो । न ठूलो आवाज थियो, न कसैको भरपर्दो साथ थियो ।  म फर्किएँ फेरि उही मजदुरी काम गर्न । म अहिले गोलबजारमा ज्यालामजदुरी गरेर बिएड पढ्दै छु । अरू जागिर केही पनि छैन । अहिले मलाई त यो समाज नै मेरो आफ्नोजस्तो लाग्न छाडिसक्यो । बाँच्न गाह्रो भइरहेको छ । मन खोलेर हाँस्न पनि पाएकी छैन ।

छोरी जेनिसाको भविष्य सम्झेर रुन मन लाग्छ, वेलावेलामा । यता मेरो हालत यस्तो छ, उता जन्मदिने आमाबुबाको अवस्था पनि कहालीलाग्दो छ । मेरो विचारमा यी सबै समस्याको एउटै कारण हो हामी दलित हुनु । हामीलाई समाज र सरकारको दया चाहिएको होइन, अधिकार चाहिएको हो । हामीलाई सरकारले हेर्नुपर्छ । नत्र भने योग्यताअनुसारको काम दिनुपर्छ । दलित, ‘अपठित र गवाँर’ भनेर हामीलाई हेप्न पाइँदैन ।