बुबा रामेश्वर चमार र आमा दुलारीदेवी चमैनकी माइली छोरीका रूपमा मेरो जन्म आजभन्दा १७ वर्षअघि भयो । मेरो जन्मस्थान पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ जिंगना गाउँ हो । हामी एकजना भाइसहित चार दिदीबहिनी छौँ । बाजेसहित हाम्रो परिवार सातजनाको छ । म बडनियार उच्च माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छु ।
प्राथमिक तहको पढाइ मैले नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय पचुरुखीबाट गरेँ । हाम्रो पारिवारिक अवस्था निकै कमजोर छ । बुबा बाराको सिमरास्थित साल्ट ट्रेडिङ प्रालिमा १० वर्षदेखि मजदुरको काम गरिरहनुभएको छ । नुनको बोरा उचाल्नु, गोदाममा राख्नु, गोदामबाट बोकेर फेरि गाडीमा राख्नु उहाँको नित्यकर्म बनेको छ । त्यसरी भारी उचालेर कमाएको सीमित पैसाले घरपरिवार चलाउनेदेखि हामीलाई पढाउनेसम्मको जोहो गरिरहनुभएको छ ।
अरू जिल्लाको दाँजोमा हाम्रो पर्सामा दलितको अवस्था निकै कमजोर र दयनीय छ । पढाइ–लेखाइमा त झनै पछाडि छौँ । हामी छात्राका लागि पढाइ अभिशापजस्तै छ । विद्यालय जानै मुस्किल, गइहाले पनि समाजले खराब नजरले हेर्छ । बिहेबारी गर्न पनि उस्तै समस्या छ । हाम्रो समुदायका छोरीचेलीलाई कोही बिहे गर्नै मान्दैनन् । माग्न पनि आउँदैनन् । किनभने ‘पढेलेखेकी केटी बिग्रेकी हुन्छे’ भन्छन् । फलानाकी छोरी बिग्रेकी छ, त्यसैले पढाउँछन् भन्ने अर्थ लगाइन्छ । ‘एकलदुकल’ त विद्यालय जानै नहुने अवस्था छ । त्यसरी हिँड्दा झनै बिग्रेकी ठानिन्छ ।
सामाजिक सोच र चिन्तनले गर्दा विद्यालय जान पनि चुनौती छ । घरबाट जब स्कुलतिर निस्किन्छौँ, बाटोमा अरू जातका मानिसले ‘चमैनियो स्कुल जान्छ’ भनेर खुलेयाम हेप्छन् । ‘पढेलेखेर तिमीहरू के गर्छौ ? तिमीहरू अछुत जातले पढेर पनि जागिर पाउँदैनौ, पाएकालाई पनि अफिसमा हेप्छन्, कुटपिट गर्छन्, अनि तिमीहरू पढेर कसरी जागिर खान्छौ ?’ भनेर हतोत्साह गर्छन् । तर पनि मैले हरेस खाएकी छैन । उनीहरूका कुरा एक कानले सुनेर अर्को कानले उडाइदिने गर्छु । कलेजमा साथीहरूले खुलेर छुवाछुत गर्दैनन्, तर भित्रभित्रै यति भयंकर भेदभाव गर्छन् कि कुरै नगरौँ । म बुझिरहेकी हुन्छु तर उनीहरू बुझेकी छैन जस्तो गरी हेप्छन् । हामी दलित छोरीचेलीहरू पनि नसुनेको वा नबुझेको जस्तै गरिदिन्छौँ ।
कतिपय सरले पनि क्याम्पसमा जातीय हिसाबले भेदभाव गर्छन् । हामी चमार जातका केटीलाई हेपाहा नजरले हेर्ने गर्छन्, धेरैजसो सरले अरू जातिको छात्रालाई जति नजिकबाट पढाइमा सहयोग गर्छन्, हामीलाई गर्दैनन् । ‘तिमीहरू पढेर के गर्छौ ?’ भन्छन् । ‘जति पढे पनि तिमीहरू चुलोचौकामा सीमित हुनुपर्छ । सानो र कमजोर जातका कारण तिम्रा आमाबुबाले धेरै पढाउन सक्दैनन् ।
सादीमा दहेज कम लाग्ला कि भनेर तिमीहरू पढेको नाटक गर्छौ । आफ्ना लागि होइन, आमाबुबाले कम दहेज दिनुपरोस् भनेर पढ्छौ । पढेलेखेर केही गर्न होइन, कम दहेजमै ससुराली जान पढ्छौ,’ जस्ता शब्दले सरहरू नै खिल्ली उडाउँछन् । गाउँमा अरू जातबीच झैझगडा हुँदा पनि ‘चमैइनियाँ’ भनेर गाली गर्ने चलन छ । जातीय भेदभाव तथा छुवाछुतविरुद्ध ऐन आएको छ, तर त्यो ऐनले के गर्छ, हामीलाई थाहा छैन । हाम्रो समुदायका मानिसलाई ऐनबारे जानकारी छैन । देशमा दलितका लागि जस्तोसुकै कानुन आए पनि त्यसको पालना कसैले गरेको पाइँदैन । कानुन झन् हाम्रा लागि गलपासो बन्छ । अनि हामीले कसरी अधिकार पाउनु ? कसरी भेदभावबाट मुक्त हुनु ?राज्यको व्यवस्था फेरिएको छ ।
हाम्रो समुदायका छोरीचेलीलाई कोही बिहे गर्नै मान्दैनन् । ‘पढेलेखेकी केटी बिग्रेकी हुन्छे’ भन्छन् । फलानाकी छोरी बिग्रेकी छ, त्यसैले पढाउँछन् भन्ने अर्थ लगाइन्छ ।
सत्ताफेरिएको छ । संविधान आएको छ, तर देशमा आज पनि जातीय भेदभाव र छुवाछुत कायम छ । आज पनि सामाजिक भोजमा छुवाछुत हुन्छ । काममा भेदभाव छ, अनि कसरी भन्नु कि भेदभाव छैन । छुवाछुत छैन । अहिले पनि दलितलाई भोज खुवाउँदा अलग्गै बसालिन्छ । टाढाबाट दिइन्छ । खाएको पात पनि हामीलाई नै फाल्न लगाइन्छ । तर, त्यही कथित उपल्लो जातिकाले खाएको पात फाल्दैनन् । त्यहीँ विभेद देखिन्छ ।
गैरदलितहरू दलितको घरमा भोज खान आउँदैनन् । खाए पनि उनीहरूलाई चाहिने भोज सामग्री उनीहरूकै घरमा पु-याउनुपर्छ । उनीहरू आफैँ पकाएर खान्छन् । गैरदलितको भोज दलितले सँगै खान पाउँदैनन् । दलितको भोज गैरदलितले खाँदैनन् । अनि त्यस्तो सामाजिक भोजको के अर्थ ? के महत्व ?
आजको युगमा पनि दलितलाई रात काट्न आफ्नो ओत छैन । छाक टार्न जमिन छैन । ज्यालादारी, मजदुरी गरेर साहु–महाजनकै दैलोमा शरण पर्नुपर्ने अवस्था छ । विद्यालयमा कुनै सुविधा छैन । भएको पनि पाउने प्रक्रिया यति झन्झटिलो छ कि पाउनै मुस्किल छ । म आजसम्म आमाबुबाकै मजदुरीको पसिनाले जेनतेन पढिरहेकी छु । धेरै ठाउँमा सरकारले दलित विद्यार्थीलाई ड्रेस र पढाइ खर्च दिएको सुन्छु । तर, हामीले अहिलेसम्म पाएका छैनौँ । प्रदेश सरकारले साइकल बाँडेको सुन्छु तर खोइ हामी दलित छात्राले ती सुविधा पाउन सकेका छैनौँ । आजसम्म मैले बुबाले उचालेको नुनको भारीकै बलबुतामा पढेकी छु, कुनै छात्रवृत्ति पाएकी छैन ।
पढेर शिक्षक बन्ने मेरो सपना हो । तर, कसरी बन्ने चिन्ता लागिरहन्छ । किनभने आर्थिक अवस्था कमजोर छ । एकजना बहिनी मामाघरमा बस्छिन् । एकजना दिदीको बिहे भइसकेको छ । घरमा आमाबुबाको मजदुरीबाट म र भाइ मात्र पढिरहेका छौँ । छोराको चाहनाले हामी चार छोरी जन्मियौँ । आज हामी भाइबहिनी धेरै भएकाले पनि आर्थिक अवस्था झन् कमजोर भए झैँ लाग्छ । मैले पढाइ खर्च जुटाउन केही समय स्थानीय बोर्डिङ स्कुलमा पढाएँ । तर, समाजले त्यहाँ पनि गरी खान दिएन । छोरी अरूसँग लागेर बिग्रिन थाली भनेर समाजले कुरा काट्यो । गलत नजरले हेर्न थालेपछि मैले पढाउनै छोडिदिएँ । त्यसैले मधेसमा छोरी त्यो पनि दलित परिवारमा जन्मिएर पढ्न पनि गाह्रो छ । शिक्षित भएर समाजमा चेतना फैलाउन पनि अप्ठ्यारो छ ।