• वि.सं २०८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
मल्ल के. सुन्दर
२०७६ पौष २६ शनिबार ०८:२०:००
समाज

पृथ्वीनारायण शाह चर्चा नगरिएका पक्ष

२०७६ पौष २६ शनिबार ०८:२०:००
मल्ल के. सुन्दर

शाही नेपाली जंगी अड्डाको परियोजनाअनुसार वि.सं. ०४९ असारमा ‘नेपालको सैनिक इतिहास’ पुस्ताकारमा बजारमा आयो । इतिहास खोतल्ने क्रममा पुस्तकले नेपाली सेनाभित्र कस्ता–कस्ता खाले दण्ड–सजायका प्रचलन थिए भन्ने प्रसंग उल्लेख गर्दै कीर्तिपुरवासीमाथि गोर्खाली सेनाद्वारा गरिएका क्रूर र बर्बरतापूर्ण व्यवहार तथा नाक काटिएका बारेमा पनि केही पंंक्ति समावेश गरिएका थिए । 

जंगी अड्डा आफैँ प्रकाशकका रूपमा रहेको पुस्तकमा गोर्खाली सेना अनि पृथ्वीनारायण शाहका बारेमा यस्ता कुरा उल्लेख गरिनु केहीका लागि पाच्य भएन । राजदरबारबाट ती पंक्ति सच्याइनुपर्ने सल्लाह दिइएको रहेछ । तर, इतिहासलाई तोडमोड गर्ने तथा पुनर्लेखनमा सहमत भएन । विकल्पका रूपमा बजारमा वितरण गरिसकेका ती पुस्तकका प्रति काठमाडौंका पुस्तक पसलबाट उठाउन लगाए । 

आफूलाई निक्खर राष्ट्रवादी ठान्नेका लागि पृथ्वीनारायण शाह आदर्श पात्र हुन्, उनीमाथि आरोपित कुनै पनि कुरा स्विकार्य छैन । बर्बरता, क्रूरता र अमानवीय व्यवहारका कुरा त चर्चासम्म नगरियोस् भन्ने त्यस्ता समुदायको चाहना हो । विशेषतः निर्दलीय राजनीतिको प्रादुर्भावसँगै स्थापित महेन्द्रपन्थी राष्ट्रवादको धारले त शाहवंशीय राजा, गोरखाको राज्य विस्तारका बारेमा प्रशस्तिगानको एउटा प्रथा नै चले । शाह राजाहरूलाई देशभक्त, राष्ट्रवादी तथा प्रजावत्सलका रूपमा प्रस्तुत गर्दैगर्दा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता, एकीकरणका नायक, धर्म संस्कृतिका रक्षक, दयालु, बुद्धिमान, वैदेशिक शक्तिविरुद्ध डटेर उभिएका शासकका रूपमा उभ्याइने गर्दथ्यो । विरुद्धावली लेखाउने चाहनामा केहीलाई राजदरबारले खान्की नै दिएर राखे । विशेषतः पृथ्वीनारायणका बारेमा खण्ड–खण्ड गरीकन सूचना विभागको खर्चबर्चमा पुस्तक प्रकाशित गराए । 

राजदरबारको नियोजित ढाँचा तथा निर्दलीय व्यवस्थाअन्तर्गत प्रशिक्षित एक तप्का त खुलेरै दाबी गर्छन् युद्धका क्रममा पृथ्वीनारायणले कीर्तिपुरवासीविरुद्ध गरिए भनिएका ‘अमानवीय तथा बर्बर व्यवहारका कुरा निराधार हुन्, विदेशी फिरंगीहरूले पूर्वाग्रही भएर फिजाइएका केवल भ्रम हुन् ।’ ‘नेपालको सैनिक इतिहास’ पुस्तक प्रकाशनका क्रममा विकसित घटनाक्रम पनि यिनै मानसिकता र सोचका प्रतिबिम्ब थिए ।

थाहा भएकै कुरा हो, इटालीका पादरी गुस्सेपिले सन् १७६९ डिसेम्बर २९ का दिन इसाई मिसनरीका अवस्थाबारेमा रोम पठाएको पत्रमा उपत्यकाभित्र गोर्खाली फौजको आक्रमण र त्यसक्रममा स्थानीय नागरिकका विरुद्ध भएका ज्यादतीका विवरण पनि उल्लेख गरिएका थिए । विशेषतः कीर्तिपुरवासीमाथि गरिएका क्रुर र अमानवीय व्यवहारका कुरा थिए । कीर्तिपुरेहरूको नाक र ओठ काटिएका सन्दर्भ यस पत्रमा भेटिन्छ । उनी युद्धका वेला उपत्यकामै थिए, उनका दाबीअनुसार कतिपय घटनाका ऊ आफैँ प्रत्यक्षदर्शी थिए । उनले उपत्यकामाथिको आर्थिक नाकाबन्दी गरिएको र भारतबाट कपास र नुन बोकेर आउनेलाई चिसापानीगढी वरपरका रूखमा झुन्ड्याएर मारेका कुरा पनि पत्रमा लेखेका थिए ।

प्रत्यक्षदर्शी तथा घटनाका वेला उपत्यकाभित्र नै रहेको भए तापनि ऊ पश्चिमा थिए, ऊ इसाई पादरी थिए, त्यसैले उनका वर्णन ‘भ्रामक, निराधार, असत्य तथा पूर्वाग्रहित’ हुन् । महेन्द्रपन्थी राष्ट्रवादीहरूले आजसम्म यस्तै आरोप लगाउँदै आएका छन् । पृथ्वीनारायण तथा उनका गोर्खाली फौजलाई चोख्याउन यो सहज उपाय हो । 

कर्नल कर्कप्याट्रिकले पनि आफ्नो पुस्तक ‘एन अकाउन्ट अफ किंग्डम अफ नेपाल’मा यस घटनाबारे मिल्दोजुल्दो कुरा लेखेका छन् । तर, उनी पनि बेलायती, उनको यस प्रकारका प्राज्ञिक लेखनमा पनि भर पर्न तयार छैनन् । महेन्द्रपन्थीका लागि उनी पनि एकै खेतका मूली हुन् । फेरि पनि प्रश्न खडा हुन्छ, गोरखा राज्यकै दरबारिया कवि ललितावल्लभको ‘पृथ्वीचन्द्रवर्णनोदय’ काव्यकृतिमा ‘सर्वान दुर्गवरान सभूपतिवरो भित्वा चतुर्दिकंस्थितान् । रम्य कीर्तिपुरेति विश्रुत पुरं जग्राह भूरिश्रवा ।। हत्वा शत्रुमनस्विनः कति पुनः प्रच्छिद्य नासार्दिकम् । कृत्वा कांश्च विरुपिणः कुपुरुषान् कीर्तिस्वरूपं द्विपंः ।।’ भन्दै वर्णित यी पंक्ति के हुन् त ? कीर्तिपुरवासीहरूको नाक काटिएको तथा विरूप पारिएका कुरा यहाँ स्पष्ट चर्चा गरिएका छन् । 

त्यस्तै, समकालिक कवि सुन्दरानन्द बाँडाको ‘त्रिरत्नसौन्दर्यगाथा’मा पनि कीर्तिपुरमा भएको गोर्खाली सैनिक कारबाही र ज्यादतीका यथेष्ट चर्चा गरिएको कुरा भेटाउन सकिन्छ । कतिपय वंशावलीमा त गोर्खाली फौजको प्रतिशोधपूर्ण कारबाहीमा काटिएका नाक मात्रै सत्र धार्नी थियो भनिएका छन् । यद्यपि, वंशावलीका यसखाले विवरण अतिशयोक्तिपूर्ण हुने गर्छ । 

तर, इतिहास शिरोमणि बाबुराम आचार्यदेखि सूर्यविक्रम ज्ञवालीसमेतले गोर्खाली फौजद्वारा कीर्तिपुरवासीप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको कुरा नकारेका छैनन् । केवल कतिजनाको नाक काटिए र त्यसको परिमाण कति थिए भन्ने कुरामा मात्रै फरक मत जाहेर गरेका छन् । कीर्तिपुरमाथि सन १७६६ मा दोस्रोपटक आक्रमण थियो । पहिलो आक्रमण असफल मात्र भएको थिएन, पृथ्वीनारायणको विश्वासिलो सेनापति कालु पाण्डे त्यसै लडाइँमा मारिए । स्वयं पृथ्वीनारायण आफैँ पनि घेराबन्दीमा परेर जोखिमयुक्त अवस्थामा पुगेका थिए । चार सयभन्दा बढी जवान काटिए । गोर्खालीमा त्यो क्षति र पराजयको पीडा थियो, जसरी भए पनि कीर्तिपुरमाथि विजय हासिल गर्नु एक मात्र उनीहरूको लक्ष्य रह्यो । प्रत्यक्ष युद्धमा संलग्न हुँदाको चुनौतीलाई सम्झेर गोर्खालीले फरक रणनीति अपनाए, नैतिक अनैतिक सोचिएन ।

कीर्तिपुरका काजी धनवन्त सिंहका छोरा वीर नरसिंलाई अपहरण गरेर नुवाकोट पुर्‍याइए । एक पत्र पठाएर धनवन्तसँग उनको छोराको जीवनसँग मोलतोल गरे । मध्यरातमा कीर्तिपुरनगरको पश्चिमतिरको सुरक्षाद्वार चुपचाप खोल्न बाध्य बनाए । कीर्तिपुरवासी मस्त निद्रामा रहेको मौका छोप्दै गोर्खाली फौज जाइलागे । घरवासमा आगो लगाइए, सेनाहरू मारिए । नगरवासीहरू घरभित्रै लुकिरहेको अवस्थामा क्षमादानको घोषणा गर्दै निःसंकोच बाहिर निस्कन भनिए । विश्वस्त भई बाहिर निस्किए । तर, कीर्तिपुरको प्रतिरोधमा एक आँखा गुमाउनु परेका सुरप्रताप शाहलाई त्यसको बदला लिन आज्ञा दिइयो । घरबाट बाहिर निस्किएका सबैको नाक, ओठ काटिए । भनिन्छ, त्यसमा भर्खरै आमाको काख छाडेको नानी पनि मुक्त भएन ।

बालचन्द्र शर्माले ‘नेपालको ऐतिहासिक रूपरेखा’ पुस्तकमा लेखेका छन्, ‘आत्मसमर्पणपछि पनि पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको जस्तो अपमान गरे त्यसले उनको उज्वल कीर्तिमा साह्रै ठूलो दाग लागेको छ । ’ उनी अझ थप कुरा भन्छन् ‘पृथ्वीनारायण शाहको यस जघन्य कामको ढाकछोप गर्नु व्यर्थ छ ।’ पृथ्वीनारायण शाहकै बारेमा विद्यावारिधि गरेका डा. तुलसीराम वैद्य आफ्नो कृति ‘पृथ्वीनारायण शाह : द फाउन्डर अफ मोडर्न नेपाल’ मा एउटा सार नै निकालेका छन्– गोरखा विस्तारका लागि नैतिक–अनैतिक विभिन्न उपायका अवलम्बन गरिए । उनका (पृथ्वीनारायण शाह) लागि लक्ष्य प्राप्तिले उपायको पुष्टि गर्छ भन्ने मान्यता कायम भए । त्यसैले, उनले नैतिक–अनैतिक, उचित–अनुचित, मानवीय–अमानवीय सबै बाटो अपनाए । अत्यन्त क्रुर दमनका काम पनि गरे । 

क्रुरता र अराजक व्यवहार मानिसलाई आतंकित पार्ने गोर्खाली फौजको रणनीति नै रह्यो । भक्तपुरमा १० नोभेम्बर १७६९ का दिन फौजी कारबाही गरिनुभन्दा पूर्व भिमालका खनाल पठाएर बाली काट्ने समय भइसकेको खेतमा आगो लगाइदिए । झन्डै पाँच सय घर जलाएर भष्म पारे, दुई हजारजति भक्तपुरवासी मारिए । युद्ध सकिइसकेपछि पनि दरबारिया काजी खलकलाई खोजीखोजी काटिए । सुरक्षाका लागि कतिपय सपरिवार तनहुँ, कास्की, मल्लाज, बाग्लुङ, रुकुम, रोल्पा, प्युठानदेखि डोटीसम्म शरण लिन पुगे । सुरक्षाकै लागि कतिपयले पहिचान लुकाउन आफ्नो जात, थर नै फेरे ।

कर्नल ककप्याट्रिक लेख्छन्– पृथ्वीनारायण शाहबाट भएको बर्बरताको दृष्टान्त केवल कीर्तिपुरको युद्ध मात्र थिएन । वाभु वा चित्रपुर (च्वपु) तत्कालीन भक्तपुर जिल्लाको दधिकोट गाविस ८ र ९ वडाअन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरको साँधको क्षेत्र हो । मल्लकालदेखि नै रणनीतिक महŒवको यस ठाउँमा थुपै्र युद्ध भएको चर्चा इतिहासमा पढ्न पाइन्छ । यहाँ दुई खुला चौर छन् एक क्वंद्वं अर्थात् अस्थीपञ्जरको ढिस्को, अर्को हिद्वं रगतको आहाल । यहाँका बासिन्दाले गोर्खाली फौजको डटेर प्रतिरोध गरेका थिए । एउटा सामरिक महत्वको बिन्दु रहेकाले गोर्खाली फौजलाई यसमाथि नियन्त्रण आवश्यक थियो । त्यहाँ प्रतिरोधमा उत्रिएका स्थानीयको नरसंहार गरिए । सोही नरसंहारमा थुप्रिएका लासको अस्थिपन्जरको ढिस्को क्वंद्वं अनि त्यहाँ बगेको रगतले आहाल बनेको हिद्वंका हुन् भनेर भनिन्छ ।

काठमाडौं उपत्यकाबाट मधेस झर्ने एउटा मूल केन्द्र चिसापानी गढी थियो । बाटोमा पर्ने टिस्टुङ, बज्रवाराही, चित्लाङ, कुन्छालमा आफ्नैखाले सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व पाइन्छ । ती ठाउँका व्यापारिक तथा सामरिक महŒव बेग्लै थिए । उपत्यकाको मधेशतिरको व्यापार र सम्पर्कविच्छेद पार्न गौर्खाली फौज यतातिर पनि लागेको थियो, त्यसैक्रममा चित्लाङमाथिको नियन्त्रणका लागि समस्या भएन । तर, बलामहरूको बस्ती कुन्छाल गाउँ आत्मसमर्पणका लागि तयार भएन । कुन्छालवासीले गोखालीको प्रतिरोध गरिएको सजायस्वरूप एक–एक घरभित्र हुलेर मानिसहरू काट्ने काम भए । कुन्छालवासीले अहिले पनि गोर्खाली फौजको त्यो हिंस्रक व्यवहारलाई बिर्सेका छैनन् ।

मकवानपुरतिर लाग्दा पृथ्वीनारायण शाह पुलमाथिबाट खोला नाघ्दै थिए, राजाका दिवान कनकसिंह बानियाँका सिपाहीले आफूले लगाएको जुत्ता नै नफुकालीकन उनलाई नमस्कार गर्न पुगे । राजकुमार पृथ्वीनारायणलाई त्यो सह्य भएन, तुरुन्तै त्यस सिपाहीको टाउको छिनाउन लगाए । मकवानपुरका राजा हेमकर्णसेनकी छोरी इन्द्रकुमारीसँग बिहे त गरियो तर दाइजोको रूपमा माग गरे एक दन्ते हात्ती अनि नौलाख हीराको हार । त्यो नपाएपछि प्रतिशोधको भावना बोकेर रित्तो हात फर्के । सन् १७६२ सम्म पुग्दा हेमकर्णका छोरा दिग्बन्ध सेनले राज्य गर्दैगर्दा ससुराली मकवानपुरमाथि धाबा बोले । हेमिलटनले लेखेअनुसार युद्ध सकेपछि पृथ्वीनारायण शाहले ससुरालीसँगको पुरानो रिसको झोंकमा मकवानपुरवासीमाथि ज्यादै अत्याचार गरेका थिए ।

जयप्रकाश मल्लका तर्फबाट नुवाकोट जिम्मा लिएर बसेका जयन्त राना थिए । नुवाकोट गोर्खाली फौजको नियन्त्रणमा पुगेपछि उनी बेलकोट भागे । त्यसैवेला पृथ्वीनारायण शाहले जयप्रकाशलाई साथ दिन छाडेर आफ्नो पक्षमा आउन उनलाई भनेका थिए । जयन्त रानाले कान्तिपुरका राजाको नुनको सोझो गर्ने प्रतिबद्धता जनाएपछि पृथ्वीनारायण अत्यन्त क्रुद्ध भए । पछि आफ्नो कब्जामा आइसकेपछि पुरानो रिसमा जयन्त रानाको छाला काढिए, नुन खोर्सानी छर्केर असह्य यातना दिएर मारे ।

गौरेश्वर पन्त पृथ्वीनारायणका बाबु नरभूपाल शाहलाई मन्त्रदान दिने गुरु थिए, उनी तनहुँका राजा त्रिविक्रम सेनका पनि गुरु थिए । तर, त्यतिखेर गौरेश्वर काशीमा बस्थे । तनहुँका राजा त्रिविक्रमसँग आफ्नो सम्बन्ध सुधार्न र मित्रता गाँस्ने दूतका रूपमा भूमिका खेल्न पृथ्वीनारायणले काशीबाट गौरेश्वरलाई बोलाए । गौरेश्वरको मध्यस्थतामा पृथ्वीनारायणसँग मित्रताको कुरा गर्न ज्यामिरेघाट आए, त्रिशूली नदीको पानीमा निःशस्त्र भएर त्रिविक्रम बसे । यही मौका छोपेर नदीको पानीमा लुकाएर राखेको हतियार उठाई त्रिविक्रममाथि आक्रमण गरे । पछि नुवाकोटमा ल्याएर बन्दी अवस्थामा राखे । उता गौरेश्वर पन्तलाई उल्टै देश निकाला भन्दै काशी लघारे ।

ललितपुरका प्रधान काजीहरूका सम्बन्धमा पनि पृथ्वीनारायणको व्यवहार यस्तै रह्यो । राजा तेजनरसिंह भक्तपुरको शरणमा पुगिसकेपछि मित्रताका लागि वागमतीको पानीमा उभिएर क्रिया खाने भन्दै शंखमूलमा बोलाइएका प्रधान काजीहरूलाई पनि यसरी नै पृथ्वीनारायणले बालुवामुनि लुकाइराखेका नांगो तरबारले छप्काए । भक्तपुरका राजा रणजित मल्लका छोराहरू जो पृथ्वीनारायणका मितज्यू थिए, भक्तपुरमा फतेह गरिसकेपछि अवधुत सिंह एकजनाबाहेक अरू सातजना मितज्यू राजकुमारहरूलाई पनि बाँकी राखेन । 

विजयपुर गोर्खाली फौजको कब्जामा परिसकेपछि राजा कर्ण सेन कम्पनी सरकारको शरणमा पुगे, त्यहीँ नै उनको मृत्यु भयो । उनको दिवान अगम सिंह रानी र राजाका छोराको रेखदेखका लागि सीमापारि नै बसे । पृथ्वीनारायणको कम्पनी सरकारलाई भनेर राजा कर्ण सेनका छोरा आफ्नो पकडमा राख्ने योजना थियो । तर, त्यो सफल नभए पछि गोप्य रूपमा केही व्यक्ति पठाएर निर्वासनमा रहेको राजाको छोरालाई विष खुवाएर हत्या गरे ।

यी प्रसंगले पृथ्वीनारायण शाहका बारेमा चर्चा गर्न नखोजिएका उनका स्वभाव, चरित्र, मानसिक प्रवृत्तिका अर्को पक्षलाई उजागर गर्छ । हालसम्म पृथ्वीनारायण शाहलाई लिएर खासै चर्चा नगरिएको अर्को गम्भीर सन्दर्भ पनि यतिखेर अगाडि आएको छ । नुवाकोटमाथिको पहिलो आक्रमण सफल नभएपछि उनी बनारस पुगे । त्यहाँबाट आठ सयजति बन्दुक र बारुद किनेर ल्याए । यो सन १७४३ को कुरा हो ।

नेपालका इतिहासकारले आजसम्म उल्लेख गर्दै आएको यति नै हो । तीनै हतियारका बलमा राज्य विस्तारका अभियान तीव्र पारे । तर, अस्ट्रियाको राजधानी भियनास्थित विश्वविद्यालयमा पढाउँदै आएका इतिहासका प्राध्यापक हान्स गर्ग वेरले अर्कै तथ्यको चर्चा गरे । सन् १९७६ मा प्रकाशित उनको जर्मन भाषामा लेखिएको ‘नेपाल ईश्वरको वरदान’ (नेपाल गेस्चेक द गुटर) भन्ने पुस्तकमाा ढाकछोप गरिएको नेपालको इतिहासको अर्थमा दाबी गरेको छ– बनारस पुगेर पृथ्वीनारायण शाहले हतियार किनेको नभई इस्ट इन्डिया कम्पनीसँग गोप्य सहमति गरीकन बेलायतीका तर्फबाट सहयोगस्वरूप प्राप्त गरेका हुन् । त्यससम्बन्धी कागजात लन्डनको इस्ट इन्डिया कम्पनीको अभिलेखालयमा सुरक्षित रहेको र बेलायतीका तर्फबाट क्याप्टेन केनेले हस्ताक्षरको कुरा पनि पुस्तकमा उल्लेख गरेका छन् । 

पृथ्वीनारायण शाहको विरोधको नाउँमा सालिक झिकेर फ्याँक्ने र टाउको छिनाउनेहरू एकातिर छन् भने अर्कोतिर आँखा चिम्लेर शीर्षासन गर्नेहरू पनि छन् । यी दुवै प्रवृत्तिमा सुधार हुनुपर्छ ।

विचारणीय कुरा हो, बाबुराम आचार्यकै अनुसार त्यतिखेर एक थान बन्दुकको मूल्य साठी रुपैयाँजति पथ्र्यो, जब सुन तोलाको १६ रुपैयाँ मात्र थियो । डा. महेशचन्द्र रेग्मीले आर्थिक पत्रसंग्रह–२ मा चित्रण गरेको छ– गोरखा आर्थिक रूपमा अत्यन्त कमजोर अनि राज्यको आवश्यक काम–कारबाही चलाउनसम्म पनि छिमेकी राज्यसँगको सापटीमा भर गर्नुपर्ने अवस्थामा थियो । यस्तो राज्यले बनारस पुगेर साठी रुपैयाँको भाउमा सयौँ बन्दुक कसरी किन्न सम्भव भयो होला ?

त्यतिखेर भारतमा आफ्नो प्रभुत्व बढाउँदै आइरहेको इस्ट इन्डिया कम्पनी तिब्बत प्रवेश गर्न चाहन्थे । पहिलेदेखि नै इसाई पादरीमार्फत प्रयत्न गरिरहेका थिए, तर सफल हुन सकिरहेको थिएन । तिब्बतको व्यापार र अर्थतन्त्रमा त्यतिखेर काठमाडौं उपत्यकाका शासकको एकछत्र थियो । ल्हासामा नेपाली व्यापारीको मात्र कोठी सञ्चालनको अनुमति थियो । त्यहाँ नेपालका तर्फबाट प्रतिनिधिका रूपमा वकिल कार्यालय थिए, अर्ध न्यायिक अधिकारसमेत प्रयोग गर्थे । त्यस अतिरिक्त तिब्बतभित्रको कारोबार माध्यमस्वरूप नेपाली चाँदीका मुद्रा प्रचलनमा थियो ।

बेलायतीहरू यसमा सन्तुष्ट थिएनन् । काठमाडौं उपत्यकाको तिब्बती अर्थतन्त्रमाथिको एकल स्वामित्वलाई जसरी पनि तोड्नु थियो । तर, काठमाडौं उपत्यकाका तीन राज्य कमजोर नभएसम्म यो सम्भव थिएन । त्यस्तै, काठमाडौं उपत्यकासँगको व्यापारिक सम्बन्धबाट भारतको अवध राज्यको आर्थिक अवस्थामा पनि त्यतिकै टेवा पुगिरहेको थियो । त्यो पनि कम्पनी सरकारका लागि मनपरेको थिएन ।

उपत्यकाको स्थिति डाँमाडोल भएमा एकै प्रहारबाट तिब्बत र अवधमा निसाना लगाउन सकिने रणनीति बेलायतले बनाए । त्यस अभीष्टसम्म पुग्न पृथ्वीनारायण शाहको राज्य विस्तारका महत्वाकांक्षा सहयोगी हुने कम्पनी सरकारले बुझे, सोही रणनीतिमा गोर्खालीका लागि बनारसमा हतियार उपलब्ध गराएका थिए । स्वाभाविक हो, कम्पनी र पृथ्वीनारायणबीचको यो गोप्य सहमतिबारे अवधको सरकार अर्थात् लखनउको नवाव बजिरलाई जानकारी हुने कुरै थिएन, गोमतीमोहनमा भन्सार असुल गर्न तिनका मुसलमान सिपाहीले गोर्खालीलाई त्यहीँ रोके । त्यहाँ मारकाट गरेर गोर्खाली सेना त्यहाँबाट भागे । सूर्यविक्रम ज्ञवालीको दार्जलिङबाट ‘पृथ्वीनारायण शाह’ पुस्तकको परिशिष्ट – क मा यो विवरण पाइन्छ । सम्भवतः त्यस खाले मिलेमतोका लागि नै पृथ्वीनारायण आफू वनारस जानुभन्दा पहिले नै त्यहाँ गोप्य रूपमा आफ्ना दूत खटाएका थिए । 

वनारसबाट हतियारसहित फर्किइसकेपछि पृथ्वीनारायण शाहको आक्रमणको लक्ष्य नुवाकोटतर्फ  रह्यो । सन् १७५४ सम्ममा नाल्दुम, महादेव पोखरी, साँखु, बनेपा, दोलखा टिस्टुङ पनि गोर्खालीले कब्जामा लिइसके । यी सबै उपत्यकाको तिब्बत र अवधसँगको व्यापारिकमार्ग थिए । योजनाअनुसार व्यापारमा ठूलो नकारात्मक प्रभाव पारे । चर्को आर्थिक संकट भए । आखिर, उपत्यकाभित्रका मल्ल राजाहरूको शासन छिन्नभिन्न पारिए ।

डा. तुलसीराम वैद्य भन्छन्, ‘पृथ्वीनारायण शाहका अभियान गोरखाराज्य विस्तार हो । गोर्खाली आफैँ पनि आफ्नो राज्यलाई गोर्खाराज्य र राजालाई गोर्खाराजा र गोर्खाधिपति भन्न मनपराउँथे । आफ्नो लामो शोधका आधारमा तयार गरिएको ‘पृथ्वीनारायण शाह ः द फाउन्डर अफ मर्दन नेपाल’ पुस्तकमा लेख्छन्, ‘गोरखाको राज्य विस्तारका क्रममा नेपाल एकीकृत हुनपुगे । गोरखाका राजा आफैँले पनि आफ्नो प्रयत्न विभाजित राज्यका एकीकरणका लागि हो भनेर भनिएन । उनको चाहना केवल गोरखाको विस्तार थियो...।’

मननयोग्य कुरा, इतिहासकार डा. त्रिरत्न मानन्धरले भनेअनुसार पृथ्वीनारायण शाहलाई हरेक पक्षबाट योग्य देखाइन्छ, उनी राम्रा प्रशासक हुन् । राम्रा योजनाकार हुन् भनिन्छ । यो सब अतिशयोक्तिपूर्ण छ, उनको निष्पक्ष मूल्यांकन हुनुपर्छ, जुन अहिलेसम्म भएको छैन ।विरोधको नाउँमा सालिक झिकेर फ्याँक्ने र टाउको छिनाउने एकातिर छन् भने अर्कोतिर चाटुकार शैलीमा आँखा चिम्लेर शीर्षासन गर्नेहरू पनि छन् । यी दुवै प्रवृत्तिमा सुधार हुनुपर्छ । पृथ्वीनारायण शाह नेपालको इतिहासको यथार्थ हो, असल–खराब जे भए पनि उनको आफ्नो स्थान छ । नयाँ शिराबाट सोच्नु आजको आवश्यकता हो ।