मेरी घरवालीले
घरबाट यता राजधानी निस्कने बखतमा
भनेकी थिई मलाईः
‘सिंहदरबारलाई भन्दिनू–
विद्रोहीको बन्दुक र रिसाहा उखुमा
धेरै अन्तर हुँदैन’
कडा शब्दमा उसको
अर्काे सन्देश पनि थियोः
‘भन्दिनू, जस–जसलाई भेटिन्छ, भन्दिनू–
पुस्तौँदेखि कलबिख बाँचेको
रामविलास महतोको परिवार
यो सालउप्रान्त
उत्पादन गर्न सक्दैन
गुलियो उखु’
बिमार परेर यता आउन नसकेकी उसले
मलाई अह्राएकी थिईः
‘सिंगो मुलुकलाई भन्दिनू–
उखुको आगामी प्रजातिको स्वाद
हाम्रो आक्रोशले तय गर्नेछ’
(मैथिलीमा उसले भनेका
धारिला कुरा
खस नेपालीमा उल्थाउँदा
कस्तो भुत्ते–भुत्ते हुँदो रहेछ !)
ठान्नुहोला–
देहाती गँवार
मधेसी आइमाईले
कसरी जान्दछे यस्ता कुरा गर्न ?
न्याय–अन्यायको समझ हासिल गर्न
यता सुन्नुस्, दोस्तहरू !
न्याय–अन्यायको समझ हासिल गर्न
हामीलाई काफी छ आफ्नै उखु–जगत्
स्कुल–कलेजविनै
मेरी घरवाली र म
भएका छौँ उखुशास्त्री
टिभीमा अनुहार छाइरहने
अखबारमा फोटो आइरहने
समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, राजनीतिशास्त्री
के–के शास्त्री नहौँला हामी
पक्का हौँ, उखुशास्त्री
उखुका दुःख–शास्त्री
हामी जान्दछौँ–
इतिहासको कुन दुःखले
कुन बाध्यताले, कुन आवश्यकताले
र, इतिहासको कुन घडीमा
उखु परिणत हुन्छ बन्दुकमा ?
यो सर्वप्रथम मनुऋषिप्रधान
र, त्यसपछि कृषिप्रधान देशमा
हजारौँ वर्षदेखि
दुःखी मान्छे गौण छ
कृषक/उखुकृषक गौण छ
उसको खुन गौण छ
पसिना गौण छ
मेरी घरवाली मलाई भनिरहन्छे–
मिल–मालिकका अघिल्तिर कहिल्यै आँसु नझार्नू
यो कृषिप्रधान देशमा
मेरो आँसु झन् गौण छ
प्रधान त
यो कृषिप्रधान देशमा
मिल–मालिक प्रधान छ
उसको सुविस्ता प्रधान छ
उसको सुख प्रधान छ
उसको हाँसो प्रधान छ
जब–जब मेरा गौण खुन–पसिना–आँसु
गौण हुँदाहुँदा थाक्छन्
तब–तब गायब भइदिन्छ मिल–मालिक
सिंहदरबारको मिलेमतोविना
मिल–मालिक कसरी हुन सक्छ
रातारात गायब ?
घरवाली र म
हामी दुई उखुशास्त्रीको प्रश्नै यही छ
यो देशमा तेस्रो उखुशास्त्री
कोही छौ भने
यो कविता छापिएको अखबारको कार्यालयमा
सम्पर्क गर्नू
सल्लाह गर्नु छ...
किनभने,
उखु यत्तिकै बन्दुक बन्दैन ।