• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश परियार
२०७६ पौष २६ शनिबार ०८:४८:००
समाज

एकीकरणमा दलितको स्थान

२०७६ पौष २६ शनिबार ०८:४८:००
रमेश परियार

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानमा जसरी भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर र दामोदर पाण्डेले योगदान गरे, त्यसरी नै बिसे नगर्ची, मणिराम गाइने, धार्ने सार्की र जसवीर कामीले पनि योगदान गरेका थिए । पृथ्वीनारायण शाहको सपनालाई साकार पार्न बिशेष सहयोग पुर्‍याउने दलितमध्ये बिसे नगर्चीको नाम अग्रपंक्तिमा आउँछ । एउटा दमाईंले यति ठूलो योगदान दिन सक्दो रहेछ भन्ने कुरा बिसे नगर्चीले प्रमाणित गरिदिएका छन् ।

प्रजातन्त्रको उदय नहुन्जेल निरीह र निमुखा दमाईंको प्रसंग उठ्ने कुरै थिएन । कुनै ‘अछुत’ वा ‘दलित’को नाम लिँदासमेत छिटो हाल्नुपर्ने त्यो समय थियो । 
बिसे नगर्चीको जन्म–मृत्यु यही हो भनेर अहिलेसम्म निक्र्यौल छैन । उनको उमेर लगभग ४० वर्ष हुँदा पृथ्वीनारायण शाहको उमेर २१ वर्ष भएको अनुमान छ । पृथ्वीनारायण शाहले ‘तँ आफ्नो घरको पुरानो नगर्ची फेरि मेरो काठो भोटो पनि तैंले नै गरेको होइनस् ?’ भन्ने वाक्यांशले उनको उमेर अनुमान गर्न सकिन्छ ।  त्यसैले बिसे नगर्चीको जन्म १७६० तिर र मृत्यु १८४५/४६ मा भएको हुनसक्छ ।  

नरभूपाल शाहको पालामा दरबारमा दुईजना नगर्ची रहेको र अर्का एकजनाले चाहिँ पञ्चेबाजा बजाउने गरेको पाइएको छ । त्यसकारण नगरा बजाउने चलन गोरखा राज्यको स्थापनादेखि चल्दै आएको हुनसक्छ । तत्कालीन गोरखा राज्य पृथ्वीनारायण शाहको नेतृत्वमा एक ढिक्का थियो । राजाले विशाल नेपालको एकीकरण गरे । यसमा सानो जात भनेर चिनिने दमाईं , कामी, सार्की, गाइनेको उत्तिकै योगदान थियो ।

०००
एक दिन पृथ्वीनारायण शाहको नुवाकोट पराजयपछि बहादुर भाइ–भारदार पनि मारिए । राज्यको ढुकुटी पनि रित्तियो । निराश भई बिसे नगर्चीको घरमा गएर सल्लाह माग्नुभयो ‘हेर बिसे ! नुवाकोटको लडाईंमा भाइ–भारदार पनि मारिए, पराजय पनि भोग्नुपर्‍यो । राज्यको ढुकुटी पनि रित्तिएको कुरा तँलाई थाहै छ । कासी तीर्थ जाने विचार गरेको छु, गएको वेला हातहतियार ल्याउन पाए हुने थियो । एक पैसा पनि छैन, कसो गर्ने हो ? तँ हाम्रो दरबारको नगर्ची, फेरि मेरो काठो भोटो पनि तैंले गरेको । बुढोपाको तैँ छस्, त्यसैले तँसँग सल्लाह माग्न आएको’ भन्दा बिसे नगर्चीले सबै कुरा सुनेपछि घरभित्र पसेर एक रुपैयाँ ल्याई पृथ्वीनारायण शाहलाई टक्र्याए । 

त्यो देखेर महाराजा रिसाए– ‘तँ मेरो पिताको पालादेखिको नगर्ची भनेर पो सल्लाह माग्न आएको हो ? तेरो एक रुपैयाँ भिख माग्न आएको हुँ ?’ भन्दा बिसे नगर्चीले महाराजधिराजलाई सम्झाउँदै भने, ‘नरिसाइबक्सियोस् महाराजधिराज ! एक रुपैयाँले हजुरले भनेको सबै कुरा पूरा हुन्छ । गोरखा राज्यमा १२ हजार घरधुरी छन् । ती सबैसँग एक रुपैयाँ उठाइयो भने १२ हजार रुपैयाँ हुन्छ । अनि त महाराजको कासीको तीर्थ पनि हुन्छ र हातहतियार खरिद गर्न पनि पुग्छ ।’ 

बिसेले बिन्ती चढाउँदा पृथ्वीनारायण शाह झल्याँस्स भए । ‘ओहो ! तैंले धेरै राम्रो सल्लाह दिइस् स्याबास् बिसे !’ भन्दै सोहीअनुरूप सबै घरधुरीसँग एक–एक रुपैयाँ उठाए । बिसे नगर्चीलाई अगाडि लगाएर शुभसाइत गरी बिसे नगर्चीसँगै कासी गएको भन्ने भनाइ छ । त्यही पालादेखि धुरीकर उठाउने चलन भने चल्दै आएको छ । 

पृथ्वीनारायणले कासी तीर्थ गरेर फर्कंदा साथमा १२ नाल बन्दुक लिएर आएको र गोरखा दरबारमा बडादसैंमा फूलपाती भिœयाउँदा पड्काइने बन्दुक परापूर्वकालको त्यही १२ नाल बन्दुक हो कि भन्ने अनुमान गर्न सकिन्छ । बिसे नगर्ची सिद्धान्त र विचारका धनीसँगै साहसिक योद्धा पनि थिए । बैरीको मनमा त्रास पार्दै लडाइँमा अघि बढेको प्रसंग पनि भेटिन्छन् । नुवाकोटको लडाइँमा उनी यसरी अघि बढेको संकेत पाइन्छ । 

बिसे नगर्चीले महाराजधिराजलाई सम्झाउँदै भने, ‘नरिसाइबक्सियोस् महाराजधिराज ! एक रुपैयाँले हजुरले भनेको सबै कुरा पूरा हुन्छ । गोरखा राज्यमा १२ हजार घरधुरी छन् । ती सबैसँग एक रुपैयाँ उठाइयो भने १२ हजार रुपैयाँ हुन्छ । अनि त महाराजको काशीको तीर्थ पनि हुन्छ र हात–हतियार खरिद गर्न पनि पुग्छ ।’
 

हाल बिसे नगर्चीका सन्तानमा नवौँ पुस्ताका सन्तान मानिने मचिन्द्रे दमाईं (नौंवाध) को पनि मृत्यु भइसकेको छ । हाल उनका तीन छोरी मात्र छन् । छोरा नभएका कारण (नौंवाघ) यादव (नौंवाघ) दसौं पुस्ताका सन्तान मानिन्छन् । बिसे नगर्चीलाई पृथ्वीनारायण शाहबाट प्राप्त ३ वटा लालमोहर पनि यिनै भतिजाहरूसँग सुरक्षित छन् । बिसे नगर्चीका सन्तानको बसोवास यसै गोरखा नगरपालिका–६, पोखरीथोक भएकाले बिसे नगर्चीको जन्मथलो पनि पोखरीथोकमै भएको मानिन्छ । 

मणिराम गाइने
पृथ्वीनारायण शाहको एकीकरण अभियानमा अर्का दलितयोद्धा मणिराम गाइने हुन् । उनको जन्म र मृत्यु पनि खुल्न सकेको छैन । उनको जन्मस्थान भने पालुम्टारतिर हो कि भन्ने अनुमान छ । मणिराम गाइनेले एकीकरण अभियानमा सञ्चारको माध्यम बनेर सहयोग गरेका थिए । बिसे नगर्चीका साथ मणिराम गाइनेको नाम योगी नरहरिनाथले उल्लेख गर्नुभएको छ । उनी आफ्नो सारंगी रेट्दै २२ से–२४ से हरेक राज्यमा डुल्थे । त्यसबखत उनले कुन राज्य बलियो छ, कुन राज्य कमजोर छ, तीं राज्यका जनताको भनाइ के छ ? त्यो बुझेर पृथ्वीनारायणसमक्ष जाहेर गर्थे । मणिराम गाइने र बिसे नगर्ची मिलेर राष्ट्रिय एकीकरणको शंखनाद गर्दै सारंगी र ट्याम्कोको धुनलाई गुञ्जायमान बनाएका थिए । हालसम्म मणिराम गाइनेका सन्तान भने भेटिएका छैनन् । 
  
धार्ने सार्की 
योगदान पुर्‍याउनेमा चर्मकार काले सार्की, बागे सार्की र नगरा मोड्ने धार्ने सार्कीको नाम पनि लिइन्छ । यिनीहरू सबै बिसे नगर्चीका समकालीन थिए । बागे सार्कीलाई नेपाल जाने बाटो नबताएकोमा शत्रुहरूले हत्या गरिदिएका थिए । यिनीहरू गोरखा दरबारमा रहेका सैनिकका पेटी, जुत्तादेखि पृथ्वीनारायण शाहले लगाउने पेटी, खुकुरीको दाप, जुत्ता तयार पार्थे ।

धार्ने सार्की भने कालिका माईको पूजामा बजाइने नगरा र जोर दमाह मोर्ने काम पनि गर्थे । पछि गोरखा नगरपालिका–६, पोखराथोकका स्याङे सार्की यसमा कार्यरत थिए । हाल उनको पनि मृत्यु भइसकेको छ । बडादसैंमा गोरखा कालिकामा चढाइएको बलिको राँगो, टाउको हालसम्म धार्ने सार्कीकै नाममा नेग झर्ने र त्यो नेग उनका सन्तान गोरखा नगरपालिका–५ की नवौँ पुस्ताकी मानिने विष्णु अछामीले खाँदै आएकी छन् । उनका ससुरा भिउसुने अछामी (आठौँ पुस्ता) र उनका छोरा रुद्रबहादुर अछामी (नवौँ पुस्ता) को मृत्यु भएपछि श्रीमतीको नाताले विष्णुले नेग खाँदै आएको बताइन् । सन्तानहरू बसोवास गरिराखेको ठाउँ नै सार्कीको जन्मस्थल हुन सक्ने अनुमान गरिएको छ । 

जसवीर कामी
राष्ट्रिय एकीकरण अभियानमा सहयोग पुर्‍याउने अर्का दलित हुन्, जसवीर कामी । उनी हातहतियार निर्माणमा निपूर्ण थिए । उनले लडाइँमा प्रयोग हुने सम्पूर्ण हातहतियार आफ्नो सीपले निर्माण गरेर पृथ्वीनारायणलाई खुसी तुल्याएका थिए । उनका बारेमा हालसम्म धेरै कुरा पत्ता लाग्न सकेको छैन । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा योगदान पुर्‍याउने दलित योद्घाहरू बिसे नगर्ची, मणिराम गाइने, धार्ने सार्की र जसवीर कामीजस्ता महान् व्यक्तिका बारेमा थप अनुसन्धान गरी प्रमाण जुटाएर राष्ट्रिय विभूति घोषणा गर्न आवश्यक छ । 

(लेखक बिसे नगर्ची स्मृति तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष हुन्)