• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जेबी विश्वकर्मा
२०७६ पौष २६ शनिबार ०९:१०:००
इतिहास

गुमनाम नायकहरू

२०७६ पौष २६ शनिबार ०९:१०:००
जेबी विश्वकर्मा

आधुनिक राज्य गठन वा विघटनका क्रममा ऐतिहासिक पात्र र प्रवृत्ति देखापर्छन् । ती राजनीतिक घटनाक्रम र पात्रबारे वस्तुपरक र आलोचनात्मक विश्लेषण हुनुपर्छ । नेपाल शासनसत्ता सञ्चालकबारे लेखिएको इतिहास मूल प्रवृत्तिलाई हेर्ने हो भने शासकको भक्तिगाथा र स्तूतिमा आधारित छन् । लिखित इतिहासमा राज्य गठनका क्रममा विजेताहरूको साहस, वीरता र बलिदानीको चर्चाले भरिएका छन् तर शासक इतिहास निर्माणमा जीवनको बलिदानी दिने वा योगदान पु¥याउनेहरूको इतिहास नामेट पारिएको छ ।

उदाहरणका लागि पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारबारे वीरताका थुप्रै रचना लेखिएका छन् । तर, उनको युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिसे नगर्ची, मणिराम गाइने, जसवीर कामी आदि गुमनाम छन् वा उनीहरूको ऐतिहासिक भूमिका नामेट पारिएको छ । अर्कोतिर, ‘वीरता’को इतिहास लेखिँदा तिनले गरेका अत्याचार लुकाइन्छ । पृथ्वीनारायण शाहबारे लेखिएका इतिहासले पनि यही वास्तविकताको प्रतिनिधित्व गर्छ । त्यसैले नेपाली इतिहासमा ‘नेपाल एकीकरण’को एकाङ्की भाष्य बलियो छ र पृथ्वीनारायणका आलोचना राज्यले पचाउन सक्दैन । 

गोरखा राज्यसँगै वर्णवादको विस्तार
पृथ्वीनारायण शाहको मुख्य अभीष्ट गोरखा राज्यसँगै हिन्दूराज्यको विस्तार थियो भन्नेमा कुनै द्विविधा छैन । डिल्लीरमण रेग्मीलगायतका इतिहासकारले उनी अन्य राज्यमाथि आक्रमण गरेर राज्य विस्तार गर्ने महत्त्वाकांक्षी र विस्तारवादी सोचमा रहेको चर्चा गरेका छन् । इतिहासकार बाबुराम आचार्यले लेखेकोे पृथ्वीनारायण शाहको जीवनीलाई आधार मान्दा गोरखा राज्य विस्तार योजना बन्नुमा पृथ्वीनारायणको वराणसी भ्रमण महत्वपूर्ण छ ।

त्यतिवेला हिन्दू तीर्थस्थलहरू मथुरा, गया र वराणसी एउटै राज्यमा मिलाउने चर्चा दिल्ली दरबारसम्म चल्नु र उनले वराणसका बालकृष्ण दीक्षितका साथै अन्य हिन्दू विद्वान्सँग भेटघाट गरेर गोरखा फर्किएलगत्तै राज्यविस्तार योजना सुरु हुनुमा स्वाभाविक सम्बन्ध देखिन्छ । गोरखामा अभ्यास भइरहेको हिन्दू वर्णधर्ममा आधारित राज्यव्यवस्थालाई विस्तार गरी बृहत् ‘असली हिन्दूस्तान’ निर्माण गर्ने र मूलतः हिन्दू वर्णव्यवस्थामा आधारित खसआर्यको एकल जातीय सत्ताको स्थापनासहित उनले अभियान नै गोरखा राज्यविस्तारको सार हो ।

 गोरखा राज्यको विस्तारका क्रममा पृथ्वीनारायण शाहले विभिन्न साना राज्य कब्जा गरे । राज्य एकीकरण फरक—फरक राष्ट्र, सभ्यताबीचको सहमति र एकताबाट पनि हुन सक्छ । बलपूर्वक अतिक्रमण गरेर हुने केबल राज्य विस्तार मात्रै हो । अत्याचारपूर्ण तरिकाले गरिएको भूगोलको एकीकरण मूलतः राज्यविस्तार नै थियो, एकीकरण होइन । 

अर्कोतिर, पृथ्वीनारायण शाहले वर्णव्यवस्थामा आधारित जातव्यवस्थालाई जबर्जस्त रूपमा लागू गरे । फरक भूगोल, संस्कृति, सभ्यता, भाषा र मनोविज्ञान भएका आदिवासी जनजातिमाथि जबर्जस्त हिन्दू जातव्यवस्था लागू गरियो । मानव समुदायबीच नै अनन्त फुट गराउने विभेदकारी जातव्यवस्था संस्थागत गर्ने कुरा कसरी एकीकरण हुन सक्छ ? विविध जाति, भाषा, संस्कृत र सभ्यतामाथि भएको अतिक्रमणलाई कसरी एकीकरण मान्न सकिन्छ ? वर्णव्यवस्थाका आधारमा छुवाछुत—भेदभाव नहुने समाजमा जबर्जस्त विभेदलाई संस्थागत गर्ने व्यक्ति मूलतः वर्णवादका विस्तारक हुन् । 

उनी जातवादी राज्यसंरचनाका प्रतिपादक हुन् । उनको ‘तिघ्रे र पर्वते स्वाँठेलाई सभ्य हुन नदिनू, मतवालीलाई मन्त्रिमण्डलमा सामेल नै नगराउनू र बाहुन—क्षेत्रीकै मन्त्रिमण्डल बनाउनू’ भन्ने आशयका दिव्योपदेशमार्फत उनले आदिवासी जनजातिलाई राज्यसत्तामा सहभागी हुने नदिने व्यवस्था गरेका थिए । वर्णवादी राज्यसत्तामा दलितले त राज्यसत्तामा सहभागी हुने सम्भावना नै थिएन । 

यसका साथै उनले अन्यायपूर्ण जातिवादी व्यवस्थामा आधारित न्याय प्रणालीको विकास गरे । न्याय निरुपणका लागि उनले छलफल हँुदा ‘ठकुरी जाँची डिट्ठा राख्नू, मगर जाँची विचारी राख्नू, कचहरीपिच्छे एक पण्डित राखी शास्त्रबमोजिम अदालत चलाउनू’ पर्ने व्यवस्था गरे । यसले न्याय निरुपणको हकदार पण्डितलाई बनाइदियो । विभेदकारी न्यायको अभ्यास गर्ने क्रममा जातव्यवस्थालाई संस्थागत गर्ने कानुनी व्यवस्था गरे ।

त्यतिवेला ज्यानमारालाई काटी मार्ने व्यवस्था थियो । तर, ब्राह्मण, सन्न्यासी जोगी, वैरागी र जनानाहरूले ज्यानमारे उनीहरूलाई प्राणदण्ड नहुने व्यवस्था थियो । त्यसैगरी ब्राह्मण र तागाधारीका श्रीमती अरूले लगे जार काटिन्थ्यो भने मतवालीका श्रीमती तागाधारीले लगे उनीहरूलाई काट्न पाइँदैन थियो । बरु उल्टै मतवाली महिलाको नाकको नथुनी काटेर बेरूप बनाउने व्यवस्था उनले संस्थागत गरे । 

गोरखा राज्य विस्तारमा दलितको योगदान
पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा दलित समुदायले निकै ठूलो बलिदान दिएका छन् । मूलतः राज्यप्रति इमानदारितापूर्वक उत्तरदायित्व बहन गर्नुपर्छ वा राज्यलाई आवश्यकता पर्दा बलिदानी दिन तयार हुनुपर्छ भन्ने भावका साथ दलितले पृथ्वीनारायण शाहलाई सहयोग गरेको पाइन्छ । बिसे नगर्ची, जसवीर कामी, मणिराम गाइने, कालु सार्की, बांगे सार्की आदिको भूमिका निकै महत्वपूर्ण थियो । तर, पृथ्वीनारायणको वीरताको इतिहास लेखिँदा उनीहरूको भूमिकाबारे लेखिएको छैन । 

बिसे नगर्चीबारे फुटकर सन्दर्भ हेर्दा उनले तीन तरिकाले भूमिका निर्वाह गरेको देखिन्छ । एक, पृथ्वीनारायण शाहलाई महत्वपूर्ण अवस्थामा सल्लाह दिने गरेका थिए । कालु पाँडेलाई काजी तोक्ने वेला पृथ्वीनारायणले भैयाददेखि बिस्या दमाईंलाई समेत सुझाब मागेका थिए । बिसे नगर्चीले कालु पाँडेलाई काजी तोक्न सुल्लाह दिएका थिए र सोहीबमोजिम कालु पाँडे काजी बनेका थिए । दुई, नुवाकोट आक्रमणपछि राज्यकोषमा भएको खर्च सकिएपछि बिसे नगर्चीले युद्धका लागि आवश्यक खर्चको प्रबन्ध गर्न सघाएका थिए । तीन, उनले युद्धमैदानमै खटिएर नगरा बजाउँदै सैनिकहरूको मनोबल उच्च बनाउन काम गरेका थिए भने आवश्यकता पर्दा आफैँ युद्धमा खटिएका थिए ।

लडाइँका लागि सबैभन्दा महत्वपूर्ण आवश्यकता भनेको हातहतियार नै हो । पृथ्वीनारायणले गरेका सबैजसो लडाइँका लागि आवश्यक पर्ने हातहतियारका निर्माता कामी जाति थिए । मल्लकालमा केही हतियार हिन्दुस्तानी व्यापारीबाट किनिएका बन्दुक चलाउने गरेको पाइन्छ । तर, पृथ्वीनारायण शाहले हिन्दुस्तानबाट केही बन्दुक ल्याएको पाइए पनि लडाइँ नै लड्न ती बन्दुक पर्याप्त थिएनन् ।

उनका लागि जसवीर कामी, धार्ने कामी आदिले लडाइँका लागि आवश्यक हातहतियार खुँडा, खुकुरी, तरबार, भाला, छुरी, धनुकाँड आदि बनाउने, मर्मत गर्ने काम गरेका थिए । हतियारको उत्पादन र बन्दोबस्त गर्ने जिम्मेवारी उनीहरूलाई नै थियो । उनीहरूविना लडाइँ लड्ने र जित्ने सम्भावना थिएन । धार्ने कामी हतियार बनाउने मात्रै नभई नुवाकोटको लडाइँमा समेत सहभागी भएर लडेका थिए । पृथ्वीनाराणले वराणसबाट केही थान बन्दुक ल्याएको र चलाउन जान्ने मान्छे पनि ल्याएको इतिहास पाइन्छ । राजाराम सुवेदीका अनुसार यसरी ल्याइएका व्यक्ति पनि येखाजंग विश्वकर्मा (कामी) थिए । उनले गोरखा सेनालाई हतियार चलाउने तालिमसमेत दिएका थिए । येखाजंग र गोरखाका कामीले बन्दुकसहितका हातहतियार उत्पादन गरेर पृथ्वीनारायणलाई सघाएको देखिन्छ ।

यति मात्रै होइन, कालु सार्कीका साथै सार्की जातिका अन्य सदस्यले सैनिकले लगाउने छालाको टोपी, बन्दुक बोक्ने पेटी, खुकुरी, खुँडा, भाला, तरबार, धनुकाँड, सुरक्षित राख्ने दाप, झोला, दोपको दाप आदि बनाएर सघाएका थिए । विसं. १८६६ तिर अंग्रेजले नेपाल आक्रमण गर्ने योजना बनाई भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउन खोजिरहेका थिए ।

घरायसी सामान लिन नेपालको सीमानजिक भारतको बेतिया पुगेका वेला अंग्रेज सेनाका अफिसरले बांगे सार्कीलाई विभिन्न प्रलोभन देखाएर नेपाल जाने बाटो देखाउन आग्रह गरेको तर देशको रक्षाका लागि उनले अंग्रेजको प्रस्ताव अस्वीकार गरेका थिए । अंग्रेज सेनाको प्रस्ताव अस्वीकार गरेपछि उनको त्यहीँ हत्या भएको थियो । देशको रक्षाका लागि उनले आफूलाई बलिदानी गरेको कुरा इतिहासमा यदाकदा पढ्न पाइन्छ । गन्धर्व जाति ऐतिहासिक सञ्चारकर्मी हुन् । मणिराम गाइने पृथ्वीनारायण शाहका सन्देश गाउँबस्तीसम्म पु-याउने र अन्य साना राज्यबाट सूचना संकलन गरेर ल्याउने काममा खटिन्थे । यसरी संकलित सूचनाकै आधारमा पृथ्वीनारायणले लडाइँको रणनीति बनाउने गरेको पाइन्छ ।

यति मात्रै होइन, दलित समुदायले पृथ्वीनारायण शाहको सैनिक टोलीमा नै सहभागी भएर योगदान गरेका थिए । वि.सं. १८१९ मा श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज र पुरानो गोरख जस्ता सैन्य पल्टनको गठन भएको थियो । ती पल्टनमा बाजा बजाउने दमाईं ६ जना २ लोहार र २ सार्की अनिवार्य राख्ने गरिन्थ्यो । यसका साथै सोही समयमा सैन्य संगठनको निर्माण र आधुनिक हतियारको प्रयोगका क्रममा पृथ्वीनारायणले ‘सुन्दरीजल मेगेजिन अड्डा’ पनि खडा गरेका थिए । उक्त अड्डामा आरन, रेतान, ढलान, साफी र सार्की फाँटको गठन गरिएको थियो । विशेषगरी कामीले फलामका गोला–बारुदका साथै आवश्यक हातहतियार बनाउने काम गर्थे । सो अड्डामा कामीले बन्दुक, गोला–बारुद र फलामका हतियार बनाउँथे । सार्कीले छालाको बन्दुक भिर्ने पेटी, खुकुरी, संगीन आदिका दाप बनाउँथे ।

कामी र सार्कीको ज्ञान, सीप र श्रमविना त्यो अड्डा चल्न सक्ने सम्भावनै थिएन । उनीहरूले नेपालको सैन्य इतिहासमा निकै ठूलो श्रम र पसिना बगाएका छन् । तर, तिनै कामी र सार्की जातिमाथि अत्यन्तै धेरै शोषण हुने गरेको थियो । पृथ्वीनारायण शाहपछि पनि निरन्तरता पाएको सो अड्डाले सैन्य कारखानाका लागि भनेर ‘म्यागेजिन कर’का रूपमा नगर र जिन्सी उठाउने गरेको थियो ।

गोरखा राज्य विस्तारमा बिसे नगर्ची, जसवीर कामी, मनिराम गाइने, कालू सार्की, बाङ्गे सार्की आदिको भूमिका निकै महत्वपूर्ण थियो । तर, पृथ्वीनारायणको वीरताको इतिहास लेखिँदा उनीहरूको भूमिकाबारे लेखिएको छैन । 

यसरी उठाइने करमध्ये जिन्सीमध्ये जनावरको छाला माझकिराँतका जिम्मावाल र अन्य व्यक्तिको नाममा वि.सं. १८८८ मा रुक्का जारी गरिएको थियो । राजेन्द्र शाहले जारी गरेको रुक्कामा अरुण नदीपूर्वका विभिन्न जातजातिले प्रत्येक वर्ष एउटा जनावरको छाला म्यागेजिन अड्डालाई बुझाउनुपर्ने, छाला दिन नसके ती घरबाट दुई आना उठाउने तर कामी र सार्कीका हकमा चौगुना बढी अर्थात् आठआना तिनुपर्ने व्यवस्था रहेकोे लेखक राजकुमार दिक्पालले लेखेका छन् । यसरी राज्यलाई ज्ञान, सीप र कलाका साथै श्रम र पसिना बगाउने दलितमाथि नै अत्यन्तै शोषण गर्ने व्यवस्थाले पृथ्वीनारायण शाहको राज्य विस्तारपछि पनि निरन्तरता पाएको देखिन्छ । गोरखाली सैनिकका लागि निकै महत्वपूर्ण भूमिका दलित समुदायले गरेको थियो, तर उनीहरूको इतिहास भने लेखिएन वा नामेट पारियो । 

गोरखा राज्य विस्तारको परिणाम 
गोरखा राज्यको विस्तारपछि विविध ‘राष्ट्र’, जाति वा समुदायमाथि निरन्तर हिन्दू धार्मिक—सांस्कृतिक विभेद र अतिक्रमण भएको इतिहास त छँदै छ । दलितमाथि हुने बहिष्करण, विभेद र अन्याय राज्य विस्तारसँगै सबैतिर फैलियो । पृथ्वीनारायणको ‘असली हिन्दुस्तान’ बनाउने उद्देश्यले सहित भएको राज्य विस्तारले जातव्यवस्था नभएका ताम्सालिङ, माझ किराँत, पल्लो किराँत आदि क्षेत्रमा पनि छुवाछुत—भेदभावसहितको व्यवस्थाको विस्तार पनि सँगसँगै ग-यो । 

दलित समुदायले पृथ्वीनारायणको राज्य विस्तारको योजनालाई इमानदारितापूर्वक सहयोग गरे । लडाइँका लागि सबैभन्दा महत्वपूर्ण हतियार निर्माण र मर्मतदेखि हातहतियार राख्ने सामग्री, जुत्ता, लत्ताकपडाजस्ता आधारभूत सबै सामग्री निर्माण दलितले गरे । यति मात्रै होइन, अन्य सबैजसो युद्धमोर्चामा लडाइँमा सामेल भए । पृथ्वीनारायणले गठन गरेको सैनिक अड्डामा जिम्मेवारी सम्हाले । तर, दलितले गरेको योगदानको परिणाम दलितमाथि नै अत्याचार हुने छुवाछुत भेदभावसहितको जातव्यवस्था देशैभरि फैलाउने काम गरे ।

सदैव शासक जाति वा समुदायको दास हुनुपर्ने, सत्तासँग प्रश्नै गर्न नपाउने, आफूमाथि भएको अत्याचारलाई सही बस्नुपर्ने व्यवस्था झन् मजबुत हुँदै गयो । पृथ्वीनारायणको असली हिन्दुस्तान बनाउने अभियानकै जगमा जातव्यवस्थालाई वैधता दिने गरी विसं. १९१० जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेर लागू गरे । दलितलाई मानिसको हैसियत नै नदिने र तहगत संरचनामा आधारित भएर निरन्तर फुट गराउने राजनीतिक–सामाजिक प्रणालीलाई थप विस्तार र व्यवस्थित गर्ने काम भयो ।

श्रमजीवी, प्राविधिक, इमानदार दलित समुदायमाथि चरम अत्याचार गर्ने, राजनीतिक बहिष्करण गर्ने, शोषणमूलक आर्थिक सम्बन्धमा राख्ने, प्राकृत्तिक र भौतिक सम्पत्तिमाथि पहुँच हुनै नदिने र मानवको हैसियत नदिने अर्थ–राजनीतिक व्यवस्थाका नेतृत्वकर्ता पृथ्वीनारायण शाह दलितविरोधी राजा थिए । दलितकै श्रम, सीप, मिहिनेत, र पसिनामाथि टेकेर राज्य विस्तार गरी दलितविरोधी राज्य व्यवस्था निर्माण गर्ने पृथ्वीनारायण खासमा दलितविरोधी वर्णवाद वा जातिवादका विस्तारककर्ता हुन् ।