• वि.सं २०७६ माघ ४ शनिबार
  • Saturday, 18 January, 2020

पृथ्वीनारायण शाहको सांस्कृतिक चेत

२०७६ पौष २६ शनिबार ०९:२३:००

पृथ्वीनारायण शाहका पक्ष–विपक्षमा लेख्नेले धेरै लेखेका छन्, बोल्नेले धेरै बोलेका छन् । झन् हरेक वर्ष पुस २७ को सेरोफेरोमा त स्वाभाविक अस्वाभाविक, सम्मान गरिएका, केही अपमानबोधक अभिव्यक्तिहरू आउँछन् । यसमा केही हाम्रो राजा हाम्रो देश भन्ने, केही वस्तुनिष्ठ यथार्थपरक प्रामाणिक तथा विवेकसम्मत, केही हिन्दूधर्म, सिजाली भाषाका विरोधी, केही विखण्डन चाहने र अरू केही जातीय सिद्धान्तका पक्षघाती देखिन्छन् । सबै आ–आफ्नै हैसियतमा लागेका पाइन्छन् पक्ष–विपक्ष जे भए पनि सत्य कुरा सत्य नै हुन्छ ।

पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल उपत्यका, सेन राज्य कसरी नेपाल राज्यको रूपमा परिणत भए, इतिहासमा सबै विवरण छन् । अरू बाँकी ठूलो भू–भाग उनकी बुहारी राजेन्द्र लक्ष्मी (चौबिसे), कान्छा छोरा बहादुर शाह र मुख्तियार भीमसेन थापाको अगुवाइमा नेपाल देशमा गाभिए । तिनका पनि विवरण छन् । पछि, भीमसेन थापाको अदूरदर्शीपनले बहादुर शाहले आर्जन गरेको ठूलो भू–भाग गुम्यो । इतिहासले संकेत गरेअनुसार यदि पृथ्वीनारायण शाहले नेपाल उपत्यका र सेन राज्य नजितेको भए नेपालको वर्तमान सबै भू–भाग इस्ट इन्डिया कम्पनीअन्तर्गत हुने थिए । जसरी कुमाउ गढवाललगायत भू–भाग नेपालबाट अलग भए ।

पृथ्वीनारायण शाहको नेतृत्वले सिन्धुलीगढी युद्धमा कम्पनी सरकारको सातो नलिएको भए, उपत्यकाबाट पादरीहरूलाई नलखेटेको भए, ऊ पश्चिमतिर लाग्ने नै थिएन, उनको शेषपछि पनि । फलस्वरूप अहिले पनि कालापानी, लिम्पियाधुरा, सुस्ता आदि ठाउँको विषय उठिरहेका छन् । यो त्यही वेलाको धङधङी हो, त्यसैको उपज हो । एकातिर पृथ्वीनारायण शाहको विरोध गर्नु, अर्कोतिर कालापानी क्षेत्र भारतीय नक्सामा गाभिँदा पनि विरोध गर्नु, उनलाई धारे हात लाउनेले हेक्का राख्नुपर्ने विषय हो । उपत्यकाका राजाहरूले कम्पनी सरकारलाई यहाँ आउन रातो कार्पेट बिछ्याएकै थिए, यो पनि विचारीणय पक्ष छ । इतिहासलाई बंग्याएर दोहोरो मापदण्ड अपनाएर विश्लेषण गर्नु कति विवेकसम्मत हुन्छ, सोच्नुपर्ने कुरा हो । 

अब विषयतिर लागौँ । संस्कृतिको निर्माण भूगोल, धर्म, इतिहास र समाजले गरेको हुन्छ । यो बुझेर जीवनको अन्त्यतिर जीर्णरोगी अवस्थामा पृथ्वीनारायणले भावी पुस्तालाई केही मार्मिक सन्देश दिएका थिए, जसलाई उनका दिव्यउपदेश भनिन्छ । ती उपदेशहरू कालजयी छन् । उनले आरम्भतिरै टिपाए– यो मुलुक चार वर्ण ३६ जातको साझा फूलबारी हो । यो भनेको नेपाल बहुजातीय, बहुधार्मिक (हिन्दू, बौद्ध, वोन, प्रकृतिवाद, धामीझाँक्रीवाद, किरात, लामावाद) बहुसांस्कृतिक मुलुक हो । यिनै विषयलाई उनले समन्वयात्मक रूपमा महत्व दिएको देखिन्छ । उनले आफ्ना राम शाह, जयस्थिति मल्ल र महीन्द्र मल्लका सामाजिक–सांस्कृतिक आदि सुधारहरू र परम्परागत मूल्य–मान्यतालाई पृष्ठभूमिमा राखेर देशलाई एउटा गति दिएका थिए । भाषाको कुरा गर्ने हो भने लिच्छविहरूको भाषा संस्कृत थियो ।

एउटै जाति र बसोवासभित्र विभिन्न भाषिका थिए, वर्तमानमा पनि छन् । तुलनात्मक रूपमा सिञ्जाली भाषा सबैका लागि केही बोधगम्य भएकाले अगाडि बढाए । एउटै भाषा एउटै भेषको अवधारणा त केही दशकअघि मात्रै आएको हो । किनभने सिञ्जाली भाषाको पकड अरूको तुलनामा बलियो थियो, यो जनताको कारणले भएको थियो । मध्यकालमा नेपाल उपत्यकामा सिञ्जाली र मैथिली भाषाको उपस्थिति भएको कुरा तत्कालीन अभिलेख र हस्तलिखित सामग्रीबाट स्पष्ट हुन्छ ।

पृथ्वीनारायण शाहले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न र उपत्यकासँग सांस्कृतिक सम्बन्ध कायम गर्न कान्तिपुरका राजा जयप्रकाश मल्ल र भक्तपुरका युवराजसँग मित नै लगाएका थिए । पछि, उपत्यकाको आन्तरिक स्थिति नाजुक हुँदै गएपछि र पाटनका भारदारहरूबीचको आपसी द्वन्द्वका वेला उनीहरूले पृथ्वीनारायण शाहलाई राजा हुन बोलाएको यथार्थ हो । उनी आफू नगएर भाइलाई पाटनको मागबमोजिम राजा हुन पठाएका थिए । नेपाल उपत्यकामा त्यसबेला ‘भाइ फुटे गँवार् लुटे’ भन्ने आहान चरितार्थ भएको थियो । त्यो स्थिति पृथ्वीनारायण स्वयंले बनाएका थिएनन् । पूर्व किरात क्षेत्र पनि सिक्किमको प्रभावमा थियो । सेन राज्य भए पनि त्यहाँको स्थिति फरक थियो । 

पृथ्वीनारायणले नेपाल उपत्यका सर गरेपछि दहचोकलाई राजधानी बनाउने मनसुवा राखेको भए पनि हनुमानढोकामा दरबार बनाए, त्यसलाई देशको केन्द्र बनाए । गोरखा राज्यका राजाले देशको नाम गोरखा राख्न सक्थे । त्यो नगरी सांस्कृतिक विपुलता र सभ्यताको केन्द्र भएको नेपाल उपत्यका, यहाँका सम्पदाप्रति सम्मान देखाए र कान्तिपुरलाई नै राजधानी बनाए ।

अहिले पनि बेलायत, भारतमा सैनिक सेवामा काम गर्ने नेपालीलाई उनीहरू गोर्खा भन्दछन्, अझ हेपेर गुर्खा भन्छन् । भारतमा गोर्खा रेजिमेन्ट नै छ । बेलायतीहरू त्यहाँ काम गर्ने सैेनिकलाई ब्रिटिस गोर्खा भन्दछन् । नेपाल शब्दप्रति योे कस्तो धारणा हो, तत्सम्बन्धी पक्षधरहरूले बुझ्ने कुरा हो । चाहे नेहरूको पालामा चीनसँग भारतको युद्धको अवस्थामा होस्, चाहे पछि कार्गिल युद्धमा, मोर्चाको मोहरामा गोर्खा नै रहे । त्यस्तै, फकल्यान्ड युद्धमा गुर्खाहरूकै मोहरामा उभ्याइए । यो गोर्खा वा गुर्खाप्रतिको सम्मानले होइन, अगाडि झोस्ने नै उद्देश्य हो । 

पृथ्वीनारायण शाहले त नेपालमण्डलभित्रको सभ्यता, संस्कृति ,परम्परा, कला, वास्तुकला, भूगोल, उच्च कौशल भएका जनतालाई सम्मान दिएका कैयांँ दृष्टान्तहरू छन् । तर, यहाँ त वर्तमानमा पनि करिब डेढ दशकअघि भएको राजनीतिक परिवर्तनपछि देशको नाम फेर्ने, झन्डा हटाउने, राष्ट्रिय जनावर बदल्ने, यहाँको सभ्यता, संस्कृति, परम्परा ध्वस्त पार्ने नयाँ मुल्लाह तयार भए । अझ एकजना स्वनामधन्य विद्वान्ले त भर्खरै लेख्दै थिए, नेपालमा ई.सं. चलाउनुपर्छ । दूरदर्शिता र अदूरदर्शिताका यी केही नमुनामात्र हुन् ।

पृथ्वीनारायण शाहले हनुमानढोकामा नौतले दरबार बनाए जसलाई वसन्तपुर दरबार भनिन्छ । त्यो दरबारमा उपत्यकाका तिनै सहर, फर्पिङ, टोखा आदिका सिकर्मी, डकर्मी, कालिगड, तिनको इन्जिनियरिङ सिप, कौशल प्रयोग भएको थियो । मुख्य खण्ड कान्तिपुरका र अरू खण्ड अरू ठाउँका सिकर्मी, डकर्मीले बनाएका थिए । ती सबै सिकर्मी, डकर्मी, कालिगडको भातभान्सा आदि एकैसाथ हुन्थ्यो । यो कान्तिपुर, पाटन, भादगाउँका जनताबीच जुन वैमनस्यता, वैरीभाव थियो त्यो मेटाउन रचिएको योजना थियो । यो जनताद्वारा सिर्जित स्थिति थिएन । उपत्यकाका राजाहरूबीच एक–आपसमा ठूलो वैरीभाव थियो । राजाहरूले यो स्थितिलाई जनस्तरमा पु-याएका थिए । स्थिति यस्तोसम्म थियो कि उपत्यकाका चाडपर्व, पूजा, उपासना, सांकृतिक र धार्मिक क्रियाकलापमा एउटा राज्यको मान्छे अर्काे राज्यमा समेत जान पाउँदैनथे ।

कथं गइहालेमा दण्डित हुनुपर्दथ्यो । अर्थात् तीनवटै राज्य एक–अर्काको नाकाबन्दीमा थिए । यहीका राजाले निर्माण गरेको यस्तो अराजक स्थितिलाई पराया ठाउँका राजा आएर यहाँका पनि राजा भएपछि समाजलाई व्यवस्थित र सन्तुलित गरेको गजबको स्थिति थियो त्यो वेला । पृथ्वीनारायण शाहले काठमाडौं जितेकै भोलिपल्ट बिहान कुमारीलाई ढोगभेट दर्शन गरी इन्द्रजात्रालाई निरन्तरता दिएको इतिहास सबैले पढेकै हो ।

पृथ्वीनारायण शाहले त नेपाल मण्डलभित्रको सभ्यता, संस्कृति, परम्परा, कला, वास्तुकला र कौशल भएका जनतालाई सम्मान दिएका दृष्टान्त छन् । तर, यहाँ त झन्डा हटाउने, राष्ट्रिय जनावर बदल्ने, सभ्यता, संस्कृति, परम्परा ध्वस्त पार्ने नयाँ मुल्लाह तयार भए ।

उनी यहाँका जनतासँगै सांस्कृतिक गतिविधिमा संलग्न रहने गरेका उदाहरणहरू पनि छन् । उनले जनतालाई आफ्ना धर्म, कुल, परम्परा छोड्न नहुने सन्देश दिएका थिए । त्यति मात्र होइन, किरात धर्म, परम्पराविपरीत आफू गएमा आफ्ना कुल देवीदेवताको कसम खाएको विवरण पनि छ । उनले आफ्ना उपदेशमा मुग्लानबाट पातर, छोकडा आदि नौटंकी आएमा यहाँको धर्म, परम्परा, संस्कृति बिगार्ने हँुदा बरु तीन सहरमा परम्परादेखि चलिआएका शास्त्रीय नाच हेर्नु भन्ने सन्देश दिएको पाइन्छ । उनी विदेशी पहिरनप्रति त्यत्तिकै सचेत देखिएका छन् । वर्तमानमा जस्तो कहिले पशुपति हमला, कहिले इन्द्रजात्रामा हमला, कहिले गुठी व्यवस्थामा हमला, कहिले विभिन्न राष्ट्रिय पर्वहरूमा आक्रमण उनले गरेनन् । बरु अझ समृद्धिमा जोड दिए । 

पृथ्वीनारायण शाहका पुराना भारदारदेखि विभिन्न समूहका जनता उनको साथमा थिए । यी सबैभन्दा माथि उनले थापेका गुरु सिंह भगवन्तनाथ थिए । उनी सल्यान राना गाउँका थिए । उनकै आशीर्वाद र सल्लाहले पृथ्वीनारायण शाहले गोर्खा पूर्वका राज्यहरूमा विजय गर्न सकेको भनिन्छ । सल्यानी युवराजलाई छोरी दिनु, जाजरकोटी राजासँग बनारसमा मित लगाउनु सांस्कृतिक–राजनीतिक सम्बन्धकै कडी थिए । यी काम उनले भगवन्तनाथकै सल्लाहमा गरेका थिए भनिन्छ ।

रेसुंगा महाप्रभु शशिधर (जोसमनी मतका संस्थापक) पनि पृथ्वीनारायण शाहका सांस्कृतिक चेतको आधार भएको कुरा स्वामी प्रपन्नाचार्यले लेखेका छन् । स्वयं पृथ्वीनारायण शाहले गोरखनाथबाट आशीर्वाद पाएको मिथक छ । तिनै गोरखनाथका गुरु मत्स्येन्द्रनाथ थिए । यिनलाई हिन्दू र बौद्घले समान रूपमा सम्मान गर्दछन् । नाथ परम्परामा शैवतन्त्र र बौद्घतन्त्रको समन्वय पाइन्छ ।

बज्रयानमा कुनै समयमा विकसित भएको पञ्चमकार र कौलमार्गीमा रहेको उग्रतान्त्रिक साधनालाई यस परम्पराले व्यवस्थित गरेको मानिन्छ । नरभूपाल शाहका गुरु गोकुल विलासले पाटनदेवी (भारत उत्तरप्रदेश)को आराधना गरेपछि पृथ्वीनारायण शाहको जन्म भएको कुरा टेकनाथ गौतमले लेखेका छन् । ती पाटनदेवी दाङका सिद्घरतननाथकी बहिनी मानिन्छिन् । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि गोर्खा मनकामना देवी र यहाँको सांस्कृतिक सम्बन्ध स्थापना भएको स्पष्ट छ ।

मनकामनामा हरेक वर्ष कात्तिकमा हुने नैमित्तक पूजा झ्यावहाका बज्राचार्यहरूद्वारा गरिने परम्परा भएको स्थिति छ । त्यसैवेलादेखि गोर्खामा ल्याइएको फूलपाती हनुमानढोका दसैँघरमा भित्र्रयाउने चलन सुरु भएको हो । गण्डकी प्रदेशमा मात्र होइन, आठटीकाकी कुल आलमदेवीको मूल पूजारी मगर नै हुने परम्परा छ । उनलाई सल्यानकोट माइको पनि आशीर्वाद प्राप्त थियो । ती माई पनि मगरकी छोरी भएको इतिहासमा पाइन्छ । त्यसवेलादेखि सकभर उपत्यकावासीले जीवनमा एकपटक मनकामना दर्शन गर्ने परम्परा रहेको स्थानीय भनाइ छ । काठमाडौंको भुइँखेलमा हरेक बाह्र वर्षमा हुने बौद्घ परम्पराको सम्यक् पूजामा मनकामनाको प्रतिमाको पनि पूजा हुन्छ । त्यसैवेलादेखि राजाको पनि अभिषेक गर्ने चलन बसेको मानिन्छ । 

पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गर्नुपूर्व यहाँको सांस्कृतिक सम्बन्ध विशेष गरेर तिब्बत, मैथिल क्षेत्रसँग सीमित थियो । उनले काठमाडाैंलाई राजधानी बनाएपछि उपत्यकाको प्रभाव चारैतिर पर्न गयो । मनकामना र मुक्तिनाथको वास्तुकला मात्र होइन, नेपाल एकीकरणपछि यहाँको कला वास्तुकला देवीदेवताका प्रतिमूर्ति, परम्परागत नाच, पहिरन, संस्कार, संस्कृति, सीप, कौशल नेवारहरूले बसोवास गर्ने नेपालभरका सहर बजारमा फैलन गयो । पश्चिम डोटीदेखि पूर्व धनकुटासम्म यो स्थिति देखिन्छ । स्पष्ट छ, स्थानीय नेवारहरू जागिरी वा व्यापारको सिलसिलामा विभिन्न जिल्ला सदरमुकाम, गौँडा आदिमा विस्तार भएको नेपाल एकीकरणसँगै हो । यति मात्र होइन, नेपाल उपत्यकामा रहेका टोल, गल्ली, चौरहाका नाम पनि बाहिर जिल्लामा पुगे ।

पृथ्वीनारायण शाहले बहुलतामा एकताको साथै समन्वयात्मक सांस्कृतिक संरचनामा ध्यान दिएका तमाम दृष्टान्तहरू छन् । उनले अंग्रेजलाई यहाँ छिर्न दिएनन् । इसाई धर्म प्रचारमा रोक लगाए । उनले जासुसी गर्नेलाई देश निकाला गरे । पृथ्वीनारायण शाह, कालु पाण्डे, बहादुर शाह, बलभद्र कुँवर, दामोदर पाण्डे, अमर सिंह थापा, अभिमान सिंह बस्नेत, भक्ति थापा र अन्य ज्ञात–अज्ञात नायकहरूको नेतृत्वमा नेपालीले आफ्नो मातृभूमि बनाए, सुगौली सन्धि अपवाद छोडेर । नेपाल कहिले पनि पराधीन भएन । यहाँका नागरिक स्वतन्त्र राष्ट्रका सार्वभौम नागरिक भइरहे । संसार निलेको भिक्टोरिया शासनको राँटो बीचमा रहन गयो । उनै पृथ्वीनारायण शाहको दूरदर्शिता, परिपक्वता र योग्यताले आजपर्यन्त नेपाल विश्वका १७ वटा स्वाधीन राष्ट्रमा गनिन्छ । 

पृथ्वीनारायण शाह नभइदिएको भए ? कल्पना मात्रै गर्न सकिन्छ । तर पनि, उनीप्रति कपोलकल्पित लाञ्छना, ईष्र्या, द्वेष जारी छ ... । अझ नयाँ नयाँ भ्रम सिर्जना भइरहनेछन् । कतैको प्रान्तभन्दा त नेपालको यही नै स्वरूप सुखद मानिनुपर्छ । त्यसैले पुस २७ लाई राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्दा नेपालीकै शिर उँचो नहोला र ?
 

प्रतिकृया दिनुहोस