• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
उमा सुवेदी
२०७६ पौष २६ शनिबार १०:४१:००
समाज

दुलारीले देखेको समाज

२०७६ पौष २६ शनिबार १०:४१:००
उमा सुवेदी

केही वर्षयता नेपाली साहित्यमा विविध विषय, शील्प र परिवेशका उपन्यास लेखन र प्रकाशन भइरहेको छ । तीमध्ये केहीले नेपाली पाठकको ध्यान आकृष्ट गरिरहेका छन् । हुन त उपन्यासका नाममा कमजोर विषय र फितलो प्रस्तुतिको भिडभाड हुन थालेपछि हाल आख्यानको उर्लँदो बजारमा मन्दी छाउँदै गएको चर्चा पनि छ । प्रयोगका नाममा अतिरन्जित काल्पनिक र यथार्थका सपाट लेखनको रजगज हुन थालेपछि पाठकको वितृष्णा बढ्दै जानु स्वाभाविक पनि हो । 

उपन्यास जिम्मेवार लेखनका साथै विविध विषय, शैली, प्रस्तुतिको विश्वसनीय प्रयोग गर्न सकिने बृहत्तर क्यानभास हो । तर, पछिल्लो समय क्यानभासमा रंग भर्नेभन्दा छ्याप्ने काम बढ्ता भइरहेको कुरालाई हामीले अस्वीकार गर्न मिल्दैन । यसको अर्थ अत्यन्त निराशाजनक स्थिति हो भन्ने पनि होइन, यो बाढीका बीच पनि केही राम्रा आख्यान आउने क्रम जारी छ । हालै प्रकाशित मुना चौधरीको दोस्रो उपन्यास ‘दुलारी’ले यसरी नै हामीमाझ आशाको सञ्चार गरेको छ । 

आफू जन्मे–हुर्केको, आफूले आँखा खोल्दादेखि नै देखेको र भोगेको समाजलाई आफ्नो दिमागमा स्मृति बनाएर हामी निरन्तर हिँडिरहेका हुन्छौँ । ती ठाउँबारे कसैले सोधे निर्धक्क बयान गर्न सकिन्छ, जुन माटोमा आफ्नो उठबस भएको हुन्छ । आफूले बुझेकै परिवेश र पात्रका बारेमा लेख्नु सहज र विश्वसनीय पनि हुन्छ । मुना चौधरीको उपन्यास दुलारी त्यही विश्वसनीयताका साथ पाठकमाझ आएको छ ।

मुनाले अन्तिम पातोमा भावुक हुँदै भनेकी छिन्, ‘आफू एकछिन घाममा बस्दा गर्मी सहन नसकेर अनुहार रातो हुन्थ्यो । त्यही गर्मीमा मुसहर बस्तीका गरिब अनुहार दिनभर एकछिन नबसी कसरी काम गर्न सक्छन् ?’ त्यो उनको क्षणिक भावुकता मात्र थिएन । त्यही भावुकताको रापले पोलेर लेखक मुनालाई ब्युँझायो र उनले लेखिन् दुलारीहरूको कथा ।

दुलारीमा लेखकले भोगेकै समाज र देखेकै पात्र छन् । त्यही परिवेशमा लेखक सहजताका साथ हिँडिरहेको देखिन्छ । त्यो सहजताले पाठकलाई पनि आफूसँगै हिँडाएर सिरहाको मुसहर बस्तीमा लैजान्छ ।  अन्नको भण्डार मानिने तराईमा गाँस र वासविहीन सयौँ दुलारी गिरहत(साहु)को घरमा दिनरात पसिना बगाउँछन् । तर पनि पेटभरि खान नपाएर आधारातमा उठेर नुनपानी पिएर या गिरहतको घरबाट ल्याएको कुहिएको पीठोबाट किरा छानीछानी पानीमा घोलेर पिउँदै भोकलाई झुक्याउन विवश छन् । तर, आवाजविहीन उनीहरू, आफू मान्छे हुनुको अर्थसमेत थाहा नपाई मर्छन् ।

आफ्नो लोग्ने मर्दा दुलारीकी माई  भन्छिन्, ‘मृत्यु सुन्दर हुन्छ छोरी । मान्छे जन्मिँदै मृत्यु लेखाएर आएको हुन्छ । मृत्यु भय हैन । यो जीवनकै सबैभन्दा सुन्दर उपहार हो । जसलाई पाउन मान्छे जीवनभर कुर्छन् । छोरी तेरा बाउले सुन्दर उपहार पाए । आज तेरा बाउलाई कति आनन्द भएको होला । कष्टपूर्ण जीवनको धरातलबाट बिदा लिएर कति आनन्द भएको होला ।’

यसरी मृत्युलाई भोकले निर्माण गरेको जीवनयापनको समस्याको निराकरणको अचुक उपाय ठान्ने समाजमा हुर्कने र बढ्ने क्रममा दुलारीले देखेको समाजको दुःख र मनोविज्ञान सहज औपान्यासिक शील्पमार्फत यस उपन्यासमा प्रस्तुत भएको छ । दुलारीमा समयले अलिकति चेतना दिएको छ, त्यसैले ऊ आमाको कुरामा संशय गर्छे र आफैँसित प्रश्न गर्छे– गरिबका लागि मृत्यु उपहार होला, तर धनीका लागि त जीवन नै उपहार होला नि ! तर, दुलारीको प्रश्न धुवाँझैँ उसकै छेउछाउमा रुमल्लिन्छ र त्यसै–त्यसै बिलिन हुन्छ । 

दुलारीको परिवारका लागि भोकजति ठूलो रोग, गरिबीजति ठूलो आतंक अरू केही छैन । मुख्य पात्र दुलारी र उसको परिवारले एक पेट खानकै लागि दिनरात गरेको संघर्षको कथा हो यो उपन्यास । यो उपन्यासको केन्द्रमा भोक छ र भोकले निर्माण गरेको पिढियौँदेखिको दासता छ । त्यसमाथि अशिक्षाको पहाडले उनीहरूको मेरुदण्डलाई नै कमजोर बनाइदिएको छ । 

दुलारीको जन्मदेखि युवा अवस्थासम्मको कथा छ दुलारीमा । उसका सपना, चाहना, प्रेमभाव र उमेरजन्य आशक्ति पनि स्वाभाविक रूपमा आएको छ । दलितको शरीर र श्रम चल्ले, तर उसले छोएको नचल्ने उपल्लो वर्गको मानसिकतालाई सरल ढंगले दर्साइएको छ यस उपन्यासमा । दुलारीले देखेको थारू जिम्दारको समाज र आफ्नो मुसहर समाजबीचको तुलनात्मक चित्रण पनि बलियो छ । दुलारी, गिरहत, गिरहतनी, चन्द्रु, दुलारीकी माई, बाउ, बढ्की माई, आदि पात्र स्वाभाविक रूपमा देखिन्छन् ।  

मौनताले निलेको छ युगौँदेखि मुसहर समाजलाई, जहाँ न्याय र समानताको कुरा भद्दा ठट्टाभन्दा माथि उठ्दैन

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक आस्था अनि अन्धविश्वासका कारणले बनेको शोषणको चक्रले निर्माण गरेको वर्गीय समस्या दुलारीको चन्द्रुप्रतिको एकोहोरो प्रेममा पनि प्रकट हुन्छ । गिरहतको छोरा चन्द्रु दुलारीलाई प्रेम गर्दैन, बरु उसको शरीरमाथि हक कायम गर्न खोज्छ । उसले दुलारीलाई बलात्कारको प्रयास पनि गर्छ । दुलारीले बलात्कारको प्रतिकार गर्छे । त्यसपछि उसको मनमा अनेक प्रश्न त सल्बलाउँछन्, तर प्रतिकारको तहमा अभिव्यक्त हुन सक्दैनन् । यही मौनताले निलेको छ युगौँदेखि मुसहर समाजलाई, जहाँ न्याय र समानताको कुरा भद्दा ठट्टाभन्दा माथि उठ्दैन । 

मुसहर समाजको जमिन, कृषि र प्रकृतिसितको सम्बन्ध अनि थोरै भए पनि डुम परिवारको पीडा, गरिबी र संघर्ष पनि यो उपन्यासमा भेटिन्छ । सामाजिक यथार्थवादको जगमै उभिएको छ यो उपन्यास । त्यसैले यसको विशेषता पनि यही हो र कमजोरी पनि यही हो । यथार्थ पस्किने नाममा दुःखको अतिशय बयानले विविधता खोज्ने पाठकका लागि उपन्यास पठन क्रमशः विरक्तलाग्दो पनि भइदिन सक्छ ।

मुख्य पात्र तुलनात्मक रूपमा बढी चेतनशील त लाग्छ, तर उसको चेतना समाजका लागि उपयोगी बन्न सकेको छैन । वञ्चितका आवाज र स्थितिलाई सतहमा ल्याउने प्रयास गरिए पनि आफ्नो दुःखलाई नियति ठानिरहेको मुसहर समाजको यो जड मानसिकतालाई चिर्ने बलियो प्रयास यो उपन्यासमा भएको देखिँदैन । नियतिलाई चुपचाप सहने बानीले गरिब र दलितलाई अतार्किक जीवन बाँच्न विवश पारिदिन्छ । त्यो विवशतालाई प्रखरमा तोड्ने प्रयास कतै कहीँ भएको भए यो उपन्यास अझै अग्लो हुने थियो ।

एकआध ठाउँमा दुलारीका माध्यमबाट विद्रोहीचेत प्रकट त हुन्छ, तर त्यसले उपन्यासमा घनीभूत प्रभाव छाड्दैन । डिटेलिङ यो उपन्यासको सबल पक्ष हो, तर कतिपय अवस्थामा पाठकको ध्यान डिटेलिङले पठनमा एकाग्र हुन दिँदैन । दुलारीले देखेको आफ्नो वरिपरिको समाजका विविध घटनाक्रमलाई कथानकका रूपमा प्रस्तुत गरिएकाले कथाले निर्माण गर्ने आरोह–अवरोह यसमा देखिँदैन । उपन्यासको अन्तर्यमा कतै समतामूलक जातिविहीन समाजको सुन्दर परिकल्पना लुकेको छ ।

विधा     : उपन्यास
लेखक     : मुना चौधरी
प्रकाशक     : साङ्ग्रिला बुक्स
पृष्ठ     : २९०
मूल्य     : रु.३९५ \-