• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ माघ ४ शनिबार ०७:०१:००
समाज

बेटा मैर गेलौ पुतौह भाइग गेलौ

सहिदकी आमाको प्रश्न– ‘मैले के पाप गरेको थिएँ र छोरा मारियो, बुहारीले छाडेर गई ?’

२०७६ माघ ४ शनिबार ०७:०१:००
सुरेन्द्रकुमार कामती
 

खेत गहुँबालीले भरिएको छ । किसान राम्रो उत्पादनको पर्खाइमा छन् । बस्तीसँगै जोडिएको छ, गजेन्द्रनारायण सिंह औद्योगिक केन्द्र । केन्द्रको दुईवटा राइस मिलमा थुपारिएको धानलाई कुटेर चामल बनाउन केही मजदुर सक्रिय छन् । रोजगारमा निस्कनेहरू कोही राजविराजतिर, कोही सिराहाको लहानतिर दौडधुपमा छन् । चोकमा पान, चिया पसलवाला ग्राहकको पर्खाइमा देखिन्छन् । यो दृश्य हो अहिलेकोे मलेठको । तर, २३ फागुन ०७३ मा सधैँझैँ सामान्य थिएन, मलेठ । होलीको रंग चढ्नुअघि नै बेरंग बन्यो–मलेठ ।

 राजविराजमा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सभा गर्न नदिने अडान लिएका थिए संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले । तर, संविधान जारी भएपछिको एमाले नेता कार्यकर्ता जसरी पनि सभा सप्तरीमा गर्ने भए । राजविराजमा नभए पनि ३ किलोमिटरको दूरीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सभा गर्ने निष्कर्षमा उनीहरू पुगे । सभाको तयारी भयो । २३ फागुन ०७३ मा सुरक्षाकर्मी बाक्लै परिचालन गरियो । राजमार्गमा नेपाली सेनाका ट्यांकर देखिए । पानीका फोहरा फाल्ने सवारी मगाइयो । कार्यक्रम स्थलको चारैतिर सुरक्षाकर्मी बाक्लै परिचालन गरियो ।

राजविराजमा विरोधमा रहेका मोर्चाका कार्यकर्ता र नेताहरू औद्योगिक क्षेत्र मलेठतिर सोझिए । कालो ब्यानरसहित विरोध गर्न पुगेका उनीहरूलाई प्रहरीले ठाउँठाउँमा रोक्यो । तर पनि औद्योगिक क्षेत्रनजिकै पुगे । केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपालसहितका सयौँ नेता कार्यकर्ता औद्योगिक क्षेत्रभित्र कार्यक्रममा सहभागी भइसकेका थिए ।

औद्योगिक क्षेत्रको मुख्य सडक (रुपनी–राजविराज) खण्डमा कार्यक्रम सकिनै लाग्दा ठूलो कोलाहल भयो । सयौँ अश्रु ग्यास र गोलीको वर्षा छिनभरमै भयो । कोही खेतमा, कोही घरमा त कोही भाग्दाभाग्दै सडकमा निर्घात कुटिए । टाढैबाट भाषण सुन्दै आएका २२ वर्षका सञ्जन महतो ढलिसकेका थिए । पीताम्बर मण्डल (५०), वीरेन्द्र महतो (३८), प्रसवनीका आनन्द साह (४०) र जमुनी मधेपुराका इनरदेव यादव (५७) लाई एम्बुलेन्समा राखेर हुइँहुइँ बजाउँदै गाडी कुदिसक्यो । उनीहरूसँगै सुरेन्द्र साह (१२), जितेन्द्र साह (४०) र दिलीप यादव (३५) बोकेको एम्बुलेन्स पनि कुद्यो । केही घन्टाअगाडि प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा घेरामा शान्तिपूर्ण रहेको मलेठ क्षणभरमा रणभूमि र रक्ताम्य भयो । शोकमा डुब्यो । 

शान्तिदेवी महतो

०००
निर्माणाधीन सहिद गेटदेखि दक्षिण पश्चिमतिर एउटा कच्ची बाटो छ । त्यो बाटो खेततिर जान्छ । त्यही बाटोको पूर्वपट्टि अलगथलग एउटा घर छ । गुइँठा र घर लिपपोत गर्न बाहिर माटो थुपाएिको छ । चारैतिरबाट बाँस र खरले घेरिएको कच्ची छ घर । यो परिवारसँग मजदुरी सिवाय हातमुख जोर्ने कुनै उपाय छैन । भोला (२०) र दशरथ (१७) सँग बस्दै आएकी छिन् पीतम्बरकी धर्मपत्नी ।

सानो छोरा लहलहमै भारततिर भाग्यो । जेठा छोरा पनि मजदुरी गर्छन् । कच्ची घर बनाउँदा लागेको ऋण तिर्न कठिन छ । पतिले रंगपेन्ट गरी परिवार चलाउँथे । ‘खम्बा’ नै उखेलिएपछि परिवार तहसनहस भयो । दाइजो प्रथाबाट ग्रस्त मधेसमा धन्न पीताम्बरले आफ्नी दुई छोरीको विवाह गरिसकेका थिए । छोरीको बिहे नभएको भए अहिले उनीहरूको अवस्था कस्तो हुन्थ्यो कल्पना गर्न डर लाग्छ ।

०००
निर्माणाधीन सहिद गेटदेखि पूर्वतिर कालेपत्रे सडक छ । त्यो सडक सीधै जाँदा दाहिने मोडिने मोडमा शान्तिदेवी (६५) र लक्ष्मण महतो (७०) बस्दै आएका छन् । इँटाको पर्खालमाथि जस्ता राखिएको छ । लक्ष्मण महतो नहर चोकमा पान पसल गर्छन् । शान्तिदेवी घरमा एक्लै हुन्छिन् । सुत्ने ठाउँमा एउटा फोटो टाँसिएको छ । जहाँ अंग्रेजीमा लेखिएको छ ‘नेसनल हिरो सञ्जन महतो’ । वृद्ध महतो दम्पती उठ्नासाथ तस्बिरमा पटक–पटक नियालेपछि अरू काममा लाग्छन् । गोबर उठाउँदै गर्दा भेटिएकी उनी ‘केहन करम केल्ही जे बेटा मैर गेलौ, पुतौह भाइग गेलौ !’ (मैले के पाप गरेको थिएँ र छोरा मारियो, बुहारीले छोडेर गई ?) भनेर समाजको गाली सुन्नुपरेको पीडा सुनाइन् ।

भाग्यले शान्तिदेवीलाई एकातिर सामाजिक अपहेलना दिएको छ, अर्कोतिर माइलो छोरा सञ्जनको सपना पूरा गर्न आर्थिक भार थपिएको छ । दाइको सपना पूरा गर्न शान्तिदेवीको कान्छो छोरा सुनील भारतको राजस्थानमा सिए अध्ययनरत छन् । सञ्जनको सपना थियो, भाइलाई सिए बनाउनु । सञ्जन जनकपुरमा विद्यालयमा पढाउँथे । शान्तिदेवीले सुनाइन्, ‘बौआ कहैत रहै भाइके सिए परहाब परतै । नम्हर आदमी बनाब परतैै ।’

उमेरले सहारा खोज्ने वेला मलेठको नहरचोकमा पान लगाउँदै भेटिए बुबा लक्ष्मण महतो । प्रहरीले निर्दयी तरिकाले घरको आँगनमा उभिरहेको छोरालाई टाउकोमा बन्दुक टँसाएर गोली हानेको सुनाउँदै उनी दुःखी र आक्रोशित भए । सञ्जन जनकपुरमा पढाउँथे । घर आउजाउ गरिरहन्थे । उनी लोकसेवा पास गरी जनताको सेवा गर्न चाहन्थे । सञ्जनकी पत्नीले कहिल्यै सोचेकी थिइनन्, वर्ष दिन नबित्दै सिउँदो उजाडिन्छ ।

सञ्जन नेताका भाषण सुन्न गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको मुख्य गेटदेखि ५ सय मिटर दूरीमा घरनजिकैको छिमेकीको आँगनमा उभिरहेका थिए । सहिद गेटसँगै टाँसिएको कुन्ती ठाकुरको चिया पसल छ । चिया पकाउँदै गरेकी उनी सुनाउँछिन्, ‘भाषण सुन्न हजारौँ मान्छे आएका थिए । पुलिसले चारैतिर घेरेको थियो । तर, मैले सोचेकी थिइनँ, यही घरअगाडि सञ्जनलाई गोली लाग्ने छ भनेर ।’ 

०००
गाउँ नै शोकमा डुबेका वेला रञ्जना महतोको माइतमा प्रार्थना चलिरहेको थियो । गोली लागेका रञ्जनाका पति वीरेन्द्रको धरानमा उपचार चल्दै थियो । छातीमा गोली लागेका वीरेन्द्रको मृत्यु भयो । ससुरालीको सल्लाहमा वीरेन्द्रले प्रहरी जागिर छाडेर ससुराली मलेठमै खेतीपाती गर्दै आएका थिए । तीन छोरी, एक छोरा र आमासँगै बस्दै आएकी रञ्जनादेवी अहिले आफैँ खेतीपातीमा सक्रिय छिन् । काउली खेती गरेर रञ्जनालाई छोराछोरी हुर्काउन धौ–धौ भएको छ । अभिभावकविहीन भएकी रञ्जनालाई आमाको देखभाल र स–साना छोराछोरीलाई शिक्षा आर्जन गराउन हम्मेहम्मे परेको छ । 

रञ्जनादेवी महतो

०००
मलेठमा विशाल सहिद गेट निर्माणाधीन अवस्थामा छ । राजविराज नगरपालिकाको पहिलो बोर्ड बैठकले मलेठ घटनाका सहिदको सम्झनामा ७६ लाख लागतमा ‘सहिद गेट’ बनाउँदै छ । त्यसको पश्चिमपट्टि ५ लाखमा सहिद स्मारक, प्रदेश २ सरकारको सहयोगमा सहिद स्तम्भ र पार्क निर्माणाधीन छ । यससँगै सहिदको नाउँमा एउटा प्राथमिक विद्यालय स्थापना गर्ने तयारी छ । यता मलेठको टोलटोलमा कालोपत्रे सडक र नाला निर्माण भएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा चहल–पहल खासै छैन । चियापसल, पानपसल थपिएका छन् । 

०००
मलेठ घटना भएपछि एमालेको मेची–महाकाली जागरण अभियान रोकियो । यता मधेसका राजनीतिक दललाई मलेठ घटनाले एक प्रकारले शक्ति प्रदान ग¥यो । संविधान जारी भएपछि चुनावको सुरसारमा सरकार थियो । मधेसी दललाई समेट्न गाह्रो हुँदै थियो ।  प्रत्येक वर्षझैँ यस वर्ष पनि प्रथम मधेस आन्दोलनमा ज्यान गुमाएका रमेशकुमार महतोको सम्झनामा माघ ५ गते वीरगन्जमा बलिदानी दिवसको तयारी छ । तर, मलेठ घटनामा सहिद भएकाहरूको परिवारलाई अर्को माघ कस्तो बित्ला भन्ने चिन्ता छ । बलिदानी दिवसमा मञ्चबाट सहिदको नाममा मौनधारण गरेर सहिदप्रति सम्मान व्यक्त गर्ने सरकारले दुई वर्ष बितिसक्दा पनि सहिद परिवारका लागि केही गर्न सकेको छैन । 

कुन्ती ठाकुरले भनिन्– भाषण सुन्न हजारौँ मान्छे आएका थिए । पुलिसले चारैतिर घेरेको थियो । तर, मैले सोचेकी थिइनँ, यही घरअगाडि सञ्जनलाई गोली लाग्नेछ भनेर ।

मलेठमा सहिद परिवारको घर मौनतामा छ । सुमनी मण्डल शिरमाथि कर्जाको चाप ज्युँका त्युँ छ । बिरामी हुँदा पनि हातमुख जोड्न अरूको खेतमा काम गर्नैपर्ने छ । सञ्जनका आमालाई बुढेसकालमा पढ्दै गरेको छोराका लागि ऋणको भारी बहन गर्नु नै छ । रञ्जनालाई अस्वस्थ्य भए पनि खेत जानु नै छ । तीन छोरीहरूको बढिरहेको उमेर देखेर विवाहका लागि खर्चको बन्दोबस्ती गर्न खट्नु नै छ । 

सुमनी मण्डल

तीनै परिवारलाई सहारा छ त मात्र एउटा भैँसीको । मधेसीको सत्ता मधेसीको हातमा नाराबाट प्रदेश सरकार बनाएका मधेसवादी दलले मलेठ घटनाका सहिद परिवारलाई एक÷एक भैँसी दिएको छ । सहिदलाई ५० लाख दिने घोषणा गरेको दलले आफ्नै सरकार बनाउँदा पनि वाचा पूरा गरेको छैन । रञ्जनादेवीको मनमा एउटा प्रश्न आइरहन्छ, ‘सहिद परिवारलाई जीवन जिउन दोसल्ला र फूलमालाले मात्र पुग्छ र ?’