• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
वसन्ती चौधरी
२०७६ माघ ४ शनिबार ०९:२७:००
सम्झना

झाडु बोकेर सडकमा निस्कियौँ

२०७६ माघ ४ शनिबार ०९:२७:००
वसन्ती चौधरी

उमेर याद भएन । परिवारले हलिया, कमलरीको काम छाड्दा म ७ कक्षामा पढ्थेँ । मलाई लाग्छ, मेरो जन्म कमलरीकै रूपमा भयो । पढ्दासम्म म पनि कमलरी नै थिएँ । स्कुल सकिएपछि कमैया मुक्तिको अभियानमा जोडिएँ । कैलालीमा ४८ प्रतिशत थारू छन् । यति ठूलो संख्यामा थारू समुदाय भए पनि थारूको आर्थिक, सामाजिक, शैक्षिक अवस्था कमजोर थियो, अझै छ । थारू समुदायमा राजनीतिक चेत र प्रतिरोधको विकास गर्न माओवादी संघर्षले निकै ठूलो योगदान गर्‍यो । 

माओवादी संघर्षको १०वर्षे अवधिमा कैलालीमा थारू हुनु भनेकै माओवादी हुनुजस्तो थियो । करिब सबै थारूलाई राज्यले माओवादीको ‘बिल्ला’ भिरायो । त्यसकारण धेरै मान्छे बाध्यतावश माओवादी संघर्षमा सामेल भए । त्यतिखेर माओवादीले भन्ने गर्थे, ‘तिमीहरू आफ्नै भूमिमा पनि भूमिहीन कमैया भयौ । राजनीतिक पहुँच छैन । प्रशासनिक काममा तिमीहरू कमजोर भयौ । भाषाकै कारण राज्यमा तिमीहरूको पहुँच पुगेन ।’ यसले थारूलाई आफू पछाडि परेको महसुस भयो । माओवादी संघर्षमा थारू पुरुष मात्रै होइन, महिला पनि सामेल भए । 

माओवादी संघर्ष सकियो । दुईपटक संविधानसभाको निर्वाचन भयो । तर, हाम्रो पहिचानको विषय ओझेलमा पारियो । हाम्रो अधिकारको विषय उठेन । त्यही भएर ०७२ मा ठूलो संख्यामा हामी पश्चिमका थारू ‘थरुहट’ प्रदेशको माग राखेर आन्दोलनमा उत्रियौँ । जबसम्म थारू समुदायको आफ्नै नेतृत्व हुँदैन, तबसम्म हाम्रो अधिकार सुनिश्चित हुँदैन भन्ने बुझेर थरुहट आन्दोलन भएको हो । हाम्रो जीवनमा परिवर्तन ल्याउन र पहिचान सुनिश्चित गर्न यो आन्दोलन भयो । 

यसअघि हरेक पार्टीले थारूलाई आन्दोलनमा भिड बढाउन प्रयोग गरे । तर, हाम्रा समस्याको विषयमा कुनै पनि पार्टी संवेदनशील देखिएनन् । नेतृत्वमा पुगेर थारूलाई बिर्सने गरियो । वर्षौंसम्म यस्तै अवस्था भोगेपछि, देखेपछि हामी आफैँले आफ्ना लागि लड्नुपर्छ भन्दै थरुहट आन्दोलन सुरु गरेका हौँ ।हामीले माग गरेजस्तै ‘थरुहट’ भयो भने थारू समुदायको प्रतिनिधित्व हुन्छ । निर्णायक स्थानमा पुग्न सकिन्छ । वर्षौंदेखि गुमेको हाम्रो अधिकार फिर्ता पाउन सकिन्छ भन्ने आस थियो । तर, थरुहट आन्दोलन चलिरहेकै समयमा हाम्रो विरोधमा ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन चलाइयो । राज्य र प्रशासनले पनि हामीमाथि दमन गर्‍यो । 

हामीले हाम्रो मात्रै एकल जातीय पहिचानका लागि थरुहट आन्दोलन गरेका थिएनौँ । राज्यमा हामी पनि समान भूमिका र अपनत्व चाहन्थ्यौँ । कैलालीमा हाम्रो ४८ प्रतिशत जनसंख्या भएर पनि हरेकपटक निर्वाचनमा पहाडबाट बसाइँ सरेर आएकाहरूले चुनाव जित्छन् । हाम्रो भाषा, संस्कृति र पहिचान नजानेका, नबुझेकाहरू हाम्रा प्रतिनिधि हुन्छन् । हामीले यस्तो अवस्थाबाट मुक्ति चाहेका थियौँ ।अझ महिलालाई सधैँ प्रयोग गरिएको छ । आन्दोलका क्रममा भिड बढाउन प्रयोग गरिन्छ । कार्यक्रममा नाचगानका लागि प्रयोग गरिन्छ । थरुहट आन्दोलनले पनि महिलालाई प्रयोग मात्रै गर्‍यो । भदौ ०७२ को टीकापुर घटनापछि टीकापुरमा कर्फयु लगाइएको थियो । थारू पुरुषलाई जहाँ भेट्यो, त्यहीँबाट पक्राउ गरिँदै थियो ।  

सतहमा हेर्दा थरुहट आन्दोलन साम्य भएजस्तो देखिन्छ । तर, आन्दोलन अझै बाँकी छ । हरेक थारूले हामी साँच्चै अन्यायमा परेका छौँ भन्ने बुझिसकेका छन्, त्यसैले आन्दोलन फेरि पनि जाग्न सक्छ ।

यस्तो अवस्थामा महिलाहरू नै कफ्र्यु र निषेधाज्ञा तोड्दै सडकमा निस्किएका हुन् । थाल, कचौरा र झाडु बोकेर कैलालीका थारू महिला आन्दोलनमा होमिएका हुन् । टीकापुर घटनापछि कति पुरुष डरले भागे । कति जेलमा परे । कति कुटिए, पिटिए । तर, पनि महिलाले आन्दोलनको मोर्चा सम्हाले । आन्दोलनका क्रममा लाठी र अश्रुग्यास मात्रै होइन, यौन दुव्र्यवहार पनि महिलाले भोगे ।

कुनै पनि आन्दोलनमा महिला पछाडि परेनन्, तर आन्दोलनपछि भने महिलालाई पछाडि पारिन्छ । पद प्राप्तिका क्रममा महिलालाई पन्छाइन्छ । सडकको आन्दोलनले पुरुषहरू पद पाउँछन् । आन्दोलनपछिको नेतृत्वमा पन्छाउन सकिएन भने उनीहरूको चरित्रको विषय उठाइन्छ । थरुहट आन्दोलनका क्रममा महिला पनि सक्षम होलान् ।

निर्णायक र नेतृत्वदायी स्थानमा महिला पनि पुग्लान् भन्ने अपेक्षा थियो । कमसे कम हाम्रा छोराछोरीले उच्च शिक्षा पढ्न त पाउलान् भन्ने आस थियो । परिवार र समुदायभित्र महिलामाथि हुने हिंसा थोरै भए पनि कम होला भन्ने सपना थियो । तर, आस गरेजस्तो भएन । यसको अर्थ केही पनि परिवर्तन नभएको होइन । त्यसयता मान्छेहरू समानताको कुरा गर्छन् । दया देखाउनकै लागि भए पनि थारू महिला वा थारू समुदायलाई कार्यक्रममा सहभागी गराउन थालेका छन् । कमसेकम उपभोक्ता समितिमा सहभागी गराउन थालेका छन् । तर, यतिले पुग्दैन । यतिले समानता हुँदैन । यतिले मात्र अधिकार स्थापित हुँदैन । यतिले मात्र न्याय हुँदैन । 

खस–आर्य समुदायलाई भन्दा थारू समुदायका महिलालाई झन् गाह्रो छ । अरू समुदायका पुरुषको पहुँच प्रयोग गर्दै त्यस समुदायका महिला थोरै भए पनि आर्थिक, राजनीतिक र सामाजिक रूपमा सक्षम भएका छन् । हाम्रो त समुदायकै पहुँच छैन । हाम्रो समुदायकै आर्थिक अवस्था नाजुक हुन्छ । बाहिरबाट थारू समुदाय महिलाप्रति उदार देखिन्छ । तर, नियालेर हेर्दा समुदायभित्र विभेद छ ।हामी परिवार, समाजसँग भिड्दै आन्दोलनमा सरिक त भयौँ । तर, पद र जिम्मेवारी लिने समयमा महिलालाई पन्छाइयो । चरित्र, परिवार र आर्थिक अवस्था देखाउँदै महिलालाई पाखा लगाएको देख्दा मन खिन्न हुन्छ ।हामी पनि पुरुषसरह आन्दोलनमा सहभागी भयौँ, गोली थापेका हौँ । महिलालाई आन्दोलनमा सामेल गराउने मात्र होइन, उनीहरूलाई निर्णायक घडीसम्म पुरुषसँगै जान दिनुपर्छ । 
०००
थरुहट आन्दोलनका क्रममा राज्यले थारूलाई कसरी पछाडि पारेको छ भन्ने बुझ्न पाइयो । वर्षौंदेखि अन्याय र विभेद भोगे पनि, अन्याय र विभेद कसरी र कसले गरेको भनेर थाहा पाइयो । भाषा, संस्कृति, पहिचानलगायत विषयमा राज्यले हामीमाथि गरेको विभेदको चरित्र बुझियो । त्यसको अन्त्यका लागि राजनीतिक रूपमा अगाडि आउनैपर्छ भन्ने पनि थरुहट आन्दोलनले सिकायो । त्यसकारण मैले अब राजनीतिमा सहभागी हुने तयारी गरेकी छु ।

थारू समुदायमा पनि चेतना जागेको छ । एकताबद्ध हुनुपर्छ भन्ने सोच विकसित भएको छ । आफ्नो अधिकारका लागि आन्दोलन गर्नुपर्छ भन्ने चेत आएको छ । सतहमा हेर्दा थरुहट आन्दोलन साम्य भएजस्तो देखिन्छ । तर, आन्दोलन अझै बाँकी छ । हरेक थारूले हामी साँच्चै अन्यायमा परेका छौँ भन्ने बुझिसकेका छन् त्यसैले आन्दोलन फेरि पनि जाग्न सक्छ । यदि अब हुने आन्दोलनमा पनि महिलालाई प्रयोग मात्रै गरियो भने त्यसले फेरि अर्को असन्तुष्टि जन्माउनेछ । आन्दोलनमा जसरी महिला–पुरुष भनेर विभेद गरिँदैन, त्यसरी नै आन्दोलनका उपलब्धि संस्थागत गर्ने समयमा विभेदको आँखा बन्द गर्नुपर्छ ।

(०७३ मा संयुक्त राष्ट्रसंघीय नियोगले प्रदान गर्ने एनपिस अवार्ड प्राप्त गरेकी  चौधरीसँगको कुराकानीमा आधारित )