• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सञ्जिला तामाङ
२०७६ माघ ११ शनिबार ०७:१९:००
समाज

टुँडिखेलमै किन ल्होछार ?

सोनाम ल्होछार

२०७६ माघ ११ शनिबार ०७:१९:००
सञ्जिला तामाङ

तामाङ भाषामा ल्होछारको अर्थ ‘नयाँ वर्ष’ हो । एउटा वर्ष सकेर अर्को वर्ष सुरु हुने दिनलाई नै ल्होछार भनिन्छ । एउटा जीवजन्तुको नाममा रहेको वर्ग सकेर अर्को जीवजन्तुको नाममा रहेको वर्ग सुरु भएको दिन अथवा पहिलो महिनाको पहिलो दिनलाई नै ल्होछार भनिन्छ । ‘ल्हो’ शब्दले बाह्रवर्षे चक्रलाई बुझाउँछ । हरेक वर्ष एउटा जीवको नाममा यो चक्रले एक–एक ल्हो फेर्छ । यही ल्हो तामाङ समुदायले माघ महिनामा फेर्छ । विभिन्न पशुपक्षीको नामबाट ‘ल्हो’ को नाम राखिएको हुन्छ । 

ल्होछार सांस्कृतिक चाडपर्व हो । यो पर्व कहिलेदेखि मनाउन थालियो, कति पुरानो हो भन्नेबारे यकिन भन्न नसके पनि मानव सभ्यताको क्रमसँगै मनाउन थालिएको केही अध्ययनले देखाएको छ । ‘ल्हो’ गन्ने परम्परा तामाङ समाजमा सभ्यताको विकाससँगै भएको देखिन्छ । त्यसैले ल्हो गणना गर्ने थिति सँगसँगै ल्होछार मान्ने चलन बस्यो । त्यसकारण यो ल्होछार पर्वलाई आदिवासी जनजातिहरूको मौलिक पर्व भन्न सकिन्छ ।

ल्होछार कुनै एउटा देशमा नभएर संसारकै समस्त मंगोल समुदायको साझा पर्वका रूपमा स्थापित भइसकेको पाइन्छ । ल्होछार विभिन्न देशमा पनि मनाइने गरिन्छ । तामाङ समुदायमा जन्मेदेखि मृत्युसम्म नै ‘ल्हो’ परम्पराले कुनै न कुनै रूपमा प्रभाव पारिरहेको हुन्छ । छेवर, पास्नी, विवाह, मृत्युदेखि परदेश जाने, घर बनाउने, पूजापाठ गर्ने सन्दर्भमा शुभ–अशुभ साइत ‘ल्हो’ बाटै हेर्ने गरिन्छ । ल्होको आधारमा उसको चरित्र र भविष्य आकलन गर्ने हुँदा विवाह र नयाँ कामको थालनी गर्दा यस परम्परालाई आधार मानिन्छ । 

०४६ पछिको राजनीतिक उभार
०४६ सालको राजनीतिक उभारपछि भने यस्ता चाडपर्वको अस्तित्व, महत्व र बहस ह्वात्तै अगाडि आयो । ०५१ सालमा राज्यले ल्होछार पर्वमा एक दिन बिदा दिने निर्णय गर्‍यो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले ‘सोनाम ल्होछार’ को दिन सरकारी बिदा दिने घोषणा गरेको थियो । त्यसपछि ०६४ सालमा सरकारले ल्होछारलाई ‘माघ शुक्ल प्रतिपदा’को दिन ‘सार्वजनिक बिदा’ दिने घोषणा गरेको थियो । यसमा नेपाल तामाङ घेदुङको मुख्य भूमिका थियो ।

नेपाल तामाङ घेदुङले सांस्कृतिक पुनर्जागरण अभियानसँगै ल्होछारलाई अगाडि ल्याएको थियो । घेदुङले तामाङ, गुरुङ, ह्योल्मो, शेर्पालगायत समुदायसँग मिलेर ल्होछारमा सार्वजनिक बिदाको माग गरेको थियो । सांस्कृतिक पुनर्जागरण अभियानसँगै राज्यबाट ल्होछार मान्नेहरूका लागि भनेर पहिलोचोटि यो पर्वले राष्ट्रिय पर्वको मान्यता पाएको थियो । यसपछि गुरुङहरूले तोला ल्होछार, शेर्पालगायत हिमाली समुदायले ग्याल्बो ल्होछारलाई बहसमा ल्याए ।

एक–एक महिनाको अन्तरमा यी ल्होछार मुख्य–मुख्य सहरमा पनि मनाउने क्रम थालियो । ०४६ अघिका समयमा ल्होछारसम्बन्धी लेखिएका सामग्री पाइँदैन थियो । ०४६ पछि मात्र ल्होछारसम्बन्धी लेख, समाचार, विचार छापिन थालेका थिए । त्यसपछि मात्र बौद्धिक तथा प्राज्ञिक जगत्मा ल्होछारको छलफलले ठाउँ पाएको थियो । 

कतिपय बहसमा यसलाई ०४६ पछि प्राणप्रतिष्ठा गरिएको चाडपर्वको रूपमा टिप्पणी गर्ने गरिन्छ । तर, पनि सत्य के हो भने ०४६ अघि पनि तामाङले ल्होछार परम्परा मनाउँदै आएका थिए । त्यतिवेला यसको चर्चा नहुने हुँदा यो गुमनाम थियो । ०४६ अघि एक हिसाबले लगभग ल्होछार लोप हुने अवस्थामा पुगेको थियो । किनभने त्यो वेला नेपाल हिन्दूराष्ट्र, राज्य र सत्ता थियो । हिन्दू धर्म–संस्कृतिको बढी प्रभाव थियो । हिन्दूकरणको अभ्याससँगै ल्होछारलगायत विभिन्न पर्वले आफ्नै भूमिमा यसको महत्व र अस्तित्व गुमाउँदै गएको थियो । 

नेपालमा नयाँ वर्षको रूपमा धेरै आदिवासी समुदायले अझै पनि माघ १ लाई नै मनाउँछन् । गाउँघरमा अझै पनि माघ १ गते नै ‘ल्हो’ फेरिएको ठानिन्छ । यस दिन घरमा अथवा नजिकैको गुम्बामा गएर ल्होछार मनाइने गरिन्छ । गाउँघरमा  नयाँ वर्षको अवसरमा जात्रा पनि लाग्ने गर्दछ । मगर (माघे सकराती), थारू (माघी) लगायतले पनि माघ १ मै नयाँ वर्ष मनाउँछन् । फरक यति मात्र हो कि त्यो वेला यो चाडपर्व समुदाय विशेष थियो । तर, ०४६ को राजनीतिक उभारले यसलाई जनचासोको विषय बनाइदियो । यो सांस्कृतिक त छँदै छ, तर पछिल्लो समय यसलाई पहिचानको राजनीतिसँग बढी जोडिएर हेर्ने गरिएको छ । 
०००
पछिल्लो समय यस्ता ल्होछार चाडपर्व टुँडिखेलमा गएर मनाउनेमा मात्र सीमित हुँदै गएको देखिन्छ । धेरैले ल्होछारलाई एक दिन आफ्नो मौलिक वेशभूषा लगाएर टुँडिखेल जाने, रमाइलो गर्ने, नाच्ने, गाउने, सेल्फी खिच्ने चाडपर्वको रूपमा लिएका छन्, बुझ्दै आएका छन् । केही हदसम्म यो देखिन्छ पनि । एक दिन टुँडिखेलमा ल्होछार मनाउँदैमा सांस्कृतिक रूपान्तरण भइहाल्छ भन्न सकिँदैन । एक दिन प्रधानमन्त्री वा कुनै मन्त्री आएर भाषण गर्दैमा, एक दिन आदिवासीको टोपी, कछाड वा पोसाक लगाउँदैमा संस्कृतिको संरक्षण, विकास भइहाल्छ भन्न सकिन्न । जड कुरा भनेको हामीले हाम्रो नयाँ पुस्तालाई संस्कृतिको महत्व र अर्थबारे बुझाउन सक्यौँ कि सकेनाैँ भन्ने हो ।

नेपालमा नयाँ वर्षको रूपमा धेरै आदिवासी समुदायले अझै पनि माघ १ लाई नै मनाउँछन् । गाउँघरमा अझै पनि माघ १ गते नै ‘ल्हो’ फेरिएको ठानिन्छ । यस दिन घरमा अथवा नजिकैको गुम्बामा गएर ल्होछार मनाइने गरिन्छ ।

सांस्कृतिक रूपान्तरण तब मात्र सम्भव छ, जब यो पुस्तान्तरण हुँदै जान्छ । त्यो भनेको टुँडिखेलमा मात्र मनाउने कि घरघरमा पनि मनाउने वातावरण निर्माण गर्ने भन्ने हो । घरघरमा मनाउने वातावरण नभएसम्म संस्कृतिको संरक्षण र संवद्र्धन हुन्छ भन्न सकिँदैन । त्यसका लागि सम्बन्धित समुदाय त चनाखो हुनैपर्छ तर त्यहाँ राज्यको पनि हात हुन्छ ।

सांस्कृतिक रूपान्तरण तब मात्र सम्भव छ, जहाँ राज्यले पनि सबै जात–जातिको चाडपर्वलाई समान हैसियत दिन्छ । तर, विडम्बना अझै पनि हरेक वर्ष टुँडिखेलमा गएर हामीलाई वर्षमा एक दिन बिदा देऊ भन्नु परिरहेको अवस्था छ । यो तीतो यथार्थ हो । हुन त एक दिन बिदा दिँदैमा कसैको चाडपर्व संरक्षण होला भन्न सकिन्न । तर, त्यसले केही न केही प्रभाव पार्छ ।

व्यवहारमा समानता देखिन्छ । राज्यले हामीलाई विभेद गरेको छ, यसलाई अब अन्त गर्नुपर्छ भनेर हरेक वर्ष टुँडिखेलमा गएर भनिरहनु परेको छ । अहिले आफ्नो पहिचान स्थापित गराउन सार्वजनिक रूपमा ल्होछार मनाउने परिपाटी बढिरहेको छ । जसले गर्दा यस्ता चाडपर्व सांस्कृतिकभन्दा पनि बढी राजनीतिक, मौलिकभन्दा पनि बढी प्रचारात्मक हुँदै गएको देखिन्छ । त्यसैको एउटा उदाहरण हो, टुँडिखेलमा ल्होछार मनाउनु । जसलाई समय सान्दर्भिकता र बहु–आयाममा बुझ्न सकिन्छ । 

सांस्कृतिक रूपान्तरण
अहिले ल्होछार पर्व नाच्ने र गाउने पर्वमा मात्रै सीमित राखिएको देखिन्छ । ल्होछार फगत नाच्ने र गाउने मात्र पर्व होइन । ल्होछारसँग यसको आफ्नै बृहत् संस्कृति सभ्यता जोडिएर आउँछ । त्योसँगसँगै पछिल्लो समय अधिकार प्राप्तिको लडाइँ र आन्दोलनसँग पनि जोडेर हेर्ने गरिएको छ । जुन यो ल्होछारको परिमार्जित र बहुआयामिक रूप हो ।

ल्हो परम्पराले तामाङ समुदायलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । तर, हामीले यसको महत्वबारे बुझ्न नसक्दा पछिल्लो समयमा ल्होछारलाई घरघरमा मान्न सकेका छैनाैँ । ल्होछारमा नाच्ने, गाउने र सामान्य भोज नै बढी हुने गर्छ । यो पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बुझ्न नसक्दा यसलाई फगत मनोरञ्जन, वर्षको एक दिन टुँडिखेल जाने, परम्परागत वेशभूषा लगाउने, नाच्ने, गाउने र आफूलाई प्रदर्शन गर्नेमै बढी सीमित हुँदै गएको छ । त्यसैले अबका दिनमा आफ्नो मौलिक ज्ञान उत्पादन, सीप र कलाको विकासलाई पनि जोडेर हेर्नुपर्छ । 

अन्तमा, झट्ट हेर्दा क्षणिक खुसीको चाडपर्वजस्तो देखेता पनि यो परम्पराको धेरै अर्थ छ । ल्हो फिर्ने दिनको अवसरमै मानिसको ग्रहदशा फ्याँक्ने, घरमा लुङ्दररदर्जु फहराउने र विश्वशान्तिका लागि लामाद्वारा मन्त्रोच्चारण गरिन्छ । त्यसैगरी आफन्त भेटघाट गर्ने, टीका लगाउने, आशीर्वाद लिने र दिने, तामाङ खानपिन खाने, तामाङ वेशभूषा लगाउने र सामूहिक भोजजस्ता कार्यक्रम गरिने हुँदा यसले सामाजिक महत्व राख्छ ।

तामाङ समुदाय कृषि पेसामा आश्रित भएको हुँदा यसले कुन समयमा कुन खेतिपाती लगाउने र कुन वेला कुन बाली सप्रिने, बिग्रने आदि कुराको जानकारी दिन्छ । त्यसैले आदिवासी जनजातिका चाडपर्व उनीहरूका जीवनसँग नजिकबाट जोडिएको हुन्छ ।

 कुनै निश्चित जाति, धर्म, सम्प्रदाय र भूगोल विशेष राज्यको चरित्र बन्नु हुँदैन । त्यो हाम्रो जस्तो विविधताले भरिएको देशमा सुहाउँदैन पनि । त्यसैले राज्यले यस्ता विषयलाई हल्काफुल्का नठानेर संवेदनशील हुनैपर्छ । त्यसकारण ल्होछार एउटा पर्व वा संस्कृति जोगाउने उत्सव मात्र नभएर राज्यलाई जनजातिप्रति उत्तरदायित्व बोध गराउने र संस्कृतिको उजागर गराउँदै राजनीतिक अधिकारको माग गर्ने माध्यम पनि बनेको छ ।

तस्बिर : दीपेन्द्र ढुंगाना