• वि.सं २०८२ असार ५ बुधबार
  • Wednesday, 18 June, 2025
रमेश सायन
२०७५ चैत ९ शनिबार ११:१६:००
साहित्य

बुढो प्रेमीको स्मृति 

२०७५ चैत ९ शनिबार ११:१६:००
रमेश सायन

‘काका मर्ने वेला मलाई भन्नु है ।’
किन भन्नु ?
‘बैंकको सप्पै पैसा मेरो खातामा हालिदिनु ! अनि मर्नु ।’ 
बुढोले मलाई कन्चटमा एक हानेर ढाल्नुपथ्र्यो तर मुसुक्क हाँस्दै भन्यो, ‘हुन्छ तर म अहिले मर्दिनँ ! म मर्दा तँ बाँच्दैनस् होला ।’ बुढो रिसाएन तर आफू कति क्रुर रहेछु भन्ने थाहा पाएँ ।
कोरियामा किन यसरी काम गर्दै छु ? दिमागले एउटै कारण दिन्थ्यो– ‘पैसाका लागि ।’ पैसा भरिएको खोपडीले पैसाको खुब लोभ गर्दो रहेछ । 
हप्तैपिच्छे लोटो (चिट्ठा ) काट्न थालेको थिएँ । सोच्थेँ, ‘५० लाख पर्‍यो भने ठाडै खुट्टा देश फर्कन्छु ।’ तर, कहिल्यै लोटो परेन । पूरै तीन वर्ष खुट्टा खुम्च्याएर कोरिया बस्नुपर्‍यो । चिट्ठाको चक्करमा उल्टो पैसा नासियो । 
ह्वाङ जुसाको बैंक खातामा पाँच करोड नेपाली रुपैयाँ छ । यो उसले जीवनभर मज्दुरी गरेर कमाएको पैसा हो । 
बुढो, आफूजस्तै पुरानो फोन बोक्थ्यो । बिग्रियो । नयाँ स्मार्ट फोन किन्यो तर चलाउन जानेन । मसँग सिकाइ माग्यो । बुढोलाई फोन चलाउन सिकाउँदा सिकाउँदै इनबक्समा बैंक ब्यालेन्स देखेँ । 
‘काका यत्रो पैसा के गर्नु हुन्छ ?’ 
बुढो भन्थ्यो ‘बुढो भएपछि बसेर खान्छु । उभ्रियो भने तँलाई दिन्छु ।’ 
बुढो ७५ वर्ष भयो । ऊ कहिले बुढो हुन्छ । न उसलाई थाहा छ न मलाई । 
डाक्टरलाई चुनौती दिएर चुरोट खान्छ । खोक्न थालेपछि रोक्न समय लाग्छ । उसको खोकी रेलगाडी जस्तो थियो । म सोच्थेँ खोक्दा खोक्दै मर्‍यो भने पैसा नाश हुन्छ । बरु, मलाई दियो भने मेरो घरवास हुन्छ ।
म जस्तै दुखियालाई विदेशीले सम्पत्ति दान गरेको किस्सा सुनेको थिएँ । आफू त्यही किस्साको पात्र हुँ, कल्पिन्थेँ । साँच्चै बुढोले दियो भने !
पहिलो लट फित्ता लिएर टुँडीखेलको एक कुनो नाप्न जान्थेँ । सरकारलाई सोध्थेँ, ‘टुँडीखेल बेच्छस् ?’ 
दोस्रो लट काठमाडौंकै डाँडातिर उक्लेर चिटिक्क परेको घर बनाउँथेँ । एउटा कुकुर र बिरालो पाल्थेँ । कार किन्थेँ । सानो फूलबारी बनाउँथेँ । हिमाल हेर्दै ‘कसरी धनी भएँ’ भनेर कथा लेख्थेँ ।  
बुढोलाई स्वास्नीले एक्लैै बनाएर गइसकेकी थिई । एउटा छोरो छ भन्थ्यो तर साथमा थिएन । बुढो मजदुरी गथ्र्यो । मेरो सहकर्मी थियो । काम गर्न जहाँ पुग्थ्यो त्यहीँ उसको घर हुन्थ्यो । यायाबर टाइपको जिन्दगी थियो । लोभी थियो । खर्चको नाममा चुरोट किन्थ्यो । भात कम्पनीले दिन्थ्यो । पुरानो मोटर चढ्थ्यो । 
‘काका यो थोत्रे मोटर किन चढ्नु ? नयाँ किन्नु नि !’
बुढो भन्थ्यो, ‘आ चलेकै छ । किन पैसा खर्च गर्नु ।’ 
टाउकोमा थोरै कपाल बाँकी थियो । त्यो कपाल फुल्न दिएको भए नदीले बनाएको टापुमा फुलेको सुन्दर काँस फूल जस्तो देखिन्थ्यो होला । तर, कपाल फुल्न दिँदैन थियो । प्रत्येक शनिबार साँझ कपाल कालो बनाउँथ्यो । कतिपटक त मैले नै उसको कपालमा कालो लगाइदिएको छु । बुढोे अनुहारलाई कालो कपाल सुहाउँदैन भन्ने उसलाई थाहा थिएन । ऐनाअघि उभिएर भन्थ्यो, ‘म कति वर्षको जस्तो देखिएँ ।’
‘पच्चहत्तर ।’ म भन्थेँ । बुढो बिच्किन्थ्यो ।  
मलाई कहिलेकाँही फलफूल दिन्थ्यो । आफू रक्सी खाँदैन थियो तर मलाई ‘खुब धैरै खा !’ भन्थ्यो । मैले रक्सी पिउँदा उसको अनुहार उज्यालो हुन्थ्यो । मुख मिठ्याउँथ्यो । सायद सम्झँदो हो रक्सीले भरिएको बैंस । डाक्टरले भनेको थियो, ‘बरु चुरोट खा ! रक्सी खाए मरिजान्छस् ।’ 
बुढो मर्न डराउँथ्यो । 
‘मलाई छोरा जस्तै छस !’ भन्थ्यो तर उसले छोराको स्वाद बिर्सिसक्ने वेला भएको थियो । चार वर्षदेखि न छोरो भेट्न आएको थियो । न बाउ भेट्न गएको थियो । भन्थ्यो, ‘छोराको फुर्सद छैन । फुर्सद भयो भने एक दिन अउँछ ।’ मेरो फुर्सद छैन । फुर्सद भयो भने एक दिन भेट्न जान्छु ।
जे होस् ! म धर्मपुत्र भएको र पाँच करोड मेरो खातामा गएको कल्पिन्थेँ । मेरो देशमा बाउको सम्पत्ति स्वतः छोराको खल्तीमा जाने नियम छ । म आफ्नै देशको नियमअनुसार सोच्थेँ ।  
बुढो ह्वाङजुसा प्रेमसम्बन्धमा थियो । 
प्रत्येक आइतबार बिहान प्रेमिका भेट्न जान्थ्यो । उसकी प्रेमिका सिलाइबुनाइको काम गर्थी । चाइनिजमूलकी कोरियन रहिछे । कोरियन केटोसँगको पिरतीपछि बिहे गरेकी । पन्ध्र वर्ष भएछ उसको बुढोले एकलो बनाएर कहिल्यै नफर्किने गरी गएको । छोराछोरी रहेछन् तर बेफुर्सदी ।
लोग्नेको मृत्युपछि ह्वाङजुसासँग भेट भएको रहेछ । दुवै एकला एकलै भएपछि एकअर्काको दुःखसुख मिल्यो । एकअर्कामा माया पलायो । प्रेम भयो । तर, बुढेसकालको प्रेमले जे गर्नुपर्ने थियो त्योचाहिँ कम गर्दो रहेछ क्यार । प्रायः बुढो प्रेमिका भेट्न जानेवेला भन्थ्यो ‘तँ पनि जान्छस् हिँड् ।’ मलाई बुढो प्रेमीको हर्कत मन पथ्र्यो । चारपल्ट गएँ । तीनपल्ट हामीले सँगै खाना खायौँ । उसकी प्रेमिकाले मलाई माया गर्थी । उपहार दिन्थी । बुढोका प्रेमिकाले उपहार दिएको सर्ट अझै छ, मसँग । सर्टको बटम लगाउँदा घरीघरी उसको अनुहार आएर बटममा अल्झिन्छ । दराजमा जतन गरी राखेको छु । 
ऊ पनि भन्थी, ‘तँ मेरो छोरो जस्तै छस् ।’ तर, बुढीले यसो भन्दा मलाई खासै टेस पर्दैन थियो । जति बुढाले छोरा होस् भन्दा पथ्र्यो । 
ती बुढाबुढीको प्रेम देख्दा लाग्थ्यो,‘अरू ईश्वर नभए पनि प्रेमको डिपार्ट हेर्ने ईश्वरचाहिँ अझै जिउँदै छन् ।’ 
०००
चार वर्ग किलोमिटरमा फैलिएको कम्पनीभित्र होटेल थियो । म्युजियम थियो । क्यफे थियो । फूलबारी थियो । पोखरी थियो । ढुंगाका ठूलाठूला मूर्तिहरू थिए । दश लाख कुखुरा बस्ने खोर थियो । कुकुरको घर थियो । एउटा अग्लो पहाड पनि थियो । 
म देश फर्किने अन्तिम हिउँद सन् २०१७ जनवरी, फ्रेबुअरीतिर बुढो र मैले चार किलो मिटर लामो हाइकिङ रुट खन्यौँ । भिरमा माटो खोर्सिएर मान्छे हिँड्न सक्ने गोरेटो बाटो बनायौँ । बाटो देख्दा आफूलाई असाध्य खुसी लाग्दो रहेछ । थकाइ मेटिँदो रहेछ ।  त्यो बाटोमा अब प्रेमीहरू हात समातेर नलडी हिँड्थे । बाटमा खसेका सुकेका पात कुल्चिँदा मीठो संगीत सुनिन्थ्यो । 
‘बुढो भन्थ्यो, ‘हेर त यो भिरमा कति राम्रो बाटो बन्यो ।’ आफ्नो पसिना चुहिएको ठाउँ अर्काकै होस् भलै तर आफ्नो जस्तो सुन्दर देखिँदो रहेछ । पसिनाको सौन्दर्य बेजोड हुँदो रहेछ । 
एक दिन बाटो खन्दा खन्दै हिउँ पर्‍यो ।
बुढोले हातमा हिउँ थाप्यो । हत्केलामा हिउँका रेसाहरू परे । बुढोको अनुहार उज्यालो भयो । त्यसपछि ऊ खोक्न थाल्यो । खोकी रोक्न समय लाग्यो । खोकी रोकिनासाथ भन्यो, ‘वर्षको पहिलो हिउँ परेका वेला मनले जे माग्छ त्यो पुग्छ । तँ पनि केही माग ।’
झट्ट सम्झिएँ माग्ने कुरा केही रहेन छ । दुवै हात फैलाएर एकछिन सोचेपछि दिमागमा आयो, ‘जीवन भर घुम्न पाऊँ ।’
बुढोले अफ्नी प्रेमिकालाई फोन गरेर सोध्यो ‘के मागिस् ?’ प्रेमिकाले के भनी सुनिनँ तर बुढोले चाहिँ प्रेमिकालाई सधैँ खुसी राख्न सकूँ भनेर मागेछ । सुनेँ । 
म भित्रभित्रै हाँसेँ । 
लहरे खोकीले गाँजेको बुढो छ । कुन वेला जान्छ !  प्रेमिका एक्लै कसरी खुसी हुन्छे । बुढोले माग्नचाहिँ सही मागेको थियो तर उसको रोगको ताल गलत थियो । 
त्यस दिन खुब हिउँ पर्‍यो । डाँडाहरू हिमाल भए । सुकिलो हिउँले मन साह्रै सुन्दर भयो । थुप्रै फोटो खिचेँ । 
हिउँ पर्न थालेपछि हामीले बाटो खन्न छाड्यौँ । बुढोले भन्यो, ‘आज काम गर्नुपर्दैन । हिउँ पर्‍यो । घर गएर सुत् । तर, हल्ला नगर् । मालिकले थाहा नपाहोस् काम नगरेको ।’ संसारभरका मजदुरको एउटा कुरा साझा हुन्छ, सकेसम्म मालिकका आँखा छलेर काम ठग्ने । संसारभरका मालिकको पनि एउटा कुरा साझा हुन्छ सकेसम्म मजदुरलाई पेल्ने । धेरै काम लिने । साँझ बुढोले कापालमा कालो लगाइमाग्यो । मैले कालो लगाइदिएँ । बुढोले भन्यो, ‘हिँड् आज सहर घुम्न ।’
जाडो छ । हिउँ पर्दै छ । त्यही पनि मलाई रमाइलो लाग्छ । तरमाईमा हुर्किएँ । कहिलेकहीँ हिमाल देखेँ तर हिउँ देखेको थिइनँ ।
बुढोले सहर घुमाएन । सीधै आफ्नी प्रेमिका भए ठाउँ लिएर गयो । सँगै खाना खायौँ । उसकी प्रेमिकाले मलाई मया गर्थी त्यो माथि नै भनिसकेँ । 
उसकी पे्रमिकाले मलाई उपहार किनिदिई । 
त्यस वर्षको हिउँद सकियो । जमिनमा हरियो फर्कियो । म देश फर्किएँ । देश फर्किने वेला बुढो ह्वाङजुसाकी प्रेमिकासँग बिदा माग्न गइन् । 
०००
बितेको जनवरीम फेरि कोरिया पुगेको थिएँ । सरासर आफूले काम गरेको कम्पनी पुगेँ । साथीहरूदेखि कुकुरसम्म भेटेँ । तर, ह्वाङजुसालाई भेट्न सकिनँ । म देश फर्किएको चार महिनापछि उसले काम छाडेछ । बुढोलाई मह मन पथ्र्यो । झोलामा मह थियो । झोलामै बस्यो । 
म कतिसम्म स्वार्थी र निष्ठुर रहेछु भने नि ! देश फर्किएछि बुढो र अरू अरू सहकर्मीलाई सम्झिनँ । कहिलेकाहीँ मेरो मगजमा आउँथे तर तत्कालै बिलाउँथे । फोन वा म्यासेज गर्नु पर्ने गरी अडिदैन थिएँ । 
देश फर्किएपछि मेरो दुनियाँ फरक भयो ।
आपूmले खनेको बाटो हिँडेर पहाडको टुप्पोसम्म पुगेँ । टाढाटाढासम्म तरेली परेका पहाड देखियो । उराठ हिउँदमा कोरिया सुन्दर देखिँदैन । तर, असुन्दरताको पनि आफ्नै सौन्दर्य हुन्छ । निकैबेर उराठ सौन्दर्य हेरेँ । 
बाटो खन्दा खन्दै, एउटा ठूलो ढुंगामाथि आफ्नो नाम छिनोले खोपेको थिएँ । बुढोलाई भनेको थिएँ, ‘यो दुखिया देश कहिल्यै फर्किन्नँ । तर, मेरो नाम ढुंगोमा रहिरहन्छ ।’ कोरियालाई ‘दुखिया देश’ भन्दा बुढो रिसाएको थियो । कोरियालीहरूमा राष्ट्रवाद इन्डियन मिडियामा भन्दा धैरै छ । केही भन्न हुन्न बिच्किहाल्छन् । 
बुढोले मलाई काम छाडेर ढुंगामा नाम खोप्दासमेत कराएन । 
आफ्नो नाम खोपेको ढुंगो भएससम्म पुगेँ । नाममा धुलो जमेछ । धुलो पुछेँ । नाम उज्यालो देखियो । यसरी परदेशको जंगलमा आफ्नो नाम भेट्दा रोमाञ्चक हुनुपर्ने हो । तर, भइनँ । यो आफैँले खोपेको नाम थियो । कुनै दिन देश धनी भयो भने, थाहा पाओस्, कहाँ कहाँ नेपाली मजदुरको रगत, पसिना खसेको छ । 
 ह्वाङजुसा मेरो आँखामा थियो । बुढोको कपालमा एकपल्ट कालो लगाइदिने मन थियो । तर, बुढो भेटिएन । 
बुढोकी प्रेमिका बस्ने सहर गएँ । उसको सिलाइबुनाइ गर्ने दुकान गएँ । मलाई देखेर बुढी खुब खुसी भई । अँगालो हाली । निधारमा चुमी पनि । 
बुढी कति चाँडै बुढी भइछे । गालाको मासु झोलिएछ । अगाडि चारवटा दाँतमा सुन ढोकिछे । कानका लोती लच्केछन् । 
‘काकी ह्वाङजुसा काकालाई भेट्न चाहन्छु तर कसरी ?’ 
मसँगको भेटको खुसी सेलाउन पाएको थिएन । यसैबीच बुढीले अफ्नो प्रेमीको खबर मलाई दिनुपर्नेभयाे। हाँस्दाहाँस्दैको अनुहार धमिलियो । आँखा कोरियाली हिउँद जस्तै उराठ देखियो । भनी, ‘आजसी थोरखास्सयो ।’ (काका बित्नु भयो ! ) 
मन तीतो भयो । ‘ला कहिले ?’ मैले मिति सोधेँ । 
‘६ महिना भयो ।’ उसले मिति भनी । मेरा आँखा रोएनन् तर मन रोयो । बेकार बुढीलाई भेट्न आएछुजस्तो लाग्यो । के भन्नु अब ! के भन्नु पर्छ यस्तो वेला ! मेलो पाइनँ । चुप उभिएँ । 
बुढीले भनी, ‘चाहन्छौ भने हिँड काकालई राखेको ठाउँ ।’ मलाई जाउँ लागेको थिएन । तर, यो उनीहरूको परमपरागत संस्कार हो– आफन्त र प्रेम गरेका मानिसको समाधीस्थलमा गएर श्रद्धा गर्नु । मृतात्मलाई मनपरेको खानेकुरा चढाउनु । चढाएको खानेकुरा आत्मले भेट्छ भनेर विश्वास गर्नु ।  
एक बट्टा चुरोट ह्वाङजुसाको चिहानमा चडाएँ । सोधेँ, ‘काका तिमी कहिले बुढो भयौ ? र, मलाई नभेटी गयौ ?’