पछिल्लो तीन दशकमा धेरै कुरा फेरिए । कति कुरा हराए । प्रेमपत्र लेख्ने अभ्यास हरायो । मीत लगाउने परम्परा हरायो । किसानको खेतमा अर्म–पर्म पातलियो । दिवंगत पतिको घरमा नयाँ पति भित्र्याउने थारू चलन लोप भयो । चुरेको फेदीमा जरुवापानी सुक्यो । हिमाली टाकुरामा मुखिया परम्परा टुट्यो । रेडियो सुन्ने संस्कृति अन्तै मोडियो । सहरबाट चरा र गाउँबाट चौतारा विस्थापित भए । मधेसतिर रामलीला हरायो । काठमाडौंका हिटी नासिए । यो तीन दशकमा समाजबाट अरू के–के हरायो ? किन हरायो ? यसपटक झन् नयाँले हराएका र हराउने क्रममा रहेका विषयबारे विमर्श गरेको छ :
च्याटरुममा पिलिक्क झुल्किन्छ : १४३ !
जवाफ पनि उसैगरी मिलिक्क अंकमा प्रकट हुन्छ : १४३ 2 !
विस्मयादिवोधक चिह्नचाहिँ लेखको सुविधाका लागि दिइएको हो । च्याटमा अनुभूतिवोधक चिह्न राख्ने फुर्सद कसैलाई छैन । जुगजमानाको बुझाइ यस्तै छ । यो अंकवाला विचित्र च्याटालापको अर्थचाहिँ के होला ? तपाईं सामाजिक सञ्जालको च्याटालापमा अभ्यस्त हुनुहुन्छ भने तपाईंको अनुमान सही छ । हो, १४३ लाई एकचारतीन भनेर पढ्नुपर्छ । यसको अर्थ हुन्छ : आई लभ यू ! अंग्रेजी शब्द आईको १ अक्षर, लभको ४ अक्षर र यूको ३ अक्षर । जवाफमा आएको ‘आई लभ यू टू’को टूचाहिँ शब्दलाई अंकमा भनिएको हो ।
प्रेम व्यक्त गर्ने यो तरिकालाई रुखो भन्ने कि छिटोछरितो ? विकृति भन्ने कि नौलो प्रवृत्ति ? व्याख्या जसरी गरे पनि पाइयो, तर इन्टरनेटको हस्तक्षेप खारेज गर्न नसकिने गरी स्वीकृत भइसकेको सत्य हो । फेसबुकको च्याटालापबाटै प्रेममा गाँजिएर बिहे गर्ने जोडी, मित्रहरू, अभियानमा नारिने अभियन्ताहरू आज जताततै भेटिन्छन् । अपरिचित छिनमै परिचित हुन्छन् । पूर्वपरिचित बिछोडको एउटा अन्तराल पार गरेर पुनः सम्बन्धमा गाँसिन्छन् । कहिल्यै भेट नभएका मानिस संसारका अज्ञात कुनाबाट अचानक सम्पर्कमा आउँछन् र विचार वा भावनाको संबेगमा हेलिन पुग्छन् । दुई दशकअघिको समयसँग दाँज्ने हो भने आजको प्रविधिमय पल–पल आश्चर्यजनक छ ।
बेपत्ता प्रेमपत्र
प्रेम स्वयं एक आश्चर्यजनक अनुभूति हो । प्रविधिको विस्मयले प्रेमको आश्चर्यलाई खुम्च्याइदिएको हो त ? प्रेमपत्र बेपत्ता भएको सूचना कसैले प्रकाशित गरेको छैन । कसैले किन छापोस्, यो स्वयं–प्रकाशित सूचना हो । हुलाकमा हिजोआज व्यक्तिगत र पारिवारिक अनुभूति बोकी हिँड्ने चिठी आउँदैन । हुलाकी पनि बेपत्ता भैसके । हुलाकी आउँदा गाउँघर/नगरटोलमा चल्ने उत्सुकताको बतास अचेल चल्दैन । रिलवाला क्यामेरा हराएजस्तो स्वाभाविक हो त यो ? चिठीसँग मान्छेको अनुभूतिको दुनियाँ हुन्थ्यो । चिठीका अनेक बान्की हुन्थे र तिनले बोक्ने भावको बेग्ला–बेग्लै छनक हुन्थ्यो । पहेँलो धागो बाँधिएको चिठी हुलाकीको झोलाबाटै पीडाको बतास उछाल्दै आउँथ्यो । चिठी हराए र भावका ती डुँगा पनि लोप भए ।
टेसिलो कुरा त अझ प्रेमपत्रकै छ । अचेल प्रेमपत्र कसैले लेख्छ होला कि नाइँ ? कागजमा लेख्ने कुरा गर्ने हो भने प्रेमपत्र लोप भइसक्यो भन्दा हुन्छ । कसैले इमेल वा फेसबुकतिर प्रेमपत्र लेख्न सक्छ । अर्को चंख सवाल बाँकी छ । माथि भनिएझैँ सर्टकट प्रेमको अभिव्यक्ति दिने चलन त व्यापक छँदै छ, इमेल वा फेसबुकतिरै पनि कसैले आफ्ना अनुभूति फुकाएर प्रेमपत्र लेख्ने जाँगर गर्छ होला कि नाइँ ? मैले भेटेका शतप्रतिशत मित्रहरूको भनाइ छ कि अचेल हृदय खोलेर प्रेमपत्र लेख्ने फुर्सद कसैले लिँदैन । प्रेमपत्रलाई च्याटले विस्थापित गरिसकेको छ ।
सामाजिक सञ्जाल भनिने वेबसाइटहरू आउनुभन्दा अगाडि इमेल आयो । सुरुसुरुमा इमेल खाता खोल्नेहरूले अलि पहिले कागजमा चिठी लेख्न छाडे होलान् । ठूलो जनसंख्याले चाहिँ फेसबुकमा दर्ता भएपछि टेलिफोन वा चिठीको भर पर्न छाडिदियो । सुरुमा इमेल सुविधा दिने कम्पनीले नै च्याटरुम खोलेका थिए । आजसम्म आइपुग्दा त सबै सामाजिक सञ्जालले भिडियो च्याटको सुविधासमेत दिएका छन् । फेसबुक, ह्वाट्सयाप, भाइबर, इमो आदि अनेक भइसके च्याटरुमहरू । तुरुन्ता–तुरुन्तै खबर आदान–प्रदान हुने भएपछि चिठी लेख्ने र हुलाकसम्म पुग्ने झन्झटबाट सबै मुक्त भए । मोबाइल र स्मार्टफोनको आगमनसँगै मान्छेका आदत, जीवनशैली र भाषाको बान्कीसमेत बदलियो ।
वार्तालापको ठाउँमा च्याटालाप आयो । पाहुना हुन् वा रेस्टुरेन्टका ग्राहक, आउनासाथ माग्ने पहिलो जिनिस हो वाइफाईको पासवर्ड । परिवारका सदस्य हुन् वा पाहुना, सबै स्मार्टफोनमा झुम्मिरहेका हुन्छन् । मुखामुख आँखा जुधाएर वार्तालाप गर्ने रुचि देखिन्न, बरु मिलेसम्म छेउछाउबाटै च्याटालाप गर्न रुचाउलान् । च्याटालापमा नौलो के छ त ? मुख्य कुरा यो वार्तालापभन्दा धेरै लक्षणले भिन्दै छ । च्याटालापमा आँखाको भाका, नाकको खुम्च्याइ, कानको रन्काइ र अनुहारमा पोतिने रातोनीलो भाव हुन्न । च्याटालाप सजिलो हुन सक्छ, तर प्राणहीन पनि । खरो हुन सक्छ, तर लज्जाहीन पनि । प्रेम, सद्भावजस्ता भावनाको पनि व्यापार चल्छ र च्याटरुम हुन्छ एक बजार ।
प्रेम नै बजारमा पुगेको भए यसको बजारभाउ हुने नै भयो । फेसबुकको जमानामा प्रेम सस्तो भयो भन्ने एउटा अनुभव छ । कागजको सुगन्ध, हस्ताक्षरको अपनत्व र मसीको रंगविनोदले प्रेमपत्रलाई जिउँदो बनाउँथ्यो भनेर सम्झिनेहरू छन् । च्याटालापको जमानामा यो गुनासो स्वाभाविक छ । तर, प्रेमपत्र कागजमा मात्र होइन, कम्प्युटर वा स्मार्टफोनका ऐनामा पनि त लेख्न र पढ्न सकिन्छ । शब्दहरूको नृत्य उही हो, भाषाले उजिल्याउने अनुभव र अनुभूति उस्तै हो । समयको बचत हुने नै भयो, ताजा अनुभूति तुरुन्तै लेख्न र पढ्न पनि पाइयो । चिठीपत्र लोप भयो त के भयो, नयाँ जीवनशैली रचेर अझ उन्नत किन नहुने ? तर्क यस्तो पनि हुन सक्छ ।
प्रेमपत्रको स्मृतिदंश
प्रेमपत्र छिट्टै नै एक प्रबल स्मृतिदंश बनेर आउनेछ । अथवा भनौँ आइसकेको छ । यो लेख लेखिनुको अर्थ पक्कै पनि त्यही हो । यसका अनेक कारण छन् । प्रेमपत्रलाई एक बिम्ब मानेर हेरौँ । माक्र्स र ऐंगेल्सका बीच आदान–प्रदान भएका चिठी आजसम्म पढिन्छ । जवाहरलाल नेहरूले छोरीलाई लेखेका पत्र धेरै वर्षसम्म दक्षिण एसियाका थुप्रै देशमा पाठ्यक्रममा राखेर पढाइन्थ्यो । संसारका वैज्ञानिक, लेखक, संगीतकार, गायकका निजी प्रेमपत्रहरू अहिले पनि चाखपूर्वक गुगलमा खोज्ने गरिन्छ । भारतीय साहित्यकार फणिश्वरनाथ रेणुका चिठी पनि किताबमा प्रकाशित छ । इतिहासको महत्वपूर्ण स्रोतका रूपमा चिठीलाई उपयोग गरिएका उदाहरण धेरै छन् ।
आफ्नै अनुभव सुनाऊँ । २०४० र ५० को दशकमा हाम्रै समाजमा पत्रमित्रताको खुब चलन थियो । स्कुले जीवनमा पत्रमित्रता गरेको अनुभव मसित पनि छ । प्युठान, खलंगाका जुद्धबहादुर पुनले २७/२८ वर्षअघि पठाएका चिठी मसँग अझै सुरक्षित छन् । भावेश भुमरीको नामले गीत र कविताको क्षेत्रमा उनले हिजोआज ख्याति कमाएका छन् । गोरखा, लुइँटेलका राजेन्द्र पोखरेलले पठाएका चिठी पनि छन् । ०५३–५४ सालतिर अर्का मित्र गेहेन्द्र राजभण्डारीले पठाएका चिठी पनि मसँग अझै छँदै छन् । नेपाल सरकारका कन्सुलर छन् गेहेन्द्र । खुब अध्ययनमा लागेको वेला जानेका अनेकानेक कुरा भाइ पुष्प परागलाई चिठीमा लेखेर पठाएको पनि रहेछु । अहिले पढ्दा गजब लाग्छ– हामी आफ्नो समय, बसेको ठाउँ र आफ्ना आकांक्षाबारे खुलेर छलफल गर्दारहेछौँ ।
म झापाको पृथ्वीनगरस्थित भीमनगर भन्ने गाउँमा हुर्किएँ । पुनर्वास कम्पनीले बसालेको यो बस्ती नयाँ थियो । ग्याब्रियल गार्सिया मार्खेजले ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ उपन्यासमा कल्पना गरेको बस्ती मकोन्डोजस्तै लाग्छ अहिले सम्झिँदा त्यो गाउँ । मार्खेजले लेखेका छन्– कोही न कोही आफन्तको चिहान नबनेसम्म कुनै ठाउँसँग गहिरो नाता जोडिँदैन । अर्थात् मान्छे र ठाउँको नाता पनि रगतले नै निर्माण हुन्छ । चिहान त थियो देउनिया खोलाको किनारमा, तैपनि नयाँ थियो बस्ती, कता–कता जग मजबुत नभइसकेको जस्तो । त्यही गाउँबाट लेखिएका चिठीमा मैले बाँचिरहेको समयको एउटा स्केच त आउने नै भयो । हो, चिठी लेख्न बस्दा एकान्तमा चिन्तन गर्ने मनोवैज्ञानिक चौतारी मिल्छ । आफू, आफ्ना आकांक्षा र आफू बाँचिरहेको समाज एवं समयको गच्छेअनुसारको मूल्यांकन पनि चिठीमा गरिँदोरहेछ ।
प्रेमपत्र लेख्न बसेको प्रेमीले के–के सोच्दो हो ? पढ्ने अर्को प्रेमीले कुन दृष्टिले पढ्दो हो ? आफ्नो समाजका तानाबाना, घाचर–घोचर कति खेल्दो हो मनमा ? जातका जञ्जाल, धनी–गरिब, भिन्न संस्कार र संस्कृति आदि हुनुले पैदा गरेको मनको तरंग विद्युतीय तरंगजस्तो हुँदो हो कि भिन्नै ? समाजशास्त्र, मानवशास्त्र, राजनीति, दर्शनशास्त्र, कोकशास्त्र, काव्यशास्त्र, के–के झल्किँदो हो प्रेमपत्रमा ? जे छ ठीकै छ टाइपको हुँदो हो कि विद्रोही ? आफैँ र आफू बाँचेको दुनियाँका बारेमा केही न केही त अवश्य सोच्छ प्रेमीले र अभिव्यक्त गर्छ । सिद्धान्तको भाषामा भन्दा वस्तुगत र आत्मगत परिस्थितिको मूल्यांकन गर्दो हो । प्रेमका निम्ति आफूलाई तयार पारिरहँदा दुनियाँदारीको अखडामा उत्रने ज्ञान पनि रचना गर्दो हो ।
प्रेमपत्र लेख्ने समय निकालेर एकान्तमा घोत्लिए त यस्तै केही हुँदो हो । च्याटबक्समा १४३ गरी बस्ने प्रेमीले आफू र आफ्नो परिवेशबारे चिन्तन गर्ने फुर्सद कहाँ पाउनु बरा ! प्रेमीको यो बिचरोपनले प्रेमलाई मात्रै बिचरो बनाउला कि पूरै समाजलाई ? जरुरी महत्वको राजनीति यहाँ पनि छ । प्रेमपत्र लेख्न सबैभन्दा पहिला त आफैँलाई बुझ्नुपर्यो, त्यसपछि प्रेमीलाई पनि बुझ्नुपर्यो । दुई पक्षबीच प्रेम स्थापित हुने वेला दिक् र काल (स्पेस–टाइम) को भूमिका स्वतः आइहाल्छ । आफू बाँचेको समय र स्थानीयकर्ता बारेको बुझाइलाई भावनाको टेको लगाएर अभिव्यक्त पनि गर्नुपर्यो । प्रेमपत्र लेखिरहेको प्रेमीले संसारको एउटा आयाममा आफूलाई उभ्याउनैपर्छ ।
हुलाकमा हिजोआज व्यक्तिगत र पारिवारिक अनुभूति बोकी हिँड्ने चिठी आउँदैन । हुलाकीहरू बेपत्ता भइसके । हुलाकी आउँदा गाउँघर–नगरटोलमा चल्ने उत्सुकताको बतास पनि बेपत्ता भइसके ।
त्यसपछि चाहियो शब्दसँग खेल्ने कला । शब्दभण्डारबाट शब्द खोज्ने, छान्ने र बुन्ने कला प्रेमपत्र लेख्दा विकास हुने नै भयो । लोकगीत हुन् वा संगीत, कलाको बेजोड बुनोट यस्तै प्रेमीहरूले निर्माण गरेका हुन् । यहाँ आइपुगेर प्रेमीलाई च्याटमा १४३ खेल्ने हल्काफुल्का मनुवा सम्झन पाउनुहुन्न । किताब पढेका कथित पठित चाहियो त लोकगीत र संगीतको रचना गर्न ? अनेकन लोककथा र गाथा रच्न ? मुन्धुमका गाथामा इतिहास र दर्शन खिपेर अद्भूत कला उत्पादन गर्न ? ती सबै प्रेमी हुन्, तिनका प्रेमगाथाले आजसम्म मान्छेको मन उद्वेलित गरिरहेकै छन् ।
त्यसैले, प्रेमपत्र लोप हुँदा केवल आलाकाँचा लल्लौरी–बिल्लौरी मात्र गुम्दैन । अनि च्याटालापको फुस्रो चौलानी छचल्काउनुचाहिँ उन्नत प्रविधिको फूर्ति हुन सक्दैन । प्रेमपत्र गुम्दा शब्दभण्डार गुम्छ, भावना र यथार्थको बुनोटबाट जन्मिने अद्भूत कविता गुम्छन् । धेरैभन्दा धेरै मान्छेले आफ्ना भावना व्यक्त गर्ने कला गुमाएर मैदानमा उत्रियो भने समाजले के–के गुमाउला ? युट्युबको बबालले यसको जवाफ दिइरहेको छ । बजारको होहल्लामा थप एउटा हल्ला मिसाउन तँछाडमछाड हुँदा लोकगीतको जुन अवतार अचेल बनेको छ, त्यसले जवाफ दिइरहेको छ । गीतबाट गीत गायब, प्रेमबाट प्रेम गायब !
अभिव्यक्तिको गुम्फन
इन्टरनेटले अभिव्यक्तिको खुला र स्वतन्त्र माध्यम दिएको तथ्य मान्नैपर्छ । यसलाई अन्यथा मानेर आजको समयलाई चिन्न सकिन्न । स्क्रिनको पन्ना कापीको पन्नाभन्दा मायावी छ । यसले रूप बदल्न सक्छ, मान्छेलाई घन्टौँ एकोहोर्याइदिन सक्छ । हो, प्रेमपत्र लेख्न यसले प्रतिबन्ध लगाएको छैन । तर, पहेली यस्तो रचेको छ कि मान्छेलाई अनुभूतिको सघनतामा जान नदिएर मिलिक्क–मिलिक्क मिल्क्याइदिन्छ । एउटै व्यक्ति एकै समयमा एउटा च्याटालापमा रिसाइरहेको र अर्को च्याटबक्समा १४३ गरिरहेको हुन सक्छ ।
प्रविधिले आफ्नै सत्ता निर्माण गरिसकेको छ । पुँजीवादको पूरक भएकाले मूलतः यसले पुँजीकै सेवा गर्ने हो । सबैभन्दा खतरनाक पक्ष के भने यसले मान्छेको स्वत्वमै कब्जा जमाइदिन्छ । त्यसैले गुमेको प्रेमपत्रको सुगन्ध होइन, अनुभूति र अभिव्यक्तिको जादु हो । मान्छे कथा र धुनमा बाँच्ने प्राणी हो । कथा र धुन झिकिदियो भने मान्छेको स्वरूपमा रोबोट बाँकी रहन्छ । मान्छेले उत्पादन र उपभोगमा मात्र जीवन रच्न सक्दैन, त्यसैले उसलाई गाथा चाहिन्छ, जात्रा र कला चाहिन्छ । दैनन्दिन जिन्दगीमा मान्छेले साना–ठूला अनेक घटना/दुर्घटना जिउँछ र त्यसलाई विशिष्ट दृष्टिकोणसहित स्मृतिमा जम्मा पार्छ । अनि गाथा, कथा, गीत, कविता, मिथकमार्फत अभिव्यक्त गर्छ ।
यिनै चिज बोक्ने एउटा डुंगा चिठी पनि हो । आशा, निराशा, आक्रोश, डर, प्रेम आदि अनुभूति न त फुटकर रूपमा जिउन सकिन्छ, न त अभिव्यक्त गर्न नै । त्यसैले घटना÷जिउनु त छँदै छ, स्वस्थ मन र समाज निर्माण गर्न तिनको दिल फुकाएर अभिव्यक्त गर्न त्योभन्दा जरुरी हुन्छ । च्याटबक्समा फुटकर बनाएर नवरसमध्ये कुनै पनि रसलाई अभिव्यक्त गर्न सकिन्न । जब त्यसो गरिन्छ, अभिव्यक्तिको गुम्फन पैदा हुन्छ । पेटको कब्जियतभन्दा मस्तिष्क र मनको कब्जियत धेरै खतरनाक हुन्छ । स्वस्थ र सिर्जनात्मक समाज निर्माणका लागि प्रेमपत्र औजार र उपचार दुवै हो । कागजी प्रेमपत्र लोप होस्, ठीकै छ । माध्यम मुख्य कुरा होइन । चिठी स्वयं लोप हुनुहुन्न । वार्तालाप र चिठीलाई जीवित राख्ने मात्र होइन, अझ उन्नत बनाउने हो । प्रेमपत्रलाई मेरो एक मत ।