• वि.सं २०८२ असार ४ मंगलबार
  • Tuesday, 17 June, 2025
भूपाल राई
२०७६ माघ १८ शनिबार ०८:३२:००
समाज

कहाँ गए गीतका ती भरिया ?

तोक्माको आदिम संगीत अब त्यहाँ कहिल्यै सुनिने छैन

२०७६ माघ १८ शनिबार ०८:३२:००
भूपाल राई

बाटो

सुनकै भाउ छ सुन्तला भारीको
चाखी जानू भन्ने मनकारीको
खै त बुटजुत्ता
कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा ?

माफ गर्नोस् । प्रस्तुत गीतको टीका यो आलेखको निधारमा कुनै अतिरिक्त मोहको कारण टाँसिएको हैन । न हो यो आत्मप्रशंसाको अतिरेक धन्दा । हो भने यो बढीमा एउटा सानो भ्रुण–कथा हो, जोसँग जोडिएको छ एक सहोदर सहयात्रीका रूपमा यो गीत । जसको झिनो डोरोमा तानिएको छ एउटा सुदूर अतीतको सन्दर्भ । त्यही सन्दर्भ सेतुका रूपमा जोडिएर आएको हो यहाँ यो गीत । र, त्यही सन्दर्भको संक्षिप्त बयानबाजी हो यो आलेख ।

सम्झिनोस्, २७/२८ सालतिरको त्यो धरान–धनकुटा, जसको अर्थ–सम्बन्धबारे सांकेतिक वर्णन गर्न खोजेको छ प्रस्तुत गीतले । अझ सम्झिनोस् त्यतिखेरको भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, ताप्लेजुङजस्ता पूर्वी पहाडी जिल्लाहरू जो प्रत्यक्ष रूपले जोडिएका थिए धरानको बजार–तन्तुसँग । धरान ती जिल्लाहरूका नाका सहर । लिङ्क रुट । अथवा, नुन–बजार जे भने पनि हुने एउटा उदाउँदो सहर । यही ठाउँसँग जोडिएको थियो पूर्वी पहाडको आर्थिक धमनी ।

यहीँबाट विस्तार हुन्थ्यो पहाडका अन्य जम्मै सम्बन्धहरू । यो नै पहाडका लागि एक मात्र नुनको बन्दरगाह थियो । अर्थात् नुनको समुद्र । यस्तै नाकाका रूपमा थिए अलि पूर्वका त्यतिखेरका चाराली, धुलाबारी, मधुमल्ला अनि अलि पश्चिमका कटारी, बेल्टार र फत्तेपुरहरू । र सम्झिनोस्, त्यतिखेरको पैदल नुन–यात्रा । अथवा पहाडी गाउँघरबाट धरानसम्मको ढाकरको क्याराभान । जसका लागि म यहाँ सम्झिरहेछु उपर्युक्त गीतको सानो भ्रुण–कथा ।
०००
लगभग चार या पाँच दशकअगाडिको सुदूरकालखण्डको विचरणमा छु म यतिखेर । जतिखेर म भोजपुरको याकु भन्ने गाउँस्थित स्कुलमा कक्षा चार या पाँचौँको विद्यार्थी थिएँ । हाम्रा बाबा त्यतिखेर धरानका नव–रैथाने बासिन्दा हुनुहुन्थ्यो । साथमा कान्छी आमासहित । ठूलो दाजु पनि केही समय धरान कलेजकै विद्यार्थी । म हुर्किदै थिएँ गाउँमा एक्ली आमाको दुःखको बीच । स्कुल बर्खामासमा दुई महिना छुट्टी हुन्थ्यो । त्यो लामो छुट्टीमा प्रायः मैले धरान झर्नुपथ्र्याे, बाबा र दाजुलाई भेट्न । मेरो धरान यात्रामा प्रत्यक्ष जोडिएको हुन्थ्यो आमाको वर्षदिनभरिको एकाकी जीवनको सत्याग्रह । मेरो साथमा जहिले पनि हुनुपथ्र्यो दुईजना दिदीहरूमध्ये एकजना । र हामीलाई पुर्‍याउनुपथ्र्यो जहिले पनि माइला मामाले ।

मामा आफ्ना भान्जाभान्जीलाई धरान पुर्‍याउने जिम्मा आइपरेपछि ढाकर तयार पार्नुहुन्थ्यो । ढाकरमा चामल, गुन्द्रक, नुन तेल, पकाउने खाने भाँडाकुँडा, ओढ्ने ओछ्याउने र हाम्रा फेरफारे कपडा आदि कोचिन्थ्यो । हामी मामाले जताजता हेर, जताजता टेक भन्नुहुन्थ्यो त्यतैत्यतै टेकेर धरान पुग्थ्यौँ ।पहिलोचोटि धरान झर्दा बाटोमा मामाले भन्नुभएको थियो, ‘मोटरको टाउको अगाडि दुइटा ठुल्ठूलो आँखा हुन्छ त्यो देखेर नडराउनु है ।’ जिल्ला सदरमुकामतिर भर्खरभर्खर उदाउँदै गरेको बजारको प्रारम्भिक रूपरेखा पनि देख्न नपाएको फुच्चेलाई धरान सहरको काल्पनिकी र त्यो मोटरको आँखाको बयानले बिस्मित तुल्याएको थियो ।

घरबाट हिँडेपछि माथिल्लो बाटो लागे मार्ताङ फेदी, तल्लो बाटो लागे पहारपानी फेदीबाट मूलबाटो जोडिन्थ्यो, जसले सरासर हिँड्ने रित्तो मान्छेलाई दुई दिनमा धरान पु¥याउँथ्यो । त्यो फेदीदेखि चतरासम्मको मूलबाटोलाई एकवार वा अक्करको बाटो भनिन्थ्यो । एकवार यसर्थ कि नदीको जुन किनारामा बाटो बनेको थियो त्यही किनार भएर गन्तव्यसम्मै हिँड्नुपथ्र्याे । त्यसको अर्को विकल्प हुँदैनथ्यो ।

बीचबीचमा पुल पुलेसो र डुंगाको अभावले वारि–पारि गर्ने सुविधा शून्यप्रायः थियो । अक्करको अर्थचाहिँ कर नपर्ने एकदमै अफ्ठ्यारो बाटो हुन्थ्यो जो नदीको भिरमा खोपेर बनाइएको थियो । त्यहाँ दुईतर्फी भरिया भेट भए एकले रोकिएर अर्कोलाई बाटो दिनुपथ्र्याे । त्यस्तो बाटोबाट ज्यानलाई हत्केलामा राखेर नुनको ढाकरसँगै जिन्दगी खेप्थे भरियाहरू । कहिले एकअर्काको भारी जुधेर, कैले भिरमा ढाकर ठोक्किएर कैयौँ भरिया अरुणमा गीत बनेर हराएका थिए । कैयौँ सप्तकोसीमा कविता बनेर हेलिएका थिए ।

मूलबाटो भेटेपछि एक्कासि भेटिन्थे माइला मामाजस्तै ढाकर बोकेका लामतान लस्करहरू । समूह–समूह बनाएर कोही उँधो झरिरहेका, कोही उँभो उक्लिरहेका । पहाडबाट उँधो झर्नेहरूको ढाकर रित्तो र हलुंगो हुन्थ्यो, जसलाई पर्खिरहेको हुन्थ्यो यामानको भारीले धरानमा । उँभो उक्लिनेहरूको लश्कर भने गरुंगोे जहाजजस्तै बिस्तारै एक–एक पाइला गन्दै उक्लिरहेका हुन्थे, जसलाई पर्खिरहेको हुन्थ्यो कुनै अनाम गाउँको अनाम साहुले । उनीहरूको पिठ्युँमा ठडिएको हुन्थ्यो आफूभन्दा गरुंगो र अग्लो नुनको पहाड । निधारको नाम्लो, काँधको खकन, हातको सहारा या ढाकर टेकाउने तोक्मा अनि ढाकरकै एउटा सानो डोरीमा झुन्डिरहेको पसिना पुछ्ने मैलो रुमाल । यी सबैबाट उनीहरूले त्यतिखेर मात्र छुटकारा पाउँथे जतिखेर दुई दिनको बाटोलाई दसौँ दिन लगाएर कुनै साहुको घरको पिँढीमा भारी बिसाइन्थ्यो ।

सानो छँदा कुनै पाठमा पढेको थिएँ, ‘उँट मरुभूमिको जहाज हो ।’ पछि काठमाडाैं आएपछि देखेँ ठूलाठूला मालबाहक ट्रक र कन्टेनरहरू बाइरोडका जाहाज हुन् । अझपछि लाग्यो ती ढाक्रे भरियाहरू अक्करका जहाजहरू थिए, जसले ओसार्ने गर्थे नुन, तेल र लत्ताकपडाका भारी कार्गाेहरू । आ–आफ्नो झुन्डमा लस्करबद्ध भएर दुःखको उकालो काट्ने तिनीहरूले मानौँ सिकेका थिए कर्‍याङकुरुङबाट सामूहिक जीवन । एकतमास आ–आफ्नो तालमा बजिरहेको तोक्माको ट्वाक ट्वाक आवाज र त्योसँगै निस्किरहेको तिनीहरूको निश्वास मानौँ यो पृथ्वीको सबभन्दा पुरानो संगीत हो ।

उकालोको थाप्लोमा तोक्मामाथि ढाकर टेकाएर एकसाथ खुई मार्दै उभिरहेको लामो लस्कर देख्दा लाग्थ्यो तिनीहरू अर्कै महादेशबाट आएर बिसाइरहेका मालबाहक जहाज हुन्, जसले अदम्य दुःख काट्ने कला सिकाइरहेका छन् । र, लाग्थ्यो त्यो अक्कर तिनै जहाजहरूका लागि बनेको बाटो थियो, जसले तय गर्न सिकाइरहेछ जीवनको कष्टप्रद दूरी ।

तिनै भरियाहरूको लस्करसँगै कैले अगाडि कैले पछाडि हुँदै हामीस्लाई मामाले धरान पुर्‍याउनुहुन्थ्यो । सुनबालुवा नजिकको राईघाट डुंगाबाट तरेपछि बायाँतर्फको लामो एकवार सुरु हुन्थ्यो । बाटोमा जहाँ रात पथ्र्यो त्यहीँ उहाँ आगो फुक्नुहुन्थ्यो । अरुणको पानीमा खाना पकाउनुहुन्थ्यो र तन्नाको ओछ्यान लगाएर हामीलाई सुताउनु हुन्थ्यो । छेवैमा हुन्थे भरियाहरूको साना ठूला अनेक समूह जो गीत गाउँदै, ठट्टा गर्दै खाना पकाइरहेका हुन्थे । माछाजस्तै लस्करै सुतिरहेका हुन्थे । बाटोभरि आगो र धुवाँले कालो भइसकेका ढुंगाका चुलाहरू यत्रतत्र भेटिन्थे । भिर र भित्ता खोपेर ढाकर बिसाउनका लागि बनाइएका टेकौनीहरू जताततै हुन्थे । यो देखेर यस्तो लाग्थ्यो त्यो सम्पूर्ण बाटो तिनै भरियाहरूले रचेका वास्तुकलाहरू हुन् ।

यसरी ०२७/२८ सालतिर म पहिलोचोटि धरान पुगेको थिएँ । पहिलोचोटि चतरामा मामाले भन्नुभएको ठुल्ठूलो आँखा भएको मोटर देखेको थिएँ । र, त्यही मोटर चढेर पहिलोचोटि चतराबाट धरान हाँक्किएको थिएँ । धरान पुगेर चतरालाइनको सडकमा जब मैले पहिलोचोटि साइकल देखेँ, मलाई मोटरभन्दा पनि साइकलको चमत्कारले अचम्म पारेको थियो । मोटर त ठुल्ठूला चार पांग्राको सहाराले दौडिरहेको थियो । तर, साइकल नाङ्लोजस्तो दुइटा खिरिलो डोरीको सहाराले कसरी नलडी हिँडिरहेको थियो ? मलाई अनौठो लागेको थियो ।
००० 
यस्तै धरान झर्ने क्रममा मैले कुनै एक हिउँद अचानक त्यो अक्करमा बेग्लैखाले भरियाहरू देखेँ । उनीहरू अरूहरूजस्तै भारी बोकेर पहाड उक्लिरहेका थिएनन् । बरु साँगुरी भञ्ज्याङजस्तै चुली भारी बोकेर उँधो धरान झरिरहेका थिए । फेरि उनीहरूको भारी अरूको जस्तो नुनको भारी थिएन । उनीहरूले पहेँलै पाकेका सुन्तला बोकिरहेका थिए । उनीहरू हामीसँग सुनबालुवा गुठी खेतबाट जोडिएका थिए जो धनकुटा जिल्लाको पश्चिमी सिमानामा पथ्र्यो । ढाकरमा त्यस्तो चुली सुन्तला देखेर मैले मामालाई सोधेको थिएँ, ‘कहाँ लगेको यो सुन्तला ?’ मामाले भन्नुभएको थियो, ‘धरान लगेको बेच्नलाई । धनकुटा खोकु छिन्ताङको सुन्तला हो यो ।’

पछि धरानमा साँच्ची नै देशीलाइनभरि सुन्तला फिजाइरहेको देखेँ । सडकको वारपार पूरै त्यो सुन्तलाले पहेँलपुर भएको थियो । मैले आफूले आफैँलाई सोधेको सोधेँ, ‘कहाँ होला यतिका सुन्तला फल्ने त्यो खोकु छिन्ताङ भन्ने गाउँ ?’ ४२/४३ सालतिर मैले केही समयका लागि काठमाडौं छाडेँ, जहाँ म ०३४ सालमा गाउँबाट आएदेखि निरन्तर बसिरहेको थिएँ । एक विदेशी आइएनजिओमा काम गर्ने सिलसिलामा संयोगले म धनकुटा पुगेँ । धनकुटा बजार पुगेपछि त्यहाँबाट पैदल हिँड्दा लगभग ३/४ घन्टाको दूरीमा रहेको खोकु छिन्ताङ गाउँ नजाने कुरै भएन ।

बजारबाट पश्चिमी मोहोडा पारेर फैलिएको त्यो गाउँमा जब म पुगेँ र जब त्यहाँको सुन्तलाबारीहरू देखेँ, मैले एक्कासि डेढ दशकअगाडिको त्यही पुरानो कुरा सम्झिएँ । त्यही अरुणको गडतिर, त्यही सुन्तला भारी, भारी बोकेका लस्करै भरियाहरू, धरान बजारको देशीलाइन र पहेँलै फिँजाएर राखिएका सुन्तलाहरू ।लगभग तीन वर्षजति बसेर म पुनः धनकुटाबाट काठमाडौं फर्किएँ । त्यहाँबाट फर्किएको लगभग एक दशकपछि र अक्करमा ती भरियाहरूलाई छाडेको लगभग तीन दशकपछि मैले त्यो गीत लेखेँ,

धरान झर्छाैं धनकुटा भाकेर
बल्छी दाउमा सुन्तला राखेर
दौरा भन्छौ टाल्दिनँ अर्को छ
छानो टाल्ने सपनै चर्को छ
खै त बुटजुत्ता
कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा ?

आज लगभग पाँच दशक बितिसकेको छ मैले ती भरियाहरूलाई त्यो अक्करमा भेटेको । यसबीचमा समय यति रफ्तारले दौडिरहेछ कि सब थोक एकाएक बदलिरहेको छ । मलाई थाहा छ अरुणको त्यो अक्कर अझै पनि त्यहीँ छ, तर अब त्यहाँ मेरा गीतका भरियाहरू छैनन् । भरियाहरू हिँड्ने बाटो बदलिएको छ । खोकुछिन्ताङमा उसैगरी सुन्तला फलिरहेको छ । बजारमा सुन्तला पुगिरहेकै छ । तर, पुग्ने बाटो बदलिएको छ । अरुणको गढतिरै गढतिर भरियाको ढाडमा हिँड्ने सुनजस्तो सुन्तला अब हिले बजारको डाँडैडाँडा ट्याक्टरमा हिँड्छ । पहिले भरियाहरू नुन भेट्न धाउँथे । अहिले नुन आफैँ भरियाकहाँ धाउँछ । बजारले यसरी मान्छेलाई आफैँ भेट्न थालेपछि भरियाहरूको भारी घट्ने नै भए । भरियाहरू हराउने नै भए । 

झन्डै चालीस वर्षपछाडि, ७० को चुनावताका त्यो बाटो हिँड्दा अवगत भयो, एकवारको किनारमा अवस्थित ती बराहक्षेत्र, त्रिवेणी र सिम्लेपुलहरू अब उस्तै छैनन् । भरियाहरूको पुराना झुन्ड पनि कतै भेटिँदैनन् । भरियाहरूले गनीगनी पाइताला चाल्ने अक्करमा विकास र प्रविधि दौडिरहेको छ । त्यहाँ मात्र होइन, हरेक गाउँको छातीमा यतिखेर डोजर चढिरहेको छ । गाउँ, पाखा भित्ताको अनुहार भालुले कोपरेको मान्छेको अनुहारजस्तो भएको छ । डोजरको पहियाँमुनि विकास मात्र देखिने, तर विनाश नदेखिने कालो चस्मा बजारभरि छ्यापछ्याप्ती बिक्री भइरहेछ ।

भारी घट्नुहुँदैन भन्ने होइन, घट्नुपर्छ । भारी हट्नु पनि पर्छ । भरियाहरूको जीवन बदलिनुपर्छ । तर, के विकास र प्रविधिको अराजक डोजरले तिनीहरूको भारी घटाएको छ ? सम्भवत भारीको रूप मात्रै बदलिएको छ । भारी ज्युँका त्युँ छ । मात्र आँखाबाट भरियाहरू हराएका छन् । त्यो लम्बेतान अक्करबाट तिनीहरूको पाइताला हराएको छ ।

विकासे अवधारणा र बजारतन्त्रको भूतले धेरै कुरा मेट्ने नाममा धेरै ज्युँदा कुराहरू पनि मेटेको छ । भारी मेट्ने नाममा त्यहाँबाट भरियाहरूको गीत पनि मेटेको छ । उनीहरूको सामूहिकता, उनीहरूको कथा एकसाथ मेटेको छ । तोक्माको आदिम संगीत अब त्यहाँ कहिल्यै सुनिने छैन । बाटैभरि असरल्ल त्यो वास्तुकला अब फेरि देखिने छैन । अरुणको तीरमा जीवन–तत्वको तार टुटेको छ । अक्करको भिरमा मान्छेको स्पर्श सदाको लागि मेटिएको छ । यस्तो वेला अब फेरि कसले लेख्ला भरियाहरूको गीत ? जहाँ अब कहिल्यै भरियाहरू देखिने छैनन् । म आफैँले पनि अब कहिले लेखुँला त्यस्तो गीत ? जो लेखेको थिएँ लगभग अढाई दशकअगाडि यसरी :

रहर बोकी कहरको खकनमा
घर बोक्छौ कि मन बोक्छौ ढाकरमा
घरको दुःख घरैमा तीन तला
कैले होला सुनको भाउ सुन्तला
खै त बुटजुत्ता
कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा ।।