
समाजमा प्रायः रक्त–सम्बन्ध र वैवाहिक सम्बन्धको आधारमा नातागोताको निर्माण हुने गर्छ । यी दुईबाहेक अन्य तरिकाले पनि नातागोता र साइना–सम्बन्धहरू स्थापित गर्ने प्रचलन नेपाल र अन्य ठाउँमा छ । मित यस्तै प्रकारको साइनो गाँस्ने प्रचलन हो । आफ्नो वंश र गोत्रभन्दा बाहिर, एउटै उमेर समूहमा, महिला–महिलाबीच, पुरुष–पुरुषबीच दुई व्यक्ति औपचारिक विधि अनुष्ठान गरेर मित–मितिनी लगाउने गरिन्छ ।
दुईजना मित–मितिनी भएपछि एक–अर्काको परिवारको सदस्य पनि स्वतः नातामा गाँसिन्छन् । आफ्नो मित–मितिनीको परिवारका सदस्यलाई पनि आफ्नै आमा, बा, दिदीबहिनी, दाजुभाइ मानेर व्यवहार गर्नुपर्ने हुन्छ । यसरी पहिले नाता नभएको परिवारसँग मित परम्परामार्फत एउटै पारिवारको नाता साइनो स्थापित हुन्छ । तर, यो मित साइनोलाई जीवन्त र अर्थपूर्ण राख्न यसको मर्म र यसले अपेक्षा गरेअनुरूपको व्यवहार हुनुपर्छ । जस्तै– एकअर्कामा सम्मान गर्ने, उपहार–कोसेली आदानप्रदान गर्ने, एक–अर्काको दुःखसुखमा सहभागी हुने, नाम काडेर नबोलाउने इत्यादि दुवै पक्षबाट पालना गरिनुपर्ने हुन्छ । त्यसैले मितेरी साइनो दुई व्यक्तिले मित्रता गाँस्नेसँग मात्रै सीमित छैन । यो विशेष प्रकारको सम्बन्ध हो ।
मितेरी साइनो निश्चित नैतिकता, मूल्य–मान्यता, जिम्मेवारी, प्रतिबद्धता, पारस्परिकतासँग जोडिएको हुन्छ । त्यसैले भनिन्छ, ‘मित लगाउन सजिलो, रीत पु¥याउन गाह्रो,’ ‘भाइको चार नाता मितको सात नाता’, ‘दाजुभाइ छुट्टी जान्छ, मित नाता पुस्तौँसम्म छुट्टिँदैन,’ ‘सुखमा दिदीबहिनी सम्झनु, दुःखमा मित सम्झनु ।’ यस्ता थुप्रै भनाइ अहिले पनि बैतडी, डोटी र डडेल्धुरातिर सुन्न सकिने त्रिविका मानवशास्त्रीद्वय सुरेश ढकाल र नवीन रावलले सन् २०१७ मा सन्दूरपश्चिम क्षेत्रको मितेरी सम्बन्धबारे गरिएको अनुसन्धानमा उल्लेख छ । अध्ययनले जातीय छुवाछुतमा कट्टर मानिने यी भेगका ग्रामीण क्षेत्रमा कसरी दलित र उच्च जात भनिएको जातिबीचमा मित साइनोले अझै निरन्तरता पाइरहेको छ भन्ने देखाएको छ । जीविकोपार्जन, सामाजिक परिवेश, धार्मिकता, जातीय समाजमा हुने सामाजिक सम्बन्धहरूकोे अर्थ राजनीतिसँग मितेरी परम्परा गाँसिएको हुन्छ भन्ने विश्लेषण मानवशास्त्रीद्वयले गरेका छन् ।
नेपाली समाज र मित प्रथा
जातीय र सांस्कृतिक बहुलता भएको नेपाली समाज र विभिन्न समुदायबीच सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक आवश्यकताका कारण मितेरी प्रथाले व्यापकता पाएको हुनुपर्छ । आमरूपमा परम्परागत विवाह एउटै समुदायभित्र (फरक गोत्र र वंशभित्र) नै गर्ने चलन थियो । जुन अझै कामय छ । यसले नातागोताको परिधि धेरै समुदायमा फैलिएको थिएन ।
जात व्यवस्थाले सिंगो नेपाली समाजलाई प्रभावित बनाएको छ । जातजातिलाई ठूलो र सानो, शुद्ध र अशुद्ध समूहहरूमा विभाजन गरियो । अन्तर्जातीय विवाह र जातजातिबीचको सहभोजजस्ता आधारभूत सामाजिक अन्तरक्रियालाई दण्डनीय बनाइयो । शासकहरू जातीय व्यवस्थामार्फत नेपाली समाजलाई बन्द समाजकै रूपमा राखेर राज गर्न चाहन्थे । यस्तो परिवेशमा मितेरी साइनो सकारात्मक सामाजिक एकाइको रूपमा विकास भयो ।
नेपालमा केही समयअघिसम्म यातायात, सञ्चार र बजार सुविधा सबैतिर थिएन । परम्परागत उत्पादन प्रणाली थियो । निर्वाहमुखी घरेलु अर्थ प्रणाली थियो । भौगोलिक कठिनाइका कारण एक ठाउँदेखि अर्को ठाउँ पैदलै यात्रा गर्नुपथ्र्यो । यस्ता व्यावहारिक समस्यासँग जुध्न पनि मितेरी सम्बन्ध सहयोगी बने । मानिसहरूको बसाइँसराइ बढ्यो, एक ठाउँबाट अर्को ठाउँसम्म यात्रा गर्न थाले ।
फरक ठाउँमा फरक जाति र समुदायसँग घुलमिल हुन मित साइनो उपयोगी बन्यो । सामाजिक अन्तर्घुलन, सुरक्षा र सहजताका लागि पनि मित लगाउने चलन बढ्यो । यसरी हेर्दा मितेरी साइनोसँग बसाइँसराइको पनि सम्बन्ध देखिन्छ ।हरेक वर्षको जाडो याममा ताप्लेजुङदेखि जडीबुटी र अन्य हिमाली उत्पादन बोकेर बेच्दै झापासम्म झर्ने शेर्पा महिलाहरूले ठाउँ–ठाउँमा मित लगाउँथे । जसले गर्दा उनीहरूलाई बाटोमा वास बस्न केही हदसम्म सजिलो हुन्थ्यो । गाउँको प्रभुत्वशाली परिवारमा मित साइनो भएपछि ‘हामी फलानाको मितछोरी वा मितिनी’ भनेपछि हिमालबाट झरेका महिलाहरूलाई गाउँघरमा जिस्काउन कम हुन्थ्यो ।
त्यस्तो वेला मितेरी साइनो असुरक्षाबाट बच्ने महत्वपूर्ण सामाजिक पुँजी पनि बन्यो । मितेरी साइनोसँग अन्तर्निहित भएको मोरल इकोनोमी (नीतिपरायण अर्थशास्त्र), धार्मिकता, कुटुम्बता र पारस्परिकता, जातीय र वर्गीय घेराबन्दीभित्र पनि नातागोता बनाउने सक्ने क्षमता भएका कारण नै मित प्रथाले व्यापकता पाएको हुनुपर्छ । अर्कोतिर यसको व्यापकताका लागि मितेरी सम्बन्धसँग गाँसिएको अर्थ राजनीति पनि उत्तिकै महत्वपूर्ण रह्यो ।
मितेरी साइनोले केही हदसम्म जातीय र वर्गीय तहगत संरचनाभित्र पनि हार्दिकता, पारस्परिकता र सम्मानका साथ बाँच्न सिकाएको थियो । अन्तरजातीय सामाजिक सम्बन्धलाई पर्वद्धन गरेको थियो । व्यक्ति र परिवारको सामाजिक पुँजीको रूपमा मितेरी सम्बन्धले आर्थिक र समस्याका वेला मितबाट सहयोग पाइने, मितेरी सम्बन्धमार्फत राजनीतिक र आर्थिक श्रोतमाथि पहुँच बढाउन, श्रोतमाथिको हैकम कायम गर्न पनि सजिलो बनाउँथ्यो । यस्तो फाइदा देखेर राजा महाराजाले समेत मित लगाउँथे । जस्तै– पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तारका क्रममा मितेरी साइनोलाई कूटनीतिक हतियारको रूपमा प्रयोग गरेका थिए ।मित प्रथाले केही हदसम्म जातीय र वर्गीय ठाडो तहगत संरचनाभित्र पनि हार्दिकता, पारस्परिकता र सम्मानमा आधारित भएर अन्तर्जातीय सामाजिक सम्बन्धलाई पर्वद्धन गर्न सकेको थियो ।
हैकम बढाउन मित
विगत एक दशकदेखि झापा र मोरङमा बसोवास गर्ने धिमाल आदिवासीको अध्ययन गरिरहेको छु । वेला–वेलामा धिमालहरूका मितेरी साइनोसम्बन्धी अनुभव सुन्ने मौका पनि पाएको छु । २००७ सालभन्दा अघि तराईको धेरै क्षेत्र जंगल नै थियो । औलोको बिगबिगीले गर्दा पहाडे मूलका मानिस मधेसमा झर्न डराउँथे । सकेसम्म मधेसमा जाडो याममा मात्रै आवतजावत गर्थे । तैपनि पहाडका मानिस विभिन्न सिलसिलामा तराई जानुपथ्र्याे । त्यसवेला पहाडका लिम्बू सुब्बाहरूले धिमाल, माझी मुखियासँग मित लगाउँथे । त्यसपछि त्यही धिमाल मितसँगै भारतको नाकाहरूमा किनमेल गर्न पुग्थे । धिमाल क्षेत्रमा आउँदा उनीहरूलाई वास र सुरक्षा सुनिश्चित हुन्थ्यो । यति मात्र होइन, धिमाल गाउँबाट राजवंशीको गाउँमा जान लिम्बूहरूले सुरक्षा गार्डसमेत पाउँथे । सामान बोकेर मान्छेहरू पठाइदिन्थे ।
जब तराईमा औलो उन्मूलन भयो, त्यसपछि जंगल फाँडेर बसाइ र खेती गर्न पहाडबाट मानिस धमाधम झर्न थाले । योसँगै धिमाल र पहाडेबीच मित लगाउने चलन ह्वात्तै बढ्यो । तर, सबै मितेरी साइनो समानता र सद्भावपूर्ण हुन्छ भन्ने छैन । केही पहाडे मितले मित लगाएर नै धिमालहरूको जमिन हडपे । जुन मितले जमिन लिए, धिमालहरू पछि त्यही मितको घरमा हली बस्नेसम्म भए । यो पक्षलाई मित साइनोको दुरुपयोग मान्न सकिन्छ । स्रोत र शक्तिमा पहुँच हुने मितले राजनीतिक, सामाजिक र आर्थिक स्वार्थका लागि पनि मित साइनोको भरपूर प्रयोग गरे । कतिपयले हैकमलाई कायम राख्न मित लगाए । कतिपयले आफ्नो राजनीतिक साँठगाँठलाई बलियो बनाउन मित लगाए ।
०००
हिजो मितेरी सम्बन्ध बहुआयामिक थियो । यसको व्यापकता थियो । तर, पछिल्लो समय यसको उपयोगिता घट्दै गएको छ । मानवशास्त्री ढकाल र रावलको अध्ययनले सेतीनदी बेसिनको ग्रामीण क्षेत्रमा मितेरी सम्बन्धको महत्व कम हुँदै गएको देखाएको छ । महत्व कम हुनुको कारण जीविकोपार्जनमा आएको परिवर्तन, आन्तरिक र बाह्य बसाइँसराइ (कामका लागि) र राजनीतिक परिवर्तन हो । यद्यपि मित साइनोको जुन मर्म र अर्थ छ, त्यो अझै पनि सान्दर्भिक छ ।
मितेरी साइनाले केही हदसम्म जातीय र वर्गीय तहगत संरचनाभित्र पनि हार्दिकता, पारस्परिकता र सम्मानका साथ बाँच्न सिकाएको थियो । अन्तर्जातीय सामाजिक सम्बन्धलाई पर्वद्धन गरेको थियो । मितेरी साइनो समावेशी लोकतन्त्रको मर्मसँग नजिक थियो । यही कारण मितेरी प्रथा सबैतिर प्रचलनमा आएको थियो । अहिले हामी सामाजिक सञ्जालको युगमा प्रवेश गरिसकेका छौँ । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा सजिलै मित्रहरू बनाउन सक्छौँ । तर, के मितेरी साइनोले जस्तै सामाजिक सञ्जालको मित्रताले पनि जिम्मेवारी र पारस्परिकतालाई बढाउला ?
(मानवशास्त्री राईसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित)