• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिलशा राजभण्डारी
२०७६ माघ १८ शनिबार ०९:०१:००
सम्झना

डम्बरकुमारी सल

पहिरन

२०७६ माघ १८ शनिबार ०९:०१:००
शिलशा राजभण्डारी

मान्छेको पहिलो पहिचान पहिरन हो । समुदाय, भूगोल र लिंगअनुसार पहिरनमा विविधता र विशिष्टता हुन्छ । जाति र समुदायअनुसार पहिरनका स्वरूप छन् । आजभन्दा करिब एक सय ३० वर्षअगाडिको मेरी जिजुआमाको तस्बिरमा सल ओढेको देखिन्छ । जसलाई आज हामी ‘खास्टो’ भन्छौँ । अचेल यो खास्टो नेवारी समुदायका महिलाले मृत्यु संस्कारमा प्रयोग गर्छन् । 

यसको नाम मेरी हजुरआमाको समयसम्म ‘डम्बरकुमारी सल’ थियो । मेरी आमाको समयसम्म आइपुग्दा यो सल प्रचलनबाट हराउन थाल्यो । मेरो समयसम्म पुग्दा यो सल लगभग हराइसक्यो । नेवारी समुदायका केही विशेष पर्वबाहेक अन्यत्र यसको प्रयोग हुँदैन । जंगबहादुर राणाकी छोरी डम्बरकुमारीले बनारसबाट ढाकाको सल नेपाल भिœयाएसँगै त्यसको मास प्रोडक्सन सुरु भयो । ‘डम्बरकुमारी सल’ त्यतिखेरको चल्तीको फेसन थियो । हजुरआमा भन्ने गर्नुहुन्थ्यो, ‘त्यतिखेरको डम्बरकुमारी अहिलेको जस्तो पातलो सेतो कपडाले छोपेको हुँदैनथ्यो ।’

ढाकाले मात्रै काठमाडौंको चिसो नधानेपछि त्यसमा पारदर्शी पातलो खोल हालियो । बनारसमा एकसरो हुने डम्बरकुमारीमा नेपाल पुगेपछि पातलो खोल थपियो । त्यसो गर्दा न्यानो र बुट्टा पनि देखिने भयो । पहिल्यैदेखि कपडा उत्पादक रञ्जितकारहरूले डम्बरकुमारी सल उत्पादन सुरु गरे । सन् २०१७ मा मैले परिवर्तित पहिरनमाथि चित्रकला बनाउने सोच बनाएँ । अचम्म, काठमाडौंमा खास्टो बनाउने मान्छे भेटिएनन् । मेरी हजुरआमाको पालासम्म नेपालमै उत्पादन हुने खास्टो अहिले उत्पादन हुन छाडिसक्यो । खास्टोको काम गर्ने मान्छे छैनन् सहरमा । बजारमा भेटिएका खास्टो नेपालमा बनेका होइनन् । किनभने त्यसमा हाम्रो ज्ञान र सीप प्रयोग भएको छैन । 

एक दिन मैले आफूले लगाउने लुगाका ट्याग हेरेँ । ‘मेड इन नेपाल’ लेखिएको एउटै लुगा थिएन । सबै अन्य देशमा बनेका लुगा थिए । राणाकालसम्म ऊन, कपास निर्यात गर्ने, आफैँ आफ्नो पहिरन उत्पादन गर्ने देश केही वर्षभित्रै कपडा आयात गर्नुपर्ने अवस्थामा पुग्यो ।  १९५० मा नेपाल र भारतबीच भएको व्यापार तथा वाणिज्य सन्धिमा नेपाललाई आर्थिक रूपमा भारतसँग निर्भर हुने प्रावधान राखियो । यो प्रावधानले नेपाली कपडा उद्योग मात्र होइन, अर्थतन्त्रका अन्य आयामलाई पनि परनिर्भर बनायो । आजभोलि विदेशबाट लुगा मात्र आयात हुँदैनन्, बाहिरबाट कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन गरिएका लुगामा पनि विदेशी कम्पनीको ट्याग राख्ने चलन छ । बजारमा अन्तर्राष्ट्रिय कपडा कम्पनीका ट्याग बिक्री गर्ने पसल पनि छन् ।

नेपाली समाजको पहिरनमा परिवर्तन आएको धेरै समय भएको छैन । हजुरआमाको समयसम्म पहिरनमा धेरै परिवर्तन भएको छैन । तर, आमाको समयसम्म पुग्दा भने पहिरनमा परिवर्तन देखिएको छ । आमाको समयसम्म पुग्दा डम्बरकुमारी सललाई भारतबाट आयातीत सिल्क, पोलिस्टर र नाइलनले विस्थापित गर्न सुरु गरेको छ ।

नाइलन र पोलिस्टरको कपडामा धेरै बुट्टा हुन्थे । रंगीचंगी हुन्थे । टेलिभिजन भित्रिएपछि बलिउडको प्रभाव भित्रियो । विश्वयुद्धमा गएका लाहुरेले पनि नेपाली पहिरन परिवर्तनमा भूमिका खेले । यी घटनाक्रमले पहिरनमा परिवर्तनको संकेत दिएका थिए । तर, मौलिक वा समुदायविशेषको पहिरनलाई पूर्ण विस्थापित भने गरिसकेका थिएनन् । जातिविशेषका पहिरनलाई राष्ट्रको अवधारणामा नराख्ने काम पञ्चायतमा सुरु भयो ।

महेन्द्रको एक भाषा, एक भेष नीतिले जातिविशेषको पहिरन मास्ने, दस्ताबेजबाट हटाउने प्रयास गर्‍यो । कहिल्यै ढाका टोपी नलगाउने थारूले नागरिकता बनाउँदा ढाका टोपी लगाउनुपर्ने भयो । दौरासुरुवाल नलगाउने हिमालका बासिन्दाले पनि सरकारी अभ्यासमा दौरासुरुवाल लगाउनुपर्ने भयो । महेन्द्रको अभ्यासले पहिरनको नयाँ पहिचान र अभ्यास सुरु गर्‍यो ।

पञ्चायतको राष्ट्रवादसँगै ग्लोबलाइजेसन र औद्योगिकीकरणले पनि पहिरनमा प्रभाव पार्‍यो । २०औँ शताब्दीको उत्तरार्धमा कपडा उत्पादन र निर्यातमा संसारभर परिवर्तन भयो । सस्तो श्रम र कच्चा पदार्थ खोज्दै २०औँ शताब्दीतिर युरोप, अमेरिकाबाट कपडा उद्योग एसियातिर सर्न थाले । ठूलो मात्रामा एसियामा कपडा उत्पादन हुन थालेपछि जाति र समुदायविशेषका पहिरन ओझेलमा पर्न थाले ।

नेपालमा मेसिनको प्रयोग नगरीकनै कपडा उत्पादन हुन्थ्यो । मानवश्रम मात्र प्रयोग गरेर आफू र आफ्नो समुदायका लागि पुग्दो कपडा उत्पादन गरिन्थ्यो । तर, एसियामा विस्तार भएका उद्योगले मास प्रोडक्सन गर्न थाले । हाते सीपलाई मेसिनले विस्थापित गर्‍यो । मास प्रोडक्ट्सले लुगाको मूल्य पनि सस्तो बनायो । टेलिभिजन, फिल्मजस्ता मिडियाले उपभोक्ता निर्माण गरे । पहिरनमा ब्रान्ड रोज्नुपर्छ भन्दै मनोवैज्ञानिक दबाब दिन थाले ।

उद्योगधन्दा आवश्यकता पूर्तिको माध्यम मात्र रहेन । नाफा आर्जनको माध्यम बन्यो । नाफाखोर उद्योगले बजार बनायो, कब्जा पनि गर्‍यो । हाम्रो जस्तो अस्थिर राजनीतिक व्यवस्थाको फाइदा उठाउँदै औद्योगिक युगले हामीलाई उत्पादनभन्दा उपभोगतर्फ केन्द्रित गरायो । उपभोगमा केन्द्रित भएसँगै हाम्रा पहिरन विस्थापित भए ।

बहुराष्ट्रिय कम्पनीमा जागिर गर्नुपर्ने भयो । कर्पोरेट संस्कारमा फिट हुनुपर्ने भयो । बहुराष्ट्रिय र कर्पोरेट संस्थानमा उनीहरूले तोकेको पहिरन लगाउनुपर्ने भयो । यस्तो अभ्यासले हामीलाई हाम्रो मौलिक पहिरनको विषयमा सोच्ने मौकै दिएन । आफैँले पहिरन उत्पादन गर्ने समयमा समाज आर्थिक रूपमा आत्मनिर्भर थियो । सामाजिक अर्थतन्त्रको आफ्नै चक्र थियो । तर, औद्योगीकरणले यो हरायो ।

समाजले स्वतस्फूर्त निर्माण गरेको इकोसिस्टम नै सकियो । सीप हरायो । व्यक्ति र समाज परनिर्भर बने ।  पहाडी क्षेत्रमा सिस्नोको लोक्ताबाट लुगा बनाउने चलन थियो । यस्ता काम सामुदायिक अभ्यासबाट हुन्थे । यसले  सामाजिक वातावरणलाई सौहार्द बनाउँथ्यो । सीप हस्तान्तरण हुन्थ्यो । सामुदायिक र साझा भावनाको पनि विकास हुन्थ्यो । तर, बजारले मान्छेलाई व्यक्तिकेन्द्रित बनायो । रोजगारका लागि अर्को ठाउँ जानुपर्ने बाध्यता सिर्जना गर्‍यो । यसले मान्छेलाई सामूहिकताबाट एकलतातर्फ उन्मुख बनायो । सीप हरायो । मौलिक ज्ञान हरायो ।  युवाले सिक्न र अग्रजले सिप सिकाउन आवश्यक ठानेनन् ।

मौलिक सीप र ज्ञानको प्रयोगबाट लुगा उत्पादन गर्न समय धेरै लाग्ने भयो । लगानी बढी र उत्पादन थोरै हुने भयो । बजारमा चाहेको समयमा चाहेको लुगा किन्न पाइने भयो । समग्र व्यवस्था परिवर्तन हुँदा हाम्रा सीप र ज्ञान त्यहीअनुसार परिवर्तन गर्न सकिएन । सजिलो बाटो उद्योगको भर पर्‍यौँ । मौलिक ज्ञान र सीपसँगको हाम्रो सम्बन्धविच्छेद भएकै कारण, दैनिक जीवनमा प्रयोग हुने पहिरन आज सांस्कृतिक पहिरन बन्न पुगेको छ ।

सांस्कृतिक उपनिवेशले हामीलाई आफ्नै संस्कृति र पहिरनलाई हेयका दृष्टिले हेर्न सिकायो । हाम्रा मौलिक पहिरनको आफ्नै शिल्प छ । तिनमा प्रयोग हुने बुट्टा, बनोटको अर्थ छ । त्यो छोडेर हामी तथाकथित ब्रान्डको गोलचक्करमा फस्यौँ । थारू जातिले लगाउने पहिरनका रंगले थारूको जातितर्फ संकेत गर्छन् । राईले लगाउने घलेकका धर्साले उनीहरूको जाति छुट्याइन्छ । धर्साका आधारमा उनीहरूको पुर्खा छुट्याइन्छ । मौलिक पहिरनको सामाजिक पहिचान थियो । 

जातिविशेषका पहिरनलाई राष्ट्रको अवधारणामा नराख्ने काम पञ्चायतमा सुरु भयो । महेन्द्रको एक भाषा, एक भेष नीतिले जातिविशेषको पहिरन मास्ने, दस्ताबेजबाट हटाउने प्रयास गर्‍यो । 

पछिल्लो समय संघीयताको अभ्यासका क्रममा विभिन्न जातिले पहिचान खोज्न थाले । उनीहरूले पहिचानको पहिलो आधार पहिरनलाई बनाए । ०६२/०६३ को आन्दोलनसम्म पुग्दा हाम्रा मौलिक पहिरन पनि विदेशमा उत्पादन हुन थालिसकेका थिए । पहिचानको आन्दोलनपछि त यो क्रम झन् तीव्र भएको छ ।

आफ्नै पहिरन र पहिचान हामीले विदेशबाट किन्नुपर्ने भयो । जसका कारण हाम्रो मौलिक पहिरनलाई ‘ए यो त टुँडिखेलमा नाच्दा लगाउने लुगा हो’ भन्नुपर्‍यो । आयातीत पहिरनसँग हाम्रो कुनै साइनो छैन । यिनीसँग हाम्रो कुनै ज्ञान, सीप जोडिएको छैन । हाम्रो सामाजिक र स्थानीय अर्थव्यवस्थाको कुनै सम्बन्ध छैन । त्यसमा प्रयोग भएका बुट्टा, रंगले हाम्रो सांस्कृतिक पहिचान बोक्दैनन् । 

मौलिक पहिरन मौलिक तरिकाले उत्पादन गर्न कठिन छ । नाफाखोर समयमा लगानी किन गर्ने ? कति नाफा हुन्छ ? कति छिटो तयार हुन्छ ? बजारमा प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन जस्ता प्रश्नको चित्तबुझ्दो जवाफ पाएपछि मात्रै मान्छे लगानी गर्छन् । घरबुना घलेक किन्न पाँच हजार रुपैयाँजति पर्छ । तर, बाहिरबाट तयार भएर आएको त्यही घलेक ५ सय रुपैयाँमा पाइन्छ । वर्षमा एकपटक ल्होसारमा लगाउने त्यो पहिरनमा मान्छेले किन ५ हजार खर्च गर्ने ? आजको समयमा मौलिक पहिरनको सान्दर्भिकता टुँडिखेलमा नाच्दा मात्रै हुने भयो । ७० वर्ष अगाडि मान्छेसँग पहिरनको विकल्प थिएन । आज विकल्प छन् ।

हाम्रो जीवनशैली पनि परिवर्तन भएको छ । त्यसले हाम्रो पहिरनको आवश्यकता फेर्‍यो । झोलाको काम गथ्र्यो घलेकले । आजभोलि हामीले बोकी हिँड्ने मोबाइल, ल्यापटप, किताब, कापी घलेकमा बोक्न कति सहज होला ? खास्टो वा सल ओढेर भिडभाडमा हिँड्न कति सहज होला ? समयक्रमअनुसार जीवनशैली, पहिरन परिवर्तन हुन्छन् । तर, ती परिवर्तित पहिरनसँग पहिरन लगाउनेको साइनो छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । पहिरन तयार गर्ने हाम्रा अग्रज पुस्ताको सीप र ज्ञानलाई आजको समयअनुसार परिवर्तित गरेर हामीले आफ्नै पहिरन तयार गर्न किन सकेनौँ ? प्राकृतिक रूपमै अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण हुनुपर्ने ज्ञान र सीप किन हस्तान्तरण भएन ? राज्यले आफ्नो मौलिक सीप र ज्ञान जोगाउन त्यसलाई समयानुकूल परिवर्तन गर्न के कति योगदान गर्‍यो त ?