• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
महेश पौड्याल
२०७६ माघ १८ शनिबार ०९:४५:००
सम्झना

त्रिवि : छुट्दै गएको एक वसन्त

ज्ञानशाला

२०७६ माघ १८ शनिबार ०९:४५:००
महेश पौड्याल

त्रिभुवन विश्वविद्यालयको घडी–भवनको ठीक अगाडि लक्ष्मीप्रसाद देवकोटाको एउटा सालिक छ । सालिक अलि खुइलिएको छ । धेरै वर्ष भएको हुनुपर्छ, त्यसले कुनै संरक्षकको स्पर्श नपाएको । सालिकको अगाडि ऋतुसँगै फेरिएर आउने दुई खाले रङहरूको विस्तार छ । बर्खामा हरियाली– भुइँभरि मान्छे नै छोप्ने गरी हुर्कने घाँसको र हिउँदमा मानव कंकालजस्तै उभिएका नांगा केही रूखहरूको । यो घाँस– जसमा फूल लाग्दैन । यी रूख– जसमा फल लाग्दैन । र सालिक– त्यो ठाउँ, जहाँ फोटो खिचाउन सदैव कोही न कोही देखा पर्छ । खिचिएका तस्बिरहरूमा पूरा सालिक पनि आउँदो हो । तर त्यसका आँखा आउँछन् आउँदैनन्– सायद कसैले ख्याल गर्दैन । 

सायद आउँदैन । सालिककै सही– ती आँखामा कुनै वेला थुप्रै–थुप्रै सपना थिए । देवकोटा र सपना ! हो, यो पर्याय नै हो । १०१६ सालमा स्याल कराउने कीर्तिपुरको त्यस नीरव जङ्गलमा ज्ञानको बाली फस्टाउन सक्छ भनेर सपना देख्ने आँखा ! देश हाँक्ने नेतृत्वको प्रशिक्षण–शिविर हुन सक्छ भनेर कल्पने आँखा ! अक्षर र कलाका मालीहरू हुर्काउने सपना बोकेका चिन्तनशील आँखा ! विज्ञान र प्रविधिका आँकुरा उमार्न खोज्ने उत्साही आँखा ! जरुर साथी म पागल । 

त्यी आँखाले इतिहास नदेखेको त कहाँ हो र ? देशको उच्चतम ओहदामा पुगेका अधिकांशले आज पनि भन्छन्, ‘म त्रिभुवन विश्वविद्यालयको उपज हुँ’ र गौरवले छाती उँचो गर्छन् । विमान चढेर देशको वसन्त पारि कतै अज्ञात क्षितिजतिर हुरुरु उड्ने समय नआउँदै सबैको रहर हुन्थ्यो त्रिभुवन विश्वविद्यालय । सबैको सपना हुन्थ्यो । र त्यहीँ हुर्किएका सपनाले यो देश हाँकेको सत्य हो । यसको ज्ञानतन्त्रलाई माझेको सत्य हो । यसको प्राणवायु बचाएको सत्य हो । यसमा पहिलो, दोस्रो वा तेस्रो पुस्ताका योद्धालाई दीक्षित गरेर निकाल्ने गुरुहरू देशमै ऋषितुल्य ठहरिए । अचेल ? देवकोटाको सालिकमा टाँसिएका प्राणहीन आँखालाई थाहा छ । 

नाटककार अशेष मल्ल त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा पुग्दा सधैँ भावुक हुने गरेको मैले देखेको छु । यो विश्वविद्यालयले लोकप्रियताका अभेद्य क्षितिज छुँदा सायद उनी विद्यार्थी थिए यहाँ । भन्छन्, ‘यहाँको प्रेक्षालयमा हामी नाटक गथ्र्यौं । खचाखच भरिएको हुन्थ्यो हल । कविता पनि सुनाउँथ्याैँ । हरिभक्त कटुवाल आएर कविता सुनाउन थालेपछि अरू कसैको केही चल्दैनथ्यो । हेर्दा के कविता भन्ला र जस्तो ! तर, जब ऊ वाचन सुरु गथ्र्याे, सबै स्तब्ध हुन्थे ।’ वि.सं. २०३३–३४ सालतिरको सम्झनामा नाटककार मल्लले कतै लेखेका पनि छन्, ‘म सम्झन्छु, हामीले आयोजना गर्ने काव्य कार्यक्रममा भूपी शेरचन, मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरे आदि चर्चित कवि आएर कविता वाचन गर्थे र माहोल तताउँथे । यसरी ३३–३४ सालतिर कीर्तिपुर क्याम्पसको अडिटोरियम हल राजनीतिक भाषण मात्र होइन, साहित्य र सांस्कृतिक गतिविधिले पनि तात्तिइरहन्थ्यो ।’

अलेच कुनै स्वतन्त्र साहित्यकार विश्वविद्यालयमा आयो भने कसैले चिन्दैन ।  कहाँ गए होलान् ती दिनहरू ? विगत बाह्र वर्षमा हामी केही शिक्षक र विद्यार्थीले अंग्रेजी विभागमा नेपाली साहित्यको विमर्श र रचनावाचन कार्यक्रम चलाइरहेका छौँ । तर, यी कार्यक्रमबारे त्रिवि प्रशासनलाई न जानकारी छ, न चासो । स्वान्त सुखाय— चलिरहेको छ । अशेष मल्लहरूका लागि यो अशुभ समाचार हुनुपर्छ । 

सोह्र वर्षदेखि म हेरिरहेछु, हरिभक्तले कविता फुलाएको यो ठाउँ । तर, हरिभक्तको एउटै मात्रै कविताको हरफ जताततै गुञ्जिरहे जस्तो लाग्छ– ‘बा पाठशाला जान्नँ म । त्यहाँ इतिहास पढाइन्छ मरेका दिनहरूको !’ यत्ति नै समय भयो, अशेष मल्लले आफूलाई उठाएको यहाँको सभा भवन हेरेको पनि । तर, आज पनि हामी यहाँ उनले संकेत गरेको ‘वसन्त खोजिरहेछौँ’ जो समयको गर्तमा कतै हराएको छ । हामी सबै सेम्युए बेकेटको गोडो पर्खेर बसेजस्ता !

हरिभक्तलाई मृत इतिहासको डर रहेछ । तर, त्यतिवेला उनलाई के थाहा, उनी पनि त्यस्तै इतिहासको एउटा फुटनोट हुन सक्छन् कुनै दिन । इतिहास ? हो, इतिहास विभाग छ । प्राध्यापक थुप्रै छन् । विद्यार्थी ? खोज्नुपर्छ । नभेटिन पनि सक्छन् । अर्थ ? भोलि यस देशको इतिहासका अनुसन्धाता, लेखक, प्राध्यापक, विश्लेषक बाहिरबाट आए भने कुनै आश्चर्यको विषय हुने छैन । र, बाहिरबाट आउनेले बाहिरकै चस्मा लगाएर आउँछन् । र, यहाँको इतिहास अर्कै देखियो भने पनि आश्चर्यको विषय हुँदैन । 

देवकोटाको सालिकको ठीक अगाडि नेपाली भाषासाहित्यको गौरवशाली विभाग छ । हाम्रो भाषासाहित्यका लागि अक्सफोर्ड भने पनि त्यही । केम्ब्रिज भने पनि त्यही । वासुदेव त्रिपाठी, मोहनराज शर्मा र राजेन्द्र सुवेदी जस्ता दिग्गजहरूले पसिनाले सिँचेर हुर्काएको विभाग । हाम्रो पुस्ताले पनि देखेको एउटा समय थियो– विश्वविद्यालयको रौनक भनेकै यही विभाग थियो । हजारौँ हजार विद्यार्थी– देश पढ्न आउँथे ।

कक्षाकोठामा नअटाएर बाहिरसम्मै बसेका देखिन्थे । आँगन गुल्जार थियो । नेपाली भाषाको कल्लोल– भविष्यका कवि, कलाकार, समालोचक, कथाकार, साहित्यकार, अनुसन्धाता र प्राध्यापकहरूको स्वप्नील सम्मेलन । आज ? स्नातकोत्तरमा भर्ना हुन आएका एक दर्जन विद्यार्थी गन्न सक्नु ठूलो सकसको विषय बनेको छ । कति भर्ना हुन्छन्, कति टिकेर डिग्री पूरा गर्छन्, त्यो अर्कै कथा हो । नेपाली भाषा–साहित्यको मूल सुक्दै गएको संकेत हो यो । हामी सबै सुक्दै गएको संकेत हो यो । र, देवकोटाको माथमा चढाइएको सबैभन्दा ठूलो विरोधाभास अलंकार पनि हो यो । 

त्रिविको सन्ध्याकालीन सन्नाटा चिर्न भवनपछाडि साठी नाघेका आमाहरू आउँछन् र भजन गाउन थाल्छन्, ‘हरिजी, के पो लानु छ र मरेर ?’ वसन्त छुट्दै गएको त्रिविमा यसरी सन्नाटा चिरिन्छ, हिजोआज ।

सालिककै अगाडि अंग्रेजी भाषासाहित्यको विभाग पनि छ । कमलप्रसाद मल्ल, श्रीधर लोहनी, अभि सुवेदी, पद्मप्रसाद देवकोटा, डिपी भण्डारी जस्ता महारथी जोडिएको विभाग । कुनै वेला संख्यामा पनि र प्रस्तुतिमा पनि यहाँको हरियाली हुने गथ्र्याे यो विभाग । अचेल, सबै छ । सबै छ । यत्ति हो– स्वप्नदर्शी विद्यार्थीहरूको त्यो उत्साहपूर्ण उपस्थिति देखिँदैन । म आफैँ विद्यार्थी हुँदा कक्षाकोठाभित्र बसेर सुन्ने ठाउँ नपाएर बाहिर झ्यालमा बसेर सुनेको छु, धेरै पटक गुरुहरूका प्रवचन । पछि शिक्षक भएर जाँदा मेरा पनि विद्यार्थीले कक्षाकोठा टम्मै भरेको, र सधैँ कुनै सभा–गोष्ठीको भाषण गरेजस्तो म आफैँले अनुभव गरेको हुँ । वार्षिक प्रणालीबाट अचेल सेमेस्टर प्रणालीमा गएपछि अनुभव फेरिएको छ । मानविकी संकायहरूमा देखिएको संख्याको ह्रासबाट यो विभाग पनि अछुतो छैन । कारण अनेक–अनेक होलान् । तर, यो संकेत देशका लागि त्यति स्वस्थ भने पटक्कै होइन । 

नेपाली वा अंग्रेजीको मात्रै छैन कुरा । कुरा यसै विभागका परिपरि अस्तित्वको संकट बोकेर बाँचिरहेका अन्य विभाग पनि छन्– हिन्दी, भाषाविज्ञान, जनसंख्या, संस्कृत, मनोविज्ञान, संस्कृति, भूगोल, बौद्धदर्शन आदि । तर, विद्यार्थी नगण्य । यही कारणले हुनुपर्छ, मध्य आकाशबाट घाम पश्चिमतिर खस्किए कि कीर्तिपुर वरिपरिका बालबालिका बल र बेट लिएर यी विभागबाहिर आउँछन् र सुरु गर्छन्, उनीहरूको खेल । उनीहरूका बलले लागेर कोही पनि घाइते हुने खतरा यहाँ छैन । कुनै वेला थियो । र, झ्यालहरू सिसा फुट्ने पनि कुनै खतरा छैन । सिसाले कतिपल्ट फुट्नु र ? अनि, फुटे पनि के पो हुन्छ र ? र, विभागहरूका भवनका पछाडिपट्टि साठी नाघेका आमाहरू आउँछन् र भजन गाउँन थाल्छन्, ‘हरिजी, के पो लानु छ र मरेर ?’ कमसेकम, त्रिविको सन्ध्याकालीन सन्नाटा यसरी चिरिन्छ, हिजोआज । 

देशकै जेठो, विशिष्ट इतिहास बोकेको ज्ञानकेन्द्र हो, त्रिवि । यसका प्रणेताहरूले हामीलाई यसको उत्तराधिकार दिएर गएका हुन् । तर, यत्ति भन्ने इमान हामीसँग हुनुपर्छ, यस मयूरका प्वाँख हामीले एक–एक गरेर उखेलेका छौँ । र, त्यो मयूर आज लगभग नांगो बनाएका छौँ । अहिले त्यो मयूर डायनोसर जस्तो देखिन्छ । 
हामीले के–के गरेनौँ बीचमा ? हामीले विभाग र पुस्तकालयमा आगो लगायौँ । गोविन्दराज भट्टराईको ‘विश्वविद्यालयमा अग्नि पूजा’ र अभि सुवेदीको ‘अग्निको कथा’ यसै आगोका लप्का बोकेर उठेका सिर्जना हुन् ।

हामीले यसका सुन्दर प्रांगणमा कहिल्यै निको नहुने घाउको खेती गर्‍यौँ । एउटा समय थियो, यस विश्वविद्यालयको कुनै विभागबाट टप गरेर कोही निस्कियो भने विजेताको जस्तो अभिनन्दन हुन्थ्यो जताततै । अचेल, को आयो को गयो, कुनै सोधपुछ पनि हुँदैन । सायद, अंकमा टप हुनेहरू व्यावहारिक अर्थमा टप हुन सकिरहेका छैनन् । अथवा, अंक जोडघटाउ गरेर स्वर्णपदक जितिन्छ भन्ने हल्ला त्रिवि वरिपरिका अग्ला रूखले रोक्न सकेनन् । प्वालहरू भित्रै छन्, र धेरै छन् ।

उहिले जेहेनदारहरू प्राध्यापक बनेर पस्थे । अचेल त्रिवि सेवा आयोगको नजितामाथि अदालतले स्थगन आदेश जारी गर्छ । कारण सबैलाई थाहा छ । उहिले पदाधिकारीको नियुक्तिको आधार सायद क्षमता हुने गथ्र्यो । अचेल, भागबन्डाबाट हुन्छ । क्षमताबाट भएको भए त्रिविको गौरव उचालिँदै जानुपर्ने हो दिनदिन । उहिले, प्राज्ञिकहरू त्रिविमा छिर्नुलाई गौरवको विषय ठान्थे । तर, मेरा गुरु र देशकै बौद्धिक नक्षत्र प्राध्यापक अरुण गुप्तो र सञ्जीव उप्रेतीले अवकाशअघि नै त्रिविको जागिर छाडेको थाहा पाएपछि यसबारे धेरै घोरिएर सोचेँ । सोधिनँ, तर मलाई यसको सम्भावित कारण थाहा छ । 

म  त्यहीँ छु, र यो लेखिरहँदा मेरो मनभित्रको द्वन्द्व भनिनसक्नुको छ । धेरै कुराको जवाफ त देश बनाउन कटिबद्ध सरकारसँग पनि त होला, जो पार्टीका कार्यकर्ता पठाउँछ र प्रहसन केन्द्र बनाउँछ ज्ञानकेन्द्रलाई ? सबैलाई जानकारी होला नै– देशका प्रधानमन्त्री त्रिविका कुलपति हुन् । केही वर्षअघि एउटा समाचार आयो, ‘त्रिविले आफ्नो इतिहास तयार गर्दै छ । यसका लागि इतिहासकै एकजना प्राध्यापकको संयोजकत्वमा एउटा समिति पनि बनेको छ ।’ प्रार्थना गरौँ– यो इतिहास लेखियोस् । तर, डायनोसरबारे यसमा केही नलेखियोस् ।  र, एउटा अध्याय यस्तो पनि लेखियोस्, जसमा मयूरका हराएर गएका प्वाँखहरूको कथा लेखियोस् ।  प्वाँख नभएको मयूर र डायनोसरको स्वरूप उस्तै–उस्तै हुन्छ । आकार मात्रै फरक हो । कमसेकम आकार होस् । निराकार नहोस् ।