• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रोशन शेरचन
२०७६ माघ १८ शनिबार १२:०१:००
समाज

के गर्दै छन् थाकखोलाका मुखिया ?

त्यहाँका मानिस समस्या पर्दा सबैभन्दा पहिला मुखियाकहाँ जान्छन्

२०७६ माघ १८ शनिबार १२:०१:००
रोशन शेरचन

न्याय

मुखिया प्रणालीसँग जम्काभेट  थकाली भएर पनि मैले मुखिया प्रणालीबारे धेरै पछि थाहा पाएँ । जागिरको दौरानमा मात्र जम्काभेट भयो, मुखिया प्रणालीसँग । वनविज्ञानमा स्नातक गरेपछि अन्नपूर्ण संरक्षण संस्थाबाट (एक्याप) मेरो जागिरे जीवन सुरु भयो । ०५१ मा संरक्षण अधिकृत भएर मुस्ताङ गएँ । त्यसैवेला यसबारे धेरथोर थाहा पाएँ । यो प्रणालीबारे अझै बुझ्न खोज्दै छु । 

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली ०५३ लाई कार्यान्वयन गर्ने जिम्मा ममाथि आयो । सोही नियमावलीअनुसार संरक्षण क्षेत्रको तत्कालीन ५५ वटा गाविसमा त्यसका प्रावधानबारे बताउने र फिल्ड कार्यालयसँग समन्वय गरेर व्यवस्थापन कार्ययोजना बनाउन सघाउनुपर्‍यो । यस क्रममा म कास्की, म्याग्दी, मनाङ र मुस्ताङका अधिकांश गाविस पुगेँ । डा. गोविन्द बस्नेतसँग कास्कीका गाविस घुमेँ । तत्कालीन रेन्जर कमल थापा र श्रीकृष्णसँग मनाङ पुगेँ । चामेमा विनाअड्चन गोष्ठी सम्पन्न भयो । चामेको गोष्ठीपछि एकजना स्थानीय गाइड लिई थोराङपास हुँदै मुस्ताङ निस्केँ । कार्यालय प्रमुख नरेश प्रधानले गाइड खोजिदिए । म तल्लो मुस्ताङतिर लागेँ । नियमावलीमा, प्रत्येक गाविसमा एउटा संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन गरिने उल्लेख थियो । समिति १५ सदस्यीय हुन्थ्यो । 

व्यवस्थापन कार्ययोजना बनाउँदा भने जटिलता आइलाग्यो । नियमावलीले तोकेको क्षेत्र गाविस थियो । प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र उपयोग गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो । तर, छलफल गर्दा थाहा भयो, थाक सात सय क्षेत्रमा वन र चरन व्यवस्थापन उहिल्यैदेखि मुखिया प्रणालीबाटै भई आएको रहेछ । चौँरी चरन (मार्चे, मुली, नुप्साङ) घांसादेखि टुक्चेसम्मको थकालीको साझा रहेछ । 

सामाजिक सांस्कृतिक दृष्टिले मुस्ताङ तीन उपक्षेत्रमा बाँडिएका छन् । थाक सात सय, पाँचगाँउ र बाह्रगाउँ । घांसाबाट टुक्चेसम्म, थाक सात सय । कुल सात सय घर कुरिया भएकाले थाक सात सय क्षेत्र नामकरण भएको रहेछ । टुक्चेदेखि माथि मार्फा हुँदै ठिनीसम्मको पाँचगाउँ । छैरो, स्याङ् र चिमाङसहित । जोमसोमभन्दा माथि कागबेनीदेखि मुक्तिनाथलगायत बाह्रगाउँ । 

गाविसस्तरीय समितिको अधीनमा र बाहिरका उपभोक्तालाई दस्तुर तिराउन सक्ने भन्ने प्रावधानमा छलफल डाकियो । मुखिया प्रणाली शताब्दियौँदेखि चलिआएको सफल प्रथा रहेछ । कसैले रूख नमास्ने, गाउँले आफैँ वन हेरालु, वन कहिले खोल्ने, कहिले बन्द गर्ने, खोल्दा कसैले तोकिएभन्दा बढी दाउरा उठाउँछ कि भनेर हेर्ने, कुन चरनमा कहिले चौँरी, भेडा लैजान पाउनेजस्ता परम्परा त्यहाँ उहिलेदेखि चलिआएको रहेछ ।

लामो छलफलपछि चरन व्यवस्थापनको हकमा परम्परादेखि चलिआएको पद्धतिअनुसारै काम गर्नेमा सहमति भयो । स्थानीयको तर्क नसुनेको भए वा धैर्य नगरेको भए परम्परागत ज्ञान सीपको संरक्षण मात्र नहुने होइन, द्वन्द्व पनि निम्तिन सक्थ्यो । थाक सात सय क्षेत्रमा बसोवास गर्ने थकालीले चरन निःशुल्क गर्न पाउने र न्यूनतम दस्तुर तिरेर प्रयोग गर्न पाउने, तर बाहिरबाट आएका पशुधनीले पानी र घाँसको दस्तुर (चरिङ च्युरिङ ?) लिने गरिएको थाक सात सयका संरक्षक, टुक्चेनिवासी हेमन्त गौचन बताउँछन् । 

सामाजिक संस्कृति र न्याय पद्धति
थाक सात सय र पाँचगाउँका बासिन्दाले आफूलाई थकाली भन्छन् । थाक सात सय क्षेत्रमा तेह्रगाउँको एक, एक मुखिया र त्यसैमध्येबाट मिर मुखिया, उपमिर मुखिया र तबिल मुखिया छानिन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन र उपयोग मात्र होइन, बालीनाली कसैको गाईडिंगाले खाइदिए, अंशबन्डासम्बन्धी झैझगडा भए वा पारिवारिक रिसराग भए चार पैसा चढाएर मुखियाबाटै छिनोफानो गरिन्छ । साउन तृतीयामा हरेक गाउँको मुखिया कोवाङ्को कोटघरमा जम्मा भएर गाउँको हिसाब–किताब मिलान गर्ने, मुद्दामामिला मिलाउने र नियम बाँध्ने आदि गरिन्छ । 

त्यहाँका मानिसमा मुद्दामामिला वा समस्या परे सबैभन्दा पहिला मुखियाकहाँ जान्छन् । समस्या सीधै सरकारी अदालतमा लगे जरिवाना गरिन्छ । झैझगडा बाहिर वा सरकारी अदालतमा लगे दुःख पाइन्छ, समय लाग्छ, घुस खुवाउनुपर्छ (दुर्भाग्यवश यो साँचो ठहर्दै छ) भनेर पूर्वजले यस्तो व्यवस्था गरेका रहनेछन् । अहिले बुझिल्याउँदा, मुखिया प्रणालीको मुख्य सार, घरको (यस अर्थमा गाउँ) समस्या, झैझगडा र मुद्दामामिला गाउँमै मिलाउनुपर्छ भन्ने रहेछ ।

घर बलियो भए मात्र बाहिर जुध्न सकिन्छ, नत्र पराधीन भइन्छ भन्ने रणनीतिक सोचबाट निर्देशित रहेछ, त्यो चलन । त्यहाँका मानिस मुखियाबाट पार नलागे मिरमुखिया र त्यहाँबाट पनि हल नभए मात्र सरकारी अदालततिर जान्छन् । सरकारी अदालतमा सबैभन्दा कम मुद्दा परेको जिल्ला सायद मुस्ताङ हो । मुस्ताङको जिल्ला अदालतमा केही वर्षअघिसम्म जम्मा दुईवटा मात्रै मुद्दा दर्ता भएको थियो । एउटा मुद्दा तत्कालीन मुस्ताङ राजपरिवारसँग सम्बन्धित छ । कम मुद्दा दर्ता हुनुको पछाडि मुखिया प्रणालीको स्वशासन  हो भन्न सकिन्छ । 

थकाली जातिकै विद्वान् र केही पश्चिमा र अन्य देशका समाज वैज्ञानिकले थकाली जातका विविध आयाममा अध्ययन–अनुसन्धान गरेका छन् । ती अनुसन्धान मुखिया प्रणालीमा मात्र सीमित छैन । बरु थकालीको बृहत् सामाजिक, सांस्कृतिक र राजनीतिक विषयसँग सम्बन्धित छ । केही प्रमुख अध्येताहरूमा, तिब्बेतनविद् टुची (इटलियन), डेभिड स्नेलग्रभ (अंग्रेज), मानवशास्त्री कर्निल जेस्ट (फ्रेन्च), क्रिस्टोफर फुरर हाइमेनडर्फ (अस्ट्रियन अंग्रेज), डोरबहादुर विष्ट, सुरेन्द्र गौचन, ओमकारप्रसाद गौचन, वसन्त शेरचनलगायत छन् । 

थकाली सेवा समिति केन्द्रका पूर्वअध्यक्ष वसन्त शेरचनका अनुसार तेह्र मुखिया प्रणाली प्राचीनकालदेखि चल्दै आएको राजनीतिक, सामाजिक र न्यायिक स्वायत्त संस्था हो । सामाजिक संस्कारमा सुधार ल्याउने, मुद्दा छिनोफानो गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने, ढिकुरी प्रथाको संवर्धन गर्न यो प्रथा राणाकाल र पञ्चायतीकालमा समेत सक्रिय रह्यो । सांस्कृतिक तथा धार्मिक पर्वहरू विशेषतः बाह्रवर्षे मेला (ल्हफेब), कुमार यात्रा (स्योपेन्लव) र तोरन्लको व्यवस्थापनको जिम्मा मुखियाकै हुने गर्छ ।

मूल आयोजक समिति नै १३ जना मुखियाले बनेको हो । सामाजिक रीतिरिवाज बनाउने, लागू गर्ने र समयअनुसार सुधार गर्ने पनि यसै प्रणालीले गर्छ । आर्थिक क्षेत्रमा मौलिक परम्परा ढिकुरीप्रथा र राजनीतिक, प्राकृतिक र न्यायिक क्षेत्रमा मुखिया प्रणाली व्यावहारिक रूपमा सफल अभ्यास हो । यसको सबलता, दूर्बलता, चुनौती र सीमामा बढीभन्दा बढी अन्तक्र्रिया हुन आवश्यक छ । वस्तुनिष्ठ निचोड निकाल्न र यसका असल अभ्यास अन्य समुदायमाझ पुर्‍याउन जरुरी छ । 
 
परम्परागत ज्ञान सीपको पुनरुत्थान 

पहिचानको राजनीतिले केन्द्रीय स्थान ओगट्दै आएपछि आदिवासी जनजाति, दलित, मधेसी र अन्य सीमान्तकृत समुदायले पछिल्ला वर्षहरू आफ्नो पहिचान, अधिकार र संस्कृतिको खोजीकार्यलाई तीव्रता दिएका छन् । कुनै पनि संस्कृति अर्को संस्कृतिभन्दा उच्च हुँदैन, मात्र फरक हुन्छ भन्ने वैचारिक मान्यताले सामाजिक स्वीकृति पाउँदै छ । समाज वैज्ञानिकका अनुसन्धानका निचोडमा बहस र विमर्श हुन थालेका छन् । अघि लुकाइएका थर प्रयोग गर्ने, पहिरन र खानपिनमा गर्व गर्ने, लोप हुँदै गएको मातृभाषा सिक्ने, जातीय पर्वहरू मनाउने र सारमा मौलिक संस्कृतिमा गर्व गर्नेहरूको संख्या बढ्दै गएको छ । यो राम्रो पक्ष हो । साथै, बहुल समाजको सौन्दर्य पनि ।

पूर्वका राई, लिम्बूमा पहिचानको चेतना प्रबल छ । थारू, मधेसी, दलित, पहाडका तामाङ, मगर र नेवार, हिमालका थकाली, लो, नारपा, शेर्पा र छन्त्यालमाझ पनि आदिम संस्कृति र परम्परागत ज्ञानप्रतिको लगाव बलियो बन्दै छ । त्यो जागरणबाट थकाली पनि प्रभावित छन् । भाषा संस्कृतिको पुनरुत्थानको युग आएको छ । 
समाज वैज्ञानिक डन मेसरस्मिडले नब्बेको दशकमा थकाली समुदायको ऐतिहासिक निरन्तरता र सामाजिक सांस्कृतिक परिवर्तन विषयमा विस्तृत अध्ययन गरेका थिए । उनको निष्कर्ष छ– उद्यमशीलताको दृष्टिले नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने जातिमध्ये थकाली अग्रपंक्तिमा छ ।

०६६ सालको अध्ययनमा करिब ११ हजार जनसंख्या भएको यो समुदाय अहिले थाकखोलामा मात्र सीमित छैन । म्याग्दी, पोखरा, बुटवल, भैरहवा, धनगढी, नेपालगन्ज, काठमाडौं, हेटौँडालगायतका सहरमा बसोवास गर्छन् । जहाँ बसे पनि, केन्द्रीय थकाली सेवा समिति वा क्षेत्रीय समितिहरूमार्फत उनीहरू मुखिया प्रणालीसँग अभिन्न रूपले गाँसिएका छन् । 

विवाह, व्रतबन्ध, कुमार पुजा, तोरन्ल र मृत्य संस्कार सकुन्जेल परम्पराअनुसारै गर्छन् । ‘थकाली भान्सा घर’, वा किचेन अहिले धेरै थकालीहरूको प्रमुख व्यवसाय भएको छ । खास थकालीले सञ्चालन गरेको भान्सामा चार चन (गौचन, तुलाचन, भट्टचन र शेरचन)को देउता र थकालीको इष्ट देवता (ल्ह नरीझ्योब) फोटो अनिवार्य टाँगिएको हुन्छ । स्वादबाहेक यी फोटोबाट थकाली भान्साको सञ्चालक छुट्याउन सकिन्छ । 

अध्येता डेभिड ज्याक्सनका अनुसार थकालीले बाह्य परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने क्षमता आर्जन गर्नुका पछाडि ऐतिहासिक कारण छन् । इतिहासमा थाक क्षेत्र र उपल्लो मुस्ताङ सधैँ युद्धको चपेटामा प-यो । १३औँ शताब्दीतिर गनथाङ (पूर्वी ङारी, पश्चिमी तिब्बेत)को अधीनस्थ थियो, १४औँ शताब्दीमा जुम्लाको खस मल्ल राज्यअन्तर्गत आयो । १४औँ र १५औैँ शताब्दीमा झाङ (सम्भवतः पश्चिमी तिब्बत)को अधीनस्थ रह्यो । पन्ध्रौँ शताब्दीमा, लो राज्यअन्तर्गत (उपल्लो मुस्ताङ) शासित भयो । यो क्रम रोकिएन । १६औँदेखि १८औँ शताब्दीमा जुम्ला राजा र लद्दाख (हाल भारत) शासकको अधीनमा रह्यो । त्यसपछि १८औँ शताब्दीको मध्यमा शाह राजाको (केन्द्र काठमाडौं)अन्तर्गत भयो । 

शताब्दियौँसम्म शक्तिशाली राजाहरूबाट शासित भएकाले पनि हुन सक्छ, आन्तरिक रूपमा बलियो हुन र समाजलाई एकताबद्ध बनाउन प्रणालीको स्थापना गरियो । बाह्यस्तरमा समयअनुसार आफूलाई ढाल्दै जाने, तर सतहभित्र परम्पराको प्रणाली र पद्धतिलाई दह्रोसँग समात्ने । अनुकूलन गर्न सक्ने, मिहिनेती र उद्यमशीलताका साथै आफ्ना संस्कृति पहिचानप्रति प्रतिबद्ध भएकैले यस जातिले प्रगति गरेको हो । यी विशेषता नै थकाली पहिचानको मूल आधार हुन् । लोकतान्त्रिक छनोट प्रक्रिया मुखिया प्रणालीको सौन्दर्य हो । जसले नेतृत्व क्षमता देखाउँछ, गाउँलेको विश्वास जित्न सक्छ उही मुखिया पदमा छानिन्छ । कारणवश, मुखियाको मृत्यु भएमा सरसल्लाहमै गाउँसभाले अर्को मुखिया छान्छन् ।