• वि.सं २०८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
हेमन्त विवश
२०७६ माघ १८ शनिबार ११:१३:००
समाज

हराउँदै सुदूरपश्चिमका चैतहरू

गीत

२०७६ माघ १८ शनिबार ११:१३:००
हेमन्त विवश

माथ न्यूडी हात खडी जय नेपाल बोली
सुन्दो नाइ लालबहादुर हानिहाल्यो गोली
घूमरेला केशपास झलक दन्तपाटी 
पउँच्यो है नेपालथी शिर लैयो काटी 

(लालबहादुर थापाले गोली चलाएपछि शिर निहुरियो, तर हात खडा गरेर नेपाल आमाको जय भन्दै मृत्युवरण गरे । घुम्रिएका कपाल टलक्क टल्किने दन्तलहर थिए । शिर काटेर नेपाल अर्थात् काठमाडौं पुर्‍याइयो ।) माथि उल्लिखित यी हरफ सहिद भीमदत्त पन्तको चैतबाट लिइएका हुन् । उक्त चैतमा भीमदत्तलाई प्रमुख पात्र बनाई उनको जीवनमा घटेका प्रमुख घटनाको उल्लेख गरिएको पाइन्छ । 

डोट्याली भाषामा चैतको अर्थ हुन्छ चरित्रचित्रण वा चरित्र गाथा । विभिन्न देवीदेवता र जन्मभूमिप्रतिको माया, श्रद्धा, सद्भाव बोकेका, साहसी योद्धा (जो सहिद बने), जनताप्रति उत्तरदायी राजारजौटाका बारेमा स्थानीय सर्जकद्वारा रचित गीतहरूलाई चैत भनिन्छ । यो ठाउँअनुसार भिन्न ढप (शैली)मा पैतली (पाइला)को चाल मिलाउँदै झ्याली मिजुरा र ढोलकको तालमा पुरुषको दुइटा समूहले पालैपालो गाइने नृत्यसहितको खेल हो । 

सुदूरपश्चिममा नृत्यसहितको गायनलाई खेल भनिन्छ । जहाँ पैतालाको चाल मिलाउनु अनिवार्य मानिन्छ । गोलाकार भएर सवालजवाफका साथ गाइने देउडा गीत होस् वा बाजाको तालमा पैताला मिलाएर गाइने चैत, धमारी हुन् यी सबैलाई खेल भनिन्छ । जुन गाउँघरतिर छैटी, गौरा, जात्रा, भुःवाजस्ता विभिन्न शुभकार्य र चाडपर्वका वेला खेल्ने गरिन्थ्यो । आजका दिनमा पनि यदाकदा कामचलाउ हिसाबले खेलिन्छन् । 

चैतहरू दुई प्रकारका छन् । एउटा विभिन्न धार्मिक एवम् पौराणिक ग्रन्थमा उल्लेख गरिएका पात्र (राम, सीता, जनक, कृष्ण आदि) र इष्ट कुलदेवताका बारेमा रचिएका चैत । अर्को इतिहासमा समेटिएका वा समेट्न नसकिएका राजारजौटा र वीर योद्धाहरूका बारेमा रचिएका चैत । यीमध्ये डुम्राकोटको चैतजस्ता केही चैतहरू घटनाप्रद पनि छन् । जसमा एउटा व्यक्तिमा मात्र आधारित नभई सम्पूर्ण घटना र त्यसभित्र समेटिएका पात्रहरूका बारेमा उल्लेख गरिएको पाइन्छ । यस्ता घटनाप्रद चैत निकै कम मात्रामा छन् । विगतमा यस्ताखाले चैतहरू एउटै शीर्षकमा सैकडौँ कविले कविता लेखेझैँ विभिन्न सर्जकले आ–आफ्नै किसिमले सिर्जना गरेका थिए । तिनमा प्रस्तुति फरक भए पनि घटना पात्र र विषयवस्तु एउटै हुन्थे ।

यी खेलहरूको सुरुवात कहिलेदेखि भयो भन्ने कुरा यकिन छैन । सुरुमा पौराणिक ग्रन्थहरूमा उल्लिखित पात्रहरूका चैत खेलिन्थे । १३औँ शताब्दीतिर केही शासकहरूका बारेमा रचिएका चैतहरू पनि सुनाइमा आउँछन् । १५औँ शताब्दीमा शासकका साथै योद्धाहरूका नायक अर्थात् सेनाप्रमुखका बारेमा समेत चैतहरू रचिएको कुरा किसा विष्ट, पिरी बोरा, लाल द्यौवालगायतका चैतबाट पुष्टि हुन्छ । 

चैतमा त्यतिखेरको समाज, चालचलन, मूल्यमान्यता परिवेश आदि झल्किएको पाइन्छन् । युद्धमा वीरगति प्राप्त गर्ने योद्धाहरूका भोगाइका पाटाहरू, त्यो समय र प्रमुख पात्रको चरित्रको वर्णनसहित मृत्यु भएको कुरा उल्लेख गरिएको पाइन्छ । हालसम्म सुनिएका चैतहरूमा क्षेत्री र ठकुरीकै बारेमा रचिएका पाइन्छन् । त्यतिखेर काजीभारदारदेखि योद्धाहरूका नाइकेमा ठकुरी र क्षेत्रीहरू नै हुने गर्दथे । एकाध बाहुनका बारेमा पनि रचिएका छन्, जसमध्ये बिगा पनेरुको चैत निकै चर्चित थियो ।

डोटी राज्यको केही भूभाग कुमाउँको अधीनमा भएका वेला बिगा पनेरुले कुमाउँलाई पराजित गरी केही समयका लागि हालको बैतडी पुर्चौडीमा राज्य चलाए । उनको त्यही वीरताका बारेमा चैत रचिएको पाइन्छ । त्यस्तै नारद पनेरुले हालको डडेल्धुरा जिल्लाको नौलाकोटमा कोट बसाएको कुरा पनि चैतमा उल्लेख गरिएको कुरा अध्येता डा. बद्री शर्मा बिनाडी बताउँछन् । डोटीका शिक्षक तथा अनुसन्धाता गिरिराज अवस्थीका अनुसार लछी वथ्थी, देव वथ्थीलगायतका केही अरू योद्धाका बारेमा पनि चैतको रचना गरिएको कुरा थाहा पाउन सकिन्छ । भीमदत्त पन्तको चैतमा मात्र उनीहरू उल्लेख गरिएको पाइन्छ ।

कञ्चनपुर पुरैनका गाउँ
मुरली, गर्वु थारु मातौ जमाउँ
मुरली भीमदत्त मुलाकात भैछ
गरवु भीमदत्त मुलाकात भैछ

पुन मगर दाइ हो मेरो बोल लिए (कुरा सुनिदिए)
चारै दिन भोकै रह्या हमु खान दिए 

सदियौँदेखि समाजमा अछुतको बिल्ला भिराइएका दलितमध्येका गन्धर्व र दमाईहरू नाचगान गर्दै मनोरञ्जन प्रदान गराउने जातिका रूपमा देखापर्दछन् । जन्म, विवाहदेखि चाडपर्व र युद्धमा समेत बाजा बजाएर हौसला प्रदान गर्ने जातिका रूपमा देखापरेका दमाईहरूमा काव्यिक र मर्मस्पर्शी छ मधुवा आउजीको कथा । 
कथा भन्छ – डोटी राज्यका अन्तिम राजा दीप शाहीको पालामा बहादुर शाहका सेनासँग नारी दाङ भन्ने ठाउँमा सेती नदीको किनारमा भएको लडाइँमा लडाकुहरूलाई हौसला प्रदान गर्ने हेतुले मधुवा आउजीले नरसिंहा, बिगुलजस्ता बाजा बजाए ।

कैयौँ योद्धा मारिए । डोटी राज्य परास्त हुन गयो । अन्त्यमा मधुवा आउजीले शत्रुका हातबाट मर्नुभन्दा सेती नदीका छालसँगै बग्ने निर्णय गरी नरसिंहा बोकेरै सेतीमा हाम फाले । जब नदीले बगाउन थाल्यो भन्ने आभास पाए तब नरसिंहा बाजा किनारतिर फाल्न खोजे । नरसिंहा फुस्केर एकातिरको भाग नदीवारि किनारामा पुगेछ । अर्कोतिरको भाग नदीपारि किनारमा बजारिएछ । मधुवा आउजी सेतीका छालसँगै हराएछन् । युद्ध सकिएको केही दिनपछि भेटाएको उक्त बाजा हाल कैलालीमा बसोवास गरिरहेका उनका सन्ततिहरूसँग छ भन्ने सुन्नमा आउँछ । 

भानु रे नरसिङु लेई मधुवा आउजी आयो
मधुवा आउजीले बिकुल बजायो
मधुवा आउजीले नरसिङु फुक्यो
बडा राजा रुपाशाहीको बेतकाणु फुट्यो 

डा.बद्री शर्मा बिनाडीबाट प्राप्त दीपा रजवारको चैतमा उल्लेख गरिएका हरफहरू हेर्दा महिलाले पनि युद्ध लडेको कुरा थाहा पाउन सकिन्छ । शोभा पात्तर दलित समुदायकी महिला भएको र बिजुली चम्केसरि लड्ने कला भएकी थिइन् भन्ने कुरा यी पंक्तिहरूबाट सजिलै बुझ्न सकिन्छ । 

ए जैकुना जुझलो भगुवा दमाई जैसी मुसलैकी साँट 
ए जैकुना जुझली पात्तर शोभा जैसी बिजुलीकी साँट 

आजका मितिसम्म चैतबारे अध्ययन गर्ने जेजति विद्वान्हरू छन् ती कसैले पनि त्यतिखेर युद्धमा होमिएका दलितहरू तिनको भूमिकाबारे कतै उल्लेख गरेनन् । दलितको भूमिका, महिला पात्रहरूको खोजी नहुनुले ती केवल कर्मकाण्डीय शैलीका ठेली तयार पार्नमै तल्लीन रहे भन्न सकिन्छ । नेपाल एकीकरणपछाडि खासै रचिएका छैनन् चैत । २०१० सालपछि धेरैले रचना गरेको र बढी चर्चामा आएको चैत कसैको थियो भने त्यो सहिद भीमदत्त पन्तकै चैत थियो । वि.सं. १९८३ मा डडेल्धुरा कारीगाउँमा जन्मेका पन्तलाई तात्कालीन सरकारबाट टाउकाको मूल्य तोकिएपछि पैसाको प्रलोभनमा परी उनका मीत लालबहादुर थापाले २०१० श्रावण १७ गते २७ वर्षको उमेरमा षड्यन्त्रपूर्ण ढंगले मारेका थिए । 

त्यतिखेरका स्रष्टाहरू स्वतन्त्रता र प्रजातन्त्रका पक्षधर थिए । तिनले लुकेरै भए पनि रचना गरे परिवर्तनकारी सोच भएका केही योद्धाहरूका चैत । गाउँघरतिर ठालु, जमिन्दार, सामन्तहरूले हैकम जमाएको परिवेशमा समाज परिवर्तनको इतिहासमा शोभा पात्तर, मधुवा आउजी, भीमदत्तजस्ता योद्धाको नाम लिइरहे । चैतका रचयिता को थिए भन्ने कुरा थाहा पाउन सजिलो कर्म पक्कै छैन ।

तथापि विगतका ड्यौडियाहरू नै यस क्षेत्रका स्रष्टाहरू हुन्, लोककवि हुन् । तिनैले थोरै मात्रामा भए पनि राज्यका लागि, समाजका लागि, स्वाभिमान र अस्तित्वका लागि ज्यानको बलि चढाएका केही राजारजौटा र योद्धाहरूका बारेमा चैत रचे । चैत, धमारी, चाँचरी आदिको रचना गरे । जुन वायुवेगमा फैलिएझैँ तुरुन्तै ठाउँठाउँमा पुगेर कैयौँको मुखारबिन्दबाट सुनिन थाले । तिनै गीतका पंक्तिले एउटा काव्य नै बोकेका हुन्थे । गाउँघरतिर लगातार २१ दिनसम्म चैत खेलेका उदाहरण सुनाउँछन् सांस्कृतिक अध्येता वासुदेव पाण्डे । प्राचीनकालदेखि नै यस क्षेत्रले भाषा र साहित्यका क्षेत्रमा गहकिलो इतिहास बोकेको छ । तर, धेरैजसो लिखित रूपमा आउन सकेन । 

पाँच सय वर्षअघिका राजा राम शाहीको चैतमा अजयमेर कोटलाई उदीयमान सूर्य, रानीलाई पूर्णिमाको जून र हात्तीलाई ऐरावतसँग दाँजेको प्रसंगबाट थाहा हुन्छ कि त्यो समयका लोककविहरूले प्रयोग गर्ने गरेका उपमा–अलङ्कारका बारेमा । सुदूरपश्चिमले विगतमा थुप्रै स्रष्टाहरू जन्मायो, तर ती अज्ञात नै रहे । तिनले सैकडौँ चैतको रचना गरे ती पनि हराउँदै गए । गहिरो ढंगले खोजीनीति हुन्थ्यो भने यस क्षेत्रमा इतिहासको गर्भमा लुकेका कैयौँ स्रष्टाहरूको नाम आउन सक्थ्यो । कैयौँ चैतहरू फेला पार्न सकिन्थ्यो । समयमै महत्व बुझ्न नसक्दा ती सबै लोप भएर गए । 

विगतका धेरै कुरा वर्तमानमा सिकाइका माध्यम बन्न जान्छन् । विगतका कमीकमजोरीको अध्ययनबाट पनि वर्तमानमा धेरै कुरा सिक्न सकिन्छ । रूढीवादी अन्धविश्वास मात्र थिएनन् विगतमा । विगतमा मानव सभ्यताका पाटाहरू थिए । केही कहालीलाग्दा घटना थिए । अन्याय र अत्याचारका विरुद्धमा रचिएका जनजिब्रोमा झुन्डिएका केही अलिखित गीतहरू थिए । जसको ज्वलन्त उदाहरणका रूपमा यी पंक्ति लिन सकिन्छ ।

बाखरो जली एक पला 
गाको मोल चार पला राखी
धुरी माथि चाँद पुराइ 
तेरो राज्य हरिजावस् 
राजा हरि शाहीय 

विगतका शासकहरूको दरबारमा समाजका सम्पूर्ण जातजातिको प्रतिनिधित्व हुने ज्योतिष काजी भारदार पैकेलादेखि गाइनेसम्मका लागि विभिन्न पदहरूको व्यवस्था मिलाइएको कुरा समेत चैतमा उल्लेख भएको पाइन्छ । त्यतिवेलाको भाइचारा, नैतिकता, सामाजिक सद्भावसँगै योद्धाहरूमा हुनुपर्ने रणकौशल र परास्त हुँदाका कमजोरी, शोषित पीडितका आवाजलाई कुनै न कुनै किसिमले समेटेको पाइन्छ चैतमा । लोकसाहित्य र संस्कृतिका हिसाबले सुदूरपश्चिम निकै धनी मानिन्छ । बिडम्बना वर्षौँसम्म हामीले यसको महत्व बुझ्न सकेनौँ । यसभित्रका पाटाहरू आलोचनात्मक ढंगले चिरफार गर्नै सकेनौँ । 

स्वास्थ्यका लागि समेत एक किसिमको व्यायामको काम गर्थे त्यस्ता खेलले । पुराना पौराणिक मिथहरूलाई काव्यात्मक ढंगले रुचीकर र श्रवणीय बनाइएका साथै ऐतिहासिक पात्रहरूलाई केन्द्रबिन्दु बनाएर रचिएका चैतहरू भावी पुस्ताका लागि इतिहास अध्ययन गर्न दरिला प्रमाण थिए । पछिल्लो अवस्थामा यी सबै हराउँदै गइरहेका छन् ।

सांस्कृतिक अध्येता पद्मराज जोशी भारद्वाजका अनुसार पछिल्लो समयमा चैत खेलमा पैताला चाल्न जान्ने मान्छे पाउनै मुस्किल भइसकेको छ । ती चैत जान्ने बुढापाकाहरूको पनि कमी हुँदै गएको छ । फागुन–चैत महिनामा उजाड बनेका वनका वृक्षहरूझैँ उजाडिदै गएका छन् लोकसाहित्यभित्रका चैतहरू । ती वृक्षहरू त वैशाख लाग्दै गर्दा पलाउन थालिहाल्छन् । तर, हाम्रा संस्कृति र साहित्यका पाटाहरू कहिल्यै नपलाउने गरी रित्तिदै गइरहेका छन् । यिनै कुरालाई मनन गरेर नै होला भेटमा पुराना दिनका कुरा गर्दा सुनाउँछन् पर्यटनकर्मी अमरबहादुर शाही देउडा गीतका यी पंक्ति : 

चैत छुटे धमारी छुटे, छुटे पर्व जाँत 
तमी खोज्दा उइलका जसो ऐले उसो काँ छ