• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
लाक्पा ग्याल्जेन शेर्पा
२०७६ माघ १८ शनिबार ११:३६:००
समाज

संकटमा नावा

थिति

२०७६ माघ १८ शनिबार ११:३६:००
लाक्पा ग्याल्जेन शेर्पा

नावाको अर्थ 
शेर्पा समुदायमा प्रचलित ‘नावा’ प्रणालीको वास्तविक अर्थ हाम्रो ध्येय (ध्यान) भन्ने बुझिन्छ । प्राचीनकालमा ठूलो स्वरले कराएर गाउँलेलाई गाउँमा हुन गइरहेको कार्यक्रमका बारेमा सुसूचित गर्ने व्यक्तिलाई नै नावा भन्ने गरिएको पाइन्छ । सूचनाको माध्यम नभएको समयमा कराएर अरूको ध्यान आकृष्ट गर्ने व्यक्तिलाई ‘नावा’ भन्ने परम्परा थियो । 

समुदायमा आइपर्ने विभिन्न मुद्दाको कारबाही र निष्पक्ष रूपमा न्याय नावाले दिनुपथ्र्यो । कारबाहीको आधार देखी जान्ने, सुनी जान्ने र साक्षीलाई कसम खुवाएर सत्य पत्ता लगाउने हुन्थ्यो । त्यसरी न्याय गर्ने व्यक्तिलाई ‘ना’ (कसम) नावा भनिएको हुन सक्ने अनुमान पनि गरिन्छ । 

नावाको शाब्दिक अर्थ ‘अनुमति’ भने पनि हुन्छ । गाउँलेद्वारा छानिएको अधिकार प्राप्त व्यक्ति भएकाले उसको अनुमतिविना कुनै पनि सामुदायिक सम्पदा मनपरी उपभोग गर्न नपाउने र सामाजिक कार्य गर्न नावाबाट अनुमति लिनुपर्ने हुन्थ्यो । त्यसैले ‘अनुमति’को अर्थमा नावा भनिएको हुन सक्छ । 

नावा प्रथाको सुरुवात र विकास
जंगली युगदेखि विकसित भएर मानव सभ्यताको फड्को पशुपालन र खेतीपातीको युगमा भयो । त्यसवेलादेखि हिमाली क्षेत्रमा पशुपालन र खेतीका आधारमा मानवीय बस्ती सुरु भयो, त्यसै समयदेखि नै नावा प्रथा सुरु भएको अनुमान गर्न सकिन्छ । जब खेती र पशुपालनबाट मानिसले फिरन्ते जीवन बिताउनु परेन । जीवन सहज भएपछि पशुपालन व्यवसाय वृद्धि हँुदै गयो । तिब्बतको विशाल फाँटमा लगाइएको खेतीलाई पाल्तु जनावरबाट जोगाउन कठिन भयो । बस्तीका बुझक्कड व्यक्ति वा तालुकदारहरू (गेम्बू) जम्मा भएर पशुलाई नियन्त्रण गर्ने उपायको खोजी गरे । 

एउटा परिवारमा जति वस्तु छन्, त्यस परिवारले त्यति नै दिन आफ्नासँगै छिमेकीका वस्तु हेर्नुपर्ने नियम बाँधियो । प्रत्येक परिवारले वर्षैभरि पालो–पालो गरी वस्तु हेर्ने र लगाइएको बालीको संरक्षण गर्ने नियम चलनचल्तीमा आयो । त्यसका लागि नावा परम्परा सुरु भयो । नावाले वस्तु हेर्ने पालोको व्यवस्थापन गरेको पाइन्छ । नावाले आफ्नो पालोको दिन गाउँका बीचमा अग्लो ठाउँमा गएर, ‘वस्तु चराउन पठाउ है,’ भनेर उर्दी लगाउँथे । साँझमा वस्तु फर्के पछि, ‘वस्तु जिम्मा लिन आऊ है,’ भनेर सूचना दिने चलन थियो । 

नावा प्रथाको थालनी हुनुको अर्को कारण प्राचीनकालमा नेतृत्वदायी संस्था या सरकारको विकास भइसकेको थिएन । त्यो अभावपूर्तिका लागि नावाको थालनी भएको हुन सक्छ । नावा प्रथा पनि तिब्बतमा विकसित भएर बसाइँ सरी आउँदा शेर्पाहरूले सँगै ल्याएको एउटा सामाजिक प्रचलन हो भन्न सकिन्छ । यो कति वर्षअघि सुरु भयो यकिन नभए पनि बुझक्कड शेर्पाहरूका अनुसार चार सय वर्षअघिको अनुमान गरिएकोछ । 

नावामा हुनुपर्ने गुण
वस्तुबाट बालीनालीमाथि हुने हानि–नोक्सानीको नियन्त्रणसँग सम्बन्धित भएकाले वस्तुपालकबाटै नावा छान्ने परम्परा चल्यो । दोस्रोः नावाको नियम उल्लंघन गर्ने र वस्तु छाडा छोडेर अर्काको बालीनाली नोक्सान गरिदिने व्यक्तिलाई नावा छानी गाउँ संरक्षणको जिम्मा उसैलाई लगाइयो । तेस्रो : तिथिमिति र समयको राम्रो ख्याल राख्ने, सेवाको भावना भएको, इमानदार, निःस्वार्थी र गाउँलेको चित्त बुझाउन सक्ने विश्वासिलो व्यक्तिलाई नावा छानिन्थ्यो र अहिले पनि यो चलन कायमै छ । 
फोर्चे गाउँमा भने घरसंख्याको स्पष्ट अभिलेख लिखित रूपमा राखिएको छ । त्यसैका आधारमा पालैपालो प्रत्येक वर्ष नावाको जिम्मेवारी दिने चलन छ । लिखित दस्ताबेजमा नावाका काम, कर्तव्य र अधिकार पनि स्पष्ट ढंगले उल्लेख गरिएको छ । 

पाङवोचे र दिङवोचमा कुनै गुण र सीपका आधारमा नावा नछानी गाउँको ‘गेम्बु’ (गाउँको प्रमुख व्यक्ति, तालुक) ले छानेको व्यक्ति नै नावा हुन्थ्यो । हाल प्रत्येक परिवारबाट वर्षैपिच्छे दिङवोचेबाट दुईजना र पाङबोचेबाट दुईजना पालोअनुसार नावा छानिन्छन् । नावा नयाँ बाली लगाई बिउ उम्रेर गोडमेल गर्ने समय भएपछि छनोट हुन्छ । यो समय नेपाली महिनाको वैशाख र जेठमा पर्छ । शेर्पा क्यालेन्डरअनुसार वर्षको तेस्रो महिना पर्दछ । बालीनाली भिœयाइसकेपछि नावाको कार्यावधि पूरा हुन्छ । 

नावाको धार्मिक संस्कार
ओस्र्यो एउटा धार्मिक संस्कार हो । यो समारोह धुमधामले मनाउन ५ कन्यालाई शेर्पा संस्कृतिअनुसार सिँगारिन्छ । यिनीहरूलाई च्याङमा भनिन्छ । लामाहरूले नदीको, पृथ्वीको, जंगलको, हिमालको, नागको र कुलदेवताको पूजा आरधना गर्छन् । यो पूजामार्फत आगामी वर्ष राम्रो होस्, गाउँमा रोगव्याधी नआओस्, बालीनाली राम्ररी फलोस् भन्ने कामना गरिन्छ । 

प्राचीन नावा र आधुनिक नावा
हाल पनि यो समुदायमा नावा परम्परा कायम छ । तर, प्राचीन कालमा गाउँको नेता नाइके वा सरकार अधिकार सम्पन्न निकाय भनेको नावा नै हुन्थे । युल्ठिमका दिन गाउँसभाले बनाएको विषय उनीहरूले त्यस्तै लागू गर्नुपथ्र्यो । समाज र समुदाय ज्यादै राम्रो नियन्त्रणमा हुन्थ्यो । नावाहरूले आफ्नो काम र जिम्मेवारी राम्ररी पूरा गर्थे । व्यवसायमा पशुपालन र खेती नै प्रमुख भएकाले पनि नावा प्रथा दर्बिलो थियो ।

हाल यस क्षेत्रका अधिकांश मानिसको जीविका निर्वाह पर्यटन व्यवसायबाट भएको देखिन्छ । अलिकति हुने आलु खेती पनि जनसंख्याका चापले साँघुरिदै गएको छ । पशुपालनमा ह्रास आएको छ । विदेशीहरूसँगको सम्पर्क, आधुनिक जीवनचर्या, पर्यटन विकासले परम्परामा ठूलो प्रभाव परेको छ । यसले नावा प्रथालाई पनि प्रभाव पारेको छ । नावाहरूप्रति गाउँलेको चासो पनि कम भएको छ । नाम्चे बजारमा धेरै वर्षअघिदेखि नै नावा प्रथा लोप भइसकेको छ । थामे, खुमजुङ, खुन्दे, फोर्चे र पाङबोचेमा अझै नावा प्रथा छ तर पहिलेजस्तो शक्तिशाली छैन ।  

नावाको निरन्तरता 
परम्परादेखि चलिआएका राम्रा र सकारात्मक संस्कार र संस्कृतिलाई जोगाई राख्नुपर्छ । नावा प्रथा वन र वन्यजन्तु संरक्षण गर्ने काममा मात्र महŒव राख्दैन, यसले सामाजिक परिपाटीलाई र संस्कृतिलाई संरक्षण गर्दै नेतृत्वदायी भूमिका खेल्छ । त्यसैले परम्परा, भाषा, संस्कृति, मूल्य र नैतिक मान्यताको संरक्षण र संवद्र्धनमा महत्व दिन आवश्यक छ ।