• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ २५ शनिबार ०८:०४:००
सम्झना

कमरेड पहाडबाबा

कमरेड बनेर जीवन फेरिएन अब साधु बनेर फेर्छु

२०७६ माघ २५ शनिबार ०८:०४:००

कमन्डलु र चिम्टा बोकेर गाउँ घुम्ने पहाडबाबा कुनै समय एके–फोर्टी सेभेन बोकेर ब्यारेक आक्रमण गर्न जान्थे रे !,’ धनुषाको झिँझा गाउँमा यस्तै हल्ला चलेको दुई वर्ष भयो । मानिसहरू भन्छन्, ‘उनको सिरानीमुनि अझै कम्ब्याट लगाएको फोटो छ ।’ 

जनकपुरदेखि करिब ३० किलोमिटर पूर्व । सीमावर्ती क्षेत्रमा छ, झिँझा गाउँ । त्यो गाउँबारे मानिसहरूले निकै पछिसम्म अपमानित शब्द प्रयोग गरी भनिरहे, ‘झिँझा गाउँमा पहिलेका डाँकाहरू बस्छन् ।’ तर, झिँझावासी भन्दै छन्, ‘हाम्रा पुर्खाले धनीको घर लुटेर प्रहरीलाई नै चन्दा दिन्थे ।’ त्यही गाउँको सिरानमा दुई वर्षअघिदेखि एकजना सन्न्यासीले कुटी बनाएर बस्न थालेका छन् । अब झिँझा गाउँमा अर्को नाम थपियो, पहाडबाबा । मानिसहरू भन्छन्, ‘उनी छापामारका कमान्डर नै थिए रे !’ 

०००

असोजको अन्तिम साता । मधेसमा गर्मी चर्कै थियो । जनकपुरधामदेखि दक्षिण–पूर्व । कहिले ग्राबिल बाटो, कहिले डगरैडगर, कहिले बस्ती नै बस्ती, कहिले आँपको रूखमा बाँधिएको माइकमा मैथली गीत सुन्दैसुन्दै झिँझा गाउँको सिरानमा पुग्दा घाम पहेँलिसकेको थियो । खेतमा काम गरिरहेका एकजना किसानले पोखरीको किनारतिर देखाउँदै भने, ‘उः देखैछि, ओही कुटीमे रहैछि पहाडबाबा ।’ कुटीमा पुग्दा पहाडबाबा ध्यानस्त थिए । ढोकामा एउटा कुकुरले पहरा दिइरहेको थियो । कुकुर भुकेको सुनेपछि पहाडबाबा बाहिर आए । उनले स्वागत गरे । त्यसपछि कुटीभित्रै लगे । 

बाँसको टाटीले बारेको भित्तामा महादेव, पार्वती र गणेशका तस्बिर टाँसिएका थिए । अगरबत्ती सल्किरहेको थियो । कमण्डलु र चिम्टा कुनामा थियो । गेरुवावस्त्र लगाएका पहाडबाबाले सिरानीमुनि प्लास्टिकले बेरेर राखेको एउटा पोका खोले । जहाँ उनका केही परिचयपत्रसहित कम्ब्याट लगाएको एउटा धमिलो तस्बिर थियो । त्यसपछि सुरु गरे जीवन कहानी । उनको कथा सुरु हुन्छ, सिराहाको भजनाहा–लक्ष्मीनियाँ दलित बस्तीबाट । 

०००

पहाडबाबाको खास नाम रामपरीक्षण साफी हो । उनी धोबी दलित परिवारमा ०३४ सालमा जन्मिए । आमाको नाम गुलेबियादेवी । बुबाको नाम रामभजन । किसानी जिन्दगी । किसानी पनि के भन्नु लगभग बँधुवा जिन्दगी । 

दाजुभाइ दुईजना । जग्गा–जमिन केही थिएन । रामपरीक्षणले गाउँकै स्कुलमा ५ कक्षासम्म पढे । गाउँमा यादवहरूको ठूलो बस्ती । यादवहरूकै खेतमा उनले खने, जोते, अन्न उमारे, अनि यादवहरूकै भकारी भरिदिए । उनी सम्झिन्छन्, ‘दिनभरि काम गर्दा ज्यालामा जम्मा चारसेर धान दिन्थ्यो । त्यसले हाम्रो परिवार बाँच्न धौ–धौ हुन्थ्यो ।’

यादवहरूकै हैकम र रजगज भएको ठाउँमा उनी हुर्किए । मन्दिर, स्कुल, धारा, हाटबजार कहीँ पनि आफू खुसी हिँड्न पाएनन् । जताततै छुवाछुत, जताततै विभेद । भन्छन्, ‘हामीलाई मान्छे नै ठानिँदैनथ्यो । हामी त सबैभन्दा तल्लो जातका ! सबैले हेप्थे । मान्छे नै ठान्दैनथे ।’

पञ्चायती व्यवस्था ढल्यो । दलितबस्तीमा हँसिया–हथौडाको झन्डा बोकेका मानिस आउनु थाले । किसान नेता रामवृक्ष यादव पनि उनको गाउँ पुगे । सबै यादव हेपाहा थिएनन् । रामवृक्षले रामपरीक्षणलाई छुवाछुतविरुद्ध मुठी उठाउन सिकाए । दलितहरूलाई संगठित हुन आह्वान गरे । रामपरीक्षणलाई रामवृक्षको कुरा मनप-यो । उनी संगठित भए । 

देशमा माओवादीले युद्ध सुरु ग¥यो । गाउँका हेपाहाहरू आतंकित हुन थाले । उनीहरूले दलितबस्तीमा माओेवादी लुक्ने गरेको अफवाह फैलाए । अब दलितबस्तीमा त्रास सुरु भयो । खरको झुपडीभित्र दलित युवाहरू निदाउन छाडे । रामपरीक्षणले प्रतिकार गरिरहे, बस्तीमा कुनै माओवादी नआएको र आफूहरू पनि माओवादी नभएको शब्द बारम्बार दोहो¥याइरहे । तर, पत्याएनन् कसैले । छुवाछुतको विरोध गर्ने रामपरीक्षणसहित बस्तीका टाठाबाठा युवालाई माओवादी बनाउन गाउँका सामन्त लागिरहे । रामपरीक्षण भन्छन्, ‘म माओवादी होइन भनेर धेरै भनेँ, तर मलाई सुराकी लगाएर मार्न खोजे । त्यसपछि मैले गाउँ छाडेँ ।’ 

गाउँ छाडेको साँझ रामपरीक्षणसँग गतिलो लुगा थिएन । साथमा थियो, आमाले थमाइदिएको चामलको भुजा । अनि साथमा थिए, अन्य केही साथी पनि । माओवादी कता भेटिन्छन् भन्ने पनि थाहा थिएन । त्यहाँ गएर के–के गर्नुपर्छ भन्ने पनि थाहा थिएन । मात्र उनलाई थाहा थियो, शोषक सामन्त मास्नुपर्छ अब । उनको मनभित्र विद्रोह सल्किरहेको थियो । अन्ततः रामपरीक्षण माओवादी खोज्दै पहाड उक्लिए । 

गाउँ छाडेपछि रातारात जंगलैजंगल हिँडेर उनी उदयपुरको उत्तरी सिमाना चुरेको फेदीमा पुगे । त्यहाँ जनमिलिसियाको टिम भेटे । त्यही टिममा भर्ती भए । त्यसपछि उक्लिए पहाड । अब रामपरीक्षणको सपना फेरियो, बाटो फेरियो । मधेसबाट विद्रोह गर्न पहाड उक्लिएको रामपरीक्षणको नाम पनि फेरियो । अब उनी भए कमरेड पहाड । खोटाङ, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछापका पहाडी बस्तीमा काँधमा बन्दुक र कम्बरमा ग्रिनेट बोकेर हिँड्न थाले । 

कहिले जंगलैजंगल हिँड्नु, कहिले हिउँमाथि टेकेर हिँड्नु, कहिले अन्धकारमा बगरैबगर हिँड्नु, कहिले झमझम पानी परिरहेको साँझ नदी तर्दै हिँड्नु, भोकभोकै बस्नु, अघिल्लो दिन सँगै हिँडिरहेको साथीलाई दोस्रो दिन खोल्सीमा पुरेर हिँड्नु उनको सामान्य दिनचर्या जस्तै बन्यो । उनी सम्झिन्छन्, ‘चार दिनसम्म भोकै बसेँ । कति साथीको आँखैअगाडि प्राण गएको हेरेँ । कति साथीलाई जंगलमै पुरेर हिँडेँ । तर, त्यसवेला खै किन हो, डर लागेन । देश र जनताको लागि लड्ने सपना थियो मनमा ।’ 

०५५ बाट होलटाइमर भएका पहाडले जनमुक्ति सेनाको फर्मेसनमा पुगेपछि सुने, ‘मधेसीहरू कायर हुन्छन् । उनीहरू लड्न डराउँछन्, मर्न डराउँछन् ।’ अर्को चुनौती उनको अघि आयो । एउटा समुदायप्रति फैलिएको भ्रमलाई उनले चिरे । बन्दीपुर, भोजपुर, चोहर्वा, लहान, मलंगवा, उदयपुरलगायत दर्जनौँ लडाइँको मोर्चामा फस्र्ट एसल्ट (पहिलो पंक्ति) मै लडे । एसल्टको मोर्चा पनि सम्हाले । दुई दर्जनभन्दा धेरै दोहोरो भिडन्तमा सहभागी भए । भन्छन्, ‘सामान्य घाइते भएँ । तर, ठूलो चोट लागेन ।’ 

जनमुक्ति सेनाको सदस्य, सेक्सन कमान्डर हुँदै प्लाटुन कमान्डरसम्म बने, पहाड । एसएलआर, एके–फोर्टी सेभेन, एम सिस्टिन, इन्सास, एकासी एमएम, टुइन्ज मोटर सबै चलाउन सिपालु भए उनी । 

युद्धकालीन दिन उनका लागि निकै ऊर्जाशील रहे । न कसैको विभेद भोग्नुप¥यो, न कुनै सामन्तको खटन मान्नुप¥यो । वर्षभरि कमाएर न कसैलाई अन्न सुम्पिनुप-यो, न धोबीको बेटा भन्दै अपमानित शब्द सुन्नुप¥यो । मृत्यु प्रत्येक पल नजिकैबाट गुज्रिन्थ्यो, तर पहाड खुसी थिए, मृत्युको पर्वाह थिएन । उनले नेताको भाषणमा सुनेका थिए, ‘श्रमजीविका लागि क्रान्ति उत्सव हो ।’ हो, उनी त्यही उत्सवमा सहभागी भएका थिए, सायद । यसको प्रमाण हो, उनी युद्धका गायक पनि भए, तबलावादक पनि भए । रामवृक्ष यादवले लेखेको गीत उनले युद्धमा खुब गाए ।

पेरुमे लाल झन्डा फहराएल हो, 
कोही माने न नमाने... । 
महान् नेता कमरेड गोन्जालो 
पार्टी गठन कैलक चम्किलो । 
जनसेना कैलक तयारी हो, 
कोही माने नमाने ... । 

कुटीमा बसेर युद्धकालीन दिन सम्झिँदा–सम्झिँदै पहाडले त्यसवेला गाउने अर्को गीत पनि गुनगुनाए ः 

आऊ है साथी जनकम्युन हेर्न हामी जाऊँ, 
रगतले लेखिएको हाम्रो प्यारो गाउँ... । 

गीत गाइरहँदा उनको आँखा तेजिलो भएको थियो । बाँसका भित्ताबाट उनको आवाज बाहिरिएपछि झिँझा गाउँका बालबालिका उनलाई हेर्न झुम्मिए । गीत गाइसकेपछि उनी एकछिन शान्त भए । नजिकै राखिएको भगवान्को फोटोतिर हेरे । सोधेँ, ‘अरूलाई जनकम्युन हेर्न जाऊँ भन्नुभयो, तपाईँ आफैँ चाहिँ त्यो कम्युनमा पुग्नुभयो ?’ खिस्स हाँसे । अनि मुन्टो हल्लाउँदै सुस्तरी भने, ‘अहँ ।’

०००
युद्धविराम भयो । माओवादी सहर पस्यो । अब शिविरमा उनका विरक्तलाग्दा दिन सुरु भए । पहाडले आधा दशक महोत्तरी, सिन्धुलीलगायत अस्थायी शिविरमा बिताए । ‘युएन’ उनीहरूको छाती नाप्न आइपुग्यो । कोही स्वैच्छिक अवकाशमा जाने, कोही नेपाली सेनामा भर्ती हुने भए । एउटै सपना बोकेर हिँडेका साथीहरू दुईतिर बाँडिएको उनलाई पटक्कै चित्त बुझेन । उनले अडान राखे– हिजो जसको कमान्डमा युद्ध लडियो, आज उसैको कमान्डमा मात्रै बस्छु, नत्र स्वैच्छिक अवकाश लिन्छु । उनले पाँच लाख लिएर स्वैच्छिक अवकाश रोजे । अवकाश रोजेकै दिन माथिको आदेश भन्दै कमान्डरबाट उर्दी जारी भयो, ‘पार्टीलाई एक–एक लाख सबैले बुझाउने ।’ उनले प्रतिकार गर्दै कमान्डरलाई भने, ‘युद्धमा गोली लागेको भए तपाईंलाई स्टिलको गोली र मलाई रबरको गोलीले लाग्थ्यो ? किन दिने मैले एक लाख ? उनले पैसा दिएनन् । पाँच लाख रुपैयाँ, अनि चिनो स्वरूप मैलो कम्ब्याट ड्रेस झोलामा बोकेर पहाड गाउँ फर्किए । 

०००
उस्तै थियो गाउँ, जस्तो उनले एक दशकअघि छाडेर गएका थिए । जमिनदारी उस्तै, भेदभाव उस्तै, हेलाहोचो उस्तै । यादवहरूको हैकम उस्तै, उनीहरूको खेतमा पसिना बगाएर रित्तै फर्किनुपर्ने धोबीहरूको दिनचर्या उस्तै । फेरिएको थियो त केबल भित्तामा झुन्डिरहेको भित्तेपात्रो । 

उही नफेरिएको झुपडीमा पहाड फर्किए । पहाडले योजना बनाए, अब गाउँमै बस्ने । पाँच लाख रुपैयाँले जग्गा किनेर घर बनाउने । युद्धमा हिँड्नुअघि नै बिहे गरेकी श्रीमती, छोराछोरी र आमालाई खुसी बनाउने । उनले घडेरी किने । परिवारलाई त्यहीँ राखे । भन्छन्, ‘जसोतसो झुपडी त बनाएँ, अब खाने के ? अनि फेरि पुगेँ यादवकै खेतमा ।’ 

यादवको खेतमा काम गरिरहँदा उनलाई आत्मग्लानिले पोल्न थाल्यो । भन्छन्, ‘युद्धमा मरेको भए कथा नै सकिन्थ्यो । बाँचेर गाउँ फर्किएँ, फेरि उही जमिनदारको खेतमा हलो जोत्न थालेँ ।’

गाउँमा हिँड्दा उनी फेरि उस्तै छुवाछुत र भेदभाव भोग्न थाले । नबदलिएको समयले उनलाई बेस्सरी चिमोट्न थाल्यो । गाउँमा ठाडो शिर बनाएर हिँड्नै पाएनन् । 
समय बित्दै गयो । पार्टीसँग सम्पर्क टुट्दै गयो । साथीहरू बिराना हुँदै गए । सँगै हिँडेकामध्ये कोही सांसद बने, कोही मन्त्री बने । कोही सांसदको पिएसम्म पनि बने । कोही जिल्लाका नेता बने, कोही ठेकेदार बने । कोही अरबतिर लागे । तर, उनी बने, मात्र यादवको हली । हलीलाई साथीहरूले चिन्न छाडे । अब उनको नाम कमरेड पहाड रहेन । उनी फेरि बने उही रामपरीक्षण । उही दलित किसानको छोरा । उही एक अछुत धोबीको बेटा । 

तनावमा बित्न थाले उनका दिन । केही समय त गाउँमा प्रतिकार गरे । तर, बिस्तारै उनको स्वर मधुरो हुँदै गयो । फेरि उही चोक, चौतारा, धाराकुवा, इनार, मन्दिरमा भेदभाव सुरु भयो । दलितबस्तीमाथि हैकम फेरि उस्तै रह्यो । गरिब भनेर फेरि उसैगरी हेप्न थाले । यादवको खेतमा जोतिरहँदा आफैँलाई धिक्कार्न थाले । 
एकातिर साथीहरूले भुल्दै जानु, अर्कोतिर गाउँका सामान्तले हेप्दै जानु उनी निराश हुँदै गए । हिजो विद्रोह गर्न आह्वान गर्ने नेता सम्झिए । रामवृक्ष यादवको हत्या भइसकेको थियो । अन्य नेताहरू खोज्दै गए । भन्छन्, ‘नेताहरूले लक्ष्य भुल्दै गएपछि मेरो कुुरा सुन्नै छाडे । नेताहरूले रेलको लिक छाडेपछि मजस्ता मान्छे फेरि किनारामै धकेलियौँ ।’ 

०००

यादवको खेतमा हलो जोत्न जान छाडे, पहाड । गाउँलेहरूसँग बोल्न पनि छाडे । आँपको रूखमुनि बसेर बुढापाकासँग युद्धका कहानी सुनाउँन पनि छाडे । घरमै धुमधुम्ती बस्न थाले । के–के सोचिरहन थाले । सोच्दा–सोच्दै उनी निष्कर्षमा पुगे, ‘कमरेड बनेर परिवारमा खुसी ल्याउँन सकिनँ, अब भगवान्को शरणमा जान्छु ।’ एक साँझ उनले आमा र श्रीमतीलाई सँगै राखेर निर्णय सुनाए, ‘आमा ! म अब कुल त्याग्छु, बाबाजी बन्छु ।’ उनको निर्णय सुनेर आमा र श्रीमती न आश्चर्यमा परे, न दुःखी नै भए, न कुनै सल्लाह नै दिए । मात्र आँसु झारिरहे । त्यो रात पहाडको झुपडीमा कोही निदाएनन् । 

एक हप्तापछि पहाडको घरमा केही गाउँले जम्मा भए । साँझपख ३, ४ जना बाबाजीहरू उनलाई लिन पुगे । त्यसपछि पहाडले आमालाई ढोगे । छोराछोरीको टाउकोमा हातले सुमसुम्याए । श्रीमती (पुनम साफी) घुम्टोले मुख छोपेर रुन थालिन् । गाउँलेहरू सबैलाई नमस्कार गरे, अनि पहाड दक्षिण दिशातिर लागे । गाउँलेहरूले पर पुग्दासम्म पहाडलाई हेरिरहे । 

०००

अब पहाडको मैदानी यात्रा सुरु भयो । बन्दुक बोक्ने हातमा कमण्डलु र चिम्टा बोक्न थाले । निधारमा रातो कफन होइन, खरानी घस्न थाले । झोलामा बम र बारुद होइन, भिक्षाको चामल बोक्न थाले । अब उनको नाम कमरेड पहाड रहेन, उनको नाम बन्यो, पहाडबाबा । अब उनी आफ्नो नाम जस्तै पहाडमा टाकुरामा होइन, समथर, मैदान, फाँट र आँखाले नभ्याउने बगरै बगर हिँड्न थाले । 

कहिले कैयन् दिनसम्म रेलमा, कहिले हप्तौँसम्म बसमा, कहिले कैयौँ माइल हिँडेर भारतका कुनाकुना पुगे । वनारस पुगे, वृन्दावन पुगे, कासी पुगे । गंगाको किनारमा पुगे । जमुनाको पानीले स्नान गरे । अयोध्या पुगे । 

भारतका विभिन्न मठमन्दिरमा हिँड्दा–हिँड्दै महिना बित्यो, वर्ष पनि बित्यो । त्यसबीच उनले अनुभव गरे, ‘कमरेड हुँदा भन्दा सन्न्यासी हुँदा धेरै माया पाएँ ।’ 

०००

पहाडबाबा घुम्दैघुम्दै झिँझा गाउँ आइपुगे । गाउँको सिरानमा पोखरी, पोखरीको डिलमा पीपलको बोट, आँपका रूखहरू, कच्ची डगर, खरले छाएका दलितका झुपडीहरू, परिपरि खेतहरू, त्यही पोखरी डिलको ऐलानी जमिनमा कुटी बनाएर बस्ने सोच बनाए । गाउँमा भिक्षा माग्न जाँदा गाउँलेलाई आफू त्यहीँ बस्न चाहेको सुनाए । त्यसपछि झिँझावासीले उनलाई सघाए । कसैले बाँस दिए, कसैले टायल, कसैले निःशुल्क श्रमदान । सबै मिली कुटी बनाइदिए । झिँझा गाउँका गोविन्द पासवान भन्छन्, ‘पहाडबाबाले पोखरीनजिकै कुटी बनाएर बस्ने योजना सुनाउनुभयो । त्यसपछि हामीले कुटी बनाउन सहयोग ग¥यौँ । आफूसँग भएको सामान सहयोग ग-यौँ अनि केही चन्दा पनि उठायौँ ।’ केही दिनमै बाँसको टाटीले बेरेको कुटी तयार भयो । एउटा कुनामा भगवान्का चित्र राखे । केही ढुंगा राखे । त्यसपछि प्रार्थना सुरु गरे ।

दिन बित्दै जाँदा गाउँलेले थाहा पाए– कुटीमा बस्ने बाबाजी कुनै समयका कमरेड पहाड रहेछन् । कमण्डलु बोक्ने हातले कुनै वेला बन्दुक बोक्ने रहेछन् । गाउँभन्दा परपरका मानिस उनलाई हेर्न आए । उनको कुरा सुन्न आए । दलितबस्तीमा दलित बाबाजी पाएपछि गाउँलेहरू थप खुसी भए । त्यसपछि गाउँलेले उनलाई माया गर्न थाले । सम्मान गर्न थाले । सागसब्जी, नुनतेल, चामल कुटीमै लगिदिन थाले । 

०००

आज पहाडबाबा त्यहाँ बस्न थालेको २ वर्ष पुग्यो । बिहानै उठेर स्नान गर्नु, पूजा गर्नु, भिक्षा माग्न गाउँ घुम्नु, दिनको एकपटक मात्रै खाना खानु उनको दैनिकी हो । 
दिनभरि उनीसँग गफ गर्न गाउँलेहरू हुन्छन् । राति त उनी एक्लै हुन्छन् । कहिलेकाहीँ पोखरीमा जूनको छाया हेर्दै धेरै बेर एक्लै टोलाइरन्छन् । पीपलको बोटमा चरा कराएको एक्लै सुनिरहन्छन् । त्यसपछि कुटीमा पस्छन् र निदाउने कोसिस गर्छन् । भन्छन्, ‘सपनामा कहिलेकाहीँ युद्धकालीन साथीहरू देख्छु । जंगलमा गाडेर आएको साथी नै सपनामा आउँछ । त्यसपछि निदाउनै सक्दिनँ ।’ त्यसपछि उनी सम्झन थाल्छन्, जंगलैजंगल हिँडेको, एके–फोर्टी सेभेन पड्काउँदै लडाइँमा अघिअघि बढेको । त्यसपछि उनी कताकता बहकिन्छन् । भन्छन्, ‘आमाबुबा, छोराछोरीको भन्दा युद्धकालका साथीहरूको सम्झना धेरै आउँछ । उनीहरूलाई सम्झेर वेलावेला रुन्छु । तर, मन कमजोर बनाएर के गर्नु ? युद्ध लडेर मैले उनीहरूका लागि केही गर्न सकिनँ । अब भगवान्को पासमा आएको छु, भगवान्ले पक्कै केही गर्छ ।’ अदृश्य ‘भगवान्’प्रति उनी आशावादी देखिन्छन् ।

उनी बाबाजी बनेको खबर केही साथीहरूले सुने । युद्धमा डाक्टरी भूमिकामा रहेका सिराहाका राजेश विद्रोही वेलावेला उनलाई भेट्न आउँछन् । उनीभन्दा अरू साथीहरू भेट्न गएका छैनन् । एकपटक लहानमा राजेशको घरमा बाबुराम भट्टराई र हिसिला यमीले पहाडलाई भेटे । भट्टराई र यमीले फोटो खिचे, अनि ट्विटरमा राखे । 

कुल त्यागिसकेपछि अब उनी घर फर्किन मिल्दैन । अब भगवान्को शरणमा गइसकेपछि छाड्दा नरकमा पुगिने उनको विश्वास छ । कम्ब्याट लगाएको फोटो साथैमा छ । संयुक्त राष्ट्रसंघले थमाएको परिचयपत्र पनि साथैमा छ । गाउँलेहरू अझै अनभिज्ञ छन्, सांसारिक मोहबाट विरक्तिएर हिँडेको जोगीले त्यो फोटो र परिचयपत्रचाहिँ किन बोकिरहेको होला ? कसैले सोधेका पनि छैनन् । गाउँलेलाई यत्ति थाहा छ, उनी फरक पृष्ठभूमिका बाबाजी हुन् ।

०००

उमेरले ४ दशक पार गर्दा रामपरीक्षणले तीन किसिमको जीवन भोगे । पहिलो, सबैको हेपाइ खप्नुपर्ने रामपरीक्षण । दोस्रो, नयाँ संसारको कल्पनामा बन्दुक बोकेर हिँड्ने विद्रोही कमरेड पहाड । अनि तेस्रो, सांसारिक मोह त्यागेर हिँड्ने साधु पहाडबाबा । तीन फरक जीवनको तीन अनुभव सुनाउँछन् उनी, ‘रामपरीक्षण हुँदा सबैले हेप्थे । कमरेड पहाड भएपछि मान्छेहरू डराए । साधु भएपछि सबैबाट माया पाएँ ।’ ‘धर्म अफिम हो’ भन्ने माक्र्सको भनाइ उनले भुलिदिए । कमरेडहरूभन्दा साधुहरू धेरै मायालु र व्यावहारिक भएको उनको अनुभव छ । भन्छन्, ‘कमरेडहरू प्रतिस्पर्धा गर्छन्, साधुहरू गर्दैनन् । कमरेडहरू रिसाउँछन्, साधुहरू रिसाउँदैनन्, कमरेडहरू आपसमा लड्छन्, साधुहरू लड्दैनन् ।’ 

पहाडबाबाको विश्वास छ, यता भगवान्को आराधना गर्दा उता घरपरिवारलाई भगवान्ले हेर्छ । कमरेड बनेर बदल्न नपाएको जिन्दगी भगवान्को शरणमा परेपछि बदलिन्छ । कमरेडहरूले जस्तै भगवान्ले पनि धोका दिए भने ? त्यसपछि उनी बोलेनन् । निकै बेर बोलेनन् । अगाडि राखेको भगवान्का तस्बिर नियाले । सल्किँदै गरेको अगरबत्तीको धुवाँलाई गहिरो गरी हेरे । अनि भने, ‘नेताले झुटो बोल्छ, तर भगवान्ले कहिल्यै झुटो बोल्दैन ।’

०००

पहाडबाबाको तीन अध्यायको जीवनकहानी सुन्दासुन्दै साँझ प¥यो । झिँझा गाउँमा साँझका बत्ती बल्न थाले । साइकलको किरिङकिरिङ आवाज कतैबाट आइरहेको थियो । उनको कुकुरले उसैगरी ढोकामा पहरा दिइरहेको थियो । हामी बाहिरिएपछि कुकुरले पुच्छर हल्लायो । पहाडबाबाको नजिकै गएर कुकुर लुटपुटियो । पहाडबाबाले कुकुरसँग हात मिलाए । अनि भने, ‘म भिक्षा लिन गाउँ जाँदा यो कुकुरले कुटी रुँघेर बस्छ ।’ 

पहाडबाबा पोखरीको माथिल्लो किनारसम्म बिदाइ गर्न आए । पछिपछि थियो कुकुर । घाम डुबिसकेको पश्चिम दिशातिर अघि बढिरहँदा पहाडबाबा कुटीतिर लम्किँदै थिए । पछिपछि थियो कुकुर पनि । अलि तल पुगेर पहाडबाबाले चर्को स्वरमा भने, ‘मलाई चिन्ने साथीहरू भेट्नुभयो भने सोधेको छु भनिदिनू है ।’