• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपा दाहाल
२०७६ माघ २५ शनिबार ०८:२६:००
समाज

साली कसरी घरवाली ?

२०७६ माघ २५ शनिबार ०८:२६:००
दीपा दाहाल

‘ए ससुरा बा मलाई साली मन पर्‍यो ।’ 

पछिल्लो केही समय बजारमा चलेको गीत हो यो । गीतमा के छ र यति चर्चित भयो वा चल्यो ? संगीतबारे मलाई उति साह्रो ज्ञान त छैन, तर श्रोताको नाताले आफूले सुन्ने खालका गीतलाई राम्रा, नराम्रा वा ठीकै कुन श्रेणीका हुन् ? छुट्याउने क्षमता भने राख्छु ।

यो गीत स्वर, शब्द, संगीतका हिसाबले यति हिट भएको हो त ? या यसमा सबै कुराको उत्कृष्ट संयोजन छ ? मलाई लागेको कुरा साली शब्द र त्यसलाई भिनाजुहरूले गर्ने मजाकको मनोविज्ञानले दिएको बोनस मात्रै यो गीतको चर्चा हो । गीतबाट ‘साली’ शब्द हटाइदिऊँ !

ए ससुरा बा मलाई ‘छोरी’ मन प-यो ।
योसँगै सालिका लागि प्रयोग गरिएका अन्य शब्द 
पनि हटाइदिऊँ ।
‘सानी (साली) तिम्रो जोबन कल्ले लाने हो’

जवाफ पनि उसैगरी सच्याएर हेर्‍यौँ भने थाहा हुन्छ । यसमा चलनचल्तीका गीतमा भन्दा केही फरक छैन । स्वर र संगीत सुन्दा मेरा कानले पनि औसत आनन्द मानेकै हुन् । गीतको भिडियो पनि राम्रै छ । एउटा ज्वाइँ ससुराली आएर साली मन प¥यो भन्दै नाच्छ । परिवार, आफन्त, छिमेकी सबै थपडी बजाएर हौस्याइरहेका हुन्छन् । यो दृश्य कसरी चुपचाप मन पराउन सकिन्छ ? 
गीत, उखान, भनाइ स्थापित मान्यतालाई जोगाइराख्ने खोल हुन् । मेरो आपत्ति यो गीतसँग मात्रै होइन । योभन्दा हजारौँ वर्षअघिदेखि चलिआएको साली–भेनाको थेत्तरो साइनोसँग पनि हो । 
‘ए ससुरा बा मलाई देवर मन पर्‍यो !’ 
यसखाले गीतमा कुनै बुहारीलाई नाचेको कल्पना गरौँ । मैले यही कुरा सामाजिक सञ्जालमा पोस्ट गरेकी थिएँ । त्यसमा पाएको प्रतिक्रियाले चकित पा¥यो । धेरैले भनेका थिए–
कति ठूलो साहस गर्नु भएको ? 
धन्यवाद ! शुभकामना ! सलाम ! 
मैले अपेक्षा गरेकी थिएँ– केही त गाली पनि आउलान् ! सुन्न र सहन पनि तयार थिएँ । तर, उल्का भयो । एउटै पनि गाली आएन । त्यो मैले साली शब्दमाथिको मजाकलाई दिएको झापड मात्र थियो । दिमागमा आउनेबित्तिकै फ्याट्ट स्टाटस लेखेकी थिएँ । कमेन्टमा आँट, साहसको कुरा देखेर फत्रक्क गलेकी छु । 

हामीले अलि बढी स्वतन्त्र महसुस गर्न पाउने ठाउँ हो सामाजिक सञ्जाल । तर, यति कुरा भन्नलाई अझै पनि धेरै दिदी–बहिनी स्वतन्त्र रहेनछन् । कति दुःखद कुरा ! 

कमेन्टमै कतिले आफू देवर हुँ भनेर चिनाए । यही कुरा भिनाजुले भन्दा सालीहरू छिल्लिने भिनाजुसँग जोगिन खोज्छन् । तर, भाउजूले भन्दा त ज्ञात–अज्ञात देवर पनि चिनिन आउँदा रहेछन् । यसले हाम्रो सामाजिक मनोवृत्ति छर्लंग हुन्छ । 

एक–दुईवटा राम्रा तर्क पनि पाएँ । ती थिए– के एउटा अतिवादको उपचार अर्को अतिवादले गर्ने ? अर्को, कुकुरले खुट्टा टोक्यो भनेर कुकुरकै खुट्टा टोकिदिने ? 
भैरव अर्यालको ‘जय भोलि’ निबन्ध पढेर कसैले उनलाई भोलिवादी लेखक भन्छ भने त्यो उसको समस्या हो । अर्यालको होइन । 

आमिर खानसँगको अन्तर्वार्तामा कमला भासिनले भनेकी छिन्– तपाईंलाई पितृसत्ताको विपरीतार्थक शब्द के हो भन्ने लाग्छ ? मातृसत्ता ? उनी भद्र तरिकाले बुझाउन खोज्छिन् । हामी यहीँनेर गलत छौँ । पितृसत्ताको विपरीतार्थक शब्द समानता हो । 

म उनको विचारसँग पूर्णतः सहमत छु । मलाई देवर–भाउजूको जस्तै साली–भेनाको सम्बन्ध पनि पवित्र भएको हेर्न मन छ । 

०००

‘एउटा नेपाली गीतले अलिकति चर्चा पाउँदा यतिसारो खेदो गर्नुपर्ने ?’ एकजना संगीतप्रेमी (सालीप्रेमी)ले प्वाक्क सोधिहाले । उनलाई मेरो पनि प्रश्न थियो । जवाफ 
नदिई हिँडे । 
जन–जनको जिब्रोमा झुन्डिने गीतले लैंगिक विभेदको पक्षपोषण गर्न मिल्छ ? साहित्य, कला, संगीतको सामाजिक उत्तरदायित्व हुन्छ कि हुँदैन ? साँच्चिकै मजाक मात्रै भएको भए पाइन्थ्यो । तर, यहाँ त जुगौँदेखि सालीलाई भिनाजुको पेवाजस्तो मानिँदै आइएको छ । सालीमाथिको मजाकलाई किन सामान्यीकरण गरिन्छ ? के समाज भनेको पुरुष मात्रै हो ? 

यहाँ जुगौँदेखि सालीलाई भिनाजुको पेवाजस्तो मानिँदै आइएको छ । सालीमाथिको मजाकलाई किन सामान्यीकरण गरिन्छ ? के समाज भनेको पुरुष मात्रै हो ?

 

 


हाम्रो समाजले आज पनि सालीलाई ब्याज र श्रीमतीलाई मुद्दती खाता ठानिरहेको छ ।              
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिनुपर्‍यो । पद छोड्ने वेलामा उनले भनेको एउटा वाक्य नै काफी छ– ‘राजसंस्थाभन्दा ठूलो पितृसत्ता रहेछ ।’ महिलामाथिको राज्यको दृष्टिलाई उनको अभिव्यक्तिले प्रमाणित गर्छ । 
सानै छँदा बुबा, काका, दाजुहरूबाट सिकेको सायरी कण्ठ गरेँ र साथीलाई पनि सुनाएँ : 
उकाली होस् या ओराली होस्
बीचमा एउटा ससुराली होस् 
काली होस् या गोरी होस् 
ससुरालीमा एउटी साली होस् !

उतिवेला जानेका धेरै सायरीहरू याद छैनन् । योचाहिँ मेरो मानसपटलबाट मेटिएन । केही वर्षअघि पूर्वप्राथमिक स्कुलमा पढाउँथे । नर्सरीमा पढ्ने एउटा बच्चाले सधैँ यो सायरी भन्ने गथ्र्यो । उसलाई हजुरबुबाले सिकाउनुभएको रे !  साथीहरूले फेरि भन न, फेरि भन भन्दा कम्ता भाउ बढ्दैनथ्यो । ऊ पनि चिच्याइ–चिच्याइ सुनाउँथ्यो सानोमा मैलेजस्तै । केही दिनमै कक्षाभरिका केटाकेटीले सिके । सायद तिनले पनि अब आजन्म बिर्सनेछैनन् । 

मैले चिनेका एकजना दाइको कुरा पनि यही मेसोमा सम्झन्छु । क्याम्पस पढ्दै गरेका दुई छोराका बाबु हुन् उनी । भाउजू रूप, गुण, कर्म हरेक कुराले उत्कृष्ट छिन् । तुलना गर्नु गलत हो, तर पनि दिमागमा आइहाल्थ्यो–‘कसरी बस्छिन् होला यी भाउजू हेर्दैको फोहोरी, जगल्टे यो दाइसँग ?’

दाइ एक दिन हाम्रो घर आएका थिए । कुरा गर्दा गर्दै जुरुक्क उठेर हिँडे ।  पछि पो थाहाभयो भाउजू देखेर भागेका रहेछन् । 

म अवाक भएर भाउजूको कुरा सुनिरहेँ । घरमा अगाडिदेखि नै अर्की ल्याउँछु भनेर निहुँ खोजिरहँदा रहेछन् । ससुराली गएको भोलिपल्ट बिहान उठेर ससुरालाई तिम्री कान्छी छोरी देऊ भनेर मागेछन् । ज्वाइँले ठट्टा  गरेको हो भनेर ससुराले एकछिन् वास्ता गरेनन् रे ! समाजले ठट्टालाई रोकेको भए सालीलाई घरवाली बनाउने हिम्मत ती दाइमा आउने थिएन ।

उनले असली रूप देखाएछन् । ससुरालीले उनलाई कोठामा थुनेर राखेछन् । भाउजूलाई खबर गरेछन् । भाउजूले घचेट्दै हिजो मात्रै घर ल्याएकी रहिछन् । 
आज फेरि साली ल्याउँछु भन्दै भाउजूसँग बाझेर हिँडेका रहेछन् । ‘एकछिन् बाँधेर डर देखाउनुप¥यो भनेर दुई–चारजना मान्छे खोज्न आएकी थिएँ । यतै पो मरेको रैछ । पखोस् न’– भाउजू बर्बराउँदै हिँडिन् ।

केही दिनपछि समाजले यो घटना बिर्सिदियो । साली मनपराउँछु भन्ने ज्वाइँ र भिनाजुलाई कुट्न तयार साला, जेठान, ससुरा यही गीतमा नाचिदिए । क्या गज्जब ! 
हाम्रो मगजले बनिबनाउ धारणाभन्दा माथि उठ्न 

दिँदैन ? हामी किन प्रश्न गर्दैनौँ ?  

मेरी एकजना साथी थिइन् । उनका दुईजना आमा छिन् भन्ने थाहा थियो । पछि थाहा भयो । दुईजना आमा दिदीबहिनी हुनुहँुदोरहेछ । जेठो दाजु जन्मेपछि बाउले सुत्केरी श्रीमती भेट्न जाँदा उनकी बहिनीलाई भगाएर घर ल्याएछन् । 

उहिलेको कुरा खुइलेर गयो भन्ने कतिपयलाई लाग्ला । आजभन्दा दश वर्षअगाडिको कुरा हो । मेरी स्कुले साथीको बिहे भयो । बिहे गरेको दुई वर्षमा ऊ आमा भई । दिदीलाई सघाउन बहिनी गइन । भिनाजुले बुझेको थियो ‘साली आधा घरवाली’ । १६ वर्षे कलिली केटीलाई उसले साली मात्रै देख्यो । न श्रीमती सम्झियो न भर्खर जन्मेको सन्तान, न कानुन । 

समाजको त कुरै नगरौँ । ‘हामी यस्तै त हो नि ब्रो’ भनेर उम्किँदा भइहाल्छ । साथीको माइतीले केही समय ज्वाइँसँग बोलचाल बन्द गरे, बस् !  

०००

एक दिन पिकनिक जाँदा गेटभित्र छिर्न नभ्याउँदै भिनाजुले भन्नुभयो ‘आज त सालीसँग नाच्ने हो ।’ छोराछोरी (दिदीका)ले थपे ‘सानी हजुर त बाबाको साली हो । बाबाले भन्नुभको । साली मन पर्‍यो गीतमा हजुर र बाबा नाच्ने अरे !’ यो गीतको कृपाले उनीहरूले बाबा र मेरो साइनो नि थाहा पाए । तर, जसरी थाहा पाए के सही थाहा पाए ? 

सालीलाई जिस्क्याउँदै लेखिएको यो पहिलो गीत भने होइन । हामीकहाँ यस्ता सुपरहिट गीत र उखान अरू पनि छन् । ससुरालीमा, ख्याल–ख्यालमै दिलबस्यो कान्छी सालीमा ।

रोधीघरमा सालीलाई भेटियो, के छ खबर ।

‘गुन्द्रुक पकाउनु पर्दैन, सालीलाई फकाउनुपर्दैन’ । आदि ।