• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भेषराज बुढाथोकी
२०७६ माघ २५ शनिबार ०९:०८:००
सम्झना

भरिया बालाई सम्झेर

२०७६ माघ २५ शनिबार ०९:०८:००
भेषराज बुढाथोकी

अँध्यारो झन्–झन् छिप्पिँदै गयो । घरअगाडिको चौतारोमा चरा सुत्ने तरखरमा थिए । गोठमा बस्तुभाउलाई घाँस हालेर आमा फर्किँदै थिइन् । आँगनमा गुच्चा खेलेर बसेका साना बालबालिका आ–आफ्ना घर फर्किने तरखरमा थिए । पल्लाघरे भाउजू पिठ्यूँमा डोको र डोकोमाथि भुन्टे बोकेर घर आइपुगिन् । घरछेउको हर्कबहादुरको चियापसलमा गाउँले चिया पिउँदै साँझ सात बजेको समाचारका लागि पर्खेका थिए, रेडियोमा ।

धनजिते काकाले हातमा चियाको तातो गिलास लिई एउटा खुट्टामाथि अर्को खुट्टा चढाउँदै बलवीरे काकालाई सोधे, ‘आज हो कि भोलि ठूलाघरे मास्टर आउँदै छ रे । त्यहीँ सँगै गहिराघरे प्रकाश, भुवाघरे माइलो पनि आउने भन्ने हल्ला छ त । तैँले कतै सुन्या हो कि बलवीरे ?’ ‘नाइ हो रे । मैँले त्यसो हल्ला काहीँ सुन्याको आछी ।’ बलवीरे काका बोले । 

‘हो त नि । मास्टर, माइलो, तारादाइ, प्रकाश यी चारजना । आज रातसम्म पुग्दा छन् कि नतरे भोलि सम्म त पुग्न्या हुन् ।’ गाइँगुइँको आवाज सुनेर तुला काका बोले । म दलिनमा बसेर गृहकार्य गरिरहेको थिएँ । मसँगै बहिनी पारू पनि पढिराखेकी थिई ।

बाजुरा, डोगडीमा मेरो घर । त्यहाँ बाले जति कक्षासम्म पढे जहिल्यै प्रथम हुन्थे रे । मेरा बा मेरा हजुरबा भन्दा दुई कक्षा बढी, मेरी आमाभन्दा तीन कक्षा बढी अर्थात् कक्षा पाँचसम्म पढेका रे । जहिल्यै प्रथम हुने भएकाले मेरा बुबालाई जसले पनि बोलाउँदा ‘मास्टर’ भन्ने रहेछन् । त्यसैले आजसम्म बुबाको नाम मास्टर हो । त्यो समय जागिर भनेकै मास्टर बन्नु हो भन्ने धारणा गाउँलेहरूमा रहेछ । 

पूर्णिमाको दिन, कार्तिक महिनाको समय । जून उदाउन सुरु भइसकेको थियो । मान्छे, घाम र जूनमा एउटा कुरामा फरक छ । घाम र जून एकपटक अस्ताएपछि फेरि उदाउँछ, तर मान्छे एकपटक अस्ताएपछि सधैँभरिलाई अस्ताउँछ । माधवप्रसाद घिमिरेले भनेजस्तो, ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा, कहिले भेट होला ए राजै यो जिन्दगानीमा !’ 

गाउँको दुईतिरबाट खोला बग्छ । दुवै खोला मिलेर तलतिर दोभान बनेको छ । दोभानपारिको बाटो भएर परदेशी घरदेश आउँछन्, परदेश जान्छन् । त्यो ठाउँलाई ‘ढोगदिनु’ भन्छन् । जहाँ छुटिने र भेटिने वेला सानोले ठूलोलाई ढोग्ने गरिन्छ । जहाँ घरदेशी र परदेशीको भेट हुन्छ ।

वर्षौँपछि परदेशबाट फर्किएका बाले आशिष दिँदै भने, ‘मुइले जसो हरी मेरा छोराले विदेश झानु नपडोस् । मेरा छोरालाई पढ्न्या लेख्न्या सद्बुद्धि दिइहेल भगवान् ।’

म सानो हुँदा आमालाई सोध्थेँ, ‘हाम्रो बुबा खोइ ?’ आमाले त्यो ‘ढोगदिनु’ ठाउँलाई देखाउँदै भन्थिन्, ‘तेरा बुबा ऊ... त्यो डाँडोपारिको बाटो भईकन परदेश गयाका छन् । अस्ति नरबहादुरले भन्याको छियो । अब छाँटाई आई झान्या हुन रे । राम्ररी बस्नु भन्याको छ रे !’ त्यस्ता अस्तिहरू आजसम्म यति धेरै आए, यति धेरै गए तर बा आजसम्म फर्किएका छैनन् । 

मेरो सानी बहिनी छे, पारू । ऊ आमाको पेटमा हुँदा नै बा परदेश गएको कुरा मैँले आमाबाट थाहा पाएँ । कहिलेकाहीँ डाँडाघरे ठूलाबा पनि भन्थे, ‘तेरो बुबा, तेरी भाउ भयाको साल परदेश गयाको हो । मुत्याँपछि झिक्कै खेरी गईकन आया । तेरो बुबा आउँदैन भन्दो । अब यही सालका हिउँद आउला कि !’

म त्यसवेला कक्षा आठमा पढ्थेँ । १३ वर्षको थिएँ । मेरी बहिनी पारू दश वर्षकी थिई । यसर्थ, मैले मेरा बालाई आठ वर्षपछि देख्न पाउँदै थिएँ । खुसी थिएँ । उत्सुक पनि थिएँ । किनकि बाको हुलिया त्यसवेलासम्म देखेको थिइनँ । मेरा बा कस्ता छन् मलाई थाहा थिएन । मलाई यत्ति थाहा थियो, मेरो पनि बा छन्, म पनि बा भएको बच्चो हुँ ।

दिउँसो चियापसलमा सुनेको गाइँगुइँले एक कान दोकान मैदान बनायो । बा घरदेश आउने पक्का भयो । बा आउने भएपछि आमाले त्यहीअनुरूप घरको तयारी थालिन् । बज्यैको सल्लाहअनुसार आमाले ढोकामा घैलाभरि पानी राखिन् । सुगाडाको डिलमा रोपेको हजारी फूलको बोटबाट केही थुंगा फूल टिपेर ल्याउन पारूलाई आमालाई अह्राइन् । त्यो फूल पानी भरिएको घैलामा राखिन्, आमाले । फूलछेउमा दुबो पनि राखिन् । गाउँमा दुबोले मेलमिलापलाई दीर्घकालीन बनाउँछ भन्ने मान्यता छ । आमाले घैलालाई चारैतिरबाट रंगिन बनाइन् । घर धेरै वर्षपछि रंगीन देखेँ । आमा खुसीले मुस्कुराएको कहिल्यै देखेको थिइनँ । त्यो पल आमाको मुहारमा एक किसिमको चमक देखेँ । आमाको ओठमा खुसी नाचिरहेझैँ देखिन्थ्यो । 

आमाले अक्षता तयार पारिन् । हामी बाको प्रतीक्षामा रह्यौँ । बा आउने भन्ज्याङतिर एकोहोरो हेरिरह्यौँ । झमक्कै साँझ प-यो । झ्याउँकीरी कराउन थाल्यो । म निराश पनि भइसकेको थिएँ । तर, आमाको मुहारमा खुसी नाचिरहेकै थियो । तल चौलानीको किनारै–किनार चारवटा टर्च बाल्दै मान्छे हाम्रै घरतिर आइरहेको देखियो । हामी सबैको अनुहारमा खुसी दौडियो । एकोहोरो टर्च बलिरहेकोतिर हेरिरह्यौँ । दोबाटोमा आइपुगेपछि चारवटा टर्च दुईतिर बाँडियो । दुईवटा लाइट हाम्रो घरतिर सोझियो ।

दुईवटा लाइट पल्लो गाउँतिर सोझियो । दुईवटा लाइट फटाफट हाम्रो घरतिर सोझियो । अलि नजिक आइपुगेपछि देखियो, एकजनाले मोटोघाटो अधबैँसे मान्छेले पिठ्यूँमा बाकस बोकेको छ । बाकस बोकेको मान्छे हाम्रो घरको आँगनमा आइपुग्यो । मैले अनुमान गरेँ, उनी नै हो मेरो बा । जीवनमा पहिलोपटक बालाई देखेँ । बाले हजुरआमालाई ढोगे । बालाई आमाले ढोगिन् । मैले बालाई ढोगेँ । वर्षौँपछि परदेशबाट फर्किएका बाले आशिष दिँदै भने, ‘मुइले जसो हरी मेरा छोराले बिदेश झानु नपडोस् । मेरा छोरालाई पढ्न्या लेख्न्या सद्बुद्धि दिइएल भगवान् । म तेराई घाउको किरो त हुँ । उसले सुच्याको सब्बै पुगाइदिएइ भगवान् ।’

बा आएपछि घरको अनुहार बदलियो । बा खुसी भए । आमा पनि खुसी छिन् । तर, आमाको दुःख घटेको छैन । मैनबत्तीजस्तै आफू जलेर अरूलाई उज्यालो दिइरहेकी छिन् आमा । मैले देखेँ, बाको निधारमाथि गहिरो दाग । त्यो दाग भारी बोक्दा–बोक्दा बसेको नाम्लोको दाग थियो । मैले धेरै दिनपछि थाहा पाएँ, मेरा बा भरिया रहेछन् । बा परदेशमा भारी बोक्दारहेछन् । 

आज म घरदेशबाट टाढा परदेशमा छु । बंगलादेशमा पढ्न आएको छु । मेरो यहाँसम्मको यात्रामा बाको सपना जोडिएको छ, विपना जोडिएको छ । बाको निधारमा बसेको नाम्लोको दाग मेट्ने जिम्मा अब मेरो काँधमा छ । भरियाबाको निधारको दाग एक दिन म अवश्य मेट्नेछु ।