संस्कृत वाङ्मयमा ‘चौँसट्ठी कला’ को प्रसङ्ग् सर्वत्र पाइन्छ । यो लेख तिनै ‘चौँसट्ठी’ ओटा कला के के रहेछन् अनि हाम्रो संस्कृतिमा तिनीहरूको कहाँ के काम रहेछ भन्ने खुल्दुलीले गर्दा नै जन्मेको हो । मलाई हाम्रो वैदिक गुरुकुलीय शिक्षा कस्तो थियो भन्ने कुरो खोज्न मन लाग्यो । चौँसट्ठी कला विषयको यो लेख त्यो गुरुकुलीय शिक्षा बारे गरिएको अनुसन्धानकै पूरक भाग हो ।
गुरुकुलीय शिक्षा वैदिक शिक्षा प्रणाली हो । वेद चार ओटा (ऋग्वेद, यजुर्वेद, साम वेद र अथर्व वेद) छन् । तिनीहरू मध्ये ‘ऋग्वेद’ सबै भन्दा पुरानो हो भने, ‘यजुर्वेद’ सबै भन्दा कान्छो होला । ‘शुक्ल यजुर्वेद’ र ‘कृष्ण यजुर्वेद’ गरी यजुर्वेदका संहिता दुई किसिमका छन् । कृष्ण यजुर्वेद दक्षिण भारतमा प्रचलित छ भने, शुक्ल यजुर्वेद चाहिँ उत्तर भारतमा प्रचलित छ । शुक्ल यजुर्वेदको ‘वाजसनेयी संहिता’ जनक राजाका सभा पण्डित याज्ञवल्क्यले बनाएको कुरो ‘शतपथ ब्राह्मण’ मा लेखिएको छ । गार्गी र मैत्रेयी नामका विदुषीहरू याज्ञवल्क्यकै पत्नी हुन् । ऋग्वेदको नवौँ मण्डलबाट गायनका लागि छुट्याइएका ऋचाहरूको ठुलो अंश मिलेर साम वेद बनेको मानिन्छ । हेल्सिङ्की विश्व विद्यालयका भारत विशेषज्ञ अस्को पर्पोला (२०१५ इ, ‘रुट्स अफ हिन्दुइज्म’) के भन्दछन् भने, ऋग्वेद र ‘अथर्व वेद’ एउटै समयमा बनेको हो । यो वेद अङ्गिरा ऋषिका दुइटा सन्तान ‘अथर्वा’ र ‘भृगु’ का खलकहरूले रचेको हो । पुराणहरूमा अङ्गिराका खलक (आङ्गिरस) र उनीहरूले रचेको ‘अथर्व’ वेद दुइटैलाई त्यति भाउ दिएको देखिँदैन (डा. राजबली पाण्डेय, १९७८ इ, ‘हिन्दू धर्मकोश’) अनि यिनीहरूका सन्तानले असुरहरूको पक्ष लिएको समेत देखिन्छ । लेकाली आर्य र ‘अन्त्यज’हरूको वेद अथर्व वेद हो भने, बेँसीका आर्यहरूको वेद ऋग्वेद हो । अध्ययन गर्दा के बुझिन्छ भने, चौँसट्ठी कला सीमान्त प्रदेशका लेकाली आर्य र अवैदिक अनार्यहरूका परम्पराबाट आएका लोक विद्या रहेछन् भने, अरू वेद र वैदिक साहित्य चाहिँ मैदानी र केन्द्रीय आर्यहरूका विद्या रहेछन् ।
खसान क्षेत्रका जनै नलगाउने ‘मतुवाली छेत्री’ (शक, खस, नाग, कुषाण, पिशाच, आदि) र भगवान् शिवलाई पनि ‘अथर्व वेद’ मा ‘व्रात्य’ भनिएको छ । उत्तर वैदिक साहित्यमा वैदिक धर्म नमान्ने आर्यहरूलाई ‘व्रात्य’ भनिएको छ । ‘सामवेदीय गृह्यसूत्र’, ‘सामवेदीय ब्राह्मण’, ‘पञ्चविंश ब्राह्मण’, ‘लाट्यायन श्रौतसूत्र’, आदि उत्तर वैदिक साहित्यमा कसरी त्यस्ता व्रात्यहरूलाई जनै लगाएर बाहुन बनाउने भन्ने औपचारिता पढ्न पाइन्छ । यजुर्वेदको ‘पुरुषसूक्त’मा आर्यहरूका चार ओटा जात लेखिएको भए पनि आधारभूत रूपमा वैदिक कालमा ‘ब्राह्मण’ (आर्य) र ‘शूद्र’ (अनार्य) गरी दुइटा जात मात्र थिए । आर्य भए पनि ‘व्रात्य’ चाहिँ शूद्र समान मानिन्थ्यो (पर्पोला, २०१५ इ)।
‘चौँसट्ठी कला’ अनार्य र लेकाली शूद्रहरूले लोक परम्पराबाट विकास गरेका ज्ञान र सिप रहेछन्, तिनीहरू नै पौराणिक कालमा हिन्दु संस्कृतिका अङ्ग बनेछन्
वैदिक, उत्तर वैदिक र पौराणिक कालमा अनुलोम (ठुला जातको केटो र साना जातकी केटी) र प्रतिलोम (साना जातको केटो र ठुला ठुला जातकी केटी) दुवै किसिमको बिहेमा नाकनिक गर्ने चलन थिएन । जात जातका बिचको पर्खाल र नाकनिक मध्य कालको विकास मात्र हो । वैदिक र पौराणिक आख्यानमा अर्काका छोरी बिटुला हुँदैनन् भन्ने नै प्रमाणित हुन्छ । अन्तर्जातीय बिहे आर्यहरू भित्र मात्र होइन, आर्य र अनार्य बिचमा पनि खुल्लमखुल्ला थियो भन्ने असङ्ख्य पौराणिक आख्यानका प्रमाण पाइन्छन् । यसरी वैदिक र पौराणिक कालमा रक्त मिश्रणलाई छुट थियो, भातपानी बाराबार थिएन । पुरुष र स्त्री बिचको त्यस्तो प्रागितिहासिक छुटले गर्दा थुप्रै वैदिक, उत्तर वैदिक र पौराणिक आर्यहरूका परिवारमा अनार्य पत्नीहरू हुन्थे । त्यस्तो भए पछि आर्यहरूको मावली र ससुरालीका प्राविधिक सिपहरू वैदिक सिप भन्दा फरक हुँदा हुँदै आर्य परिवारमा अनिवार्य हुँदै गए (‘हिन्दू धर्मकोश’)। यसरी ‘चौँसट्ठी कला’ आधारभूत रूपमा वैदिक आर्यहरूका विद्या नभए पनि आर्य संस्कृतिमा क्रमशः पस्तै गए अनि आर्यहरूकै गौरवका विषय भए । मिसेल फुको (१९८५ इ०) के भन्दछन् भने, हरेक जातिले अर्कालाई जित्ता हार्नेको सांस्कृतिक सम्पदालाई आफ्नो बनाउँछ र गौरव गर्छ । आर्यहरूको पुराताŒिवक इतिहास (कुज्मिना, २००७ इ, ‘ओरिजिन्स अफ इन्डो–इरानियन्स’) अनि चीन, मङ्गोलिया (डी कस्मो, २००२, ‘एन्सिएन्ट चाइना एन्ड इट्स एनेमिज’) र ग्रिसको इतिहास हेर्दा पनि यो कुरो मिल्छ ।
‘शुक्र नीति’ (४।२४) मा ‘विद्या’ र ‘कला’ बिचको फरक छुट्ट्याउँदै के भनिएको छ भने, ‘विद्या’ चाहिँ भाषाबाटै व्यक्त गर्न सकिन्छ, तर ‘कला’ को अभिव्यक्ति चाहिँ हात नचलाई हुँदैन । शुक्र नीति (४।२३) मै अर्को के पनि भनिएको छ भने, विद्या पनि असङ्ख्य छन्, कला पनि असङ्ख्य छन्, तर मोटामोटी रूपमा बत्तिस ओटा विद्या र चौँसट्ठी ओटा कला मुख्य छन् भन्ने चलन छ । यस भनाइबाट के बुझिन्छ भने, चौँसट्ठी ओटा कला भन्ने परम्परा मात्र रहेछ, गन्नै थाल्यो भने चाहिँ कला असङ्ख्य रहेछन् । यसैले गर्दा वात्स्यायनको ‘कामसूत्र’को ‘जयमङ्गल’ टीका (३।१४) मा चौँसट्ठी ओटा कला (कर्माश्रया २४, द्यूताश्रया २०, शयनोपचारिका १६) को जुन सूची पाइन्छ, त्यही अन्यत्र पाइँदैन । बौद्ध ग्रन्थ ‘ललितविस्तर’ (शिल्पसंदर्शनपरिवर्त, ४८) मा चाहिँ छयानब्बे किसिमका ‘शिल्प’ को सूची दिइएको छ । यसरी के देखिन्छ भने, समय क्रममा आर्यहरूका विद्या र कलाको सङ्ख्या बढ्दै गएछ ।
आर्यहरूले वैदिक धर्म इरानी र भारतीय आर्य नछुट्टिँदै विकास गर्न लागेको बुझिन्छ, किन भने इरानी आर्यहरूको धर्म ग्रन्थ ‘अवेस्ता’ (कार्ल जेल्ड्नर, १९९६ इ, ‘अवेस्ता, द सेक्रेड बुक अफ द पार्सीज’) र भारतीय आर्यको धर्म ग्रन्थ ‘ऋग्वेद’का देउता, विश्वास र मिथकहरू झन्डै मिल्छन् । कुज्मिना (२००७ इ) ले त्यो आर्यहरू कजाकस्तानबाट दक्षिण तुर्कमेनिया र अफगानिस्तान पुगेको वेला (इपू० १५००–१३००) भन्ने अड्कल गरेकी छिन् । इरानी आर्यहरू उत्तर तुर्कमेनियाबाट इरान छिरे होलान्, भारतीय आर्यहरू दक्षिण तुर्कमेनियाबाट अफगानिस्तान छिरे होलान्, अथर्व वेद रच्ने लेकाली आर्य चाहिँ मैदानी आर्यहरूले विस्थापित गरेर क्रमशः खोलै खोला हिमाच्छादित लेकमा उक्ले होलान् । वैदिक गुरुकुलीय शिक्षा त्यहीँको मैदानबाट सुरु भयो होला । गुरुकुलीय शिक्षा अरूका छोरी र शूद्रलाई चाहिँ दिइँदैनथ्यो । अरूका छोरीहरूले र शूद्रहरूले आफ्नै कुलका परम्परागत सिप र अनुशासन आमा, परिवार, छिमेकी र समाजबाट मात्रै लिनु पथ्र्याे । वैदिक गुरुकुलका लागि शूद्र पनि दुई किसिमका हुन्थे, वैदिक धर्म नमान्ने आर्य (व्रात्य) र अनार्य ‘अन्त्यज’ (आर्यहरूको नेटो पारि जन्मेकाहरू) । गुरुका छोरीहरू त ‘अन्तेवासी’ विद्यार्थीहरूले सिक्ता सँगै सिक्थे, तर अरूका छोरीलाई नसिकाउने कारण एउटा त अनार्य र शूद्रका छोरीलाई पनि बाहुनी बनाउन मिल्थ्यो, तर पत्नीहरूले वैदिक धर्मका गोप्यता माइती गएर सुइँको दिए भने, आफ्नै विनाश हुन सक्थ्यो । यसरी वैदिक शिक्षा गुरुका छोरीले मात्र पाउन सक्थे, अरूका छोरीले लोकवार्ता नै सिक्नु पथ्र्याे ।
पहिले चार जात मध्ये ब्राह्मण (वैदिक) र शूद्र (अवैदिक) दुइटा मात्र थिए । क्षत्रिय र वैश्य ब्राह्मणकै उप विभाजन हुन् । वैदिक कालमा अन्त्यजहरूलाई वैदिक धर्ममा प्रवेश गराएर (शूद्रबाट ‘सच्छूद्र’, सच्छूद्रबाट ‘वैश्य’, वैश्यबाट ‘क्षत्रिय’ र क्षत्रियबाट) ब्राह्मण बनाउने प्रक्रिया थियो, तर पछि कट्टरता बढ्दै गयो र त्यस्तो प्रक्रिया रोकियो (‘हिन्दू धर्मकोश, पृ० ३५)। विश्लेषण गर्दा के देखिन्छ भने, ‘चौँसट्ठी कला’ अनार्य र लेकाली शूद्रहरूले लोक परम्पराबाट विकास गरेका ज्ञान र सिप रहेछन्, तिनीहरू नै पौराणिक कालमा हिन्दु संस्कृतिका अङ्ग बनेछन् भन्ने बुझिन्छ । शुक्र नीति अनुसार त्यस्ता लोकवार्ता र लोक साहित्यलाई विद्या नभनेर ‘कला’ भन्नु पर्ने देखिन्छ ।
‘याज्ञवल्क्य स्मृति’ (१।१।३) मा चौध विद्या (४ ओटा वेद, ६ ओटा वेदाङ्ग, पुराण, न्याय, मीमांसा र धर्मशास्त्र) र चौँसट्ठी कलाको उल्लेख छ । ‘कामसूत्र’को ‘जयमङ्गल टीका’, ‘ललितविस्तर’ र डा० शिवानी यादव (२००० इ, ‘पुराणान्तर्गत प्राचीन भारतीय शिक्षा पद्धति’, अध्याय ४, १४२–१९१, बुन्देलखण्ड विश्व विद्यालय) को अनुसन्धानका आधारमा परम्परागत भारतीय कलाहरूमा अचेल जसलाई ‘सिप’, ‘प्रविधि’, ‘विज्ञान’ र ‘टुनामुना’ भनिन्छ, तिनीहरूको गन्ती पनि ‘कला’ मै गरिएको पाइन्छ, जस्तै
१. यौन आकर्षण र उद्दीपन बढाउने सिप ः (कामशास्त्र, अरूलाई आकर्षित गर्ने, रिसाए जस्तो र डाड गरे जस्तो देखाउने, नखरा पार्ने, कुरूपलाई सुन्दर बनाउने, पलङ सजाउने, खेलाँची गर्ने, दाँत, लुगा र मेदीले झैँ जिउ रङाउने, जलक्रीडा, चातुर्य)
२. शारीरिक सेवा ः (जिउ थिच्ने, सुमसुम्याउने, मालिस गर्ने)
३. शृङ्गार र सजावट ः (गरगहना बनाउने र लगाउने, पोसाक बनाउने र लगाउने, केशको सजावट, ऋतु अनुसार घर सजाउने, खाने कुरा सजाउने)
४. चित्रकारी र कालिगढी ः (बुट्टा, रङ्गेली, रङको ज्ञान, भुइँ सिँगार्ने, चामल धुलो र माटो रङाएर चित्र बनाउने)
५. खेल ः (जुवा खेल्ने, पासा खेल्ने, केटाकेटी खेलाउने, तित्रा, राँगा, कुखुरा, भेडा जुधाउने)
६. भाषिक सामथ्र्य ः (भाषिका र अरूका भाषा जान्ने, लिपि ज्ञान, राम्रा अक्षर लेख्ने, अर्काले बोले जस्तो स्वर पारेर बोल्न जान्ने, पाल्सी कुरा र कूट कुरा गर्न जान्ने, कुराको अर्थ दुहुने सामथ्र्य, पढ्न अप्ठ्यारा शब्द र वाक्यको तात्पर्य बुझ्न सक्ने, सुनेजानेको कुरो नबिर्सिने, चाख लाग्ने गरी किताब पढ्ने, कविता पढ्ने आकर्षक शैली, अन्ताक्षरी, गाउँ खाने कथा र अरू कथा जोड्न जान्ने, चाहेको मान्छेले मात्र बुझ्ने गरी लेख्न सक्ने, सबैसँग मीठो पारेर विनयपूर्वक बोल्ने शिष्टाचार, सुगा र मैनालाई बोली सिकाउने, कसैको कुरो सुनेर जस्ताको तस्तै दोहो¥याई दिने, व्याख्या गर्ने, वाचन र वक्तृत्व कला, दोहोरो अर्थ लाग्ने गरी बोल्न जान्ने, शब्दभण्डारको ज्ञान, सान बुझ्ने र गर्न सक्ने, स्मरण शक्ति बढाउने जुक्ति, अधुरा सूक्ति भर्ने सामथ्र्य, गुत्थी सुल्झाउने)
७. लोकवार्ता र लोक साहित्य
८. नृत्य, नाट्य मुद्रा, नाटक, अभिनय र मञ्चन
९. सङ्गीत : (बाजा बजाउने, जल वाद्य, गायन)
१०. साहित्य रचना : (छन्द ज्ञान, छन्द कवितामा होड गर्ने, काव्यालङ्कारको ज्ञान, समस्या पूर्ति, कुनै कवितामा छुटेको शब्द भर्ने, दोहोरी गीतमा झैँ अर्काको कुराको आशय बुझेर तुरुन्त कविता बनाउने सामथ्र्य, तुरुन्त जवाफ फर्काउन सक्ने, कथावाचन, सूक्ति ज्ञान)
११. चौरासी व्यञ्जन, खाद्य, मदिरा र अरू पेय पदार्थ बनाउने ः (रक्सी पार्ने, पाकशास्त्र, किसिम किसिमको सर्बत र रक्सी बनाउने, केटाकेटी खेलाउन जान्ने)।
१२. इतिहास र परम्पराको ज्ञान
१३. लोक विश्वास, टुनामुना : (शत्रु मराउने टुना, तन्त्र, लोक बुद्धि वा चातुर्य, चमत्कार, अल्पिने, चमत्कार गर्ने गोली बनाउन सक्ने सिद्धि, अर्काको जिउ भित्र आफ्नो आत्मा छिराउने टुना, अल्पिने टुना, खराउमा तान्त्रिक सिद्धि गर्न जान्ने, मुहुनी लगाउने, शकुन, सामुद्रिक, वैचक्षण्य, मायाजाल पन्छाउने, जादुगरी, बालखलाई बुढो जस्तो र बुढालाई बालख जस्तो पारेर भेस बदल्ने, जडीबुटी मिसाएर मन्त्र फुकेर शत्रुलाई हानि पु¥याउने, बादल र बिजुली जस्ता कुरा हेरेर भविष्यवाणी गर्ने, भविष्यवाणी गर्ने, भूतप्रेतको वैतालिक ज्ञान, भूत, प्रेत, आपत्ति भगाउने टुना, शुभाशुभ लक्षण)
१४. प्रविधि : (सिकार गर्ने, पाशुपाल्य, पशु तालिम, प्रस्तर कला, वास्तु (घर बनाउने), कृषि, बागबानी, माला उन्ने, बाढी, कुलो, नहरको ज्ञान, पातका कला, छालाका सर्दाम बनाउन जान्ने, हस्तिहाड कला, सिकर्मी काम, बेतका पिरा, आसन, डोकाडाला बुन्ने, पुस्तक सिउने, कुर्सी, मुढा, पलङ, आदि बनाउने कला, सिलाइ, बुनाइ, कटाइ, रङ बनाउने र लगाउने, धागा र डोरीका खेल, जाल निर्माण, पुष्प उद्यान, मट्टिकला, काष्ठ कला, मझेरीमा मोती, मणि र रत्न जड्ने, तिहारको जस्तो टीको लगाउन साँचो काटेर बुट्टा बनाउने, अत्तर र सुगन्धित धूप बनाउने, बाँसुरी बनाउन र बजाउन जान्ने, रत्न र मणि माणिक्यको रङ र गुणस्तर विषयमा जानकारी र सिप, खानी र खनिजको ज्ञान र परीक्षण, काँचो धातु शोधन गर्ने, छुट्याउने र तामासँग अरू धातु मिलाएर पित्तल, काँस र ढलोट बनाउने, धातु कला, फलामका औजार बनाउने, सुन, चाँदी र बहुमूल्य धातुको पारख, सुनका गहना बनाउने, मेसिन र कलपुर्जा बनाउने, सिक्का जाँच्ने, हातको सफाइ, चटक र फुर्ती, आगो निभाउने जुक्ति, समयको ज्ञान)
१५. विज्ञान : (अङ्क गणित, ओढार र दुलामा बस्ने जन्तुका विषयमा जानकारी, जन्तु विज्ञान, आरोग्य र औषधोपचार, नापतौल, मृत्युलाई झुक्याउने हठ योग, औषधिको सिद्धि, पशु चिकित्सा, कसरत, व्यायाम, योगाभ्यास, वृक्षायुर्वेद, सुँडिनी, पोषण, ओखतीमूलो)
१६. व्यापार कला
१७. युद्ध, सुरक्षा र रणकौशल : (हात्ती घोडा चढ्ने, रथ चलाउने, भेस बदल्ने, कुस्ती खेल्ने, छल गर्न जान्ने, बोली नचिनिने बनाउने, अर्कालाई जित्ने कला, हतियार चलाउने, लडाइँ गर्ने, धनुर्विद्या, व्यूहरचना, चोरी, ठगी)
यस्ता धेरै शिल्पहरूको खाँचो वैदिक आर्यहरूले अन्त्यज र अनार्यबाट टारे । वैवाहिक सम्बन्धबाट अनार्य कन्याहरू आर्यहरूका पत्नी र आमा हुन्थे । इतिहासमा दुइटा जाति जम्काभेट हुँदा व्यापार, युद्ध र लुट नै हुन्छ । जसले जित्यो, उसले हार्नेका छोरी बुहारी घिस्याई हाल्छ, तर त्यस्ता वैरीहरू अर्को पुस्तामा छोराछोरीका माननीय पितृ हुन्छन् । यसरी आर्यहरूका मझेरीमा अनार्य संस्कृति र अनार्यहरूका मझेरीमा आर्य संस्कृति पस्यो । ‘चौँसट्ठी कला’ चाहिँ अनार्य र अन्त्यजहरूका मझेरीबाट आर्यहरूका मझेरीमा पसे जस्तो बुझिन्छ ।