• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निमा घर्तीमगर, उसु खेलाडी
युवराज भट्टराई
२०७६ माघ २५ शनिबार १२:१३:००
खेल

सागको सुनौलो कथा 

२०७६ माघ २५ शनिबार १२:१३:००
युवराज भट्टराई

ब्रेक्जिट बहसमा अल्पमतमा परेर जब ब्रिटिस प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिए, एक पत्रकारले तिनलाई सोधेका थिए, ‘के तपाई अब इंग्लिस फुटबल टिम सम्हाल्नुहुन्छ ?’ मतलब के उनी अब इंग्लिस टिमको प्रशिक्षक बन्लान् त ? यी जेन्टलमेनको वास्तवमा फुटबलसँग कुनै लिनु–दिनु नै थिएन । त्यसैले यो एक अनपेक्षित प्रश्न थियो । किनकि इंग्लिस फुटबल टिमका प्रशिक्षकको मर्यादाक्रम बेलायती प्रधानमन्त्रीभन्दा माथि छ । यो बेलायतीहरूले खेलकुद, अझ फुटबलमाथि देखाएको एउटा सम्मान हो । भला जतिसुकै वेला बर्खास्तमा पर्न सक्ने प्रशिक्षक आफैँमा एउटा निरीह पात्र हो । 

त्यसो त अहिले सिंगो युरोपियन खेलकुद उदारवादी चिन्तनबाट प्रशिक्षित छ । प्रायः सबै लिगहरूको मोटो ‘नो रुम फर -यासिज्म’ छ । खेलाडी जतिसुकै कुशल किन नहोस्, ऊ लैंगिक र जातीय समानताको कुरामा संवेदनशील छैन भने उसको खेलजीवन धराशयी हुने निश्चित छ । खेलकुद र खेलजगत्प्रति राज्यहरू पनि उत्तिकै संवेदनशील देखिन्छन् ।

०००

नेपालले यसपालि साग खेलकुदको महाकुम्भ भव्यसँग आयोजना ग-यो । केही अपवादलाई छाड्ने हो भने यो साग गुनासो होइन, गर्व गर्न लायक भएर बिदा भयो । आयोजकका रूपमा मुलुकले सफलतापूर्वक साग सम्पन्न गर्नु र प्रतिस्पर्धीका रूपमा नेपालले खेलमा पाएको सफलता महत्वपूर्ण उपलब्धि हुन् । पहिलो उपलब्धि फगत आयोजकको आत्मरति मात्र हो । केलाई सफल भन्ने र कतिसम्म हुँदा भव्य मान्ने निश्चित मापदण्ड हुँदैन । यो अमूर्त कुरा हो । खेल आयोजनामा कमी–कमजोरी त हुन्छन्, तर असफल नै भएको सुनिएको छैन ।

खैर, नेपालले पाएको ऐतिहासिक ५१ स्वर्णले प्रस्ट पारेको छ कि यो आयोजना साँच्चै नेपालीका लागि भव्य र गर्व गर्न लायक भयो । नेपालले पाएको स्वर्णले थुप्रै संकथनको उजागर गर्छ ।

आधुनिक जगत्को सबैभन्दा सभ्य र भद्र युद्ध नै स्पोर्ट्स हो । मानव अवचेतन आफैँमा हिंसाग्रसित छ । झगडा–लडाइँ र युद्धप्रेरित छ । यो द्वन्द्व चेतना आफैँमा अस्तित्व र ‘विजय अभिलाषा’सँग जोडिएको छ । यो ‘सक्सेस सिकिङ टेन्डेन्सी’ व्यक्तिको अहंको खोज तथा स्थापना गर्न प्रेरित रहन्छ । अहंको खोजले नै सिंगो प्राणीजगत्को अस्तित्व टिकाएको छ ।
अन्य प्राणीले जस्तै मनुष्यले पनि आदिम युगदेखि यो विजय अभिलाषा बोकेर आएको छ । भला यसको स्वरूप र प्रक्रिया भने फेरिँदै आएको छ । सम्भवतः सुरुवाती चरणमा मनुष्यबीचको हिंसा र द्वन्द्व पनि अन्य स्तनधारीजस्तै व्यक्तिगत अस्तित्वका लागि हुने गथ्र्याे । पछि अस्तित्व चिन्तन व्यक्तिगत तहबाट समुदायको स्तरसम्म आएको हुनुपर्छ । एक–अर्का समुदाय वा सम्प्रदायबीचको हिंसा तिनको अस्तित्व वा अहम्ताका लागि हुने गथ्र्यो । 

जब राज्यहरू बने, अब अहम् र अस्तित्व चिन्तन पनि समुदायबाट फराकिलो हुँदै राज्यको दायरासम्म आइपुग्यो । युद्धहरू पनि देश–देशले लड्न थाले । जति धेरै स्रोत–साधन र भूभाग कब्जा गर्न सक्यो, त्यति नै ठूलो अहं, अस्तित्व र सब्जेक्टिभिटी हुने भयो । आज पनि कतिपय शक्ति केन्द्रित राज्य युद्धलाई आफ्नो अस्तित्वसँग जोडेर हिँडिरहेका छन् । सबै युद्ध राज्यको अहं स्थापनार्थ गरिएको विजय अभिलाषाका परिणाम हुन् । यद्यपि दोस्रो विश्वयुद्धको कुरूप दृश्यले एउटा ठूलो पाठ सिकाएर गयो । अब युद्ध गर्नु भनेको ‘कोल्याप्स’ नै हुनु हो । आज आममानिस विश्व नागरिकजस्तो भइसक्दा राष्ट्रियताको खोल ओडेर साना–तिना भूभाग र झिनामसिना कुरा लिएर युद्धमा उत्रने मुलुक आफ्नै नागरिकको नजरमा बद्नामित हुँदै जानेछन् । 

यद्यपि सभ्यता सुरु हुनुअघिको विजय अभिलाषा अझै विद्यमान छ । विजयले व्यक्ति, राज्य, समुदाय, सम्प्रदाय सबैलाई अहं दिन्छ । यो सब्जेक्टिभिटी हो । अहं या सब्जेक्टिभिटी व्यक्तिकेन्द्रित मात्र हुन्न, यो निश्चित समुदाय, सम्प्रदाय, जात, क्षेत्र र राज्यसँग पनि हुन्छ । राज्यको अहं वा सब्जेक्टिभिटी बलियो बनाउने परम्परागत शैली भनेकै युद्ध र जित हो । यही युद्ध र जितकै आधारमा अशोक, अलेक्जेन्डर र चेंगिज खाँका राज्यहरू आजसम्म चिरपरिचित छन् । युद्धकै उन्मादमा उपनिवेशिक साम्राज्य खडा गर्ने युरोपियन मुलुकहरूको जगजगी छ । युद्धकै धङधङीले शक्तिराष्ट्रहरू अटस–मटससँग अग्रपंक्तिमा विराजमान छन् । यिनको अहं बलियो छ ।

सागमा महिला खेलाडीले पाएको सफलताले भन्छ, यो समाजका असली खम्बा महिला थिए र छन् । पितृसत्ताको नजरअन्दाजमा उनीहरू छिपाइएका मात्र हुन् ।

 

के युद्धविना राज्यको सब्जेक्टिभिटी रहँदैन ? अस्तित्व सकिन्छ ? अहँ सकिँदैन । अहं र अस्तित्वका लागि ‘स्पोर्टस्’ ले युद्धलाई उछिनिसकेको छ । जमैका कुनै युद्धमा छैन, तर त्यो सानो मुलुक संसारभर धावकहरूको देश भनेर चिरपरिचित छ । साधारण मुलुक अर्जेन्टिनाकोे लोकप्रियता फुटबलले धानेको छ । 

खेलकुदलाई युद्धको विकल्प वा हारको प्रतिशोधको रूपमा स्थापित गर्ने श्रेय पनि कमजोर मुलुकलाई जान्छ । आर्थिक, राजनीतिक, र सैन्य क्षमतामा कमजोर भएर के भो, खेलमा तिनले प्रतिशोध देखाउँछन् । समाज जति सभ्य हुँदै जान्छ, खेलकुदप्रतिको लगाव पनि बढ्दै जान्छ । खेल प्रतिशोधमा मात्र सीमित छैन । यसले कुनै पनि मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र सैन्य हैसियत देखाइदिन्छ । नपत्याए ओलम्पिकको मेडल हेरे पुग्छ । प्रायः ओलम्पिकमा अमेरिका, चीन, रुस, जर्मनीहरू क्रमैसँग शीर्ष स्थानमा रहन्छन् । मुख्य टक्कर अमेरिका र चीनको पर्छ । 

चीनलाई यत्रो ठूलो आर्थिक, औद्योगिक र सैन्य सम्पन्नताले पुगेन । जसरी पनि अबको तीस वर्षभित्र फुटबल विश्वकप भित्र्याउने लक्ष्यसाथ उसले २५ हजार त फुटबल एकेडेमी मात्र खोलेको छ । उसले प्रस्ट बुझेको राष्ट्रको अहं स्थापना अब युद्ध र समृद्धिले मात्र हुँदैन, खेलकुदमा पनि उत्तिकै सफलता हात पार्नुपर्छ । युद्धबाहेक विजय अभिलाषा पोखिने ठाउँ भनेकै खेलकुद हो । 

०००

साग २०१९ मा पहिलो स्थानको भारतले १७४ स्वर्ण जित्दा नेपालले ५१ स्वर्ण जितेको छ । भारत नेपालभन्दा जनसंख्याको हिसाबले ४७.५८ गुणा र क्षेत्रफलका हिसाबले २२ गुणा ठूलो छ । यद्यपि, स्वर्णमा उसले नेपालभन्दा २.९३ गुणा मात्र अत्यधिक स्वर्ण जितेको छ । यस आधारमा भारतको असली चुनौती हामी नै हौँ भन्ने नेपालले देखाएको छ । भर्खरै सीमा विवाद अल्झिरहँदा नेपालको सफल आयोजना र उपलब्धिको विशेष महत्व छ । यसले दक्षिण एसियामा फेरि एकपटक नेपालको अहम् बलियो बनाएको छ । 

त्यस्तै राष्ट्रिय वा स्थानीयस्तरमा नेपालले पाएको सफलताले थुप्रै पुराना मानक भत्काइदिएका छन् र नयाँ संकथन स्थापित गरेको छ । सबैभन्दा विशेष कुरा त महिला खेलाडीको वर्चस्व नै हो । कुल पुरुष खेलाडीले २४ स्वर्ण, १७ रजत र ६० कास्य जित्दा महिला खेलाडीले २६ स्वर्ण, ४१ रजत र ३१ कास्य जितेका छन् । भला महिला फुटबल टोलीले रजत मात्र उचालेको छ । यद्यपि विमल घर्ती मगरहरू डिस्कोमा हल्लिरहँदा, साम्बा (सावित्रा भण्डारी) हरूको ‘रणचण्डी’ स्वरूप मैदानमा देखिँदा यस्तो लाग्छ, उनी भन्दै छिन्, ‘फुटबल पुरुषको मात्रै बिर्ता होइन ।’ चाहे फुटबल होस् या भलिबल, जुडो होस् या तेक्वान्दो, भारत्तोलन होस् या दौड सीमान्तकृत समुदायबाट आएका महिला खेलाडीको जुझारुपना र सफलताको कथाले वर्तमान समाजका आमनेपाली महिलाको ‘स्पिरिट’लाई प्रस्ट पारिदिन्छ । 

अहिलेसम्म महिलाहरूको क्षमतालाई नजरअन्दाज गर्दै आइयो । तर, खेल परिणामले बत(ाइदिएको छ, आगामी दिनमा क्षमताकै आधारमा समाजका हरेक क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता हुनेछ । अहिले पनि राजनीतिबाहेक हरेक क्षेत्रमा महिलाको सशक्त सहभागिता देखिन्छ । कतिपय क्षेत्रमा तिनीहरू पुरुष सहकर्मीलाई उछिनेका छन् । यो सागमा महिला खेलाडीले पाएको सफलताले भन्छ, यो समाजका असली खम्बा महिला थिए र छन् । पितृसत्ताको नजरअन्दाजमा उनीहरू छिपाइएका मात्र हुन् ।
तेक्वान्दोमा स्वर्ण जितिसकेपछि काजल श्रेष्ठले आँसु झार्दै भनिन्, ‘हामी धनी हैनौँ, गरिब हौँ, मेरो बुबा परिवार पाल्न खाडीमा पसिना बगाइरहनुभएको छ । यति वेला म उहाँलाई नै

मिस गरिरहेको छु ।’ त्यस्तै स्वर्ण पदकधारी संगीता धामीलाई छोरा नपाएको रिसमा बहिनीसहित उनकी आमालाई बुबाले छाडेका थिए । उनले आफ्नो स्वर्ण दूध बेचेर बहिनी र उनलाई हुर्काउने आमालाई सुम्पिइन् । त्यस्तै जुडोकी स्वर्णधारी पुनम श्रेष्ठ पनि बाबुद्वारा त्यागिएकी थिइन् । परिवारको पालनपोषणका लागि उनकी दिदी पढाइ छाडेर कुवेत भासिनुप-यो, जसले चितवनमा अलिकति घडेरी जोडिन् । स्वर्णबाट प्राप्त पुरस्कारले त्यही घडेरीमा घर बनाउने धोको छ पुनमको । लैंगिक, आर्थिक र सामाजिक रूपमा पिछडिएका मात्र होइनन् दुर्गम क्षेत्रबाट आएका खेलाडीले पनि आफ्नो वर्चस्व देखाए । 

सागमा अझ धेरै त सीमान्तकृत समुदाय, वर्ग र आदिवासीको वर्चस्व देखियो । यसले पनि गतिलो सन्देश दिएको छ– सत्ताले पहिचानको आवाजलाई मुखरित हुन नदिए पनि, आरक्षणलाई खुम्च्याउँदै लगे पनि आफ्नो बाहुबलको भरमा खेलकुदमा तिनले आफ्नो स्पेस आफैँ खोजेका छन् । कुनै समय खेलकुद सम्भ्रान्त वर्गको मनोरञ्जनको माध्यम थियो । तर, अहिले सीमान्तकृत व्यक्ति या समुदायले आफ्नो ‘स्पेस’ खोज्ने र क्षमता देखाउने निष्पक्ष प्लेटफर्म भएको छ । सागको जनजाति खेलाडीको सहभागिता र सफलताले भन्छ, यो देशको सब्जेक्टिभिटी बलियो पार्न इतिहासदेखि आजसम्म पनि सीमान्तकृत लिंग, वर्ग, समुदायको ठूलो हात थियो र छ । भोलिको स्वर्णिम भविष्य पनि यही सीमान्तकृतहरूको हातमा छ ।
खेलकुदको इतिहास विभेदेमुक्त भने छैन । खेलकुदभित्र हुने विभेदले पनि विशिष्ट मानक स्थापित गर्छ । औपनिवेशक कालखण्डमा दक्षिण अफ्रिकामा गोरा र सम्भ्रान्तहरू क्रिकेट र रग्बी खेल्थे । त्यहाँ अश्वेत वर्गले जातीय विभेद भोग्नुपर्ने भयो । त्यसैले अश्वेत समुदाय फुटबलप्रति आकर्षित भए । फुटबल तल्लो तप्कामा लोकप्रिय भयो । एउटा फुटबल मात्र भए पनि एकैपटक २२ जनाले खेल्न सक्ने भए । खास खेल विशेष जातीय र सामुदायिक पहिचान बनिनुमा ऐतिहासिक विभेदको पनि भूमिका छ । 

अमेरिकी स्पोर्ट कल्चरलाई मध्यनजर गर्दै कोलिन किङ आफ्नो पुस्तक ‘रेस एन्ड कल्चरल आइडेन्टिटी : प्लेइङ द रेस गेम इनसाइड फुटबल’मा लेख्छन्, ‘बेसबल र ल्याटिनो पहिचान, बास्केटबल, फुटबल, एथलेटिक्स र अफ्रिकन–अमेरिकन पहिचान, रग्बी र मारियो पहिचान’ खेलकुदले बोकेको जातीय र नश्लीय पहिचान हुन् । त्यस्तै एलान बार्नर ‘खेलकुदलाई सीधै राष्ट्रिय पहिचानसँग’ जोड्छन् । साफ खेलकुदमा जितेको नेपाली मेडलले भन्छ, ‘मार्सल आर्ट’ नै नेपालको दक्षिण एसियाली परिचय हो । फुटबललाई पनि दक्षिण एसियामा नेपालको मानक खेलको रूपमा लिन सकिन्छ । 

यो सागमा सुनौला कथा मात्र छैनन्, खेलकुदका अँध्यारा पाटा पनि छन् । साग सुरु हुनुअघि सावित्री खत्रीको तिक्त कथा बाहिरियो । सागको पूर्वसन्ध्यामा उनका खेल सामग्री पार्सलका रूपमा उनकोे घरमा पुग्यो, उनी भने कतार पुगिन् । सम्भावित स्वर्णको दाबेदार थिइन् उनी । परिवारको हातमुखको न्यूनतम समस्या समाधान गर्न उनी बिदेसिइन् । लाग्छ, यदि उनी १५ दिन अधिक मात्र नेपाल रहेकी भए, सागमा भाग लिएकी भए पक्कै ९ लाख, ५ लाख, नभए पनि ३ लाख त जित्ने थिइन् । बाध्यताले सावित्रीलाई गलत निर्णय लिन बाध्य पारेको हो त ? बाध्यत(ाचाहिँ हो तर निर्णय गलत थिएन । सरकारले अघि सारेको पुरस्कार स्किमले यही भन्छ । सावित्रीले लिएको निर्णय गलत थिएन । हार्नेमाथि सत्ताले देखाएको रबैयाले भन्छ, ‘हार्ने बक्सरको मुहारमा लागेको चाहिँ घाउ नै होइन ।’ हार्नु सबैभन्दा पीडादायक कुरा हो । अस्तित्वमाथिको संकट हो । हार्नेको घाउमा सत्ताले नुनचुक छर्केको छ । 

हुन त खेलकुदमाथि इतिहासदेखि नै सत्ताले खेलबाड गर्दै आएको छ । ‘सोसर भर्सेस द स्टेटः टकिङ फुटबल एन्ड -याडिकल पोलिटिक्स’मा ग्याब्रियल कुन लेख्छन्, ‘१९३० मा फासिज्मको उदयले व्यापक परिवर्तन ल्यायो । मुसोलिनीले इटालीमा भएको पुरुष फुटबल विश्वकपलाई फासिस्ट प्रदर्शनको रूपमा प्रयोग गरे । हिटलरले त समाजवादी र यहुदी क्लबहरूलाई निषेध नै गरिदिए ।’ निरंकुश तानाशाहहरूले खेलकुद क्षेत्रमा आफूअनुकूलका पदाधिकारी नियुक्त गरेर त्यसमाथि नियन्त्रण गर्ने परम्परा पुरानै हो । हाम्रोमा पनि हार्नेप्रति मात्र होइन, सिंगो खेलकुदलाई सत्ताले कहिल्यै बुझेन । खेलकुद, खेलाडी र खेलसंस्थामाथि जे मन लाग्छ, त्यही गर्छ । तर पनि ग्याब्रियल कुन भन्छन्, ‘रंगशालाले यस्ता नियन्त्रण र खेलकुदमाथिको सत्ताको खेलवाद कहिल्यै रुचाउन्न ।’ 

अर्को कुरा सबैभन्दा आकर्षक यो सागको मस्कट कृष्णासार (ब्ल्याक बक) नै थियो । प्रायः सबै खेलमा भाग लिएको कृृष्णसारकोे पोस्टर साँच्चै अद्भूत थियो । यद्यपि लामा सिङसहितको यो कृष्णसार भाले थियो । यो साग पुरुषको मात्र खेलकुद थिएन । यसले के प्रस्ट पार्छ भने अझै पनि खेलकुदलाई ‘मस्क्युलिन’ दृष्टिले मात्र हेरिन्छ । सायद अबका दिनमा महिला–पुरुष दुवै सम्मिलित खेलकुद आयोजनामा प्रयोग गरिने मस्कटको लिंग छुट्टिनु हँुदैन । स्टेडियम र खेल अब पुरुषको मात्र वर्चस्वको एरिना होइन ।